निकुञ्जमा सफारी सुरु हुँदा पर्यटन व्यवसायी उत्साही
नवलपुर । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरबाट चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी सुरु भएसँगै यहाँका पर्यटन व्यवसायी उत्साही बनेका छन् । यसअघि नारायणी नदी वारी रहेका जिल्लाका मध्यवर्ती सामुदायिक वनमा पर्यटकीय गतिविधि सञ्चालन गर्दै आएका पर्यटन व्यवसायी नवलपुरबाट निकुञ्ज क्षेत्रमा जिप सफारी सुरु भएपछि उत्साही बनेका हुन् ।
जङ्गल सफारीमा आउनेलाई नारायणीमा डुङ्गा शयरसहित निकुञ्ज क्षेत्रमा जिप सफारी गराउँदा पर्यटकको सङ्ख्या बढ्ने भएपछि आफूहरु उत्साही बनेको कावासोतीका पर्यटन व्यवसायी धनिराम गुरौले बताए । “पहिले मध्यवर्ती क्षेत्रमा पर्ने सामुदायिक वन घुमाउने गरिन्थ्यो, अहिले निकुञ्जमा पनि घुम्न पाइने भएपछि यहाँ आउने पर्यटक बढेका छन्”, उनले भने ।
नवलपुर पर्यटन समितिका अध्यक्ष फंसराम महतोले गतवर्ष मध्यवर्ती सामुदायिक वनमासमेत जिप सफारी बन्द गरिएकोमा अहिले निकुञ्जले नारायणी पारी सफारी गर्ने अनुमति दिएपछि जिल्लामा पर्यटकीय गतिविधि बढ्ने बताए । “हामी खुसी छौं, यहाँको पर्यटकीय गतिविधि चलायमान गराउन यो कदमले सहयोग पुग्नेछ”, अध्यक्ष महतोले भने । उनका अनुसार यही माघ ११ मा चितवन राष्ट्रिय निकुञ्जले सबै होटल तथा व्यवसायीका लागि नवलपुरको अमलटारी पोस्टबाट पनि निकुञ्ज प्रवेशको अनुमति दिएको छ ।
यसअघि होटल टेम्पल टाइगर र थारू भिलेजले मात्रै पर्यटक लैजाने अनुमति पाएका थिए । अब अमलटारीबाट गैंँडाखासा, देवीताल, टाइगर टप्सको रुट तथा गोही प्रजनन केन्द्रसम्म आउजाउ गर्न सकिने भएपछि यस क्षेत्रमा आर्थिक, पर्यटकीय गतिविधिमा वृद्धि हुने प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले बताए ।
शनिबार प्रजिअ लम्सालले सफारीको उद्घाटन गर्दै नवलपुरबाट निकुञ्जभित्र जीप सफारी सुरु भएपछि विदेशी पर्यटकको आगमन हुनुका साथै यहाँको संस्कृतिको समेत प्रचार हुने बताए ।
नवलपुर पर्यटन समितिले औपचारिक कार्यक्रमकाबीच शनिबार निकुञ्जमा सफारीको सुरुआत गरेको थियो । नवलपुर क्षेत्रबाट प्रतिदिन पाँच वटा जिपमा १० जना निकुञ्ज प्रवेश गर्न पाउनेछन् । होटल तथा पर्यटन व्यवसायीले ‘फस्ट कम फस्ट सर्भिस’का आधारमा अनुमति पाउनेछन् । हात्ती सफारी भने मध्यवर्ती क्षेत्र र सामुदायिक वन क्षेत्रमा मात्र अनुमति छ ।
निकुञ्जमा जिप सफारी खुला भएसँगै नवलपुरको पर्यटन व्यवसायमा टेवा पुग्ने यहाँका पर्यटन व्यवसायीको विश्वास छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चौबिस वर्षदेखि वनपाखामा भेँडाबाख्रासँग रमाएका दुरजङ
-
बागमतीका ५ सहकारी ‘समस्याग्रस्त’ घोषित, कसको दायित्वमा कति रकम ?
-
प्रयागराज महाकुम्भमेला : धार्मिक पर्यटन प्रवर्द्धन गर्न उपयोगी
-
बाँकेमा भेटिए बीस प्रजातिका चरा
-
रुसी राष्ट्रपतिलाई ट्रम्पको चेतावनी-युक्रेन युद्ध समाप्त गर्ने कि आर्थिक दण्ड भोग्ने ?
-
पश्चिमी न्यून चापीय प्रणाली सक्रिय, यी स्थानमा वर्षा र हिमपातको सम्भावना