‘हामीले राम्रो र विश्वसनीय फिल्म बनाउन नसकेकै हो’
केपी पाठक नेपाली चलचित्रका वरिष्ठ निर्देशक हुन् । सानो र ठूला पर्दाका गरेर दर्जनौँ फिल्म निर्देशन गरेका पाठकले करिब १३ वर्षअगाडि फिल्म ‘मैना’ बनाएका थिए । त्यसयता फिल्म निर्माण नगरेका उनी वृत्तचित्र निर्माण, फेस्टिभल आयोजनालगायत विभिन्न फिल्मी गतिविधिमा उनी सक्रिय रहँदै आएका छन् ।
चलचित्र निर्देशक समाजका पूर्वअध्यक्ष, चलचित्र विकास बोर्डका पूर्वसदस्य तथा प्रवक्तासमेत रहेका उनी नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल निफ आयोजक संस्था ‘चलचित्र तथा सांस्कृतिक प्रतिष्ठान’का अध्यक्ष हुन् ।
घाटामा गए भए पनि हरेक वर्ष नेपाली फिल्मको स्तरोन्नति, अन्तर्राष्ट्रिय बजार विस्तार गर्ने लक्ष्यका साथ उनले हरेक वर्ष निफ फिल्म फेस्टिभल आयोजना गर्दै आएका छन् । निफ यो वर्ष अगामी चैत २ देखि ६ गतेसम्म आयोजना हुँदैछ । यस पटक निफमा २५ देशका ९५ फिल्म सहभागी छन् ।
अहिले फिल्म निर्देशकको समेत तयारी गरिरहेका केपी पाठकसँग आगामी निफ फेस्टिभल र निर्माणको तयारीमा रहेका फिल्मका विषयमा गरिएको छोटो कुराकानी ।
–निफको छैटौँ संस्करणको तयारी कस्तो भइरहेको छ ?
निफ पहिलेदेखि नै हुँदै आएकाले के गर्ने भन्ने छैन । कार्यक्रमको सबै कुरा सेटमा छ । सेटमा हुन नसकेको भनेको आर्थिक पाटो मात्र हो । त्यो कहिल्यै सेट भएन, कार्यक्रमका लागि वार्षिक रूपमा कसैसँग पनि सम्पर्क भएन । हाम्रो फेस्टिभल सरकार, कुनै प्रमोटर वा सपोर्टरको वार्षिक कार्यक्रममा समेत परेन । हरेक वर्ष हामीले जहिले पनि जिरोबाटै सुरु गर्नुपर्छ । त्योबाहेक कन्टेन्ट, कार्यक्रम फम्र्याटका हिसाबले हामीसँग धेरै प्रोपर्टी छ । पहिलो र दोस्रो कार्यक्रममा फेस्टिभलका लागि फिल्म र जुरी कसरी ल्याउने भन्ने थियो । अहिले हामी ठूलो नेटवर्कमा छौँ । ५०–५० देशमा नेटवर्क भएका दुईवटा देशका हामी सदस्य छौँ ।
अहिले हामीलाई कार्यक्रम के गर्ने, जुरी र फिल्म के गर्ने भन्ने समस्या छैन । तर स्रोत नभएकाले हामीले ‘पेड स्टाफ’ राख्न सकेका छैनौँ । त्यसले भोलेन्टियर काम गर्नुपरेको छ । टिमको चुनौती भनेको समय कसले दिने भन्ने हो । स्रोत व्यवस्थापन हुन्थ्यो भने टिमका सदस्य र पेड स्टाफले काम गर्दा सजिलोे हुन्थ्यो ।
आर्थिकबाहेकका कार्यक्रमको तयारी नि ?
हामीले जुरी, फिल्म छानिसकेका छौँ । कार्यक्रम डिजाइन र अतिथिको तयारी हुँदैछ । प्रचार प्रसार गरिरहेका छौँ ।
–पाँचौँ संस्करणसम्मको अनुभव कस्तो रह्यो ?
हरेक संस्करणको अत्यमा हामी अर्काे नगर्ने निष्कर्षमा पुग्छौँ । किनभने सधैँभरि दुःख गरेर, रुवाबासी गरेर, सबैसँग हात जोडेर र रहेक वर्ष जिरोबाट र साथीभाइको बीचमा मनमुटाव गरेर कार्यक्रम गर्न सकिन्न । आर्थिक भार धेरै मेरो पाटोमा पर्छ । घाटा आफैँले बेहोर्नुपर्छ । अहिलेसम्मको मेरो अनुभवमा यो वर्ष आर्थिक रूपमा तनाव छैन भन्ने भएन । पेड स्टाफ राख्न सकिएको छैन । यो पटक पनि हामीले कतै व्यावसायिक वा सरकारी निकायबाट सहयोग पाएका छैनौँ । पहल भने जारी छ ।
प्रधानमन्त्री र सञ्चारमन्त्रीकहाँ जाने तयारीमा छौँ । उहाँहरूसँग वार्षिक कार्यक्रममा पार्न अनुरोध गर्छाैं । कार्यक्रम आयोजना हुन करिब डेढ महिना बाँकी हुँदा हामीलाई समस्या नै समस्या छ ।
–घाटा र समस्या हुँदा पनि किन नियमित हुँदै आयो त निफ ?
विश्वमा चलेको ट्रेन्डले पनि अन्तर्राष्ट्रिय फेस्टिभल वर्षमा एक पटक आयोजना हुनेगरेको छ । त्यसैले हामीले पनि वर्षमा एक पटक गरेका हौँ । हाम्रो चाहना यस्तो फेस्टिभल वर्षमा दुई पटक गर्न सकियोस् भन्ने छ । एउटा अन्तर्राष्ट्रिय र अर्काे एसियन मात्र । वर्षमा एक पटक फिल्म मेकिङको चर्चा, विभिन्न अन्तर्राष्ट्रिय एक्स्पर्टबाट अनलाइन वर्कसप गर्ने चाहना छ । तर हाम्रो बजेटले गर्न सक्दैनौँ । किनभने अहिलेसम्म हामीले व्यवस्थित स्टाफ राख्न सकेका छैनौँ ।
मानिसले अहिले फेस्टिभललाई अवार्ड भनेर बुझेका छन् । यो अवार्ड होइन, फेस्टिभलमा अवार्ड मात्र वितरण हुँदैन, संसारभरीका फिल्म हेर्दै विभिन्न छलफल, भेटघाट, किनबेच, अन्तर्राष्ट्रिय अनुभव साट्ने काम पनि हुन्छन् । हामी ल्यान्डमार्क, एसियाको बुसान फेस्टिभलजस्तो निफ बनाउन लागिपरेका छौँ । जहाँ करोडौँ रुपैयाँमा खर्च गर्न सकियोस् ।
संसारभरिका फिल्म मेकरको उपस्थिति होस् । कम्तीमा ३० वटा फिल्मको निर्माण गर्न र वितरण कम्पनी ल्याउन सकियोस् । निफमा २० वटा स्टल होस्, एउटा स्टलमा कम्तीमा ५ वटा फिल्म मेकरले कथामा पिचिङ गर्न पाउँन् । त्यसो हुँदा एक सय स्टोरी निस्किन्छ ।
त्यसमा दुईवटा मात्र फिल्म अन्तर्राष्ट्रिय स्तरमा बिके, अन्तर्राष्ट्रिय वितरकले हात हाले भने हामीलाई करोडौँ फाइदा हुन्छ । राज्यको लगानी भयो भने हामी राम्रा क्रिटिक्स ल्याएर छलफल गर्न सक्छौँ । त्यो क्रममा हाम्रो फिल्म बिक्यो भने अन्तर्राष्ट्रिय स्तरमा पनि पुग्छ । बिकेन भने त्यसको कारण र कमीकमजोरी थाहा पाउँछाँै । यसले फिल्म निर्माणमा सुधार ल्याउँछ ।
फिल्म फेस्टिभलको भ्यालु त्यो समय बढ्छ, जतिबेला फिल्मको किनबेच हुन्छ । हामीले बजार बनाउन सकेका छैनौँ । हामीले बोर्ड अध्यक्षलाई एम्बेसीमार्फत संसारका वितरका, निर्माण कम्पनी नेपाल ल्याउन अनुरोध पनि गरेका थियौँ । फिल्मको बजार र फिल्म हेर्ने संस्कृति बढाउनका लागि र संसारका फिल्म देखाएर नेपाली फिल्मप्रति दर्शक आकर्षित फिल्म मेकर एकै थलोमा भेट्ने वातावरणका लागि एउटा गतिलो प्लेटफर्म फेस्टिभल हो । त्यही भएर हामीले हरेक वर्ष निफ गर्दै आएका छाँै ।
–फेस्टिभलको फाइदा नेपाली कलाकर्मीले उठाउन नसकेको जस्तो लाग्दैन ? कि फेस्टिभलको महत्त्व नबुझेका हुन् ?
हाम्रा कलाकर्मीले फेस्टिभलको महत्त्व नबुझेको भन्ने लाग्दैन । प्राथमिकता नदिएका भने हुन् । फेस्टिभलमा हामीले खेलेको र हामीले बनाएको फिल्म खासै छैन । जसले त्यस्ता फिल्म बनाउँछन् उनीहरूका लागि मात्र हो भन्ने बुझाइ छ । किनभने सबै मेन स्ट्रिमका फिल्म फेस्टिभलमा देखाउन सकिन्न । फिल्म कथा वाचनका हिसाबले पनि कसरी दर्शक खुसी पार्ने भन्ने हिसाबले बनाइएको हुन्छ । तर फेस्टिभलमा भाग लिने फिल्म कसरी कथा इमानदारी भन्ने, कसरी न्याय गर्ने र कलात्मक क्षमताको भरपुर प्रयोग गरेर बनाइएका फिल्म मात्र फेस्टिभलमा आउँछन् । निफ त्यो प्लेटफर्म पनि हो, जहाँ मेन स्ट्रिमका धेरै फिल्म र कलाकार, निर्माता र निर्देशक पनि सहभागी हुने गरेका छन् । नेपालमा आर्टिफिक्स फिल्म र व्यावसायिक फिल्मलाई जोड्ने काम पनि निफले गरेको छ ।
–हामीले फिल्मकर्मीलाई फेस्टिभलका बारेमा बुझाउन नसकिएको हो कि ?
त्यो बुझाउनकै लागि हामीले जसको फिल्म फेस्टिभलमा सहभागी छैनन् उहाँहरूलाई जुरी राख्ने, उद्घाटन, समापन समारोहमा निम्त्याउने, अवार्ड वितरण गर्न लगाएका छौँ । त्यसको मुख्य उद्देश्य निफमा उहाँहरूको अपनत्व जगाउने र निफका फिल्म हेराउने हो । अन्य स्वार्थ केही छैन । हामीले उहाँहरूसँग शुभकामना पनि लिएर देखाउँछौँ । जसले गर्दा फेस्टिबलबाट लाभ उठाउन प्रोत्सान गरोस् भन्ने हो । यो मामलाका केही हदसम्म सफल छौँ ।
राज्यको लगानी किन ?
अन्य देशमा फेस्टिभलमा राज्यले लगानी गर्छ । राज्यले हामीलाई मात्र होइन, यस्ता अन्य फेस्टिभलमा पनि लगानी गर्नुपर्छ । नत्र बजेटका लागि एनजीयोका मुद्दा उठ्छन् । कतिपयले त्यो गरेका छन् । हामीले गरिरहेको छैनौँ । अझै पनि राज्यले लगानी गर्छ भन्ने विश्वास हो । सधैँभरि हामी घाटामा जान सक्दैनौँ ।
कलाका अन्य विधाका एकेडेमी छन् तर कलाकारिताको छैन । एउटा एकडेमीलाई राज्यले जति बजेट दिन्छ त्यति मात्र भए पनि फिल्म क्षेत्रलाई बजेट छुट्यायो भने समस्या हल हुन्छ । किनभने यो क्षेत्रले कमाउँछ पनि । कलाका सबै माध्यम संयोजन गरेर एकै ठाउँबाट फिल्म प्रस्तुत गर्छ । यसको एकमेडी बनाउनुपर्दैन ? यसको विकास गर्नुपर्दैन, यसको सिर्जनात्मक, व्यावसायिक र बौद्धिक विकास गर्नुपर्दैन ?
–हरेक फेस्टिभल मापनका समय फिल्मकर्मीमा के–कस्ता प्रभाव परेको देख्नुहुन्छ ?
पहिलो त पैसा तिरेर पनि बजारमा नपाइने फिल्म हेर्न मिल्छ । संसार घुमेर हेर्न नपाउनेले पनि फिल्मका माध्यमबाट एकै स्थानमा बसेर ३५ देश घुम्न, बुझ्न र जान्न पाउँछ । फिल्म निर्माताले आफ्नो र फिल्मबारेमा दाँजेर सिक्ने अवसरसमेत प्राप्त गर्छ ।
विश्वका फिल्मबारेमा जानकारी मिल्छ र निर्माणको स्तर पनि सुध्रिन्छ । विश्वव्यापी फिल्मको ट्रेन्ड पनि थाहा हुन्छ । विदेशी फिल्मसँग छलफल, सम्बन्ध बढाएर हरेक कुराको लाभ लिन सक्छन् । जन्मजात सिक्ने र चिनजान हुने होइन । २०६५ सालमा मैले अबको दशकमा नेपाली फिल्मको सिनारियो चेन्ज गर्छाैं भनेका थियौँ, अहिले आएर भएको छ । विभिन्न किसिमका वर्कसप हुन थालेका छन् । सिक्ने र सिकाउने क्रम बढेको छ । हामी भारतको फिल्ममा मात्र सीमित थियौँ । अहिले संसारको फिल्म हेर्न थाल्यौँ । कोठामा बसेर फिल्म लेख्ने चलन फरियो । फेस्टिभलले दिने यस्तै शिक्षा हो ।
–फेस्टिभलले निर्माण र कथामा परिवर्तन केही ल्यायो ? व्यवसाय त अझै धरापमै छ नि ?
हो । त्यही भएर म फेस्टिभलमार्फत व्यावसायिक सञ्जाल बढाइरहेको छु । विदेशका फिल्म निर्माता भित्र्याएर उनीहरूसँग छलफलको वातावरण बनाइरहेको छु ।
हाम्रा फिल्म निर्माताले पनि यसको सदुपयोग गरे हुन्थ्यो । उनीहरूले फेस्टिभल हाम्रा लागि होइन भनेर भनेका छन् । फर्मुलामा बनेको कर्मसियल र त्योभन्दा बाहिरको ननकर्मसियल भन्छन् उनीहरू । त्यो होइन । लगानी पूरै डुबे पनि चलेका कलाकार लिएर बनेका व्यावसायिक र नचलेका कलाकार राखिए अव्यावसायिक भन्छन् । जसको सबै लगानी डुब्छ, त्यो कसरी व्यावसायिक भयो ?
–चलचित्र बजार साँघुरियो भन्छन् नि ?
त्यो होइन, हामीले खोज्न नसकेको हो । यसका लागि विकास बोर्ड, निर्माता सङ्घलगायतले पहल गर्नुपर्ने हो । म त्यो देख्दिनँ । हिजो हाम्रो प्रचारको पोस्टर टाँस्ने, टीभीमा विज्ञापन दिने र होर्डिङबोर्ड राख्ने शैली जुन थियो अहिले पनि त्यही छ । अहिलेसम्म फिल्म प्रोमोसनको एप बन्नुपथ्र्याे । ग्लोबल मार्केटको जानकारी दिनुपर्ने हो । संसारमा विकास भएको प्रविधिमा आधारित भएर रिलिजका लागि पहल गर्नुपर्ने हो । अहिले हातहातमा प्रचार पुर्याउनुपर्ने समय टीभीमा प्रचार गरेर हुन्छ ? अहिले सयौँ सानासाना ओटीटी प्लेटफर्म छन् । त्यो मात्र प्रयोग गर्न सकियो भने लगानी सुरक्षित गर्न सकिन्छ । दुई सयवटा हल सयमा झरिसके । हामी त्यही हलका लागि झगडा गरिरहेका छौँ ।
–कि बजार पाउने राम्रा फिल्म बनेनन् ?
–हामीले राम्रो र विश्वासनीय फिल्म बनाउन नसकेकै हो । यसले गर्दा चर्चित अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा छानिन सकेनन् । त्यस्ता फेस्टिभलमा छानिने हो भने त्यसै बजार पाउँछन् । जेम्स क्यामरुनले बनाएको ‘अवतार’जस्तो विश्वासिलो फिल्म बनाउनुपर्यो । फिल्ममा एलियनलाई पनि विश्वसनीय तरिकाले प्रस्तुत गर्दा दर्शकले स्वीकारे ।
हाम्रा हिरो र हिरोइन; कथा, पात्र स्वीकार्दैनन्, किन ? । हामीले मिहिनेत पनि गरेका छैनौँ । पात्रका माध्यबाट कथा वाचनका लागि इमानदारपूर्वक प्रयास गरेका पनि छैनौँ । हाम्रो फिल्ममा कलाकारले जुन भूमिका निर्वाह गरेका हुन्छन्, दर्शकलाई त्यो विश्वासिलै लाग्दैन । किनभने हामीले विश्वसनीय पात्र फिल्ममा प्रस्तुत गर्न सकेका छैनौँ ।
–के अब फिल्म निर्देशन नगर्ने ?
फिल्म बनाएर मात्र भएन त्यसको मार्केटिङ पनि चाहियो । फेरि चित्तबुझ्दो कथा हुनुपर्यो । फिल्म फेस्टिभलका माध्यमबाट अहिले ८० देशमा नेटवर्क बनेको छ । त्यो नेटवर्कमा जोडिन अब फिल्म निर्माण गर्नुपर्ने भयो । केही समयअगाडि ‘गोरु पर्व’ वृत्तचित्र बनाएको थिए । यसले विभिन्न फेस्टिभलमा अवार्ड जितिरहेको छ । अर्काे वृत्तचित्र ‘इन्द्रजात्रा’ तयार हुँदैछ । फिल्म नै गर्नुपर्छ भन्ने होइन तर पनि म अहिले नयाँ फिल्मको तयारीमा छु । विकास बोर्डमा नाम दर्ता पनि भएको छ । जसको नाम ‘घटुवारे’ हो । अन्य तयारी पनि भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकी डलरको भाउ स्थिर, अन्य कसको मूल्य कति ?
-
पाँच महिनामा ५५ गर्भवती र सुत्केरीको उद्धार
-
ला लिगामा बार्सिलोनालाई धक्का, सेल्टा भिगोले बराबरीमा रोक्यो
-
लुम्बिनीलाई मुक्तिनाथसँग जोड्यो कालीगण्डकी करिडोरले
-
दुर्गा प्रसाईंको बीएण्डसी मेडिकल कलेजमा एमबीबीएस पठनपाठनको तयारी
-
ब्राइटन, वुल्भ्स विजयी हुँदा एस्टन र क्रिस्टल, एभर्टन र ब्रेन्टफोर्डले अंक बाँडे