विद्युत् ऐन बनाएर बसेको प्रदेश १ ले कहिले बाँड्छ विद्युत् आयोजनाको लाइसेन्स ?
विराटनगर । प्रदेश १ संसद्ले प्रदेश विद्युत् ऐन २०७६ पारित गरेको साढे ३ वर्ष पुगिसकेको छ । प्रदेश १ मा खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालय पनि छ । तर, ऊर्जा क्षेत्रमा भने सामान्य इन्डक्सन चुल्हो बाँड्ने र सोलार प्यानल बाँड्ने बाहेक मन्त्रालयले उल्लेख्य प्रगति गर्न सकेको छैन ।
प्रदेश विद्युत् ऐन २०७६, २०७६ भदौ २६ गते प्रमाणीकरण भएर लागू भएको हो । उक्त ऐनमा प्रदेशमा विद्युत् उत्पादनका लागि एक मेगावाट भन्दा माथिका आयोजना निर्माणको अनुमति दिने, अनुगमन गर्ने तथा ऊर्जा तथा विद्युत् जस्ता आधारभूत भौतिक पूर्वाधारहरूको निर्माण तथा विकास गर्ने उल्लेख छ ।
तर, प्रदेश सरकारले सघीय सरकार मातहत रहेको संस्थान नेपाल विद्युत् प्राधिकरणको प्रदेश १ कार्यालयसँग एउटा सम्झौता गर्ने काम बाहेक निजी ऊर्जा उत्पादकहरूसँग कुनै पनि सहमति, सम्झौता तथा सहयोग गर्न सकेको छैन ।
मन्त्रालयका सचिव नविनराज सिंहका अनुसार मन्त्रालयमा सिँचाइ ऊर्जा महाशाखामा कर्मचारी पनि दरबन्दी अनुसार छैनन् । एक जना सिडीइ र चार जना इन्जिनियरमध्ये एक जना सिडीइ र एक जना इन्जिनियर मात्रै छन् । यद्यपि आफूहरू विद्युत् उत्पादकहरू कोही आएको खण्डमा लाइसेन्स दिन सक्षम रहेको सिंह बताउँछन् ।
‘प्रदेशको विद्युत् ऐन आएको छ । विद्युत् नियमावली ड्राफ्ट भएको छ । आजको दिनसम्म कुनै पनि हाइड्रोपावर डेल्लपरहरु लाइसेन्सको लागि कोही पनि मन्त्रालय आएका छैनन् । स्थानीय तहमा समस्या भयो भनेर सहजीकरणको लागि पनि एक जना आउनु भएको थियो । त्यसबाहेक अहिलेसम्म कोही पनि आउनु भएको छैन,’ सिंहले भने, ‘उहाँहरू आउनु भयो भने प्रदेश सरकारको तर्फबाट सक्दो सहयोग र समन्वय गर्छ । कोही मानिसहरू लाइसेन्सका लागि आएको खण्डमा सबै प्रक्रिया पुरा गरेर लाइसेन्स दिन सक्छौँ । किनकि हामीले ऐन बनाइसकेका छौँ । प्रदेश नियमावली पनि हामीले ड्राफ्ट गरिसकेका छौँ । त्यो छिट्टै पारित हुन्छ । अन्य कुरा सङ्घीय ऐन अनुसार गरिनेछ भनेको कारण हामीले काम गर्न कुनै समस्या छैन ।’
प्रदेशको ऐनमा १ मेगावाटभन्दा माथिको आयोजनाको लाइसेन्स दिन सक्ने उल्लेख छ । यद्यपि ३ मेगावाटदेखि २० मेगावाटसम्मको अनुमति प्रदेशले दिन सक्ने सङ्घीय कार्यविधि छ । सङ्घीय ऐन पनि सोही अनुसार ड्राफ्ट भएको छ । विद्युत् ऐन २०४९ मा नभएको कुरालाई परिमार्जन गर्न नयाँ ऐन प्रस्ताव गरिएको हो । सङ्घीय सरकारले पनि सोही ऐन अनुसार काम गरिरहेको छ ।
सङ्घीय ऐन कहिले आउँछ ?
सङ्घीय सरकार ऊर्जा मन्त्रालयले यसअघि बनाएको विद्युत् विधेयक संसद्मा दर्ता भएर संसद्को समितिमा वृहत् छलफल भएर रहेको थियो । तर, पहिलेको संसद्को कार्यकाल सकिएसँगै उक्त विधेयक पारित हुन सकेन । सरकारले उक्त विधेयक संसद्बाट फिर्ता ल्याएर पुनः पारित गर्ने गरी तयारी गरिरहेको जलविद्युत्को क्षेत्रमा अध्ययन गरिरहेका अधिवक्ता होमकान्त चौंलागाईं बताउँछन् । ‘यसलाई छिटो पारित गर्नुपर्छ भन्ने हाम्रो माग हो,’ जलविद्युत् क्षेत्रमा लगानीकर्ता समेत रहेका उनले भने, ‘यो विधेयक पारित भएको खण्डमा ट्रेडिङको विषय समाधान गर्ने, विद्युत् प्राधिकरणको एकाधिकार अन्त्य गर्ने, आयोजना निर्माणमा प्रतिस्पर्धा गराउने, ट्रान्समिसन लाइनमात्र मात्रै पनि लगानी आउन सक्ने अवस्था सिर्जना हुने लगायतका विषय छन् ।’
स्वतन्त्र ऊर्जा उत्पादक सङ्घका कार्यसमिति सदस्य प्रकाश दुलालले ऊर्जा क्षेत्रको छुट्टै ऐन आउनु पर्नेमा जोड दिए । त्यसो हुन नदिनुमा सरकारी पक्षकै कतिपय निकाय लागेको उनको आरोप छ । ‘विद्युत् आयोजनाहरू छिटो विकास गर्ने, छिटो निर्माण गर्ने, त्यसो भयो भने देश विकास हुन्छ भन्ने मानसिकता नै छैन,’ उनले भने, ‘बरु विभिन्न कानुनलाई देखाएर काममा अल्झाउने काम हुन्छ ।’ यद्यपि छुट्टै ऐन आउन नसके पनि संसद्बाट सरकारले फिर्ता गरेको विधेयक तुरुन्त संसद्मा पेस गरेर पारित गर्नुपर्ने उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एनआरटी र चर्च ब्वाइजबीच झापा कपको उपाधि भिडन्त, कसले मार्ला बाजी ?
-
१२ बजे, १२ समाचार : हिरासतमा रविको फोटो खिच्ने निकोलस भुसाल पक्राउदेखि ‘भ्रष्टाचारविरोधी अभियन्ता’लाई सहकारी ठगीमा हत्कडीसम्म
-
प्रहरी हिरासतमा सुतिरहेका रविको फोटो खिचेर भाइरल बनाउने निकोलस काठमाडौंबाट पक्राउ
-
१० बजे १० समाचार : रविलगायत विरुद्ध ४२७ पृष्ठ लामो अभियोगपत्र दायरदेखि सरकारको कार्यशैलीप्रति कांग्रेसभित्र असन्तुष्टिसम्म
-
फाल्गुनन्द गोल्डकप : झापा–११ माथि मच्छिन्द्रको फराकिलो जित
-
नागरिक लगानी कोष र म्याग्दी हाइड्रोपावरबिच सेयर प्रत्याभूति सम्झौता