बिहीबार, २० मङ्सिर २०८१
ताजा लोकप्रिय
वंशावली

दमाईको वंशावली नियाल्दा : दमाहा बजाउँदा वा डढेलोले पोलिएको पाडो खाँदा जात गयो ?

ध्रुवसत्य परियार
सोमबार, २३ माघ २०७९, १६ : ३०
सोमबार, २३ माघ २०७९

स्याडीका दमाईको वंशावली

भारतको टिहिरी (टेहरी, उत्तराखण्ड) गढवालको उत्तर दुवानगर भन्ने ठाउँमा बस्ने सुजान धानिक सिकार खेल्न गएका थिए । वनमा आगलागी भई भैंसीको पाडो पोलिएको थियो । जंगली थारको पाडा सम्झी उनले काटीघरमा ल्याए र गाउँमा अन्य थरीहरूलाई बाँडिदिए । केही थरीले यो थारको पाडा नभई भैंसापाडा हो भन्ने परिपञ्च मिलाई धानिकलाई समाजबाट बहिष्कृत गरी छुट्टै बस्न लगाए ।

केही समयभित्रै अर्थात् मुगल सम्र्राटको राज्य विस्तार हुँदा हिन्दू धर्ममाथि आक्रमण गरियो र दुवानगर निवासी हिन्दूहरू नेपालको पश्चिम बैतडीमा आइपुगे ।

त्यहाँ बस्दा एक दिन थडीबडीहरूले देहीमाडौंमा बसेको बेला छलफल गरी देवीको पूजाको बेला धेउल बजाउने आदेश दिए र सो कुरा धानिकका सन्तानहरूले स्वीकार गरे । साथै दमाउँ (दमाहा) बजाउने भएकाले उनीहरूलाई दमाई भन्ने गरियो । त्यसै दिनदेखि श्री निङ्गलाशैनी भगवतीको मन्दिरमा ‘दमाउँ’ बजाउने गरेका हुन् र भैंसीको पाडा खाएकाले अछुत जातिमा गनिए । वृत्तिका लागि लुगा सिउने काम पनि गर्न थालेका हुन् ।

सुजान पछिका पौनाका सन्तान बगाडीमा बसे, नरुवाका सन्तान स्याडीमा बसे, भागलका सन्तानहरू बैतडी बस्कोटमा बस्छन् । पौनाको छोरा कल्या, कल्याको ४ छोरा प्रदेशी, संग्राम, सोब्या र बहादुर हुन् । नरुवाका बलीराम, बलीरामका ४ छोरा किसनराम, करबीर, तिलक र गोरे हुन् । बिरुरामका २ छोरा नैनराम र देवानराम छन् । नरबीरको ३ छोरा लछोराम, नरेश र पुष्कर छन् । प्रदेशीको २ छोरा मोहन र धौल्या हुन् सोबीका ३ छोरा जनक, सेरुवा र नरी हुन् । बहादुरका छोरा दननेर, प्रदेशीका २ छोरा सुने र महावीर हुन् । जनकका २ छोरा दीपक र जगदीश हुन् ।

उत्तमबाट ४ राठ बुढो, वगुवा, कस्वा र दामु भए बुढो र बगुवा राठी चडेपानी, खम्तोला नौँगाउँमा बस्ने गरे । कस्वा राठी पिपलकोट खेत गाउँमा बसेका छन् (अंशबण्डाको आधारमा हुनुपर्छ) । दामुतर्फ जैते, बोचे र कर्ने फेरी तीन हाँगा भए । कर्ने तर्फका महेश्वरा, भटे र वेसराम छन् । बोचेका लेकाल र कौल्याल (गाउँका नामबाट भनिएको) भए, जोतेका खोल्याल, बजगाई, ओखलढुंगे भए । जोतेका खीरे खीरेका रामु, रामुका लछी ठगीनारायण समेत पाँच भाइ किसनानन्द वा धर्मानन्द, महादेव, बलदेव, हेमराज, पर्मानन्द, लक्ष्मी, मदन (दमाई) हुन् ।

(स्रोत : मनीराम दमाई)

मुल्या दमाईको वंशावली

डडेल्धुरा जिल्ला डडोला निवासी मुल्या दमाईका सन्तानहरू कञ्चनपुरको महेन्द्रनगर नगरपालिका अन्तर्गत निम्बुखेडामा बस्छन् । उनीहरूको भनाइमा मलासबाट एकथरी डडोली ऐर आएपछि काटमार हुँदा हाम्रा परिवार सबै मारिए तर गर्भिणी एक बज्यै मात्र बाँचिन् र उनीबाट जन्मेका मुल्यालाई डरत्रास देखाई ‘तैँले हाम्रा लुगा सिउने काम गर र राँगोको मासु खानुपर्दछ, यदि खाँदैनौ भने तिमीलाई र तिम्री आमालाई पनि मार्दछौँ’ भन्दा आफ्नो र आमाको ज्यान जोगाउन भने बमोजिम राँगाको मासु खाए र लुगा सिउने काम सुरु गरेको हो ।

उनीहरूको भनाइमा सम्पूर्ण डडोलाको जमिन उनकै पुर्खाले आर्जन गरेका हुन् । यस सम्बन्धमा जानकारी लिँदा त्यहाँका छरछिमेक बस्तीका मान्छेहरूको भनाइमा मुल्या दमाईको इतिहास साँचो हो र डडोलाका दमाईहरू त्यहाँका मट्या हुन् भन्ने रहेको छ । यस सम्बन्धमा डडोलाका ८० वर्षीया धुमसिंह ऐरको भनाइमा यो कुरा सत्य हो भन्ने रहेको छ ।

(स्रोत : कालो दमाई ।)

यी दुवै वंशावली २०६० मा प्रकाशित जीतसिंह भण्डारीको पुस्तक ‘प्राचीन मल्लकालीन इतिहास, विभिन्न वंशावली तथा देवीदेवताहरूको उत्पत्ति’बाट लिइएको हो ।

स्याडीका दमाईको वंशावलीले सुजान धानिकको जात खस्नुमा ‘भोजनको नियम’लाई कारण देखाएको छ । भारतमा धानिक थरले वैश्यलाई जनाउँछ । डा. बीके श्रीवास्तवको पुस्तक ‘प्राचीन भारत का इतिहास’मा धानिकलाई अन्न व्यवसायी भनिएको छ ।

प्रदीप रिमालको पुस्तक ‘कर्णाली लोकसंस्कृति’ एक जनश्रुति उल्लेख छ, ‘पहिले गाउँघरमा उत्सवका बेला बाजा बजाउने मान्छे कोही थिएन । एक दिन एक गाउँलेको घरमा उत्सव मनाइने भयो । उत्सवमा बाजा बजाउने इच्छा गरेर उनले एउटा दमाहा बनाउन लगाए । दमाहामाथि दुई गजा (बजाउने लट्ठी) राखे र घरमा आएका पाहुनालाई भने– जसले पहिलोपटक दमाहालाई गजाले हान्ला उसैले बाजा बजाउने काम गर्ला । 

कर्णाली अञ्चलका लोकवाद्य वादकमा दमाईहरू नै मुख्य हुन् । दमाईहरूको अर्को विशेषता हो, खूट हान्नु । ठूला पहाड र खोलानालाले भरिएको कर्णाली क्षेत्रमा वारि गाउँबाट पारि गाउँ जानुपर्‍यो भने दिनभरि लाग्न सक्छ ।

तर, उनकै छोरीका सानो छोराले दमाहा बजाउन पुगे । गाउँलेले उनैलाई बाजा बजाउने काम सुम्पे । दमाहा बजाएकाले उनी दमाई भए ।’

रिमालका अनुसार, कर्णाली अञ्चलका लोकवाद्य वादकमा दमाईहरू नै मुख्य हुन् । दमाईहरूको अर्को विशेषता हो, खूट हान्नु । ठूला पहाड र खोलानालाले भरिएको कर्णाली क्षेत्रमा वारि गाउँबाट पारि गाउँ जानुप¥यो भने दिनभरि लाग्न सक्छ । रिमाल लेख्छन्, ‘यस्तो बेला दमाईहरूले दमाहा ठोकेर वारिबाट पारिको मान्छेलाई बोलाउन बजाउने सांकेतिक धुनलाई खूट हान्नु भनिन्छ ।’ यस प्रसंगमा दमाई जात जन्मनुको कथा दमाहासँग जोडिएको छ । मुल्या दमाईको वंशावलीले जात खस्नुको कारणमा पेसा र भोजन दुवैलाई देखाएको छ ।

सन् १९९० मा प्रकाशित क्यारोल टिङ्गीको पुस्तक ‘हर्टबिट अफ नेपालः दी पन्चैबाजा’का अनुसार, पञ्चैबाजा भारतबाट राजपूत शरणार्थीसँगै १४औँ शताब्दीतिर नेपाल आएको हुनसक्छ ।

यद्यपि दमाहा प्राचीनकालमा युद्धबाजा ‘दुन्दुभि’को रूपमा प्रचलित थियो । ऋग्वेददेखि रामायण, महाभारत र पुराणहरूमा सेनालाई साहस दिने हेतुले दुन्दुभि बजाएको पाइन्छ । संस्कृत वाङ्मयमा दुन्दु, दुन्दुभ, दुन्दुभि, पटह, भेरी, आडम्बर, रणवाद्य लगायत यसका विभिन्न नाम छन् । पछि यिनै नाम ढोल, नगरा र दमाहामा परिणत भएको रामशरण दर्नालको पुस्तक ‘नेपाली बाजा’मा उल्लेख छ । दमाई शब्दकै ठोस इतिहास भेटिँदैन । यद्यपि जुम्लाका राजा बलिराजले बेटवा दमाईलाई फुर्को (फेटा) लगाइदिएको चर्चा पाइन्छ । पृथ्वीनारायणका पाला नगरा बजाउनेले नगर्ची थर पाएका थिए । 

बालकृष्ण पोखरेलको पुस्तक ‘खस जातिको इतिहास’मा एक बाहुनले दमिनीसँग विवाह गरेपछि चहार थर (चौथो तहको । जमिनको दर्जा अब्बल, सिम, दोयम र चहारको अर्थमा) अँगाल्न पुगेको प्रसंग छ ।

रामेछापका एक आचार्यब्राह्मण, उनको गोत्र कौण्डिण्य थियो, दमिनीसँग प्रेम भएकाले भागेर उनी रामेछाप छाडी खोटाङ (रतनछाप)मा आउनुप¥यो । उनले र उनका सन्तानले नियम अनुसार परियार थर ग्रहण गर्नुपर्ने अनिवार्य थियो । तापनि ती पठित ब्राह्मणले आफ्नो थर चहार स्वीकार गरे । त्यहाँदेखि त्यहाँदेखि यसै चहार थरका साथमा उक्त ब्राह्मणका दमाई सन्तानहरू खोटाङ, इलाम, आसाम आदि ठाउँमा फिँजारिएका छन् । यहाँ जात खस्नुको कारणमा विवाह आएको छ ।

गायक यश कुमारले सात वर्षअघि मसँगको कुराकानीमा भनेका थिए– मेरो बुवाको नाम राम नेपाल हो तर मेरो नागरिकतामा सुरेशकुमार नेपाल परियार छ । यसको पनि कथा छ । काभ्रे ढुङखर्कमा हुनेखाने ब्राह्मण परिवारमा जन्मेका थिए, यशका बुवा राम नेपाल । उनले गाउँकै गीता परियारसँग विवाह गरे । कथित तल्लो जातकी गीतालाई बिहे गरेर घरमा भित्र्याउन सम्भव थिएन । गीतालाई लिएर राम सर्लाही कर्मैयास्थित वागमती किनारमा पुगे र पाखुराको बलले थुप्रो जंगल फाँडेर खेतबारी बनाए, घरबार बसाए । रामका सातभाइ छोरामध्ये गायक यशकुमार छैटौँ हुन् । यश कुमारले अन्ततः आफ्नो पहिचान बनाए, ‘मैले छोएको पानी चल्दैन’ बोलको गीत गाएर ।

वंशकथाको विभ्रम

वंशावली भन्नाले कुनै वंशमा जन्मेका मानिसको मूल पुरुषदेखि वर्तमान कालसम्मका शाखासन्तानको क्रमानुसार बनाइएको नामको तालिकालाई बुझिन्छ ।

वंशावली इतिहासको प्रमाण होइन, तर आधार हो । वंशावलीमा थुप्रै मिथकीय कथा आउँछन् । जीतसिंह भण्डारीको उपरोक्त पुस्तकमा ‘पाण्डेय (विष्ट)को वंशावली उल्लेख छ । लेखकले ‘जनकराज जोशी’लाई स्रोत उद्धृत गर्दै लेखेका छन् -

इस्वी संवत् ७०० मा भारतको दक्षिणी भाग मध्येप्रदेश उज्जयन नगरी निवाड भन्ने स्थानमा बसोबास भई पाण्डेहरू मुगल सम्राटको आक्रमणबाट भयभीत भएर उत्तराखण्ड हुँदै कत्युरमा आइबसेका १२औँ शताब्दीको समय हस्तिलिखित खण्डहरूमा मिति उल्लेख गरेको देखिन्छ भनी ढिकरिम बस्ने जनकराज जोशीले देखाएको र त्यसै समय कत्युर छाडी महाकाली तरी दार्चुला जिल्लाको लेकम रिठाचौपाता गाविस उदयपुर भन्ने ठाउँमा बसोबास गरेको र त्यसै ठाउँबाट मालीका अजुर्न भन्ने सिद्धेश्वरको बोकी राखेको लिंग झोलाबाट उडी शिखरमा गई त्यहाँको शिवलिंगमा समाविष्ट भएको मानिन्छ ।

यस वंशकथामा सिद्धेश्वरको लिंग झोलाबाट उडेको अलौकिक कथा छ । वंशसम्बन्धी यस्ता अलौकिक कथा धेरै भेटिन्छन् ।

उसो त पृथ्वीनारायणका पुर्खाको कथा झनै अलौकिक छ । राजा सूर्यखानले आफ्नी इष्टदेवी आलमदेवी कुलदेवीको स्थापना लसर्घामा चौपाट्टीझै निर्माण गरी भीमसेनपाते (धुर्सेलीको) सिम्हारा बिरुवा लगाएका थिए । ती आलमदेवीले चितौरगढमा महाराजालाई भनिन्, ‘मलाई जमिनमा नछुवाई उत्तरखण्ड नेपाल देशतिर लैजाऊ र राज्य गर ।’ रिडिघाटमा पुगेपछि प्यास लागेकाले बाटोमा पर्ने एक घरमा पानी मागे । त्यस घरमा रक्सी बनाएकाले रक्सीको घ्याम्पामाथि राखेको तातो पानी खाएछन् । राति सपनामा देवीले भनिन्, ‘तातो पानी पिउनेले अबदेखि मलाई नछुनू तर पूजा गर्न नछोड्नु ।’ ती जनै नलगाउने तातोपानी खाने भाइलाई मगर र नखाने भाइलाई ठाकुर भनियो । ती कुलदेवीलाई लसर्घामा स्थापना गरी ब्राह्मणको वाक्य, ठकुरी कर्ता, मगर पुजारी भए । आलमदेवीलाई भीमसेनपातीको बोटमा राख्न खोज्दा अचानक हातबाट जमिनमा खसिन् र समात्न खोज्दा अलप भइन् । राजा सूर्यखानलाई अत्यन्तै चिन्ता पर्न गयो । रातमा सपनामा राजालाई देवीले भनिन्, ‘पीर मान्नुपर्दैन, म यहीँ बस्छु, चोखोनितीसँग मगर कुमार केटा चार, पण्डित एक, राजाकर्ता एक भई मेरो भक्ति गर्नू, राज्य बढ्ला ।’ 

वंशावली भन्नाले कुनै वंशमा जन्मेका मानिसको मूल पुरुषदेखि वर्तमान कालसम्मका शाखासन्तानको क्रमानुसार बनाइएको नामको तालिकालाई बुझिन्छ । वंशावली इतिहासको प्रमाण होइन, तर आधार हो । वंशावलीमा थुप्रै मिथकीय कथा आउँछन् ।

देवी अलप भएको ठाउँलाई अलपदेवी भन्दाभन्दै आलमदेवी हुन गयो । स्याङ्जातिर प्रचलित यस कथालाई डा. राजाराम सुवेदीको आलेख ‘स्याङ्जास्थित चौबिसी राज्यहरूको इतिहास’ शीर्षकको आलेखबाट लिइएको हो ।

यस कथाले रक्सी खाने र नखाने आधारमा जातजातिको निर्धारण गरेको देखिन्छ । दमाईका कथाहरू भन्दा यी कथामा देवीदेवता र अलौकिक शक्ति आएका छन् । कथाकै आधारमा टेक्दा दमाईका उपरोक्त वंशावली धरातलीय लाग्छन् । किनभने त्यहाँ अलौकिक कहानी छैनन्, सामाजिक विभेद छन् ।

जात व्यवस्थामा तीन नियम प्रमुख रूपमा आउँछ– भोजन, विवाह र पेसाको नियम । सुरुमा धर्म र सत्ता चलाउने ब्राह्मण र क्षत्री वर्ण बनाइयो । त्यसपछि अनेक वर्णको उत्पत्ति हुँदै गयो । हाम्रो प्राचीन कानुन मनुस्मृतिमा भोजन, विवाह र पेसाको नियम उल्लेख छ । कुन वर्णले कुन वर्णसँग विवाह गर्ने, फरक वर्णबीचको संसर्गबाट जन्मेको सन्तान कुन वर्णको हुने, कुन वर्णले कुन पेसा गर्ने, कुन वर्णले कुन भोजन गर्न हुने वा नहुने आदि नियम मनुस्मृतिमा सविस्तार आएका छन् । मनुस्मृतिकै जगबाट उठेको जातमा आधारित कानुन (जंगबहादुरको मुलुकी ऐन) हामीकहाँ ६० वर्षअघिसम्म प्रचलित थियो ।

अहिलेको हाम्रो देश नेपालको दक्षिण भूमिमा हिजोका प्राचीन भारतीय राज्यहरूको प्रभाव पर्नु स्वाभाविकै थियो । पछि पनि त्यताबाट नेपाल भूमिमा पसेकाहरूले हामीकहाँ जातीय विभेदको बिउ रोपे र फैलाए, यो क्रम लिच्छविकालदेखि चलेको प्रमाण भेटिन्छ ।

आज हामी पेसाको आधारमा, थलो वा स्थलको आधारमा, राज्यमा जागिर गर्दा पाएको पदको आधारमा, समाजमा कुनै धार्मिक कार्य गर्दा पाएको पद वा उपाधिका आधारमा आफ्नो थर रहेको दाबी गर्छौं । यी कुरा त अस्ति भर्खरको इतिहास हो ।

‘आजको युगमा संसारको कुनै पनि भागमा विशुद्ध जाति छैन, तैपनि मातृभाषाका आधारमा आज जातिहरूको पहिचान हुन थालेको छ । हजारौँ वर्षको ठाउँसराइ अथवा चलासनधर्मिताले गर्दा विश्वका मान्छेहरू एकअर्कासँग कति सारो फेटिएका छन् भने विशुद्ध जातीयता अब यथार्थविरोधी कल्पना मात्र रहन गएको छ,’ बालकृष्ण पोखरेलले खस जातिको इतिहासमा लेखेका छन् ।

यद्यपि, आफ्नो वंशलाई महान् देखाउने लालसा सबै जातजाति र समुदायमा रहँदै आएको छ । भाषाको उत्पत्तिसँगै मान्छे सृष्टिकथा, वंशकथा आदि कल्पन उद्यत थियो । आफ्नो भरपर्दो पुर्खा नभेटे ऊ भनिदिन्थ्यो– हामी भगवानका पुर्खा हौँ । अथवा, आफ्नो कुनै पुर्खाको वीरता र विद्वता गाथा बुनिदिन्थ्यो र उसलाई देवता साबित गथ्र्यो । यद्यपि मान्छे जीवन र जगत अर्थात् जीवनको आधार प्रकृतिभन्दा पर थिएन । उसको चिन्तन जन्म र मृत्यु बढी केन्द्रित हुन्थ्यो ।

हामी आज जतिसुकै शान्तिका कुरा गरौँ, हाम्रो संसार युद्धको इतिहास हो । आफ्नो जिउ, आफ्नो समूह वा समुदाय जोगाउन, आफने राज्य, धर्म र संस्कृति जोगाउन, आफ्नो राज्य बनाउन, राज्यमा आफ्नो हक पाउन आदि अनेक नाममा मान्छेले युद्ध गर्दै आयो । हाम्रा धर्मग्रन्थ वा पौराणिक साहित्यमा पनि युद्धकै कथा छन्, जस्तोट: ऋग्वेदमा दाशराज्ञ युद्ध (दश राजाको युद्ध), रामायणमा राम र रावणको युद्ध, महाभारतमा कौरव र पाण्डवको युद्ध इत्यादि । हाम्रा कतिपय संस्कृति पनि युद्धकै कथा अर्थात् विजयमा आधारित छन् । देवीले दानवहरूमाथि, रामले रावणमाथि विजय प्राप्त गरेको नाममा हामी पर्व मनाउँछौँ ।

हामीकहाँ जात खसाल्ने र उठाउने चलन पनि पाइन्छ । जनकलाल शर्माको पुस्तक ‘हाम्रो समाज एक अध्ययन’ अनुसार सुदूरपश्चिमी नेपालका मतुवाली (मादक पदार्थ सेवन गर्ने) क्षत्रीको अपकर्ष (जात खस्ने) भएको छ । यस्तै राजपुत, मल्ल, ठकुरी र खसको उत्कर्ष (जात माथि चढ्ने) पनि भएको छ ।

विजेताहरूको त आफ्नै गाथा छ, यस धर्तीमा पराजितहरूको हालत के भयो होला ? यद्यपि हामीकहाँ हिजो भारततिरबाट हारेर वा भागेर आएकाहरूले आफूलाई ठूलो साबित गर्न र सोही अनुसार शासन गर्न सफल भए ।

हामीकहाँ जात खसाल्ने र उठाउने चलन पनि पाइन्छ । जनकलाल शर्माको पुस्तक ‘हाम्रो समाज एक अध्ययन’ अनुसार सुदूरपश्चिमी नेपालका मतुवाली (मादक पदार्थ सेवन गर्ने) क्षत्रीको अपकर्ष (जात खस्ने) भएको छ । यस्तै राजपुत, मल्ल, ठकुरी र खसको उत्कर्ष (जात माथि चढ्ने) पनि भएको छ ।

हामीकहाँ मादक पदार्थ सेवन गर्ने र नगर्ने आधारमा पनि समूह वा समुदाय छुट्ट्याइएन मात्रै, सोही बमोजिमको कानुन बनाइयो । जस्तो : मासिन्या र नमासिन्या मतुवाली ।

आफ्नो जात वा थरलाई भोजन र विवाहका आधारमा विशुद्ध मान्नु हाम्रो भ्रम मात्रै हो । हिन्दूहरूले प्राचीनकालमा सौत्रामणी यज्ञमा सुरा (मदिरा)को आहुति दिने गर्थे । पाण्डुरंग वामन काणेको पुस्तक ‘धर्मशास्त्र का इतिहास भाग–१’ मा उल्लेख छ, ‘सौत्रामणी यज्ञ हविर्यज्ञका सात प्रकारमध्ये एक हो । यो सोमयज्ञ होइन, यो एक इष्टि (अभीष्ट) एवं पशुयज्ञको मिश्रण हो । यसमा आजकाल सुराको ठाउँमा दूधको आहुति दिइन्छ ।’

काणेले विभिन्न शास्त्रीय स्रोत उद्धृत गर्दै लेखेका छन्, ‘यसमा दुई वेदी हुन्छन्, जसको पछाडि दुई उच्च स्थलको निर्माण गरिन्छ, जसमध्ये एकमा दूध र अर्कोमा सुराको प्याला राखिन्छ । यस कृत्यमा चार दिन लाग्छ, पहिलो तीन दिनसम्म भाँतीभाँतीका पदार्थका सुरा बनाइन्छ ।’

भारतीय लेखक रजनीकान्त शास्त्रीले आफ्नो पुस्तक ‘हिन्दू जातिको उत्थान र पतन’मा हिन्दूका पुर्खाले गोमांस भक्षण गरेको उल्लेख छ । उनी लेख्छन्, ‘हिन्दूहरूले आफ्नो प्राचीन पूर्वजहरूको खानपानमाथि केही विचार गरेका छन् ? के उनीहरूलाई थाहा छ, उनका पूर्वजले सबै प्रकारका भक्ष्य पशुपक्षीको मासुजस्तै गोमांसको पनि भक्षण तथा मद्यसेवन द्विज (ब्राह्मण) र अद्विज सबै वर्णमा प्रचलित थियो ?’

अन्य जातजातिले आफ्नो पुर्खालाई ठूलो बनाउन इतिहास खोज्छन्, दलितहरू आफ्ना पुर्खा कहाँ र कहिलेदेखि कसरी दबाइए भनी इतिहास खोज्नुपरेको छ । आज हामी विवाहमा रक्तसम्बन्ध छल्न मात्रै थर, गोत्र, प्रवर लिएर बसेका छैनौँ, यसमा उच्चजातीय अहंकार र निम्न जातीय हीनताबोध पनि लुकेको छ ।

आज हामीमा भोजनमा बन्धन छैन, आफ्नो स्वास्थ्य अनुकुलको भोजन गर्न हामी स्वतन्त्र छौँ । पेसामा कुनै रोकावट छैन । आज ‘बाहुन वा मगर बाजा’का नाममा पन्चैबाजा बजाउने जातजाति बढेका छन् । विवाह अन्तर्जातीय होइन, अन्तर्राष्ट्रियीय हुन थालेको छ । विवाहमा रक्तसम्बन्ध छल्न अन्तर्जातीय विवाह नै वैज्ञानिक होला, अथवा डिएनए परीक्षण विज्ञानले ल्याएकै छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ध्रुवसत्य परियार
ध्रुवसत्य परियार

परियार रातोपाटीका फिचर/ओपेड एडिटर हुन् ।

लेखकबाट थप