शुक्रबार, १२ पुस २०८१
ताजा लोकप्रिय
कथा

कथा : अमृतश्री– २

आइतबार, २२ माघ २०७९, ०७ : ४८
आइतबार, २२ माघ २०७९

अनित्थिगन्ध थेन्जोग्राममा बस्न थालेका थिए, विरोचन गुप्त नाम गरेका पुरुषको मित्र बनेर । उनी बस्नका लागि बेग्लै घर थियो, खेतीपाती सुरु गरेका थिए । किन्तु, समाज बुझ्नका लागि भिक्षा माग्दै हिँड्न छाडेका थिएनन् । 

एक दिन भिक्षा माग्दै डुल्दा उनले सूचना पाए– गणपति गुणकामदेवका राजगुरुले षड्यन्त्र गरी अमृतश्रीको हत्या गर्दै छन् । गणपति अमृतश्रीको प्रेममा परे भने राज्यमा चलिरहेको धार्मिक कार्य रोकिन्छ । राजगुरुको निर्देशनमा ब्राह्मणगोष्ठीले देशका ग्राम–ग्राममा देवीदेवता स्थापना कार्यलाई तीव्र पारिरहेको थियो । गुणकामदेव स्वयं देवी महालक्ष्मीको उपासनामा थिए । यही बेला गुणकामदेवको समीपमा अमृतश्रीको आगमन ब्राह्मणगोष्ठीलाई उचित लागेन र उनको हत्या गर्ने योजना बन्यो ।

ठबहिलग्राममा गो–युद्धको कार्यक्रम थियो । मल्लयुद्ध गोष्ठीले सर्वसाधारणको मनोरञ्जन हेतु साँढे जुधाउने, भेडा जुधाउने लगायत खेलको आयोजना गरेको थियो । कृषकले आ–आफ्ना साँढे, बलिया भेडा लिएर पुगेका थिए । 

अमृतश्री पनि आफूले पालेको तारे साँढे लिएर ठबहिलग्राम पुगिन् । तीन दिनसम्म चलेको गो–युद्धमा अमृतश्रीको साँढे प्रथम हुन पुग्यो । खुसियाली मनाउँदै अमृतश्रीको समूह ठबहिलदेखि पूर्णवतीग्राम जाँदै थियो । यही समूहमा अनित्थिगन्ध पनि भेष बदलेर सहभागी भएका थिए । 

रात परिसकेको थियो, गो–युद्धको आयोजना भएको अवसरमा प्रदीप गोष्ठीले ठाउँठाउँका दीपस्तम्भमा दियोको व्यवस्था गरेको थियो । 

अमृतश्रीले भेष बदलेका भिक्षु अनित्थिगन्धलाई चिनिहालिन् । आफूलाई साँचो प्रेम गर्ने मान्छेले झूटो बोल्दैन, यही विश्वासमा उनले अनित्थिगन्धले भने बमोजिम गरिन् र रथबाट ओर्लिन् । 

अँध्यारो–अँध्यारो ठाउँ पारी अनुहार कालो कपडाले छोपेका सिपाहीले अमृतश्रीको समूहमाथि आक्रमण गर्‍यो । अमृतश्री भव्य रथमा थिइन् । रथलाई अश्व र ग्रामवासीले तानिरहेका थिए । अगाडि–अगाडि विजेता साँढे थियो, फूलको माला र अनेक रङले सजिएरको साँढे निकै आकर्षक देखिन्थ्यो । 

आक्रमणको चाल पाएर अनित्थिगन्ध तत्कालै अमृतश्रीको सामु आएर भने– अनुहार यो कालो कपडाले छोप । गणपति गुणकामदेवसँग सम्बन्ध भएको निहुँमा तिम्र्रो हत्या हुन खोज्दै छ ।

अमृतश्रीले भेष बदलेका भिक्षु अनित्थिगन्धलाई चिनिहालिन् । आफूलाई साँचो प्रेम गर्ने मान्छेले झूटो बोल्दैन, यही विश्वासमा उनले अनित्थिगन्धले भने बमोजिम गरिन् र रथबाट ओर्लिन् । 

अमृतश्रीसँगको पहिलो भेट र पहिलो प्रेमपछि अनित्थिगन्ध धेरैपटक भेष बदलेर पूर्णवतीग्राम पुगेका थिए । शब्दमै व्यक्त नगरे पनि अमृतश्रीप्रतिको आफ्नो प्रेमलाई उनले व्यवहारमार्फत प्रकट गरिसकेका थिए । मुखको भाग कालो कपडाले छोपिएका कारण आक्रमणकारीले अमृतश्रीलाई ठम्याउन सकेनन् । 

अनित्थिगन्धले अमृतश्रीलाई रथमार्गदेखि केही पर पुर्‍याएर बचाए । आक्रमणका कारण मानिसहरूको भागाभाग भएको थियो । थुप्रै घाइते भए, केही व्यक्तिको ज्यानै समेत गयो । खड्गको प्रहार अनुहारमा परेर अमृतश्री पनि सख्त घाइते भएकी थिइन् । 

अनित्थिगन्धले उनलाई अश्व चढाएर रातारात थेन्जोग्राम पुर्‍याए । घाइते अमृतश्री बेहोस अवस्थामा थिइन् । जडिबुटीको प्रयोगपछि उनको होस खुल्यो । उनीमाथि पुनः आक्रमण हुन सक्ने सम्भावना बलियो थियो । अमृतश्रीलाई वैद्यको जिम्मामा छाडेर अनित्थिगन्ध पूर्णवतीग्राम पुगे । पूर्णवतीग्राम शोकमा डुबेको थियो । उनले अमृतश्रीका पिता विजयपाललाई भेटेर सबै खबर बताए, अनि आफ्नो उक्ति सुनाए । 

आक्रमणमा परी थेन्जोग्रामकी एक युवतीको पनि निधन भएको थियो । गो–युद्ध हेर्न गएकी ती युवती अमृतश्रीकी साथी बनेर साँढेको विजयोत्सवमा सहभागी भएकी थिइन् । अमृतश्रीलाई पुनः आक्रमणबाट जोगाउन अनित्थिगन्धले तिनै युवतीको शवलाई प्रयोग गरे । अमृतश्रीको मृत्यु भएको भनी तिनै युवतीको शवको दाहसंस्कार गरियो । यस कुराको सत्यज्ञान अनित्थिगन्ध र विजयपालका अतिरिक्त पूर्णवतीग्रामवासी कसैलाई भएन । 

०००

यो मध्यरातमा दरबारको द्वारमा उभिएका दुई व्यक्ति को हुन् ? एउटाको भावभंगिमा त गणपतिको जस्तो छ ! 

गुणकामदेव र अनित्थिगन्ध कुमारको वार्ताले द्वारेको निद खलबलियो । उसले सुटुक्क आफ्ना सहयोगीलाई उठायो, शस्त्रसहित सातजना द्वारे आफूहरू सुतिरहेको कक्षबाट बाहिर निस्के । द्वारमा गणपति उभिएको जानेपछि उनीहरूले प्रणाम टक्र्याए । 

गुणकामदेवले अनित्थिगन्धलाई सोधे, ‘भिक्षु ! मेरो दरबारको द्वारमा मध्यरातमा आयौँ, कुनै मनोवाञ्छा लिएर आएका थियौँ कि !’

गणपति ! शोकाकुल व्यक्ति मध्यरातमा निदाउन सक्दैन र उसको मनोवाञ्छा यही हुन्छ कि गुमेको कुरा पुनप्र्राप्ति होस् । किन्तु, मेरी अमृतश्री यस संसारमा छैनन्, मैले उनलाई पुनः पाउने कुनै शेष सम्भावना छैन ।

‘अब यहीँ आराम गर । भोलि संवाद गरौँला । द्वारे ! यी भिक्षुको सेवा–सत्कार गर्नू,’ गुणकामदेव आदेशको भाकामा बोले र आफ्नो शयन कक्षतिर लागे । 

अनित्थिगन्धलाई दरबारको सुखसयलमा बस्ने मन भएन । उनी त्यहाँबाट हिँड्न खोजे, तर द्वारेहरूले दिएनन्, उनीहरू गणपतिको आदेशको दास थिए । द्वारेहरूले आवश्यक सेवा–सत्कार गरी अनित्थिगन्धलाई एउटा कक्षमा राखे । 

भोलिपल्ट बिहान, अनित्थिगन्ध शयन कक्षमा थिएनन् । दरबारका सिपाहीले वरपर खोजे, उनी भेटिएनन् । गणपतिले आदेश दिए– ६० घडीभित्र अनित्थिगन्धलाई दरबारमा हाजिर गर्नू । 

०००

मध्यरातमा अनित्थिगन्ध गुणकामदेवको दरबारको द्वारमा पुगे । 

गुणकामदेव निदाउन सकेका थिएनन् । परमसुन्दरी अमृतश्रीको निधन कसरी भयो ? भिक्षु अनित्थिगन्ध पनि उसको प्रेममा कसरी पर्‍यो ? यस्तै प्रश्नले उनको निद्रा हरेको थियो । दरबारमै रहेका दुई–चारवटी रानीको यौवनको रापले उनको अनिद्रालाई शमन गर्न सकेको थिएन । 

दिनको उज्यालोमा भेटेको व्यक्तिभन्दा रातमा भेटेको व्यक्ति हाम्रो स्मरणमा बढी समय रहन्छ । रातमा हामीले चारैतिर देख्न सक्दैनौँ, त्यसकारण कुनै अप्रत्याशित घटनाको आशंकामा हामी डराइरहेका हुन्छौँ ।

झ्यालबाट बाहिर नियालेर उनी उसै टोलाइरहेका थिए । द्वारमा देखिएको कालो छायाले उनको ध्यान मात्रै होइन, ज्यानै खिच्यो ।     

‘भिक्षु ! बिहान तिमी भागेका थियौ, अहिले किन आयौ ?’ दरबारको द्वार खोल्दै उनले सोधे । 

गणपति ! ६० घडीभित्र दरबारमा हाजिर गराउनू भन्ने आदेश भएको रहेछ । यहाँका सिपाहीलाई किन दुःख दिनू ? त्यसैले म आफैँ उपस्थित भएँ । 

आज पनि मध्यरातमै किन आयौ ?

यसको कारण छ, गणपति । दिनको उज्यालोमा भेटेको व्यक्तिभन्दा रातमा भेटेको व्यक्ति हाम्रो स्मरणमा बढी समय रहन्छ । रातमा हामीले चारैतिर देख्न सक्दैनौँ, त्यसकारण कुनै अप्रत्याशित घटनाको आशंकामा हामी डराइरहेका हुन्छौँ । हाम्रो स्मरणमा कि असाध्यै खुसी र आनन्दका घटना छन् कि त डर–त्रासका । 

‘भिक्षु ! तिमी के भन्न खोज्दैछौ ?’ गणपतिले चर्को स्वर गरे । 

गणपति ! थेन्जोग्राम, ठबहिलग्राम, पूर्णवती ग्राममा सुँगुर पाल्ने कृषकहरू त्रासमा छन् । चौतारा, पञ्चकचहरीले उनीहरूसँग भाग कर त उठाएका छन् । किन्तु, गणपतिले बसाएको वस्तीका मान्छेले सुँगुर पाल्नेहरूलाई घृणा गर्न थालेका छन् । सुँगुर पाल्ने मानिसहरू यस मञ्जुगर्त भूमिबाट पलायन हुँदै आएको यहाँलाई अवगत नै होला । देवीदेवताको स्थापना गर्ने नाममा कुनै जात र समुदायप्रति अस्पृश्यताको भावना विकसित हुँदैछ । सबै समुदायलाई बाँच्न र गरिखान पाउने समान हक दिन सक्नुभएन भने हजुरको गणराज्य छिटै पतन हुनेछ । यही अवगत गराउन म मध्यरातमा आएको हुुँ । 

‘भिक्षु ! धनधान्य हुन के गर्नुपर्छ, कुनै त्यस्तो शक्ति उपासनाको विधि छैन ?’ अनित्थिगन्धसँग गणपति गुणकामदेवले सोधे । उनले भिक्षुको आगमनको अर्थ र नियत बुझ्न चाहन्थे । 

त्यो समय यस्तो थियो– गुणकामदेवले कस्तो उपासना गरिरहेका छन् भनी विरोधीहरू चासो राख्थे । कतै यो भिक्षु पनि कसैको गुप्तचर बनेर मेरो बारेमा बुझ्न आएको त होइन ? गुणकामदेवलाई शंका थियो । आफ्नो शंका निवारण गर्न उनले उक्तिपूर्ण प्रश्न गरेका थिए । उनले सम्मानपूर्वक अनित्थिगन्धलाई बैठक कक्षमा लिएर गए । बैठक कक्षको चारैतिर दीपस्तम्भमा दियो जलिरहेको थियो । कक्षभरि सुगन्ध व्याप्त थियो । दुवै सुविधाजनक आसनमा बसेर संवाद अघि बढाए ।  

‘गणपति ! यहाँमा धनप्रति यत्रो तृष्णा किन ?’ अनित्थिगन्धले सोधे । 

‘आफ्नो राज्य विस्तार गर्न र राज्यभित्र आफ्ना मान्छेहरूको बस्ती बसाउन मलाई धन आवश्यक छ,’ गुणकामदेवले आफ्नो इच्छा प्रकट गरे । 

गणपति ! यो राज्यको अवधारणाभन्दा संघ वा समुदायको अवधारणा उत्तम छ । राज्यका लागि युद्ध गर्नुजस्तो मूर्खतापूर्ण कार्य अर्को कुनै हुन सक्दैन । राज्यको सीमानाका लागि युद्ध गरेपछि धर्मका लागि  युद्ध गर्नुपर्छ, त्यसपछि धन वा व्यापारका लागि– युद्धको अन्त्य कहिल्यै हुँदैन, एउटाले युद्ध गर्दिनँ भनेर बसोस्, अर्कोले निहुँ खोजिहाल्छ, यसरी नै अनेक नामका र अनेक प्रकारका युद्ध चलिरहन्छन् । 

कुनै समुदायलाई उसको धर्म र संस्कृतिमा चल्न दिनुस् । खेती, व्यापार–व्यवसाय गर्न र समान सेवा–सुविधा पाउनका लागि छलफलबाट एउटा साझा नियम बनाएर सन्धि गर्दै जान सकिन्छ– यसमै संसारको भलाइ छ ।

गणपति ! हजुरले मेरो कुरा सुन्नुहुन्न भन्ने मलाई ज्ञान छ । यहाँलाई राजगुरु, चौताराहरूले तन्त्रमन्त्रको सहारा लिन सुझाएका छन् । यहाँलाई डर छ– आफ्नो राज्यमाथि कतिबेला कसले आक्रमण गर्ने हुन् । पूर्व दिशाका किरातहरू र पश्चिमका मल्लपुरी शक्तिशाली हुँदै छन् । यहाँलाई शंका छ– यही भूभागमा आभीर गुप्तहरू अझै षड्यन्त्रमै छन् । 

‘तिमीलाई सम्पूर्ण परिस्थिति ज्ञात रहेछ, फेरि किन शान्तिका शब्द छर्दैछौ ? जब खुँडा चल्न थाल्छ, शान्तिका वचनले घुँडा टेक्नैपर्छ,’ गुणकामदेवले शासकीय चिन्तन व्यक्त गरे । 

गणपति ! युद्ध जतिसुकै वेगवान होस्, उसले बेलाबेला शान्तिको काखमा आराम गर्नैपर्छ । मेरो कामना यही हो– युद्ध रोकिनुपर्छ । 

यद्यपि, यहाँलाई धनका लागि महालक्ष्मी र शक्तिका लागि कालीको उपासना गर्न भनिएको छ । हो, भक्तिले मान्छेमा शक्ति आउँछ तर एक दिन भक्तिको शक्ति आफैँ निष्क्रिय भएर जानेछ । किनभने, कुनै शक्तिमाथि विश्वास गर्ने व्यक्ति कि आफ्ना सबै कर्म र कामना छाडेर त्यही शक्तिमै लीन हुनुपर्छ, यसो हुँदा व्यक्तिको आत्मशक्ति पनि आफूले विश्वास गरेको शक्तिमाथि नै समर्पित हुन पुग्छ । कि उपासना वा साधनाबाट प्राप्त ऊर्जा वा शक्तिको सही सदुपयोग गर्न सक्नुपर्छ, यसो गर्नका लागि व्यक्तिलाई आत्मज्ञान चाहिन्छ । र, आत्मज्ञानले भन्छ– शक्ति तिमीभित्रै छ, अन्य शक्तिको खोजीमा नभाग । आत्मशक्तिको आधार भनेकै सहअस्तित्व र सद्भावको बोध हुन थाल्नु हो । यद्यपि अचेल मजस्ता भिक्षुहरू पनि तन्त्रमन्त्र र पूजा–प्रतिमामा विश्वास गर्न थालेका छन् ।

भिक्षु ! तिमी यिनै दुई शब्द सहअस्तित्व र सद्भावलाई कति दोहोर्‍याउँछौ ?

गणपति ! संसारका सबै मान्छेले आफ्नो भाषामा यी दुई शब्दको अर्थ बुझ्छन् र सोही अनुरूप कर्म गर्छन् भने कसैले कसैको सामु यसलाई दोहोर्‍याइरहनुपर्दैन । 

भन्ते ! मैले ठानेको थिएँ, तिमी गुप्तचर हौ । ठीक छ, तिमी कसैको गुप्तचर नै हौ ! किन्तु तिमी परमज्ञानी रहेछौ । म तिम्रो वचन र वचन बमोजिमको व्यवहारमा चल्न नसकुँला, परन्तु तिम्रो ज्ञानको सधैँ कदर गर्नेछु ।  

गुणकामदेव र अनित्थिगन्धको वार्ता लामै चल्यो । त्यस रात पनि अनित्थिगन्ध त्यहाँ बसेनन् । बास बस्न अश्व चढेर थेन्जोग्राम पुगे । 

०००

अमृतश्रीको विजेता साँढे पशुपति क्षेत्रमा बस्न थालेको थियो । अमृतश्री नहुँदा विजयपालले त्यस साँढेलाई घरमा पाल्न मन गरेनन् । घरमा पाल्दा पुत्रीको सम्झना बढ्ने हुँदा उनले साँढेलाई त्यत्तिकै छाडिदिएका थिए । 

यता, अमृतश्रीलाई क्रमिक रूपले निको हुँदै गयो । उनी हिँडडुल गर्न सक्ने भइनँ, किन्तु खड्गले काटिएर उनको अनुहार कुरूप भएको थियो । उनका आँखा भने उस्तै सुन्दर थिए । 

गुणकामदेवले स्थापना गरेको वागमती किनारको मूर्तिमा पूजाआजा गर्ने बढेका छन् भन्ने अमृतश्रीले पनि सुनेकी थिइन् । कुरूप हुनुअघिको आफ्नो सुन्दर मूर्ति हेर्ने लालसाले उनी पशुपति क्षेत्रमा आएकी थिइन् । साँढेसँग उनको जम्काभेट भयो । अमृतश्रीले आफ्नो कुरूप अनुहार छोप्न मुखमा कालो कपडा बाँधेकी थिइन्, तैपनि हाउभाउका भरमा साँढेले चिनिहाल्यो । केही परदेखि कुदेर साँढे उनको छेउमा पुग्यो र शरीरभरि सुँघेर बर्र आँसु झार्‍यो । अमृतश्रीले साँढेलाई केहीबेर मुसारिन्, त्यसपछि अश्व चढेर थेन्जोग्रामतिर लागिन्, साँढे पनि उनकै पछि लाएर गयो । 

थेन्जोग्राममा अमृतश्री अनित्थिगन्धकी पत्नी भएर बसेकी थिइन् । अनित्थिगन्धले उनको नाम साग्यवती राखेका थिए । पशुपतिको साँढे आइपुगेपछि थेन्जोग्रामवासीमा उल्लास छायो । उनीहरूले साँढेलाई मीठोमसिनो भोजन गराउन थाले । दिनभरि ग्रामभरि डुले पनि साँझ साँढे साग्यवतीकै घरमा बास बस्न पुग्थ्यो । 

साँढे अकस्मात साग्यवतीको पछि लाएर थेन्जोग्राम पुगेको खबरले राजगुरु सशंकित भए । साँढे अमृतश्रीको भएको राजगुरुलाई ज्ञात थियो । अमृतश्रीको मृत्यु भएकोमा पनि उनलाई सन्देह थियो । उनले आफ्ना सिपाहीलाई आदेश दिए– थेन्जोग्राम जाऊ र साग्यवतीको बारेमा जानकारी राख । 

राजगुरुले पठाएका १० सिपाहीमध्ये तीनजनालाई साँढेले छानीछानी आक्रमण गरी मारिदियो । अमृतश्रीमाथि आक्रमण हुँदा ती तीन सिपाही पनि सहभागी भएका थिए । अमृतश्रीको आक्रमणमा गएका सिपाहीलाई मात्रै साँढेले छानीछानी मारेको खबरले राजगुरु झनै सशंकित बन्न पुगे । 

यता हरेक मध्यरातमा एक सुन्दर स्त्रीले गणपति गुणकामदेवको द्वार ढकढकाउन थालिन् ।  

क्रमशः  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ध्रुवसत्य परियार
ध्रुवसत्य परियार

परियार रातोपाटीका फिचर/ओपेड एडिटर हुन् ।

लेखकबाट थप