परवेज मुशर्रफ : सेना प्रमुख देखि सैन्य ‘कू’ र पछि पाकिस्तान छोड्नेसम्मको यात्रा
पाकिस्तानमा सैनिक विद्रोह गरेर सत्तामा आएका पूर्व राष्ट्रपति तथा पूर्व सेना प्रमुख (रिटायर्ड) परवेज मुशर्रफको आइतबार दुबईमा निधन भएको छ । उनी ७९ वर्षका थिए र लामो समयदेखि बिरामी थिए ।
गत वर्ष सामाजिक सञ्जालमा परवेज मुशर्रफको निधनको अफवाह फैलिएपछि उनको स्वास्थ्यको बारेमा जानकारी दिँदै उनको परिवारले परवेज मुशर्रफको अङ्गले काम गर्न छोडेको र उनको स्वास्थ्यमा सुधार आउन गाह्रो भएको बताएको थियो ।
परवेज मुसर्रफ दुबईमा उपचार गराइरहेका थिए । उनलाई एमाइलोइडोसिस नामक जटिल रोग लागेको थियो जसमा मानव शरीरका अङ्गहरू निष्क्रिय हुन थाल्छन् ।
परवेज मुशर्रफ उपचारका लागि २०१६ मा जमानत पाएपछि संयुक्त अरब इमिरेट्समा बस्दै आएका थिए ।
जीवनको उतार चढाव
परवेज मुशर्रफको जीवनको अन्तिम दुई दशक उतार–चढावले भरिएको थियो ।
सन् १९९९ मा सत्तामा आएपछि उनलाई मार्ने प्रयास भएको थियो । पाकिस्तान पश्चिमी देश र इस्लामिक चरमपन्थीबीचको द्वन्द्वमा फसेको समयमा उनले पाकिस्तानको सत्ता सम्हालेका थिए ।
यद्यपि, उनको पार्टीले सन् २००८ को चुनाव जित्न सकेन र उनलाई गैर कानुनी रूपमा देशको संविधान निलम्बन गरेको र सङ्कटकाल लगाएको आरोप लगाइएको थियो ।
उनलाई सत्ताबाट हटाएको बीस वर्षपछि, अदालतले उनलाई यी आरोपहरूको लागि मृत्युदण्डको सजाय सुनाएको थियो ।
परवेज मुशर्रफको जन्म ११ अगस्ट १९४३ मा भएको थियो । उनी सन् १९९८ मा नवाज सरिफको सरकारमा सेना प्रमुख बनेका थिए । तर, अर्को वर्ष उनले देशको निर्वाचित सरकारलाई सत्ताबाट हटाए ।
पाकिस्तानको बिग्रँदै गएको आर्थिक अवस्था, सुधारको विवाद र कश्मीर सङ्कटका कारण नवाज सरिफको लोकप्रियता पनि त्यति बेला घट्दै गएको थियो ।
सन् १९९९ को भारत–पाकिस्तान युद्धमा, कश्मीरका केही क्षेत्रहरू कब्जा गर्ने असफल प्रयासको लागि पाकिस्तानमा आलोचना भएको थियो र सेनाले सबै दोष आफैँमा लिन चाहँदैन थियो ।
यस्तो अवस्थामा जब नवाज शरिफले मुशर्रफलाई सेना प्रमुखको पदबाट हटाउन चाहन्थे, उनले चलाखीपूर्वक सैन्य विद्रोह नै गरे ।
अमेरिका र चरमपन्थीबीचको द्वन्द्व
अमेरिकामा ९/११ को आतङ्कवादी हमलापछि अमेरिकी राष्ट्रपति जर्ज डब्ल्यु बुसले ‘आतंकवादविरुद्धको युद्ध’ मा पाकिस्तानसँग सहयोग मागेका थिए ।
यसको अर्थ चरमपन्थी सङ्गठन अल–कायदा र तालिबानका लडाकुहरूसँगको भिडन्त थियो । यी ती सङ्गठन हुन् जससँग पाकिस्तानी सेनासँग सम्बन्ध रहेको आरोप लगाइएको छ ।
पाकिस्तानको राष्ट्रपति हुँदा परवेज मुशर्रफका लागि त्यो समय डोरीमा हिँड्नु जस्तै थियो । उनले चरम पन्थीमाथि हमलाका लागि अमेरिकी दबाब र पाकिस्तानमा अमेरिका विरोधी इस्लामिक आवाजबीच सन्तुलन बनाउनु थियो ।
त्यति बेला अफगानिस्तानको मुद्दा पनि थियो ।
नेटो र अफगान सरकारले बारम्बार मुशर्रफलाई अल कायदा र तालिबान समर्थकहरूलाई रोक्न पर्याप्त काम नगरेको आरोप लगाउँदै आएका थिए ।
अमेरिकामा ९/११ हमलाको जिम्मेवारी लिने चरमपन्थी ओसामा बिन लादेन सन् २०११ मा पाकिस्तानमा भेटिएपछि मुशर्रफमाथि थप औँला उठ्न थाले ।
अलकायदा प्रमुख ओसामा बिन लादेन वर्षौँदेखि पाकिस्तानी सैन्य एकेडेमी नजिकै बस्दै आएका थिए र मुशर्रफले वर्षौँदेखि आफूलाई थाहा नभएको बताउँदै आएका थिए ।
सत्ताबाट बिदा
परवेज मुशर्रफको कार्यकाल न्यायपालिकासँगको भिडन्तका लागि पनि परिचित छ । यसमा सेना प्रमुख हुँदा मुशर्रफले राष्ट्रपति पदमा निरन्तरता दिन चाहेको विवाद पनि समावेश छ ।
सन् २००७ मा उनले तत्कालीन प्रधानन्यायाधीश इफ्तिखार मुहम्मद चौधरीलाई पदबाट हटाएपछि देशभर विरोध प्रदर्शन भएको थियो ।
केही महिनापछि लाल मस्जिद घटना भयो । इस्लामावादमा सैन्य कारबाही अन्तर्गत लाल मस्जिद र वरपरको क्षेत्र कब्जा गरिएको थियो । जसमा करिब एक सय जनाको ज्यान गएको थियो ।
लाल मस्जिदका मौलवी र विद्यार्थीहरूलाई शरिया कानुन लागू गर्न सरकारविरुद्ध आक्रामक अभियान चलाएको आरोप लगाइएको थियो ।
यस घटनाको जवाफमा, पाकिस्तान तालिबानको गठन भयो र देशमा हमला र बम विस्फोटको शृङ्खला सुरु भयो । यसबाट हजारौँले ज्यान गुमाए ।
जब नवाज शरीफ सन् २००७ मा निर्वासनबाट पाकिस्तान फर्किएपछि मुशर्रफ शासनको अन्त्यको सुरुवात भयो ।
मुशर्रफले आफ्नो सत्ता कायम राख्न आपतकालको घोषणा गरे तर पछि फेब्रुअरी २००८ मा भएको आम चुनावमा उनको पार्टी पराजित भयो । ६ महिनापछि उनले महाभियोगबाट बच्न पदबाट राजीनामा दिए र देश छोडे ।
परवेज मुसर्रफले लन्डन र दुबईमा बस्दा विश्व भरी लेक्चर दिएर लाखौँ डलर कमाएका थिए भन्ने मान्यता राखिन्छ । उनले पाकिस्तानमा सत्तामा फर्कने आफ्नो इच्छा कहिल्यै लुकाएनन् ।
जब पाकिस्तान फर्किए
मार्च २०१३ मा, उनी आम चुनावका लागि नाटकीय ढङ्गले पाकिस्तान फर्किए, तर उनलाई गिरफ्तार गरियो ।
उनलाई चुनाव लड्न प्रतिबन्ध लगाइएको थियो र उनको पार्टी अल पाकिस्तान मुस्लिम लिग (मुशर्रफले २०१० मा यो पार्टी गठन गरेको) ले चुनावमा राम्रो गर्न सकेन ।
त्यस लगत्तै उनी विरुद्ध धेरै मुद्दा परेका थिए । उनीमाथि पूर्व प्रधानमन्त्री बेनजिर भुट्टोलाई पर्याप्त सुरक्षा नदिएको आरोप पनि लागेको थियो । भुट्टोको सन् २००७ मा तालिबान आक्रमणमा हत्या भएको थियो । यो घटनाले सारा विश्व र पाकिस्तानलाई स्तब्ध बनाएको थियो ।
सन् २०१० मा, संयुक्त राष्ट्रको अनुसन्धानले जनरल मुशर्रफलाई बेनजिर भुट्टोलाई पर्याप्त सुरक्षा प्रदान गर्न ‘इच्छापूर्वक असफल’ भएको आरोप लगाएको थियो ।
सोही वर्ष उनी सन् २००७ मा संविधान निलम्बन गरेकोमा देश द्रोहको अभियोगमा दोषी ठहर भएका थिए ।
तर, लामो समयदेखि सैनिक शासन रहेको मुलुकमा मुद्दा चलाउन त्यति सजिलो हुँदैन । त्यसैले सरकारले मुशर्रफको मुद्दाको सुनुवाइ गर्न विशेष अदालत गठन गरेको थियो ।
यो मुद्दा पाँच वर्षसम्म चल्यो र अन्ततः तीन न्यायाधीशको बेन्चले उनलाई देश द्रोहको दोषी ठहर गर्दै मृत्युदण्डको सजाय सुनाएको थियो ।
तर, जनवरी २०२० मा लाहोर उच्च अदालतले उनलाई सुनाइएको मृत्युदण्डको सजाय रद्द गर्यो । अदालतले देश द्रोह मुद्दामा मृत्युदण्डको सजाय सुनाएको विशेष अदालतलाई अवैध घोषणा गरेको थियो। मुसर्रफले विशेष अदालतको फैसलालाई चुनौती दिएका थिए ।
तर, अहिले परवेज मुशर्रफ आफैँ बिरामी भएर यो संसार छोडिसकेका छन् ।
बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतले आफ्नो सबै खेल यूएईमा खेल्ने, यस्तो छ खेल तालिका
-
महाराजगन्ज चिकित्सा क्याम्पसले माग्यो २६ जना उपप्राध्यापक
-
शक्ति समूहकी संस्थापक सुनिता दनुवारको हृदयघातबाट मृत्यु
-
लामिछानेसहितका प्रतिवादीका अदालतमा बयान सुरु हुँदै
-
दक्षिण अफ्रिकाविरुद्धको एकदिवसीय अन्तर्राष्ट्रिय शृङ्खलामा पाकिस्तानको ‘ह्वाइट वास’
-
नयाँ दिल्लीमा स्वास्थ्य परीक्षण गराएर परराष्ट्रमन्त्री राणा आज स्वदेश फर्कँदै