श्रीस्वस्थानी व्रतकथा समाप्ती : व्यावहारिक जीवनमा स्वस्थानी व्रतकथाको महत्त्व कति ?
स्वस्थानी व्रतकथा पूर्वीय हिन्दू परम्परा अन्तर्गतको एक अद्भुत ग्रन्थ हो । भगवान् शिव र स्वस्थानी परमेश्वरीको पूजाआराधना गरी मनाइने एक महिना अवधिको यस पर्वले मूलतः हाम्रा शारीरिक एवं मानसिक क्रियाकलापमा शुद्धीकरण, उचित तवरको आहार, विहार, विचार र व्यवहारको माध्यमबाट आन्तरिक एवं बाह्य दुवै शुद्धीकरणलाई बराबर महत्त्व दिन्छ । पूर्ण स्वस्थ शरीर, स्थिर मन र दृढ सङ्कल्पबाट नै हाम्रा हरेक चाहना पूरा हुन सक्नेमा यस पर्वले विशेष महत्त्व दिँदै आएको छ ।
स्वस्थानी पर्वलाई आध्यात्मिक दृष्टिकोणबाट मात्र हेरिनु हाम्रा लागि ठूलो भूल हुन आउँछ । यसभित्रका भौतिक एवं व्यावहारिक पक्षहरूलाई पनि सँगसँगै सूक्ष्म रूपमा अध्ययन गर्ने हो भने यो पर्वले हामीलाई नियमित जीवनशैलीमा नै परिवर्तन ल्याउनुपर्ने कुरामा विशेष जोड दिन्छ ।
हुन त पूर्वीय हिन्दू परम्परामा थुप्रै धार्मिक ग्रन्थ छन् । ती सबैलाई जीवनमा एक पटक पढ्न मात्रै चाहे पनि हामी सफल हुन सक्दैछौँ । तैपनि स्वस्थानी व्रतकथा किन हरेक वर्ष त्यो पनि ए महिना लामो अवधिका लागि नियमित रूपमा पढिरहिन्छ त ? भन्ने प्रश्न पनि उठ्न सक्छ । सायद पढ्नका लागि अत्यन्त सरल, मिठासपूर्ण तवरले कथाका रूपमा लेखिएको यो पुस्तकमा बताइएका विधिहरू मानिसमा स्वस्थ आनीबानी विकासका लागि नै रचना गरिएको कारण हरेक वर्ष मानिसलाई निरन्तर सम्झाउने प्रयाश स्वरूप वार्षिक रूपमा पढ्ने व्यवस्था गरिएको हुनुपर्छ ।
यस स्वस्थानीमा उल्लेख गरिए बमोजिमको जीवनशैली हामीले व्यावहारिक जीवनमा अपनाउन सकेको खण्डमा हाम्रो स्वास्थ्य स्थिति, जनसम्पर्क, भौतिक उपलब्धिलगायतमा क्रमिक सुधार हुँदै जान सक्नेमा कुनै आशङ्का नरहला । साँच्ची स्वस्थानी व्रतकथाबाट लाभ लिनका लागि हामीले अक्षरशः पुस्तकमा उल्लेख गरिए बमोजिमकै सबै विधिको पालनामा भन्दा पनि यसको भाव बमोजिम निरन्तर रूपमा हाम्रो जीवनशैली परिवर्तनमा हामी केन्द्रित हुनुपर्छ । साथै स्वस्थानीमा उल्लेख गरिएका हरेक पात्र र प्रसङ्गलाई सङ्केतको रूपमा लिँदै हामीले आफ्नो जीवनशैली सञ्चालन गर्न सक्ने गरी बुझाइमा स्पष्टता ल्याउनसके साँच्चै स्वस्थानी व्रतकथाले हामीलाई अझ व्यावहारिक, स्वस्थ, चरित्रवान् र समृद्ध बनाउन विशेष भूमिका खेल्न सक्ने थियो ।
स्वस्थानी बाहेक वार्षिक रूपमा हिन्दु परम्पराबमोजिम मनाइने पर्वहरू दसैँ, तिहारलगायतलाई हामीले जुन महत्त्व दिन्छौँ, स्वस्थानी पर्वको महत्त्व ती अन्य पर्वभन्दा कम छैन । हुन त सबै पर्वको उद्देश्य सुसंस्कृत र स्वस्थ समाज निर्माणमा योगदान पु¥याउन हामीलाई प्रेरित गर्ने नै हो । यसैकारण हरेक पर्वले हामीलाई हाम्रो विचार, खानपान, सङ्गत र व्यवहार परिवर्तनका लागि नै प्रेरित गर्दै आएका छन् ।
यद्यपि यी सबै पर्वमा जोडिएका कथाप्रसङ्ग भाषागत कठिनाइका कारण सबैले सरल रूपमा बुझ्न नसकिने पनि हुन सक्छन् । यद्यपि भाषागत सरलतासहित विचार र व्यवहार परिवर्तनको विधिविज्ञानको मूल तरिका सिकाउने अद्भुत ग्रन्थको रूपमा परिचित स्वस्थानी व्रतकथालाई व्यावहारिक ग्रन्थ भन्न सकिन्छ । यसका कथाहरू सबैले सहज रूपमा बुझ्न सक्ने गरी उल्लेख गरिएको छ ।
हाम्रा सबै पर्व एवं आध्यात्मिक ग्रन्थहरूले हामीलाई कुनै न कुनै रूपमा हाम्रो जीवनशैली पञ्चमहाभूत अर्थात् जल, तेज, पृथ्वी, वायु र आकाशसँग एकाकार हुनसक्नुपर्नेमा जोड दिएका छन् । यसो हुनसके हामी अवश्य स्वस्थ बन्न सक्छौँ । हामीलाई प्रणायाम (स्वासप्रश्वासलाई सचेत अभ्यासबाट बदल्ने तरिका), व्रत, खानपान, आसनका तरिका र बाह्य वातावरणको प्रभाव हाम्रो जीवन एवं सफलतामा दीर्घकालीन रहने कुरालाई हाम्रा सबै आध्यात्मिक कृतिहरूले उत्तिकै महत्त्व दिएका छन् । यसमा दुई मत छैन । यी कुरामा हामीले क्रमिक सुधार ल्याउन सक्यौँ भने मात्र हामीले अन्य उपलब्धि प्राप्तितर्फ आफ्ना कदमहरू अघि बढाउन सक्छौँ ।
हाम्रो शरीरमा मूलतः सातवटा चक्र (शक्ति केन्द्र)हरू रहेका हुन्छन् । जसबाट हाम्रो सिङ्गो शरीर सञ्चालन हुने गर्छ । ती चक्रहरू क्रमशः मूलाधार, स्वाधिष्ठान, मणिपुर, अनाहत, विशुद्ध, आज्ञा र सहस्रार चक्रहरू हुन् । यी चक्र (शक्ति केन्द्र)हरू सन्तुलनमा रहन सकेको खण्डमा हाम्रा हरेक भौतिक कष्टबाट हामी मुक्त रहन सक्छौँ ।
अहिलेको पश्चिमी जगतले भौतिक रूपमा ठूलो उपलब्धि हासिल गर्न सक्नुमा हाम्रै पूर्वीय दर्शनका महत्त्वपूर्ण ज्ञानको सार तत्त्वलाई सही तवरले ग्रहण गर्न सक्नु पनि हो । अब हामी पनि हाम्रो ज्ञानलाई सही तवरले उत्खनन् गर्नतर्फ लाग्नु जरुरी छ । यदाकदा हाम्रो शास्त्र एवं परम्परामा भेटिने कमीकमजोरीलाई त्यागेर समयानुकुल आवश्यकता बमोजिम परिमार्जनसहित हामी अघि बढ्नु अबको आवश्यकता बनेको छ ।
अनन्त शक्ति एउटै : पृथक् स्वरूप
हामी हरेक मानव जाति कुनै ब्रह्माण्डीय अनन्तः शक्तिसँग जोडिएका छौँ । त्यस शक्तिलाई जुनसुकै सकारात्मक नाम दिन पनि सकिन्छ । परिस्थिति, घटना, समाज र अवस्थाअनुसार त्यस शक्तिलाई परमेश्वर, परमात्मा, दैवी शक्ति, भगवान्, प्रकृति, ब्रह्माण्डीय शक्ति, अणु, काली, लक्ष्मी, कृष्ण, जिसस, मुहम्मदलगायतका नामले पुकारेका पाइन्छ । नाम र स्वरूप बदलिए पनि सर्वव्यापी शक्ति अर्थात् ईश्वरीय शक्ति (तत्त्व) हरेक ठाउँमा उपलब्ध हुन्छ । केवल हामीले त्यो अनुभूति गर्न सक्छौँ वा सक्दैनौँ भन्ने कुरा हाम्रो आफ्नो क्षमतामा निर्भर गर्छ ।
विज्ञानले पनि भनेको छ, शक्ति कहिल्यै न त निर्माण हुन सक्छ, न त नोक्सान नै गर्न सकिन्छ, मात्र शक्तिको स्वरूप परिवर्तन हुन सक्छ । शक्ति अर्थात् ईश्वर अनादि हुन्छन् भन्नुको तात्पर्य नै यही हो । हो, हामीले अनन्त ब्रह्माण्डीय शक्तिलाई पुकार्न स्वरूप परिवर्तन भएबमोजिम अनेकौँ नामहरू दिएका छौँ । ती अनेक स्वरूप भनेका केवल शक्तिका स्वरूपमा आएको परिवर्तित नाम मात्र हुन् ।
प्रार्थनाबाट अनन्त शक्तिसँगको तालमेल र यथार्थता
स्वस्थानी व्रतकथाको पहिलो अध्यायमा नै मानव सृष्टिको कुरा कहिएको छ । ब्रह्माले योगमायाको प्रार्थना गरेर विष्णुलाई पुकार्ने शक्ति प्राप्त भएको कुरा त्यहाँ उल्लेख छ । हाम्रो जीवनमा पनि यस प्रसङ्गले कुनै अर्थ राख्ला कि भनेर के हामीले कहिल्यै विचार गरेका छौँ त ? यस प्रसङ्गमा ब्रह्माले प्रार्थना गर्दा ऊहाँले प्रार्थना सचेत अभ्यासबाट गर्नुभयो । त्यस सचेत प्रयाशबाट गरिएको प्रार्थनाले उहाँ आफूभित्रको अवचेतन वा अचेतन अवस्थामा रहेको ब्रह्माण्डीय अनन्त शक्तिलाई जागृत गरायो । सोही कारण ब्रह्मालाई मधुकैटभ जस्ता राक्षसहरूको आक्रमण अर्थात विषम परिस्थितिबाट बच्न वैकल्पिक शक्ति प्राप्त भयो । यो क्षमता हामी हरेक मानिससँग छ ।
मानिसमा पनि ब्रह्माजीसँग भए जसरी नै २ किसिमका मस्तिष्कहरू छन् । चेतन र अवचेतन मस्तिष्क । मानिसमा चेतन मस्तिष्कको शक्ति केवल १० प्रतिशत मात्र हुन्छ । बाँकी ९० प्रतिशत मस्तिष्कीय क्षमताबारे हामी बेखबर छौँ । १० प्रतिशत चेतन मस्तिष्कको सही प्रयोग हुन सकेको खण्डमा हामीलाई आवश्यक परेका हरेक खजाना अवचेतन मस्तिष्कले सिङ्गो ब्रह्माण्डबाट जुनसुकै तवरले भए पनि हामीमा अवश्य प्रकट हुन सक्छ । यसका लागि केवल हामीले अपनाइएको तरिका वा विधि र हामीले आकर्षित गर्न चाहेको वस्तु वा परिस्थितिबीचको फ्रिक्वेन्सी अर्थात् तादम्यता मिल्न सक्नुपर्छ ।
हामीले मस्तिष्कमा कल्पना गरेका चित्र र मुखबाट निस्किएका कुनै पनि शब्द प्रकट भइसकेपछि यत्तिकै नष्ट हुँदैनन् । हरेकले निश्चित फ्रिक्वेन्सी बनाएर कहीँ कतै आफ्नो अस्तित्व कायम गरेका हुन्छन् । उचित परिस्थिति र वातावरणमा ती प्रकट हुँदै जाने हुन् । हामीबाट बाह्य रूपमा जुन काम भएको हुन्छ, त्यसको मूल नक्सा त सर्वप्रथम हाम्रो मस्तिष्कभित्र नै बनेको हुन्छ । यसकारण हामीले हरेक काम २ पटक गरेका हुन्छौँ । मस्तिष्कमा नभएको कुरा हामी बाहिर प्रकट गर्नै सक्दैनौँ ।
यसकारण हामीले हाम्रो बाह्य बानीव्यवहारमा परिवर्तन ल्याउनका लागि निश्चित विधिहरूको माध्यमबाट मस्तिष्कभित्रकै नक्सामा बदलाव ल्याउन सक्नुपर्छ । यसो हुन सक्यो भने त्यो मानव जातिको लागि हाम्रो सिकाइको ठूलो उपलब्धि हुन सक्ने थियो । यस्ता थुप्रै विधिहरूको सँगालोका रूपमा सरल रूपमा नेपाली भाषामा लेखिएको पुस्तक हो– स्वस्थानी व्रतकथा । दुर्गा सप्तसती चण्डी, भगवद्गीतालगायतका ग्रन्थ पनि यही मानवीय अनन्त शक्तिलाई केन्द्रबिन्दुमा राखेर लिपिबद्ध गरिएका ग्रन्थहरू हुन् । यी ग्रन्थमध्ये सबैभन्दा पढ्न, बुझ्नमा सरल र स्पष्ट ग्रन्थ नै स्वस्थानी भएकाले सबैमा यो ग्रन्थ परिचित हुनपुगेको हो ।
स्वस्थानीमा व्रत अर्थात् साधना गर्दा बाह्य शुद्धीकरणसँगै मनलाई शान्त पार्नुपर्ने उल्लेख छ । सबै बाह्य अवस्थालाई बिर्सिएर पूर्ण ध्यान आफू संलग्न रहेको सकारात्मक उद्देश्यबाट प्रेरित काममा समर्पित गर्न सकेको खण्डमा हाम्रा हरेक कामहरू साधना बन्ने कुरालाई पनि स्वस्थानीले विशेष जोड दिएको छ । यसबाट नै हाम्रा भौतिक वा आध्यात्मिक दुवै उद्देश्य पूरा हुन सक्ने कुरा हाम्रो लागि अत्यन्तै शिक्षाप्रद हुन सक्छ ।
हामीले कुनै दृढ अठोटका साथ अघि बढाएका काम पूरा हुन नसक्नुमा हाम्रा इन्द्रियहरू (५ ज्ञानेन्द्रिय, ५ कर्मेन्द्रिय र १ मन) बाधक बन्ने र यिनैलाई शान्त बनाउन प्रणायाम, योग, ध्यान, आराधनाको सहारा लिनुपर्ने र मनलाई विचलित हुन दिन नहुने कुरालाई स्वस्थानीका हरेक कथाप्रसङ्ग र यसको पूजाविधिले प्रष्ट पार्छ । दैनिक भोजन विधिमा अपनाइने संयमता (नियन्त्रित भोजन)ले हामीभित्र जमेका विषाक्त तत्त्वहरू नष्ट गराउने हुँदा मानिस ठूलो सम्भावित स्वास्थ्य समस्याबाट बच्न सक्ने कुरा आधुनिक वैज्ञानिक एवं स्वास्थ्य अनुसन्धाताहरूले पनि पुष्टि गरिसकेका छन् ।
मानवीय मस्तिष्क काँचो उर्वर माटो जस्तै हुन्छ । यसमा सचेत अभ्यासबाट राम्रो बीउ रोपिएन भने त्यहाँ अनावश्यक झारपात आफैँ उम्रिन्छन् । तिनै अनावश्यक तत्त्वहरूले हामीलाई निर्देशित गर्दा हामी कुचेष्टा र बुद्धिहीनताको सिकार बन्न पुग्छौँ । हामी जसको सङ्गतमा आउँछौँ, त्यसबाट केही न केही प्रभावित त अवश्य हुन्छौँ । साथै सम्पर्कमा आउने क्रममा हामीले त्यससँग जोडिएका सूचनालाई मस्तिष्कमा छिर्न दिने वा नदिने भन्ने छनोट हामीसँगै हुन्छ । यो कुरा पनि हामीले नबुझेका हुन सक्छौँ । त्यसरी आफूले के लिने र के नलिने भन्ने छनोट गर्न सकिने चेतना हामीमा जागृत हुन सकेको खण्डमा हाम्रो जीवन सफल, स्वस्थ, खुसी र सामाजिक भलाइमा केन्द्रित हुँदै जान्छ ।
यसै कारण कुनै काम सुरु गर्नुपूर्व वा निर्णय लिनुपूर्व मन र इन्द्रियहरूलाई शान्त पार्नुपर्ने स्वस्थानी व्रतकथाको आशय छ । साथै धैर्यतापूर्वक मन शान्त पारेर दृढ प्रतीज्ञासहित निर्णय लिनाले हाम्रा हरेक क्रियाकलापलाई अन्तिम रूप दिन सक्ने क्षमता हामीभित्र स्वतः जागृत हुन्छ । साथै त्यस्तो कर्मले हामीलाई आत्मसन्तुष्टिसमेत प्रदान गर्छ । यसकारण मनलाई शान्त पार्नुपर्ने र हरेक भौतिक वा आध्यात्मिक उपलब्धि हासिल गर्नका लागि शरीर स्वस्थ हुनुपर्ने कुरामा स्वस्थानीले विशेष महत्त्व दिँदै आएको छ ।
स्वस्थानीमा प्रार्थनाको प्रयोग पनि निकै बढी मात्रामा भएको छ । यस्तो प्रार्थना हामीले पनि अप्ठ्यारो परिस्थितिमा त कुनै न कुनै क्षण अवश्य गरेका हुन सक्छौँ । यद्यपि त्यस प्रार्थनाको उचित नतिजा पाउन सक्यौँ वा सकेनौँ भन्ने कुरा अर्को महत्त्वपूर्ण विषय हुन आउँछ । प्रार्थनालाई उपलब्धिमूलक बनाउनको लागि हामीले असहज स्थिति नै कुर्नुपर्छ भन्ने हुँदैन ।
सहज परिस्थितिमा हाम्रो उत्पादकत्व क्षमता अभिवृद्धिका लागि पनि हामीले निरन्तर रूपमा यस्तो प्रार्थना गर्ने बानी बसाल्न सक्यौँ भने हाम्रो अवचेतन मस्तिष्कले उचित उत्तर अवश्य दिनेछ । यसका लागि चेतन र अवचेतन मस्तिष्क बीचको सामञ्जस्यता राम्रोसँग कायम हुन सक्नुपर्छ । यो कुरा हामीमध्ये धेरै मानिसलाई जानकारी नै छैन । जसले बुझेका छन्, उनीहरू आम मानिसभन्दा माथि उठेका छन् । अब हाम्रो शिक्षानीतिमा पनि यस कुरालाई समेट्नुपर्ने आवश्यकता देखिन्छ ।
सारांश
हामीले गर्ने कर्म, सोच्ने सोचाइ र सही बुझाइको अभावकै कारण हाम्रो समाजका पात्रहरूमध्ये अधिकांश अस्वस्थ बनेका, सामाजिक विकृतिहरू बढ्दै गएका, आर्थिक स्थिति कमजोर बन्न पुगेको हो । यसकारण हाम्रो व्यवहार, खानपान र सोचविचारको तरिकामा परिवर्तन ल्याउन सकेको खण्डमा अहिलेका धेरै समस्या स्वतः नष्ट भएर जान्छन् । अहिलेसम्म हामी अधिकांशको ध्यान सुस्वास्थ्य, सामाजिक भलाइ र अनुशासनभन्दा पनि क्षणिक प्राप्तिमा केन्द्रित भएको कारण समाज विकृत बन्दै गएको परिप्रेक्ष्यमा सामाजिक न्याय, सुशासन र समृद्धिजस्ता भौतिक प्राप्तिका लागि पनि हाम्रो जीवनशैलीमा परिवर्तन ल्याई प्राकृतिक जीवनशैली अङ्गीकार गर्नुपर्छ भन्नेमा स्वस्थानीले जोड दिएको छ । स्वस्थानी व्रतकथाको पहिलो अध्यायमा नै भनिएको छ कि प्रकृति जड (अचेत) र मानिस बुद्धिहीन भएका कारण नै सारा समस्या (रोग, चिन्ता, सामाजिक विकृति) सिर्जना भएका हुन् ।
अति भौतिक र अति पुरातन सोच दुवै घातक हुन्छन् । हामी आफूलाई अवस्था अनुसार घुलमिल हुन सक्ने गरी तयार पार्नु नै अहिलेको आवश्यकता हो । हाम्रा हरेक सचेत सोचाइ नै हाम्रा प्रार्थना हुन् र ती प्रार्थनाले हामीसँग रहेको अनन्त शक्ति (अवचेतन मन)सँग अन्तक्र्रिया गर्न सकेको खण्डमा अवश्य उपलब्धिको रूपमा प्राप्ति हुन्छन् भन्ने कुरा हामी सबैले स्वस्थानी माताको प्रसाद एवं आशीर्वाद स्वरूप ग्रहण गर्नु आवश्यक छ ।
स्वस्थानीमा गरिएका प्रार्थना र तथास्तु भनेर दिइएका वरदान आखिर हामीभित्रकै चेतन मस्तिष्क र अवचेतन मस्तिष्कबीचको आपसी अन्तत्र्रिmया हो र यो कार्य हामीले हरसमय गर्न सक्छौँ भन्ने बुझ्न र व्यवहारमा लागू गरी आफ्नो, परिवारको र समाजको भलाइमा लाग्न सके मात्र हामीले प्रत्येक वर्ष एक महिना लामो अवधिसम्म स्वस्थानी व्रतकथा पढेको वा सुनेको कुरा हाम्रो व्यावहारिक रूपमा सार्थक हुन सक्छ ।
लेखक पन्थी त्रिचन्द्र क्याम्पसमा स्नातकोत्तर तहका विद्यार्थी हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् चुहावट १२ दशमलव ७३ प्रतिशतमा सीमित
-
विराटनगर महानगरपालिका : आन्तरिक आम्दानीमा सुधार, लक्ष्य भेट्टाउन मुस्किल
-
पाकिस्तान सुपर लिग ड्राफ्ट : सन्दीप डायमन्ड क्याटेगोरीमा, अन्य को–को परे ?
-
सुक्खा बन्दरगाह र एकीकृत जाँचचौकी स्थापनाको आशा निराशातिर
-
रामचरणको ‘गेम चेन्जर’ले पहिलो दिनमा कति कमायो ?
-
स्मृति मन्धानाले बनाइन् नयाँ कीर्तिमान