आइतबार, ०९ मङ्सिर २०८१
ताजा लोकप्रिय
लोकसंस्कृति

विलाइसकेको बज्जीलाई वर्तमानमा खोज्ने प्रयास

शनिबार, २१ माघ २०७९, १५ : २३
शनिबार, २१ माघ २०७९

बौद्ध ग्रन्थ ‘अंगुतर निकाय’ एवं जैनग्रन्थ ‘भगवती सूत्र’मा बज्जी सङ्घको उल्लेख प्रमुख गणराज्यको रूपमा छ । बज्जिका अठारह गणराज्यहरूको प्राचीन बज्जी सङ्घको आधुनिक भाषा हो । डा. योगेन्द्र मिश्रका अनुसार बज्जी सङ्घको अस्तित्व ७२५ ई.पू. देखि ४८४ ई.पू.सम्म थियो । नेपाल बहुजातीय, बहुसांस्कृतिक, बहुभाषिक र भौगोलिक विविधताले युक्त सुरम्य देश हो ।

बुद्धको समयमा बज्जी एउटा प्रसिद्ध महाजनपद थियो । यसअन्तर्गत आठ जनपदहरूमा विदेहको राजधानी मिथिला एवं बज्जी सङ्घको राजधानी वैशाली थियो । पाणिनीले आफ्नो गंन्थ ‘अष्ठाध्यायी’ (४.२.३) मा यसको स्मरण ‘मद्रवृज्जयो’को रूपमा गरेका छन् । बुद्धको जीवनकालमा नै जनकवंशको पतनको साथमा वनेको बज्जी सङ्घमा विदेहलाई विशेष प्रतिष्ठा प्राप्त थियो । आजको कोसी पश्चिमको भू–भाग प्राचीन बज्जी विदेह सङ्घको अवशिष्ट रूप हो । वैष्णव पुराणबाहेक रामायण तथा महाभारतमा वैशालीमा गणराज्यको स्थापनाभन्दा पहिलेको राजा विशालको वंशावली उपलब्ध छ ।

राजा विशालको वंशको तेत्तिसौँ राजा सुमतिले गङ्गाको उत्तरी किनारमा अवस्थित विशालापुरीमा विश्वामित्रको साथमा राम र लक्ष्मणको राजकीय सत्कार गरेकाथिए । ‘वाल्मकि रामायण’ (१.४५.९) अनुसार विशालापुरीको भूगोल निम्नअनुसार छ—

उत्तर तीरमासाद्य सम्पूज्यर्षि गणे तदाः ।

गंगा कूले निविष्टास्ते विशालां दर्दशुः पुरिम् ।।

राजा सुमतिपछिको इतिहास एकमद चुप छ । तब पनि यति कुरो त थाहा हुन्छ नै वैशालीको राजा सुमति अयोध्याको दशरथ र विदेहको शिरध्वज जनकका समकालीन थिए । लिच्छविहरूले वैशालीमा गणराज्यको स्थापना गरेको तिथिमिति प्रायः अनिर्धारित छ । बज्जी सङ्घको प्रजातन्त्रको दीपज्योती गौतम बुद्धको परिनिर्वाणको तीन वर्षपछि ४८४ ई.पू.मा निभ्यो । नेपाल बहुभाषाबहु धर्म बहुसंस्कृति भएको देश हो । नेपालका बज्जिका भाषीहरू हिन्दू धर्म मान्छन् र आफ्नै संस्कृति भएका विभिन्न जातका छन् ।

विभिन्न जात भए पनि आपसमा मिलेर बसेका छन् । कसैले पनि जातीय अहङ्कार देखाउँदैनन् । संस्कृति बचाउनमा सबैको योगदान छ । आफ्नो भाषा बज्जिका भएको र आफू प्राचीन प्रजातन्त्र प्रेमी पूर्वजका सन्तान भएको सत्य बिर्सिसकेका छन् । युगौँदेखि यथा स्थितिमा बाँचिरहेका छन् । सजीव भएर पनि कतिपय संस्कृति बिर्सिसकेका छन् । यस्तो हुनु भनेको सुखद पक्ष कदापि होइन । यसबाट आफ्नो पहिचान गुम्छ । जो बाचेको मात्र छ, विगत बिर्सिएको छ, उसको पहिचान गरिमामय हुन सक्तैन । बज्जी सङ्घले सङ्घीय शासन प्रणाली बलियो बनाएको थियो । यस्तो अवस्थामा राजतन्त्रले घेरिएको बज्जी सङ्घको वैशाली मगध राम्राज्यवादी लिप्साको शिकार बन्न पुग्यो । मगध बज्जी सङ्घमा पहिले आक्रमण गरेका थिए तर बज्जीको दूरदर्शी सङ्घनायक चेटकले आफ्नो छोरी चेल्लनाको विवाह (५३० ई.पू.) विम्बसारसँग गरिदिए । तर चेल्लनाको छोरो अजातशत्रु (४९५–४६३ ई.पू.) को दुर्धर्ष महत्त्वाकाङ्क्षाको कारण वैशालीको पतन ४८४ इं.पू.मा भयो । यस पतनको साथसाथै बज्जी सङ्घको सांस्कृतिक गरिमा ह्रास हुन थाल्यो ।

बज्जी सङ्घको उत्तर जीवन–यात्राको समय धामिक क्रान्तिको समय हो । जैन तीर्थकर महावीर र गौतम बुद्धले आफ्नो धर्मोपदेश गरेको पाली–अप्रभंश भई आधुनिक भारतीय आर्य भाषाको उद्भव भयो । बुद्ध शाक्यवंशी थिए र लिच्छवि क्षत्रिय थिए । वैशाली पतनपछि यो भूभाग मगधको अधीनमा भयो । उनीहरूले यहाँको सङ्घीय पद्धतिमा बाधा हालेनन् । कालान्तरमा बज्जी र लिच्छवि एक अर्काका पर्याय बन्न पुगे । 

नेपाल अद्भुत प्राकृतिक र सांस्कृतिक सौन्दर्यले भरिएको ज्यादै आकर्षक देश हो । अधिकांश प्रकृतिप्रेमी र संस्कृतिविद्हरूले एकमतमा स्वीकार गरेको कुरा यो हो । वैशालीको पतनपछि बज्जी लिच्छवि अद्भुत प्राकृतिक सौन्दर्यले भरिएको नेपालमा आएको कुरा इतिहासमा पाइन्छ ।

आकारले सानो देखिए पनि सांस्कृतिक गुणवत्ताका दृष्टिले निकै ठूलो यस देशमा एक सयभन्दा अधिक जाति र त्यति नै सख्याका भाषाभाषीहरू बसोबास गर्दछन् । लामो समयदेखि यहाँ विविध जातजाति र अनेकौँ भाषाभाषीको पारस्परिक सौहार्दपूर्ण बसाइ रही आएको छ । 

चन्द्रगुप्त मौर्यपछि बज्जी सङ्घको स्वतन्त्रता समाप्त भइसकेको थियो । अशोकको अभिलेखमा, बज्जी–लिच्छविको उल्लेख छैन तर वैशालीको कोल्हुआ (कोल्लाग सन्निवेश)मा एउटा उत्तरभिमुखी अशोकस्तम्भ आज पनि उभिएकैछ । तर इसाको पहिलो शताब्दीको अन्तिम समयमा वैशाली र पाटलिपुत्रमा कुषाण सम्राट कनिष्कको अधिपत्य भइसकेको थियो । कुषाणहरू यहाँ टिक्न भने सकेनन् । पुनः स्वतन्त्रता प्राप्त गरेपछि बज्जी–लिच्छविको प्रतिष्ठा बढ्यो । चन्द्रगुप्त प्रथमको छोरा समुद्रगुप्त (३३५–३७५ ई.) लिच्छवि दौहित्र हुनुमा गर्व गर्थे । फहियान (चौथो सताब्दी)ले आफ्नो यात्रा वृत्तान्तमा तद्युगीन वैशालीको भव्यताको वर्णन गरेको छ । यहाँको पुरातात्त्विक उत्खनन्बाट ‘तीरभुक्ति’ र ‘वैशाली’ नामको सिक्का पाइएको छ ।

छैटौँ शताब्दीको अन्त्यसम्ममा वैशालीबाट लिच्छविहरूको पतन भयो । हुएनसाङले नेपालमा बज्जी राज्य भएको उल्लेख गरेका छन् ।

कर्णाटकपछि बज्जीहरूको भूमि सिमरौनगढ मुस्लिम शासनको अधीनमा भयो । कर्णाटकले राज्य गरेको डोय भूमि यथार्थमा बज्जी देशको स्मृतिको अवशेष हो । बज्जिका तत्कालीन डोय राज्यको जनभाषा हो ।

प्राचीन बज्जी सङ्घको भाषा भएको हुँदा यसलाई वृजिका, वैशालीको भाषा, बज्जिका आदि नामहरूबाट सम्बोधन गर्ने गरिन्छ । बज्जिका शब्दको निर्माण बज्जी शब्दमा ‘क’ र ‘आ’ प्रत्यय लाग्नाले भएको हो, जुन धेरै प्रासाङ्गिक एवं उपयुक्त छ । बज्जी सङ्घको सीमाझैँ नेपालमा बज्जिका भाषी क्षेत्रको सीमा निर्धारणमा पनि एकमत बनिसकेको छैन । बारा, रौतहट, सर्लाही र महोत्तरीको क्षेत्रलाई बज्जिका भाषी क्षेत्र मान्नु उचित हुनेछ । रौतहटको बोलीलाई नेपालीय बज्जिकाको मानक भाषाको शास्त्रीय अध्ययन गरिनुपर्दछ । तब मात्र बज्जिकाको स्पट रूपको वैज्ञानिकता प्रमाणित हुनेछ ।

भाषिक दृष्टिले नेपालिय बज्जिका भाषी क्षेत्रको पूर्वमा मैथिली, पश्चिममा भोजपुरी र उत्तरमा नेपाली प्रचलित छ । वर्तमानमा बज्जिकाको स्थिति मैथिली एवं भोजपुरीको बीचको छ । अतः ग्रियर्सनको स्थिति द्विविधात्मक छ– “मैले सेवेन ग्रामर्स आव दी बिहारी लेङ्ग्वेज (भाग–२) मा यसलाई भोजपुरीको एउटा भेद भनेको थिए तर वर्तमान सर्वेक्षणमा यसलाई मैथिलीको विभाषा यसकारण भनिरहेको छु कि जुन क्षेत्रमा यो बोलिने गरिन्छ, त्यो ऐतिहासिक दृष्टिले प्राचीन मिथिला राज्यको अन्तर्गत छ । तर आजको सम्पूर्ण तिरहुत प्रमण्डल बज्जी महाजनपदमा समाहित थियो ।”

विदेशी भएको हुँदा ग्रियर्सनले ध्वनिको सूक्ष्मता राम्ररी बुझ्न सकेनन् । बज्जिका मैथिली र भोजपुरीभन्दा पूर्णत फरक छ । यसको प्रवृत्ति तद्भव शब्दतर्फ धेरै रहेको हुँदा यसमा मध्यम वर्णलाई द्वित्व बनाइदिने प्रवृत्ति छ । बज्जिकामा ध्वनिको आफ्नै नियम छ ।

कुनै पनि भाषाको स्वतन्त्र अस्तित्व एवं रूपगत पहिचानका लागि अन्तः साक्ष्यको सबल आधार मानिएको छ । यद्यपि वहिर्साक्ष्य पनि सर्वथा उपेक्षणीय हँुदैन । डा. सियाराम तिवारी, डा. अवधेश्वर अरुण, डा. सुरेन्द्र मोहनप्रसाद, डा. विमलेश्वर झा, डा. योगेन्द्रप्रसाद सिंह आदिले बज्जिकाको स्वतन्त्र अस्तित्वको प्रकाश छरिदिएका छन् । सोही प्रकाशमा प्राचीन इतिहासमा गर्व गर्दै वर्तमान उठ्न खोज्दै छ । यो लेखन जागरणको पाइला चलाइ मात्र हो ।

वैशालीको पतनपछि त्यहाँबाट विस्थापित भएका बज्जी–लिच्छवि नेपाल आएको र सोही वंशका विक्रमादित्यले संवत चलाएको सही पहिचान हुन सक्यो भने हालसम्म गौतमबुद्ध र सगरमाथाको देश भनेर चिनिने यो मुलुक संसारकै प्राचीन गणतन्त्र स्थापना गर्ने जातिको पहिचान हुने सम्भावना निकै ज्यादै छ । लेख्नको लागि मात्र नभएर अतितको भुली बिर्सिएको सम्पदाको जगेर्ना गर्नु पनि आवश्यक देखिन्छ । 

विक्रम संवत्का बारेमा समय समयमा कुरा उठ्दै आएको छ । यसको अनुसन्धान गर्ने कार्यमा ढिलासुस्ती भने भएकै देखिन्छ । यथार्थ कुराको बोध नभएर केही व्यक्तिले आधारहीन र मनगढन्त विचार व्यक्त गरेका भरमा पहिचानका आधारमाथि लामो समयदेखि खेलबाड हुँदै आएको अवस्थामा आउँदा दिनमा सचेत भएर यथार्थको खोजी र प्रामाणिक कुराको विश्लेषण हुनु जरूरी छ । यही आवश्यकताप्रति सजग भएर नेपाल प्रज्ञा प्रतिष्ठानबाट प्रकाशित ‘बज्जी र बज्जिका’ लेखेको हुँ । 

हालका दिनमा जातीय र क्षेत्रीय पहिचानका कुरा जोरदार रूपमा उठेका छन् । यस क्रममा पारस्परिक सम्मान, शान्ति, प्रेम, मित्रता, सहगोग, समझदारी, विश्वासजस्ता कुरामा आघात पर्न सक्ने कतिपय कार्यहरू पनि भएका देखिन्छन् । सबैका पहिचानका आधारहरू सुरक्षित हुनु पर्दछ । मेरो विचारमा लखनदेही नदीभन्दा पश्चिम, अडुवा नदीभन्दा पूर्वको भाग आदर्श बज्जिका क्षेत्र हो । लखनदेही नदीभन्दा पूर्वको बज्जिकामा मैथिलीको प्रभाव धेरै छ । अडुवा नदीभन्दा पश्चिमको भाषा पश्चिमी बज्जिका हो, जो भोजपुरी प्रभावित छ । 

सङ्गठित रूपमा नेपालका बारा, रौतहट, सर्लाही र महोत्तरीका मानिसले बज्जिका नै बोल्छन् । भाषाको आधारमा समाज हुने गर्छ र सामाजिक प्रकृति नै भाषायी प्रकृतिको नियमन गर्ने गर्छ । यस भाषाको प्रकृति मध्यममार्गी छ । संरचनाको दृष्टिले यसमा हिन्दीमा झँै अयोगात्मकताको प्रवृत्ति छ । वर्ण द्वित्वीकरणको कारण यसको प्रकृति बलाघात प्रधान छ । बज्जिका यथार्थतः एउटा विकासोन्मुखी भाषा हो ।

भारोपेली भाषाहरूको स्रोत वैदिक भाषा हो, जसको समानान्तर जनभाषा पनि वनको फूलझैँ विकसित हुँदै गरेको थियो । गौतम बुद्ध एवं वर्धमान महावीरले देववाणीको अपेक्षा जनवाणी (पाली–प्राकृत) मा आफ्नो धर्मोपदेश दिन धेरै उचित ठाने । वास्तवमा आधुनिक आर्य भाषाहरूको उद्भवभन्दा पहिले यस भूभागमा प्राकृतमा लेखन हुने गथ्र्यो । यसलाई प्राच्या, गामिल्ल, देसी भाषा, देसिल वयना, अवहट्ट, पूर्वी अपभ्रं आदि नामले सम्झिइन्थ्यो, सातौँ आठौँ शताब्दीमा रचित सिद्ध साहित्यमा जनपदीय भाषाहरूका आरम्भिक रूप पाउन थालिएको छ, जसमा बज्जिका पनि एक हो–

ब्राह्मणो हि न जानंत हि भेउ । एवउ पढवउ वेउ ।। 

मट्ठि पाणि कुस लई पढन्त । घर ही बइसी अग्गि हुणन्त ।।

कज्जे विरहई होमें । अक्खि डहाविअ कडुएँ धूमे ।।

      —सरहपा (दोहाकोश)

 

अधिकांश सिद्धकवि बज्जी भूमिका थिए । वज्रगीतिका, धर्मगीतिका, उक्ति व्यक्ति प्रकरण, देशी नाममाला, काव्यानुशासन, प्राकेत पैगलम, बज्रडाक तन्त्र, वर्ण रत्नाकर, कीर्तिलता, कीर्तिपताका, पारिजातहरण आदि ग्रंथहरूमा पूर्वी अपभ्रंशका क्रमशः विकसित रूप अवशिष्ट छ । भोजपुरी र मैथिलीको बीचको अवस्थितिको कारण बज्जिका स्वतः यसमा परिगणित भइहाल्छ । एक ठाउँमा रहँदा बस्दा यहाँका जनसमुदायले एक अर्काको रीतिरिवाजप्रति सम्मान जनाउँदै तिनमा रहेका उपयोगी पक्षको अनुकरण पनि गर्दै आएका छन् । आफ्नोपनको सुरक्षा गर्दै यहाँका जनताले सँगै बस्ने अर्को जातिका सांस्कृतिक र भाषिक मूल्य तथा मान्यताको संवद्र्धनमा सहयोग गर्दै आएका पनि छन् । जातीय सौहार्द, भाषिक सौहार्द र सांस्कृतिक सौहार्द यहाँको विशेषता हो । 

नेपालमा बस्ने प्रत्येक जाति नेपाली हो र उसको संस्कृति, भाषा, परम्परा र पहिचान नेपालको हो । समस्त नेपालीका पुर्खाहरूले सिर्जना गरेका संरचना र जीवनका उपलब्धि तथा उच्चताका लागि अनुसरण गरेका सांस्कृतिक धरोहरको महत्ताको ज्ञान नयाँ पुस्तालाई हुनु जति आवश्यक छ त्यति नै त्यस्ता तत्त्वको संरक्षण संवद्र्धनप्रति संवेदनशील हुनु आवश्यक छ । त्यसो नभएमा जातीय तथा राष्ट्रिय गौरवका आधारभूत तत्त्व हराउने र पहिचान लोप हुने डर रहन्छ । यस क्रममा परम्परागत जातीय बिरासत तथा सांस्कृतिक सम्पदाको ह्रास हुन सक्ने सम्भावना व्यापक रूपमा देखिएको छ । 

नयाँनयाँ विधि र प्रविधिको विकास हुनु र जीवन पद्धति सरल एवं आकर्षक बन्नु त राम्रो कुरा हो तर त्यही प्रविधिगत प्रयोगबाट जीवनका बहुमूल्य मान्यताको लोप हुन थाल्यो भने समाज र सांस्कृतिक विशाल वटवृक्षका जरामा आवश्यक मलजल पुग्न न सक्ने खतरा बढ्दछ । समयको गतिमा हिँड्न नसक्ने जीवनको उच्चतामा बाधक बन्ने चालचलन तथा संस्कृतिका नाममा चल्दै आएका आडम्बर रूढी, अन्धविश्वास र पछौटेपनका आधारहरू त समाप्त हुनै पर्दछ । तर व्यावहारिक स्वच्छता, चारित्रिक उच्चता, सामाजिक सद्भाव र जातीय गौरवका विशिष्ट पहिचान भने हराउनु हुँदैन । 

जगेर्ना गर्नुपर्ने, पुस्तान्तरण गर्नुपर्ने, संरक्षण तथा संवद्र्धन गर्नुपर्ने सांस्कृतिक वैभव भनेका पनि यिनै कुरा हुन् । जुन जाति, समाज र राष्ट्रले यसको पहिचान गरी संरक्षण गर्न सक्तैन त्यो दुःखी हुनै पर्नेछ । आफ्नोपनलाई नबुझेर दुःख पाउनु भनेको पूर्ण रूपले विखण्डित हुनु हो । आफ्नो पनको व्यथा बुझेकाहरू मरिमेटेर सङ्कलन र संरक्षण गर्न लाग्छन् । निःस्वार्थ रूपले लाग्दा पाइने दुःखमा पनि आफ्नै किसिमको आनन्द हुन्छ, जुन आनन्द प्रेमीको प्रतीक्षा गर्दा प्रेमिकाले प्राप्त गर्दछ ।

पुर्खाहरूले काम लाग्ने ठानेर जोगाएका सामाजिक, सांस्कृतिक मूल्य र मान्यताका कुरा पनि जोगाउनु पर्दछ । परम्परादेखि चल्दै आएका सबै चालचलन, व्यवहार, क्रियाकलाप, चाडबाड, विधि प्रविधि अन्धविश्वास मात्र हँुदैनन् । तिनको गहिरो अध्ययन भयो भने अनेकौँ लोककल्याणकारी तत्त्व तिनमा पाइन सक्तछ । ओखतीमुलो इन्जिनियरिङका विविध पक्ष, कृषि प्रविधि, वन संरक्षणका उपाय, जलाधारका स्रोतहरूको दीर्घकालिक उपयोग, सांस्कृतिक सम्पदाको ज्ञान, सामाजिक मूल्यको चिनारीसमेतका थुप्रै पक्षमा आज गम्भीर वैचारिक मन्थन गर्नुपर्ने वेला आएको छ । वज्रयानी सिद्ध सरहपा, गयाधर, दीपंकर श्री आदिको भाषा जनभाषा थियो बङ्गला, असमिया, उडिया, मगही, मैथिली र भोजपुरीको झैँ बज्जिका पनि मागधी अपभ्रंशबाट बनेको हो । वज्रयानी सिद्धहरूका समय आठौँदेखि बाह्रौँ तेह्रौँ शताब्दी मानिएको छ । क्रमशः विकशित हुँदै गएर जनभाषा हिन्दी भाषाको सहगामिनी बन्न पुग्यो । 

बज्जिका भाषामा रामसुन्दर श्रेष्ठ, सञ्जय साह ‘मित्र’, सञ्जय सुदामा, हरिकृष्ण काफ्ले, रमेश समर्थन लगायतका साहित्यकारले रचना गर्ने गरेका छन् । बलचनमा (नागार्जुन), मैला आँचल (रेणु) आदिमा मिथिलाको जनजीवन पाइएझैँ ‘माटी की मुरते’ (बेनीपुरी), अम्बपाली (राजेश्वर प्रसाद नारायण सिंह) आदिमा बज्जीको जनपदीय सौन्दर्य अभिव्यञ्जित छ । गोरखापत्रको नयाँ नेपालमा प्रकाशित रचनाहरूलाई केलाउँदा के स्पष्ट हुन्छ भने बज्जिका भाषाको स्वरूप अनेकौँ क्षेत्रीय शैलीमा वनफूल झैँ विकसित हुँदैछ । सञ्जय साह ‘मित्र’ले गोरखापत्रको नयाँ नेपालको बज्जिका पातोको माध्यमबाट यसको मानकीकरणको सत्प्रयास गर्दैछ, अझ मेहनतको आवश्यकता छ ।

आधुनिक बज्जिका साहित्य यथार्थमा नेपालमा भर्खरै लेखन प्रारम्भ हुन थालेको छ । केही थान पुस्तकमात्र प्रकाशित हुन सकेको छ । केही राम्रा प्रतिभाहरू मेरो नजरमा छन् । जसले भाषाको महत्त्व बुझेको हुँदैन, त्यस्ता लेखपढमा रमाउँदैन । त्यस्ता व्यक्तिलाई भाषा बाचोस् मरोस् एकै जस्तो लाग्दछ । त्यस्तैलाई हामी जड भन्ने गर्दछौँ । आफ्नो भाषा छ, संस्कृति छ । आफ्नो भनेको आफ्नै हो किन यसप्रति चिन्तित हुने । यस्तो सोचाइ राख्नेहरू पनि छन् । थाहा छैन तिनीहरू कसको ताबेदारी गर्दैछन् । जसलाई थाहा छ आफ्नो भाषालाई माया गर्छ, संस्कार पालन गर्छ । उ समयको धुकधुकीसँगै संस्कृति टिकाउँछ । लोकको बीचबाट सम्मुनत संस्कृति बाहिर ल्याउँछ । यस्तै व्यक्तिलाई लोकनायक भनिन्छ । 

आज समयले बज्जिको पहिचान गराउने, संस्कार टिकाउने, भाषा उच्च बनाउन चाहेको छ । यो कार्य भनेजति सजिलो पनि छैन । संस्कारहरू, संस्कृतिहरू आपसमा मिसिएका छन्, जेलिएका छन् । जीवन जसरी आरम्भ हो त्यसैगरी बज्जी संस्कृति–संस्कार पनि स्वतः पहिचान हुँदै जादै छ । जीवन आरम्भ हो सम्बन्धको जसले भिन्नलाई मिलाएर अभिन्न भएको छ । नर र नारीको मायाले गुमाएको होइन नयाँ प्राप्ति गरेको छ । समय भनेको सिर्जना गर्नका लागि हो । सिर्जना गर्न चुक्यो कि समय सकिन्छ । यसैलाई हामी आयु भन्दछौँ ।

जीवनमा अवलम्बन गर्नुपर्ने परम्परागत आचारविचारका कुरातिर पनि वैज्ञानिक आधारमा र प्रामाणिक रूपमा सिद्ध गरेर समय सापेक्ष हिसाबबाट ध्यान पुर्‍याउनु अति नै जरूरी छ । जान्नेलाई चन्दन न जान्नेलाई खुर्पाको बिँड भने जस्तै चन्दन र खुर्पाको बिँडका बीचको अन्तर खुट्याउनु पनि आज आवश्यक भएको छ । यिनै कुराप्रति विचार गर्दा इतिहासमा गौरवपूर्ण स्थान रहेको तर विलाइसकेको बज्जीलाई वर्तमानमा खोज्ने प्रयास मात्र हो यो । यो त्यो प्रयासको दस्तावेज हो । यस पवित्र कार्यमा संलग्न सबैजनालाई धन्यवाद भन्न चाहन्छु । विशेष गरी बज्जिका भाषी र गैर बज्जिका भाषी बौद्धिक जमात, जागरुक युवा, यसको महत्त्व बुझ्ने जनसमुदाय तथा अनुभवी लेखकहरू प्रति आभार व्यक्त गर्नु जरूरी छ । यो लेखन थालनीमात्र हो । 

बज्जीको जीवनसित सम्बद्ध संस्कृति, भाषा, कला, विश्वास, चालचलन, साहित्य, रहनसहन, खानपान, साजसज्जा, चित्रकला, बाजागाजा, चाडबाड जस्ता विविध कुराको खोजी गरी अगाडि ल्याउने कार्य बाँकी नै छ । बज्जिका साहित्यको ऐतिहासिकताको रेखाङ्कित गर्ने काम सबभन्दा पहिले डा. अजित नारायण सिंह तोमर (बज्जिका भाषा और साहित्य, १९६४) ले गरे । डा. सियाराम तिवारीले भक्तकवि हलधर दासको काव्यकृति ‘सुदामा चरित्र’ को सम्पादित रूपमा प्रकाशित (१९६६ ई) मा गरेर यसको प्राचीन साहित्यको उद्धारको प्रारम्भ गरे । 

बज्जिकाको भक्ति साहित्यको सर्वेक्षणको क्रममा सन्त बुनियनद दास एवं उनका निर्गुणभक्तिमूलक काव्य ‘राम जग उत्पत्ति’, योगेश्वरानन्द, कर्ताराम, धवलराम, शिवनारायण, जीवनराम रघुनाथ, अक्षय कुमार, नन्दुराम, मुरलीधर तिवारी, जीवनराम, टेकमनराम, रामरूप दास, भैरव राय, महेश राउत, रामलखन पण्डित आदिको भाषा–साहित्यको जानकारी पाइएको छ । नेपालमा बज्जिका–साहित्यको इतिहास लेखनको कार्य प्रारम्भ मात्र भएको छ । प्रारम्भ भएको जानकारी गराउने काम मात्र यसले गरेको छ ।  

गौर–५, रौतहट

हाल : काठमाडौँ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शीतल गिरी
शीतल गिरी
लेखकबाट थप