प्रेमहरूको मृत्यु

प्रेमहरूको मृत्यु
आज मात्रै होइन
सदियौँदेखि मर्दैछन् प्रेमहरू
कहिले बोल्न नपाएर मर्छन् प्रेमहरू
त बोल्न सके आवाज बन्न नपाएर मर्दैछन् ।
प्रेम भुइँमा होइन
भुइँमुन्तिर माटोभित्र बाँच्न खोज्छ
जरा भएर देशको
प्रेमलाइ टेकेर ठिङ्ग उभिन्छ देश
पाइला सार्छ
अनि अनवरत यात्रामा लम्किन्छ देश ।
घाँटीमा टाई झुन्डाई
दम्भले उभिएका
काण्ड, पात र फूलहरू देशका
जराले सोसेको कर खाएर
जरालाई नै शोषण गर्दै
बाँचिरहेछ इतिहासमा
भूगोलमा
समाजमा
अनि शोषित प्रेमहरू
जति जति गाडिन्छन् माटोमुनि
उति उति बढ्छ उचाइ देशको ।
तर नि कविज्यु !
उचो उचाइ भएका रुखहरू
जब हल्लिन्छन् नि ?
आँधी आउँछ यहाँ
हुरी बतास आउँछ यहाँ
अनि झर्न थाल्छन् ती पातहरू
भाँचिन थाल्छन् ती काण्डहरू
आफै ढल्न थाल्छन् ती रुखहरू
रहन्छन् त केवल
माटोमुनि दबिएको प्रेमहरू
तर माटोमुनिका प्रेमहरू सलबलाए
भूकम्प आउँछ यहाँ
अनि फेरि ढल्छन् उही रुखहरू
गल्र्याम्मै भुइँमा
रहन्छन् त केवल
माटोमुनि दबिएका प्रेमहरू
जहाँबाट पलाउनेछ
नयाँ मुना नयाँ व्यवस्थाको
नयाँ समाजको
नयाँ देशको ।
त्यसैले त कविज्यू !
तिमीले देखेका मर्दै गरेका प्रेमहरू
भ्रम हुन्
तिमीले लेखेका प्रेमको मृत्युहरू
भ्रम हुन् ।
प्रेम त अजर छ
अमर छ
प्रेमको मृत्युहरूमा तिम्रो मृत्यु छ
तिम्रो कविताको मृत्यु छ ।
(प्रेम आचार्यले आत्मादाह गरेको सन्दर्भमा लेखिएको कविता ।)
शिक्षक श्रीकृष्णाश्रम मावि कन्याम, इलाम ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अछाममा माटोको ढिस्कोले पुरिँदा दुई महिलाको मृत्यु
-
सांग्रिला क्विजमा सञ्जुकुमारी र सुकीर्ति पहिलो
-
एससीटी–युपिआई कार्ड प्रयोगकर्तालाई शुक्र हाउस अफ डाईग्नोस्टिक्स् सेन्टरमा छुट
-
श्रमिकलाई आत्मनिर्भर बनाउन सामाजिक सुरक्षा कोषको महत्त्वपूर्ण भूमिका छ : मुख्यमन्त्री लामा
-
तरुण दलको महाधिवेशन निर्धारित समयमै हुन्छ : अध्यक्ष गुरुङ
-
बोरामा ३५ वर्षीया महिलाको शव : ६ जना मिलेर गरेका थिए व्यवस्थापन