बुधबार, १२ मङ्सिर २०८१
ताजा लोकप्रिय

बुर्जुवा लोकतन्त्र र वामपन्थी एकता

शुक्रबार, ११ फागुन २०७४, १३ : २२
शुक्रबार, ११ फागुन २०७४

संसारभरी वामपन्थको यति धेरै परिमाणमा अर्थ–राजनीतिक एवं सामाजिक, सांस्कृतिक माहोल निर्माण हुनुभन्दा पहिले पुँजीवादी अर्थ–राजनीतिक संस्कारले विश्वका लगभग सबैजसो मुलुकमा एउटा शासकीय चरित्र नै निर्माण गरिसकेको थियो । यसले सीमित सत्ताधारी वर्गका व्यक्तिद्वारा निर्मित एवम् संरक्षित परिपाटीभित्र पनि मुठ्ठीभरका व्यक्तिलाई आय उपार्जनमा राज्यशक्तिका सबैखाले प्रपञ्चको जोहो गराइएको हुन्थ्यो । त्यसै आसपासमा राज्यका सबै एकाइहरू नियन्त्रित हुन्थे । यस घनचक्करमा आम जनता केवल तिनै सत्ताधारीवर्गका स्वार्थमा उपयोग दुरूपयोग हुने र गरिने फगत एक जीवित वस्तुबाहेक अरू केही छँदै थिएनन् । आधारभूत मानवीय मूल्य मान्यता सबै शासन व्यवस्थाको हित या अहितमा दाँजेर त्यसलाई समृद्धि गर्ने या निर्मूल पार्ने भन्ने हुन्थ्यो । यसरी एउटा मान्छेलाई जीवन जिउँन आवश्यक पर्न जाने न्यूनतम आधारभूत या नैसर्गिक कुराहरू समेतबाट वञ्चित गराइन्थ्यो र ऊ या त उक्त विभेदकारी शासनसत्ताको दलाली गर्न बाध्य हुन पुग्थ्यो या त त्यस व्यवस्थाको कोपभाजनमा परेर उसले अस्तित्व मेटाउनु पथ्र्यो ।      

उन्नाइसौँ शताब्दीको मध्यतिर केही फ्रान्सेली एवं बेलायती आदर्शवादी चिन्तकहरूले तात्कालीन समयमा औद्योगिक मजदुरहरूलाई दैनिक आवश्यक पर्न जाने आधारभूत वस्तु तथा सुविधाहरू उपलब्धताको प्रत्याभूति गराउने काम गरेर अति आत्मकेन्द्रित व्यक्तिवादी चरित्रका मान्छेहरूका माझ एउटा सामाजिक रूपले सबैलाई उत्तिकै समान व्यवहार गर्नुपर्ने मान्यता स्थापना गर्ने काम गरेका थिए । ती व्यक्तिहरू थिए  दुई फ्रान्सेली नागरिक चाल्र्स फोरिअर तथा हेनरी सेन्ट–साइमन र बेलायती नागरिक रबर्ट अवेन जस्ता समाजमुखी चिन्तकहरू । तिनका समकालीन मान्छेहरूले तिनलाई समाजमा टिक्न नसक्ने, मूल सामाजिक धरातलबाट पलायन भएको एवं टेक्ने कुनै आधार नभएको असामाजिक तत्व घोषित गरी तिनलाई समाजबाटै बहिष्कृत गरी काम नलाग्ने बनाइदिका दिएका थिए ।  

त्यसबेला भर्खरै सामन्तवादी सत्ताको पतन भएर त्यसका ठाउँमा पुँजीवादी व्यवस्थाले स्थान जमाउन थालेको थियो । तर महत्वपूर्ण कुरो चाहिँ के हो भने त्यतिन्जेलसम्म समाजमा समता र आर्थिक–सामाजिक समानता रहनुपर्छ भन्ने सोचबाट ओतप्रोत भएर सामाजिक सेवा गर्नेबाहेक सैद्धान्तिक एवं साङ्गठनिक रूपमा सबल राजनीतिक जमात बनाएर राज्य सत्ताबाटै सीधै जनताको दैनिकीमा असर पार्ने प्रकृतिका हस्तक्षेपकारी गतिविधि भने हुन सकिरहेको थिएनन् । 

त्यस कार्यमा भने कार्ल माक्र्स र फ्रेडरिक एङ्गेल्सले संयुक्त रूपमा ज्याला मजदुरी गरेर पेट पाल्ने वर्गका खातिर एउटा सशक्त वैज्ञानिक विचार एवं कार्यदिशा निर्माण गर्ने काम गर्न थाले ।   सन् १८४० को सेरोफेरोमा बेलायतमा ज्यामी, मजदुर अनि उद्योगी व्यावसायीहरू बीच धेरै किसिमका सानाठूला सङ्घर्षहरू भइरहन्थे । जसमा मजदुरहरू न्यूनतम आधारभूत कुराहरूको प्रत्याभूति गर्नका एकताबद्ध हुन्थे र आआफ्नो भूमिका र हैसियत अनुसार व्यवस्थाविरुद्ध चुनौती बनेर पेश हुन्थे । त्यसै बेला माक्र्स र एङ्गेल्स मिलेर कम्युनिष्ट पार्टीको घोषणापत्र प्रकाशित गरी समग्र मानव सभ्यतालाई व्याख्या गर्ने नयाँँ दृष्टिकोणको जन्म दिए । यसलाई साम्यवादी विश्व दृष्टिकोण पनि भनिन्छ ।

‘वामपन्थ’ पदावलीको प्रयोग

हुन त सन् १७८९ को फ्रान्सेली राज्यक्रान्तिका बेला एतात जेनेर भनेर चिनिने फ्रान्सको संसदीय भवनभित्र सदन चल्दाखेरी सांसद, सभासदका लागि बस्ने प्रबन्ध मिलाउँदा सभाध्यक्षको दाहिनेतिर बस्ने जति सबै ‘राइटिस्ट’ या दक्षिणपन्थी, यसैगरी देब्रेतिर बस्ने जति वामपन्थी भनेर चिनिन थाले । यसरी बसाइकै क्रममा दाहिनेतिर बस्नेले पुरानो यथास्थितिवादी सत्ताको भरणपोषण र पैरवी गर्दथे भने देब्रेतिर बस्नेले प्रगतिशीलता, गतिशीलता, क्रान्तिकारी आमूल परिवर्तन र नयाँपनको पक्षमा डटेर वकालत गर्दथे । त्यसै कालदेखि बेलायतलगायत युरोपका अन्य मुलुकमा पनि सोही बमोजिमको संसदीय, राजनीतिक, सामाजिक एवम् सांस्कृतिक विचार र पवृत्तिलाई स्पष्ट दुई खेमामा विभक्त गरी हेरिन थाल्यो । त्यो चलन विस्तारै विस्तारै दुनियाँँ भरमा चलनचल्तिमा आउन थाल्यो । हाल आएर संसदको मेचहरूको प्रबन्धका आधारमा विचार र दृष्टिकोण छुट्याइने चलन हरायो तर वामपन्थी र दक्षिणपन्थी भन्ने चलन अझै छँदैछ ।   

नेपालको राजनीतिक वत्तमा केही शब्दावलीमध्ये वामपन्थ, दक्षिणपन्थ, खेमा, प्रतिकृयावादी कित्ता, फाँसीवादी कित्ता, विसर्जनवाद, यथास्थितिवाद, दलाल पुँजीवादी तत्व, दलाल नोकरशाही पुँजीवाद, देशीय सामन्तवाद, विस्तारवाद र साम्राज्यवाद, अधिभौतिकवाद, क्रान्तिकारी लफ्फाजी, लम्पट सर्वहारा आदि अत्यन्त प्रचलित छन् ।
 
जनताको शासन, जनवाद या जनतन्त्र 

सोभियत सङ्घ निर्माणका लेनिन, ट्रटस्की, कामिनेभ, जिनोभिभ, स्टालिन एवं बुखारिन जस्ता हस्तीहरूले भने या सोचेझैँ संसारभरी सोभियत शैलीकै सत्ता निर्माण हुनेछ भन्ने कुरा सन् १९१७ देखी १९२३ सम्म मध्य तथा पूर्वी युरोपका मुलुकहरूमा सोका लागि भएका जनसङ्घर्षले भोग्नुपरेको असफलताबाट तात्कालीन सोभियत सुप्रिमो जोसेफ स्टालिन एवं हङ्गेरियन बौद्धिक वाम नेता जर्गी लुकाक्सले निकालेका नयाँँ निष्कर्षहरूमा भनिएझैँ क्रान्ती आयात—निर्यातको वस्तु नभएर कुनै मुलुकको विशिष्ट परिवेशको अध्ययनबाट संश्लेषण निकालेपछि मात्रै कस्तो र के खालको साम्यवादी सत्ताको उद्भव हुनजाने हो भन्ने कुराको निक्र्याैल निस्कन्छ । 

अझ भन्नुपर्दा द्वितीय विश्वयुद्धपछिको विश्व राजनीतिक रङ्गमञ्चमा जनताका लागि गरिने सङ्घर्षहरूलाई दिशानिर्देश गर्ने नयाँँ विचारधाराको अभ्युदय र त्यसको मञ्चन पनि सुरु हुन थाल्यो । सोभियत समाजवादी नेतृत्वले पनि दुनियाँँका अन्य वामपन्थी नेतृत्वलाई वामपन्थी या समाजवादी सत्ता प्राप्तिका नयाँ कार्य योजनाहरूको विन्यास गर्न सुझाव दिन थालेको देखिन्छ । जब फाँसीवादी हिटलरको अवशान भयो तबदेखि नै जनताको जनवादका लागि सङ्घर्ष गर्न उत्प्रेरकको भूमिकामा सोभियत नेतृत्व  देखापरेको थियो ।  

एवं रीतले सोभियत सङ्घबाहेक युरोपका धेरै मुलुकका साम्यवादी राजनीतिक दलहरूले बहुलतावादी सोचको विकास गर्दै संसदीय परिपाटीलाई अँगालेर शान्तिपूर्ण तवरले संसदीय गठबन्धन बनाउँदै सरकारमा जाने अनि शान्तिपूर्ण सङ्क्रमणको बाटोबाट राज्य सत्तामा हाबी हुँदै जनताको जनमतको कदर पनि गर्ने साथै जनवादी कार्यक्रम पनि लागू गर्दै जाने रणनीति मुताबिक अघि बढेको पाइन्छ ।  

युरोपलगायत संसारका धेरै स्थानमा यही पाराका कम्युनिष्ट पार्टीहरू धेरै स्थापना भए । पश्चिम युरोप, खासगरी स्क्यान्डिनेभियाली मुलुकहरूमा सामाजिक लोकतान्त्रिक (सोसल डेमोक््रयाटिक) दलहरू विकसित भए । अहिलेसम्म पनि ती मुलुकमा त्यस्तै दलहरू नै निरन्तर सत्तामा हाबी छन् अनि जनतालाई जेजति सकिन्छ सेवा भुक्तान गरिरहेका छन् । 

चीनमा भने अलि फरक खाले वामपन्थको विकास भएको भेटिन्छ । अध्यक्ष माओले सन् १९४० को आफ्नो एक आलेखमा अन्तर वर्गीय जनवादको चर्चा गरेका छन् । जसमा माक्र्सले भनेको ‘सबैभन्दा पहिले सामन्ती राज्य व्यवस्थालाई बुर्जुवा लोकतन्त्रद्वारा विस्थापित गराउने, जसले आम सर्वहारा या गरिखाने निम्न मध्यम वर्गका साथसाथै मध्यम वर्गीय पुँजीजीवी तप्का पनि मूलभूत रूपले शासन सत्ताको पहुँचमा पुग्न जान्छन् । यसरी पुराना शासक वर्ग र पुरानो शासन व्यवस्थाको निर्मूल हुनपुग्दछ । अब यो परिवेशले समाजवादतर्फ समाजलाई सहजै धकेलेर लैजान्छ ।’ भन्ने कुराप्रति फरक अवधारणा प्रस्तुत गर्दै माओले ‘जनताको जनवादी आधिनायकवाद हासिल गर्नुपर्ने आवश्यकतामाथि जोड दिएका छन् । उनले बुर्जुवा लोकतन्त्र र समाजवादी क्रान्ति एकपछि अर्को घटनाक्रम नभएर एउटै तहमा एकै चोटि घटाउन सकिन्छ ।’  भन्ने प्रस्तावना अघिसारे । यो नै माओले चीनमा प्रयोग गरेको नयाँ जनवादको आधारभूत सैद्धान्तिक पृष्ठभूमि हो ।        

तर वर्तमान विश्वमा समाजवाद भन्ने पदावली सबै प्रकृतिका कम्युनिष्ट पार्टीहरूको दस्तावेजमा ग्रन्थित पाइन्छ, सबैका आआफ्नै विशेषतासहितका विश्लेषण पाइन्छन् । तात्विक रूपले समाजवादी चिन्तन जगतका भाष्यका विविधतामा मूलभूतरूपले तिनका अन्तर्यमा सैद्धान्तिक एवं रणनीतिक एकता पाइन्छ ।   

सापेक्ष रूपमा नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले) बीच भिन्नताका केही मानकहरू देखिए पनि यी दुईको रणनीतिक अर्थमा खासै भिन्नता छुट्टिँदैन । नेपाल कम्युनिष्ट पार्टी विभाजन भएर दुईवटा दलमा परिणत भयो, जसमा नेकपा (माले) र नेकपा (चौम) थिए । नेकपा (माले) रुसी समाजवादबाट प्रभावित थियो भने नेकपा (चौम) चिनियाँ कम्युनिष्ट पार्टीका अध्यक्ष माओको नयाँवादी धारसँग सहमत थियो । कालान्तरमा जेजति सङ्ख्यामा वाम दलहरू निर्माण भए ती सबै स्थापनाकालकै नेकपाबाट टुक्रिएका यिनै दुई ठूला घटकहरूबाट बनेको पाइन्छ । नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले) बीच ऐतिहासिक पृष्टभूमिमा धेरै पृथकता रहेका छन । यद्यपि अहिले यी दुवै वामपन्थी दललाई इतिहासले भिन्न विश्व राजनीतिक, सामाजिक एवं आर्थिक परिवेशअन्तर्गत एउटै सामाजिक मोर्चा र राजनीतिक रङ्गमञ्चमा एउटै पटकथालाई न्याय गर्नुपर्ने दुर्लभ ऐतिहासिक जिम्मेवारी सुम्पिएका कारण आज नेकपा संस्थापनाको झन्डै सत्तरी वर्षपछि तिनै घटकहरूको फेरि एकता गराएर नेकपा नै बनाउने कामको शुभ थालनी भएको छ ।  
यी दुई दलको दलीय एकताको मूर्तीकरणपश्चात सिर्जित हुन जाने नयाँँ दलिय संरचनाभित्र त्यसलाई अग्रगति प्रदान गर्न विन्यास गरिने नयाँँ वामपन्थी सिद्धान्तले फगत पार्टीलाई राजनीतिक बाघडोर निर्माण गर्ने मात्र नभई समष्टिगत ढङ्गले पार्टीका सबै आयामहरूलाई  एकमुष्ट रूपमा नयाँँ नेपाल निर्माण गर्न सक्ने रणनीतिहरूलाई पनि सम्बोधन गर्ने आधारभूमिको सृष्टि गर्न सक्यो भने त्यो नयाँँ नेपालको नयाँँ बाटो सावित हुनेछ । हाम्रा वाम नेतृत्वलाई यो मौका ‘एक जुगमा एक दिन एक चोटि’ आउने मौका हो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मातृका पौड्याल
मातृका पौड्याल

लेखक नेकपा माओवादी केन्द्र, विदेश विभाग सदस्य एवम् परराष्ट्र मामिलाका अध्येता हुनुहुन्छ ।
 

लेखकबाट थप