बच्चाको अन्त्यहीन स्वतन्त्रता
नानीहरूलाई हामीले कुनै कुरा जसरी सिकाइ गरिरहेका छौँ, त्यो देख्ता घरिघरि त यस्तो लाग्छ, उनीहरूलाई पराधीन बनाइरहेका छौँ । उनीहरूको मौलिक स्वतन्त्रता छिनिरहेका छौँ । शिक्षाले र ज्ञानले उनीहरूलाई स्वतन्त्र बनाउँदै लानुपर्नेमा हाम्रो तथाकथित ज्ञान र सिकाइले उनीहरूको काँधमा परतन्त्रताको जुवा कसिरहेका छौँ । असीम ज्ञानको समुद्रमा हेलिने बच्चाको अन्त्यहीन स्वतन्त्रतालाई एक दुष्कर सिकञ्जामा कोचिरहेका छौँ । जाग्नुपर्ने, जगाउनुपर्ने मौलिक विवेकलाई उठ्न दिइरहेका छैनौँ । ढुङ्गाले थिचेको दुबोका टुसाको जुन गति हुन्छ, त्यही गतिमा बच्चाको ऊर्वर मस्तिष्कलाई थिचिरहेका छौँ ।
बच्चालाई संसार आफ्नै आँखाले हेर्न दिनुपर्छ तर हामीले बच्चाका आँखा झिकेर त्यसको ठाउँमा हाम्रा आँखाबाट संसार चियाउन सिकाइ रहेका छौँ । लादिएका आँखाले उसले कस्तो दुनियाँ देख्ला त्यसको विम्ब मस्तिष्कमा कस्तो, कसरी आरेखित गर्ला ? सिक्ने सिकाउने मान्छेका लागि यी भीमकाय यक्ष प्रश्नहरू हुन् । जुन बच्चाले आफ्नो आँखाले दुनियाँ देख्न पाउँदैन, ऊ कति पराधीन छ, सहजै अनुमान लगाउन सकिन्छ । जुन बच्चाले वस्तुजगत्को, विचारजगत्को, भावजगत्को विम्ब आफैँले आफ्नो मस्तिष्कमा कोर्न पाउँदैन, निक्र्योल गर्न सक्तैन । उसलाई कसरी अपाहिज बनाइएको छ, सजिलै अनुमान लगाउन सकिन्छ ।
बच्चाभित्र सीमाहीन सम्भावना छ । ऊभित्र सीमाहीन अंकुरणको क्षमता छ । सीमाहीन पल्लवित, पुष्पित र सुवासित हुने संभावना हुन्छ, त्यसको लागि उसले सीमाहीन स्वतन्त्रताको आलोकमा फैलिन पाउनुपर्छ, फुक्न पाउनुपर्छ । तर हामीले फैलिन र फुक्नबाट उसलाई रोकिरहेका छौँ । उसको मेधामा उसलाई चम्किन दिनुपर्नेमा, कथित काम नलाग्ने उज्यालो आरोपित गरेर उसलाई पङ्गु बनाइरहेका छौँ । उसलाई आफ्नै विचारले सोच्ने बनाउनुपर्नेमा हामी आफ्नो विचारले सोच्न सिकाइरहेका छौँ । उसलाई आफ्नै खुट्टाको बलमा दगुर्ने बनाउनुपर्नेमा काखीमा बैसाखी थमाएर त्यसको बलमा दगुर्न उत्प्रेरित गरिरहेका छौँ । सिकाउने र शिक्षित बनाउने नाममा प्रकारान्तरले उसलाई अपाङ्ग बनाइरहेका छौँ । जुन बच्चा आफ्नो मस्तिष्कले विचार पैदा गर्न सक्तैन, त्यो बच्चा मानसिक रूपमा करिब करिब अपाङ्गकै कोटिमा पर्न जान्छ ।
जुन दिन बच्चालाई हाम्रो आँखाबाट होइन उसकै आँखाबाट संसार देख्ने बनाउँछौँ, जुन दिन हामीले हाम्रो विचारबाट होइन उसको आफ्नै विचारबाट सोच्ने, चिन्तन गर्ने बनाउँछौँ त्यो दिनबाट बच्चामा नव सम्भावनाको जादु प्रकट हुन्छ । उसले हामीले लगाइदिएका बैसाखी फालिदिन्छ र आफ्ना खुट्टालाई मजबुत गर्न थाल्छ । हामीले थोपरेको बासी र उधारो ज्ञानभन्दा उसले कमाएको ताजा र हाताहाती ज्ञानमा उसको विश्वास बढ्छ । जान अन्जानमै हामी कथित गुरुवर्गले बच्चाको सिर्जनशील मस्तिष्कलाई कुठाराघात गरिरहेका छौँ ।
अक्सर हामी गुरुवर्गले कलिलो मन र मुटुको बच्चालाई आफ्नो विचारको दास बनाइरहेका छौँ । उसको विचारको कुनै मूल्य छैन, उसको आकाङ्क्षाको कुनै कदर छैन । उसको इच्छाप्रति कुनै समादारको भाव छैन । प्रत्येक दिन बच्चालाई हामीले नजानिँदो र अदृश्य रूपमा घायल बनाइरहेको हुन्छौँ । उसको अन्तस् लोकलाई डामाडोल पारिरहेका हुन्छौँ ।
बच्चालाई उसकै आँखाबाट संसार चियाउन दिऔँ । उसका आँखा निभाएर हाम्रा आँखा उसको निधारमा प्रत्यारोपण नगरौँ । उसकै कलिला पाउले ऊ ताते गर्न सिकोस्, टुकुटुकु हिँड्न जानोस् ।
उसलाई अनुशासन सिकाउने नाममा उसका जायज चाहनाहरूलाई सम्बोधन गर्न सकिराखेका छैनौँ । उसलाई स्वअनुशासनको सूक्ष्म झलक दिन सक्तैनौँ । डण्डा र दण्डको बलमा कथित अनुशासन लादिरहेक हुन्छाँै । यसले गर्दा फुल्ने सम्भावनाका अनन्त कोपिलाहरू बीचमै ओइली झर्छन् ।
बच्चा हाम्रो रूग्ण र कठोर विचार बोक्ने भरिया बनेको छ आज । ऊ आफैँ विचार गर्न सक्ने बनाउनुपर्नेमा हामी आफ्नो विचार उसको कलिलो दिमागमा ठोसिरहेका छौँ । त्यसैले बच्चा साँच्चै नै भरिया बनेको छ । पाठशालामा गुरुवर्गको विचारको भारी बोकिदिने भरिया बन्छ ऊ । घरपरिवारमा अभिभावक, अग्रजहरूको विचारअनुसार चल्ने दास बन्छ । बच्चालाई मालिक बनाउने दिशातर्फ हाम्रा सोच, व्यवहार र क्रियाकलापहरू पटक्कै अभिमुख छैनन् । निरीह बच्चाले कति भार थामोस् । फेरि भौतिक वस्तुको भारीभन्दा विचारको भारी हजारौँ गुना बोझिल हुन्छ । त्यो सत्यलाई हामीले अलिकति पनि ख्याल गरेका छैनौँ ।
बच्चालाई उसकै आँखाबाट संसार चियाउन दिऔँ । उसका आँखा निभाएर हाम्रा आँखा उसको निधारमा प्रत्यारोपण नगरौँ । उसकै कलिला पाउले ऊ ताते गर्न सिकोस्, टुकुटुकु हिँड्न जानोस् । हाम्रा बैसाखीको बलमा दगुर्न नसिकोस् । ऊ आफ्नै दिमागले सोच्न, सम्झिन सक्ने होस् । हाम्रो विचारले उसको विचार गर्ने शक्ति नामेट नगरोस् ।
तर विडम्बना मुरली मकैका अनन्त दानाहरूलाई ठेट्ना बनाइरहेका छौँ हामी । आजभोलि मकैको एक प्रजाति आएको छ यहाँ । जसको नाम मुरली मकै हो । मुरली मकैको एउटा विशेषता हाँडीमा समुचित विधिले भुट्ताखेरी सबै दानाहरू फूल उठ्छन् एउटा पनि ठेट्नो रहँदैन । सबै फूल बन्ने मकै मुरली मकै हो । हर बच्चाभित्र मुरली मकैको गुण सन्निहित छ । अर्थात् बच्चालाई समुचित शिक्षा र वातावरण दिने हो भने उनीहरू सबै फूल बन्छन् । कोही ठेट्ना रहनुपर्दैन । तर कठै ! कति फूल उठ्ने मुरली मकैलाई हामीले ठेट्ना बनाइरहेका छौँ । उसको फूल बन्ने गुणलाई नष्ट पारिरहेका छौँ । यो कुरा हामी पढाउने शिक्षक जमातलाई पनि थाहा छैन । अभिभावक वर्गलाई पनि थाहा छैन ।
बच्चाभित्र अन्तरर्निहित असीम सम्भावनाका बिजहरूलाई उचित मलजल गर्ने कला हामीसित छैन । उचित पोषण दिने सीप हामीसित छैन । त्यो कला र सीप आर्जन गर्न पनि आतुर छैनौँ हामी । भएको सीप र कलालाई कार्यरूपमा उतार्न पनि तत्पर छैनौँ हामी । त्यसैले हाम्रा पाठशालाहरू बच्चाहरूलाई बासी ज्ञान कोच्याउने यातनागृह जस्ता बनेका छन् । सिर्जनाका नवनव उन्मेष प्रकट गर्न नसक्ने शुष्क कैदीखाना जस्तो बनेका छन् । नयाँ कलेवरमा पाठशालालाई प्रतिभा प्रष्फुटनको ज्ञानशाला बनाउन सकेनौँ भने हामी शिक्षाको इतिहासमा एक अपराधीका रूपमा दर्ज हुनेछौँ । यसले बच्चाका बाआमाले तिरेको तिरोका माड चाटेर बच्चालाई विकलाङ्ग शुष्क पुङमाङ बनाइरहेछौँ । बच्चाभित्र गद्गद् भाव भर्न नसक्ने शिक्षकले कसरी खुसीको विज्ञान रच्ला ? कसरी आनन्दको अर्थमेटिक पिलाउन सक्ला ? सन्देहहरू उठेका छन् ।
सामाजले, मातापिताले, गुरुवर्गले दिएको आकारबाट मात्र संसार हेर्ने परिपाटीलाई नफेरेसम्म बच्चाहरूभित्रको अनन्त सिर्जन शक्ति प्रस्फुटन हुन सक्तैन ।
एउटा बच्चा हमेसा बन्द कोठामा थुनिएको छ । उसलाई बाहिर निस्कन पाउने कुनै गुन्जाइस् छैन । बाहिरी आकाश हेर्न झ्यालको आकार चौकुने छ । त्यही झ्यालको चौकटबाट चौकटभरिको आकाश मात्र देख्छ ऊ । अर्काे बच्चा कोठाबाट खुल्ला आँगन र खुल्ला चौरीमा समेत निस्किन पाउँछ । खुला आँगनबाट असीम आयाममा फैलिएको विशाल आकाश देख्छ । एउटाले सीमाभित्रको आकाश देख्छ, अर्काेले सीमाहीन आकाश देख्छ । यी दुइवटै बच्चालाई एकै ठाउँ राखेर आकाश कस्तो छ ? भनी सोध्यो भने एउटाले भन्छ– आकाश चौकुने छ, अर्काेले भन्छ– आकाश सीमाहीन रूपमा टाढाटाढा फैलिएको छ । यसरी आकाशलाई देख्ने कुरामा दुवैको दृष्टि अलगअलग किसिमको बन्छ । जसले चौकटबाट चियाएर आकाश देखेको छ, उले चौकुने देख्नु स्वाभाविक हो । अनि जसले खुला आँगनमा निस्केर आकाश चियाउन पाएको छ, उसले असीम देख्नु पनि झन् स्वाभाविक हो ।
हामीले बच्चालाई वस्तुगत संसार हेर्नका लागि सुरुमा नै एक एक थान चौकट दिइरहेका छौँ । ऊ हरेक कुरालाई चौकटमा राखेर हेर्ने गर्दछ अर्थात् चौकटभित्रबाट चियाएर वस्तुगत संसारलाई नियाल्ने गर्दछ । जसले गर्दा उसको बुझाइ एकसीमामा कैद हुन्छ । उसको अवलोकन एक आकारमा गएर खुम्चन्छ । उसको विहङ्गम दृष्टि सङ्कुचित पथमा पुगेर साँघुरिन्छ । उसको अनन्त संसार हेर्ने सम्भावना एउटा सानो झ्यालको प्वालमा पुगेर अन्त्य हुन्छ ।
आजका गुरुहरूको मूल चुनौती नै झ्यालको प्वालबाट आकाश चियाइरहेको बच्चालाई खुल्ला मैदानमा ल्याएर सीमाहीन सगर देखाउनुमा छ । विदित दुनियाँका चौकुने आकारबाट होइन अविदितका असीम द्वारहरूबाट जगत् चिनाउनु छ । चौकटमा राखेर उनीहरूको असीमतिर अवलोकन गर्ने आँखाहरूलाई पङ्गु बनाउँदैछौँ । ती चौकटलाई झिक्नु छ ।
सामाजले, मातापिताले, गुरुवर्गले दिएको आकारबाट मात्र संसार हेर्ने परिपाटीलाई नफेरेसम्म बच्चाहरूभित्रको अनन्त सिर्जन शक्ति प्रस्फुटन हुन सक्तैन । उसलाई हमेसा हात समातेर ताते गराइराख्ता ऊ कहिल्यै दौडिन सक्तैन । उसलाई त आफैँ दौडिन दिनुपर्छ । उसलाई लड्न दिनुपर्छ । आफ्नै बलमा उभिन दिनुपर्छ । अनि त बच्चा मजबुत हुँदै जान्छ । आफू दगुर्नका लागि पर्याप्त शक्ति आफैँ सँगाल्न थाल्छ । लड्ने, उठ्ने, कुद्ने र विश्राम लिने सीप र शैली आफँै आर्जित गर्न थाल्छ । आफ्नै सङ्घर्षको बलमा उभिएको बच्चाले मात्र भोलिका दिनमा कर्तव्य र जिम्मेवारीको सगर थाम्न सक्छ । आफ्नै आँखाले ज्ञानविज्ञानको क्षितिज चियाएको बच्चाले मात्र समाजमा उज्यालो पोत्न सक्छ । यस कुराको चेतना भया ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुग्लिन–पोखरा सडकः पूर्वी खण्डमा धमाधम कालोपत्र गरिँदै
-
जागरण सभाका नाममा शक्ति प्रदर्शन गर्दै एमाले
-
आजको दिन कुन राशिका लागि राम्रो ? हेर्नुहोस् राशिफल
-
पश्चिमी वायुको प्रभाव कायमै, यी चार प्रदेशमा आज वर्षाको सम्भावना
-
नेपालमा ओमानी रियाल पनि खरिदबिक्री हुने, विदेश पुगेका नेपालीलाई राहत
-
के हो अक्युपञ्चर उपचार विधि ?, के छ महत्व ?