शुक्रबार, ०७ मङ्सिर २०८१
ताजा लोकप्रिय
प्रदेश

विराट अव्यवस्थालाई सुव्यवस्थामा बदल्ने महानगरपालिकाको प्रयास

सोमबार, २३ माघ २०७९, ०६ : २७
सोमबार, २३ माघ २०७९

विराटनगर । विराटनगर महानगरपालिकामा अव्यवस्था धेरै छ । विगतमा व्यवस्थित गर्ने कुरा पनि भएकै हुन् तर काम भएन । २०५४ सालमा निर्वाचित तत्कालीन मेयर रमेशचन्द्र अधिकारीले केही प्रयास गरेको कतिपय स्थानीयवासी स्मरण गर्छन् । त्यसयता भने विराटनगर महानगरपालिकाको अधोगति सुरु भयो । अहिले पनि विराटनगर महानगरपालिका आर्थिक हिसाबले काठमाडौँपछिको दोस्रो सहर थियो । तर उक्त स्थानबाट अहिले छैटौँ स्थानमा झरेको छ । 

गत भदौ ९ गते २२ बुँदे श्वेतपत्र जारी गर्दै हालका नगरप्रमुख नागेश कोइरालाले विगतको निराशा, विसङ्गति, विकृति र कमीकमजोरीलाई चिर्दै दोस्रो स्थानीय सरकारका रूपमा आएको हालको जनप्रतिनिधिले सुशासन र समृद्धिको यात्रालाई अगाडि बढाउनुपर्ने बताएका थिए । 

5-4

त्यसका लागि उनले योजनाबद्ध विकास, स्रोतको कुशल विनियोजन तथा परिचालन, आन्तरिक राजस्वमा अभिवृद्धि, छरितो तथा कार्यमूलक प्रशासनिक संरचनाको व्यवस्था, गुणस्तरीय शिक्षा तथा स्वास्थ्य, सार्वजनिक सम्पत्तिको संरक्षण, संस्थागत क्षमताको विकास, आर्थिक अनुशासन, फोहोरमैलाको दिगो व्यवस्थापन, सामुदायिक विकास, विपत् व्यवस्थापनको सबल संयन्त्र, भएका पूर्वाधार तथा सम्पत्तिहरूको मर्मत, सम्भार र पारदर्शी तथा जनउत्तरदायी स्थानीय सरकारको प्रत्याभूति दिने प्रतिबद्धता व्यक्त गरेका थिए । 

सोहीअनुसार अहिले विराटनगर महानगरपालिकाले फोहोरमैलाको व्यवस्थापन, सडकमा भएका अव्यवस्थित पार्किङ हटाउने, फुटपाथ खाली गर्ने, अव्यवस्थित बिजुलीका तारहरू व्यवस्थित गर्ने काम गरिरहेको छ । फोहोर मैला जथाभाबी फाल्नेलाई कारबाही गर्ने भन्दै जिम्मेवारी नै छुट्याएको छ । 

उनले अवैध संरचना हटाउने अभियानको सुरुवात आफ्नै घर भत्काएर गरे । विराटनगर–९, जलजला रोडस्थित कोइरालाले भाडामा लगाएका पसल सञ्चालकले सटर अगाडि आफूखुसी निर्माण गरेका संरचना हटाएर उनले अभियानको सुरुवात गरेका थिए । 

4-IMG_3128

‘परिवर्तन गर्न आफैँबाट सुरु गर्नुपर्छ भन्ने भनाइलाई चरितार्थ गर्दै मेरै घरमा रहेका पसल सञ्चालकले बनाएका अवैध संरचना हटाएर अभियान सुरु गरेका छौँ,’ उनले भने, ‘विराटनगर अब यथास्थितिमा बस्न सक्दैन, विराटनगर प्रदेशको राजधानी पनि हो । यसलाई सफा, सुन्दर, व्यवस्थित र विकसित बनाउने हाम्रो लक्ष्य छ । विराटनगरलाई व्यवस्थित बनाउने अभियानमा साथ दिन महानगरवासीलाई आग्रह गर्दछु ।’

महानगरपालिकाले महानगरलाई सफा, सुन्दर र व्यवस्थित गर्ने अभियानलाई पनि तीव्रता दिएको छ । सडक किनार र फुटपाथमा राखेका निर्माण सामग्री हटाउने काम पनि गरिरहेको छ । विराटनगरमा सुरुको अवस्थामा भन्दा अहिले मेन रोड तथा बजारहरू केही व्यवस्थित देखिन्छन् । फुटपाथका निर्माण सामग्री हटाउन लगाइएको छ । 

विराटनगर महानगरपालिकाले उज्यालो अभियान पनि सुरु गरेको छ । पहिलो चरणमा सिमाना सडकलाई प्राथमिकतामा राखेर महानगरले बत्ती जडान गरिरहेको छ । बत्ती जडान गरिएका सडकहरू रातको समयमा झिलिमिली देखिने गरेको छ । 

6-futpath (1)

‘उज्यालो विराटनगर’ अभियानलाई सार्थक बनाउन सम्बन्धित शाखालाई निर्देशन दिइसकेको र काम पनि भइरहेको मेयर कोइरालाले बताए । पहिलो चरणमा पुष्पलालचोक–मेनरोड हुँदै रोडशेषसम्म जडान हुनेछ । हाल पुष्पलालचोकदेखि ट्राफिक चोकसम्म जडान भइसकेको छ ।

त्यस्तै महानगरको  सिमाना ढाट (प्रवेशद्वार)देखि रोडशेष हुँदै कोसी राजमार्गका दुवै भाग, रानीपथ हुँदै भन्सारसम्म जडान गरिनेछ । पहिलो चरणमा एक सय वाटका ७७० वटा बत्ती जडान हुनेछन् । त्यस्तै ५० वाटका २५० बत्ती जडान हुनेछन् । यसअघि सोलार जडान भएको सडकमा पनि बिजुलीबत्ति नै जडान गरिनेछ । 

महानगरपालिकाले केबल तथा इन्टरनेट प्रदायक कम्पनीलाई जथाभाबी अव्यवस्थित ढङ्गले छोडेका तारहरू पनि व्यवस्थित गर्न लगाएको छ । विराटनगरमा म्याक्स, सुबिसु, वल्र्डलिङ्क, भाइनेट, नेपाल टेलिकमलगायतका कम्पनीले आफ्नो तार व्यवस्थित गरेका छन् । जसका कारण पहिलेको जस्तो लत्रिएका र गज्याङगुजुङ तारहरू केही व्यवस्थित देखिएको छ । ‘अव्यवस्थित तारका कारण विराटनगरको सुन्दरतामा कमी आएको छ,’ मेयर कोइरालाले भने, ‘अहिले नै अन्डरग्राउन्ड गर्ने अवस्था नभएकाले कम्तीमा लत्रिएका तारलाई माथि तानेर बाँधियो भने केही व्यवस्थित त हुन्छ ।’ चैत मसान्तभित्र विराटनगरका सबै तार व्यवस्थापन गरिसक्ने महानगरको तयारी छ । 

यसैबीच विराटनगर महानगरपालिकाले सडक सरसफाइलाई पनि तीव्रता दिएको छ । महानगरले ब्रुमर लगाएर सडकको धुलो उठाउनुका साथै पानी लगाएर पखाल्ने कामसमेत गरिरहेको छ । पहिलो चरणमा महानगरले बजार क्षेत्रका मुख्य सडकको धुलो सफा गर्ने अभियान सञ्चालन गरेको छ । पार्किङ व्यवस्थापनपछि महानगरले सडकलाई सफा बनाउन ब्रुमर लगाएर धुलो उठाउने र पानी लगाएर धुने काम गरिरहेको महानगरका सरसफाइ शाखा प्रमुख पुनम दाहालले जानकारी दिए । 

शनिमन्दिरदेखि अस्पताल चोक र महावीर रोडलाई पार्किङ निषेधित क्षेत्र घोषणा गरिएको छ । ‘नो पार्किङ जोन’ घोषणा गरिएको सडक पखालेर चिटिक्क पारिएको छ । मेयर नागेश कोइरालाको निर्देशनअनुसार सफाइलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले बताए । घर र पसलअगाडि फोहोर भेटिए सम्बन्धित घर र पसलधनीलाई कारवाही गरिने महानगरले जनाएको छ ।

यस्तै विराटनगर महानगरपालिकाले विराटनगरभित्र सञ्चालित धेरै होटल र मदिरा व्यवसाय दर्ता नगरेको पाइएपछि व्यवसायीहरूलाई बोलाएर महानगरले छलफल गरेको छ । महानगरका मेयर नागेश कोइरालाले महानगरले सुरु गरेको अभियानमा साथ दिन व्यवसायीहरूसित आग्रह गरेका छन् । मेयर कोइरालाले बढीभन्दा बढी कर सङ्कलन नभएसम्म महानगरवासीको विकासको चाहना पूरा गर्न गाह्रो पर्ने सुनाए । 

यस्तै विराटनगर महानगरद्वारा जनताका समस्या बुझ्ने र कर सङ्कलन अयिभान पनि तीव्र गतिमा सञ्चालन गरिरहेको छ । आन्तरिक आयलाई बलियो बनाएर विकास निर्माणका कार्यलाई गति दिन अभियान सञ्चालन गरिएको महानगरको भनाइ छ । 

2-MG Road ko photo

चालू आर्थिक वर्षमा ८७ करोड आन्तरिक आम्दानी गर्ने लक्ष्य लिएको विराटनगर महानगरपालिकाले कर सङ्कलन अभियान सुरु गरेको हो । अभियानअन्तर्गत सम्पत्ति कर, बहाल कर, व्यवसाय कर, दर्ता, नवीकरण, नक्सा पास गरे÷नगरेको र फोहोरको सदस्य बने÷नबनेको हेरिने राजस्व महाशाखा प्रमुख सरोज गौतमले जानकारी दिए । पहिलो चरणमा वडा नम्बर १, ३, ४, ५ र १० मा अभियान सञ्चालन हुनेछ । महानगरले सोचेजस्तो कर सङ्कलन नभएका कारण अभियान सञ्चालन गर्नुपरेको मेयर कोइरालाले बताए । सबैको साथ र सहयोगले कर अभियान प्रभावकारी हुने उनको भनाइ थियो ।

महानगरपालिकाले विराटनगरका विभिन्न स्थानमा पार्किङको व्यवस्थापन गरेको छ । तर ती पार्किङमा घण्टाको आधारमा पार्किङ शुल्क लिने गरेको छ । महानगरले पहिलो चरणमा जलजलाचोकदेखि अस्पताल चोकसम्मको सडकलाई पार्किङ निषेधित गरेको थियो । यसका लागि पुरानो जलजला हल उत्तरतर्फ र ग्रिनक्रस अस्पताल पछाडिको खाली जग्गालाई पार्किङस्थल घोषणा गरेको छ ।

यसैगरी महानगरपालिकाले शनिमन्दिर–जलजलाचोक, शनिमन्दिरदेखि महावीर रोडसम्मको क्षेत्रलाई पनि पार्किङ निषेधित घोषणा गरेको छ । यसका लागि महावीर रोडमा चार कट्ठा जग्गा पार्किङस्थलको रूपमा तोकेको छ ।

अर्को पार्किङ निषेधित क्षेत्रका रूपमा महावीर रोडदेखि गुद्रीसम्मलाई विस्तार गर्ने योजना राखिएको छ । यसका लागि पुरानो गुद्री बजारको इ–प्लटलाई पार्किङस्थल तोकिएको छ । 

यसैगरी हनुमान मन्दिरदेखि जलजला चोकसम्मको दूरीलाई समेत नो पार्किङ जोन घोषणा गरेर पुरानो गुद्रीको ए–प्लटलाई पार्किङस्थलका रूपमा प्रयोग गरिँदै आएको छ । हनुमान मन्दिर–जलजला चोकसम्म केही वर्षअगाडि नै नो पार्किङ जोन घोषणा गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप