बढ्दो ब्याजदर र घट्दो पर्यटकले व्यवसायी चिन्तित
पोखरा । केही समययता एकाएक पर्यटकको चहलपहल घटेपछि पोखरेली पर्यटन व्यवसायीलाई चिन्तित बनाएको छ । देशकै प्रमुख पर्यटकीय गन्तव्य पोखरामा पर्यटन लक्षित पूर्वाधारको लगानीमा हौसिएका पर्यटन व्यवसायीलाई यतिखेर कम हुँदै गएको पर्यटकको आगमन र बढ्दो बैंकको ब्याजदर समस्या बनेको छ ।
पर्यटकीय राजधानीको उपमा पाएको पोखरा माघ १ गते भएको विमान दुर्घटना पछि सुनसान प्रायः छ । काठमाडौँपछि उल्लेख्य सङ्ख्यामा पर्यटक पुग्ने पोखरामा कोरोना कहर पछि भने पर्यटकको आगमन बढ्ने आशा पलाएको थियो । अङ्ग्रेजी नयाँ वर्षका बेलामा आसपासमा स्वदेशी एवम् विदेशी पर्यटकले खचाखच भरिएको पोखरामा पर्यटनको आशा जगाए पनि एकाएक भएको विमान दुर्घटनाले यतिखेर सुनसान बनाएको हो ।
पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठ व्यवसाय नै धान्न धौधौ परेको वास्तविकतालाई बुझ्दै सरकारले ब्याजदर घटाउन र किस्ताको समयावधि बढाउनका लागि पहल गरिदिनुपर्ने बताउछन् ।
शुक्रबार गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीको स्वागतार्थ आयोजित कार्यक्रममा उनले आफूहरू बैंकको ऋण तिर्ने कुरामा पूर्णरुपमा प्रतिबद्ध भएको र नतिर्ने कुनै चाहना नभएको बताए । व्यवसायलाई बचाउन किस्ता तिर्ने समय बढाइदिनुपर्ने र ब्याज घटाएर दिनुपर्ने मुख्य माग रहेको उनले बताए ।
‘सिजन’ होस् या ‘अफ सिजन’ पोखरा अधिकांश समय पर्यटकको चहलपहल हुने गन्तव्य हो । कोरोना कहरको महामारी बीच पनि यहाँको पर्यटनलाई आन्तरिक पर्यटकले केही न केही भरथेग गरेका थिए ।
नेपाल आउने विदेशी पर्यटकमध्ये करिब ४० प्रतिशत पोखरा आउँछन् । कोरोना कहरपछि विस्तारै लयमा फर्कन लागेको पर्यटन आगामी दिनमा कसरी बढ्ने हो यतिखेर चिन्ताको विषय बनेको छ । हिउँदको समय भएका कारण यतिखेर माछापुच्छ्रे र अन्नपूर्णलगायतको हिमालको काखमा रहेका फेवातललगायतका तालतलैयामा पर्यटकको चहलपहल बढ्नुपर्ने हो । बढ्दो ब्याजदर र घट्दो पर्यटकका कारण व्यवसाय नै जोगाउने विषय प्रमुख चिन्ता बनेको टान पश्चिमाञ्चल क्षेत्रीय सङ्घका अध्यक्ष धर्म पन्थी बताउछन् ।
तथ्याङ्कअनुसार पोखराका होटेल तथा रिसोर्टमा सात सय व्यवसायीको लगानी छ । यसअघि सरकारले नेपाल भ्रमण वर्ष २०२० घोषणा गर्दा २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्यका साथ भौतिक पूर्वाधारमा लगानी गर्न गरेको आग्रहलाई दृष्टिगत गरेर तत्कालीन समयमा उत्साहित बनेका यहाँका पर्यटन व्यवसायीले कोरोना पूर्वको बीचको समयमा पनि ठूलै लगानी गरेका थिए ।
पोखरामा होटलमा मात्रै करिब रु पौने चार खर्बभन्दा बढी लगानी भइसकेको छ । पर्यटकस्तरीय होटलको सङ्ख्या एक हजार दुई सय हाराहारी छ । लेकसाइड र ड्यामसाइड क्षेत्रमा सात सय होटल छन् भने पाँचतारे दुई वटासहित अन्य तारे होटलको सङ्ख्या १८ छ ।
प्रदेश सभाका जारी बैठकमा सदस्यले व्यवसायीमा परेको मारबारे संसद् तथा सरकारको ध्यानाकर्षण गराउँदै आएका छन् ।
शुक्रबार मुख्यमन्त्री खगराज अधिकारीसँगको भेटघाटमा पोखरा पर्यटन परिषद्का पूर्वअध्यक्ष सूर्य भुजेल, होटेल सङ्घ पोखराका अध्यक्ष लक्ष्मण सुवेदी, महिला पर्यटन व्यवसायी सङ्घ (ओटेफ)का अध्यक्ष पार्वती पाण्डे, नेपाल हवाई खेलकुद संस्थाका महासचिव खेमराज आचार्य, गाउँ पर्यटन प्रवद्र्धन मञ्च गण्डकी प्रदेशका अध्यक्ष उदय सुवेदी, पोखरा पर्यटन परिषद्का वरिष्ठ उपाध्यक्ष कृष्ण भण्डारीलगायतले व्यवसायीमा परेका समस्यालाई बुझ्न सरकारसँग आग्रह गरे ।
व्यवसायीका कुरा सुन्दै मुख्यमन्त्री अधिकारीले व्यवसायलाई बचाउने कुरामा आफू प्रतिबद्ध रहेको बताउँदै नआत्तिन आग्रह गरे । प्रकृतिको बरदानसँगै पोखराको आतिथ्यताको संस्कार राम्रो रहेको बताउँदै उनले आउने समस्यालाई क्रमशः समाधान गर्दै अघि बढ्नुपर्नेमा जोड दिए
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१४ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
-
कुर्स्कमा युक्रेनविरुद्ध लड्दा हजार उत्तर कोरियाली मारिए
-
सडक दुर्घटना : धनुषामा ६ महिनामा २६ जनाको मृत्यु
-
इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति ओमानबाट पक्राउ
-
महाभारत जङ्गलको आगलागी अझै नियन्त्रणमा आएन
-
हिमोफिलिया रोगको महँगो औषधी अब निःशुल्क