‘द्वन्द्वकालले जागिरको सपना टुटायो, अहिले अटो चलाएरै लाखौँको सम्पत्ति’
सुर्खेत । एउटा भनाइ छ– ‘सुख खोज्नुपर्दैन, दुःखको सदुपयोग गरे पुग्छ ।’ के पनि भनिन्छ भने ‘दुःखले आशाको जन्म दिन्छ ।’ वीरेन्द्रनगर नगरपालिका–१, त्रिपुरेश्वर टोलकी मीना कँडेलको जीवनमा पनि यो उक्तिले सार्थकता पाएको छ । कुनै बेला रोजीरोटीकै लागि श्रीमानसहित भारतको दिल्ली पुगेकी उनी अहिले सुर्खेतमै अटो चलाएर नै मनग्गे आम्दानी गरिरहेकी छन् ।
दुई छोरा, श्रीमानश्रीमती गरी मीनाको चार जनाको परिवार छ । जेठो छोरा ८ र कान्छो ६ कक्षामा पढ्दैछन् । मीनाले परिवारको खर्च धान्ने मात्र होइन, अटो–रिक्सा चलाएर लाखौँको सम्पत्ति पनि जोडिरहेकी छन् । अटोरिक्सा चलाएर नै वीरेन्द्रनगरको त्रिपुरेश्वरमा २८ लाख रुपैयाँको घडेरी किनेकी छन् । उक्त घडेरीको २३ लाख रुपैयाँ बुझाइसकेकी छन् भने बाँकी पाँच लाख ऋण यही वर्षमा तिरिसक्ने उनको लक्ष्य छ ।
घडेरीमा श्रीमानको कमाइ पनि केही छ । यद्यपि उनका श्रीमान् हर्कबहादुर खत्री (५२) अहिले आँखाका बिरामी छन् । केही पहिलासम्म उनी सामान्य लेबरको काम गर्थे । आजभोलि पहिलेको जसरी काम गर्न सक्दैनन् हर्क । लामो समय भाडाको घरमा बस्दै आएको मीनाको परिवार अहिले आफ्नै घडेरीमा सानो घर बनाएर बसेको छ । त्यहाँ पक्की घर बनाउने मीनाको सपना छ । यद्यपि घर बनाउनुभन्दा पहिला जेठो छोरालाई जागिरे बनाउने लक्ष्य उनको छ । ‘छोराकै लागि भनेर अहिले सङ्घर्ष गरिरहेकी छु,’ मीना भन्छिन् ।
बिहान ६ बजे यात्रु खोज्दै बजारतिर निस्किनु र बेलुका ६ बजेपछि घर फर्किनु उनको दैनिक कार्य बनेको छ । घरबाट निस्किनुभन्दा पहिला नै उनी परिवारका लागि खानेकुरा बनाइसक्छिन् । यद्यपि अहिले छोराहरू ठूला भइसकेकाले खान बनाउने कुरामा खासै दुःख नहुने उनको भनाइ छ । कोलाहल सहरभित्र दिनभर यात्रुलाई गन्तव्यमा पु¥याउनु उनको दैनिकी बनेको छ, जसबाट उनी आत्मनिर्भर बनेकी छन् ।
बेलुका ६ बजेपछि उनी कहिल्यै अटो चलाउँदिनन् । मीनाको विचारमा यात्रुलाई उसको गन्तव्यमा पु¥याउनु पनि सेवा नै हो । विगत पाँच वर्षदेखि प्रदेश राजधानी वीरेन्द्रनगरमा अटो चलाउँदै आएकी मीनाको जीवनकहानी भने कम सङ्घर्षशील छैन । बिहीबार वीरेन्द्रनगरको चन्द्रमान चोकमा भेटिएकी मीना भन्छिन्, ‘सङ्घर्ष नै जीवन हो र दुःखले सङ्घर्ष गर्न सिकाउँछ, दुःखले जिउन सिकाउँछ भने ऋणले कमाउन सिकाउँछ ।’
अभाव र सङ्घर्षकाबीच आफ्नो खुट्टामा उभिएर अघि बढ्नु नै जीवनको ठूलो परीक्षा हो भन्ने मीनाको बुझाइ छ ।
००००००
जनयुद्धले टुटायो सरकारी जागिरको सपना
मीनाको जीवनको उद्देश्य पढेर सरकारी जागिर खाने थियो । यद्यपि त्यो सपना माओवादीले थालेको १० वर्षे सशस्त्र जनयुद्धले टुटाइदियो । दैलेखको भैरवी गाउँपालिका–५ को तोरीमुलमा जन्मिएकी उनी गाउँकै विद्यालयमा कक्षा ८ मा अध्ययन गरिहरेकी थिइन् । त्योबेला जनयुद्ध चरम उत्कर्षमा थियो । द्वन्द्वले गर्दा गाउँमा बस्ने वातावरण नै भएन ।
दुई भाइ, दुई बिहनी र आमासहित पाँच जनाको परिवार थियो मीनाको । बुबाले अर्की श्रीमती ल्याएर अलग्गै बसिसकेका थिए । कमजोर आर्थिक अवस्थाका कारण मीनाकी आमालाई सबै भाइबहिनीलाई हुर्काउन निकै कठिन भएको थियो । त्यही बेला माओवादीले अस्वाभाविक रूपमा धरकपड गर्न थाल्यो । ‘गाउँमा असुरक्षित महसुस गरी डरले हामी रातारात सुर्खेत झ¥यौँ,’ उनी भन्छिन्, ‘द्वन्द्वले मेरो सरकारी जागिर खाने सपना टुटाइदियो ।’
त्यो २०५९ सालको कुरा हो । त्यसपछि मीनाको जीवनले अर्कै मोड लियो । सुर्खेत झरेपछि मीनाको परिवारले अरू कसैको सानो घर मागेर बसेको थियो । त्यो बेला वीरेन्द्रनगर खासै सहरीकरण भइसकेको थिएन ।
दैलेखबाट वीरेन्द्रनगर आइसकेपछि छाक टार्नका लागि गरेको सङ्घर्षको कहानी कम स्मरणीय छैन उनका लागि । जङ्गलबाट दाउरा ल्याएर ६० रुपैयाँमा बजारमा बेच्नेदेखि सडकछेउमा मकै पोल्ने काम पनि उनले गरिन् । जङ्गलबाट तरुल खनेर ल्याउने र बजारमा बिक्री गर्नेदेखि गिट्टी कुट्ने कामसमेत गरिन् । त्यो बेला महिला र पुरुषबीच गरिने ज्यालादरको विभेदले उनको चित्त दुखिरहन्थ्यो ।
‘हामी घर बनाउने काममा जान्थ्यौँ, पुरुषलाई दैनिक ज्याला ३ सय रुपैयाँसम्म मिल्थ्यो तर हामी महिलालाई जम्मा एक सय रुपैयाँ मात्र दिइन्थ्यो,’ मीना सम्झिन्छन्, ‘दुःख एउटै भए पनि ज्यालामा विभेद गरिन्थ्यो ।’
बिहेपछि दिल्लीको यात्रा
२०६२ सालमा बिहे गरिसकेपछि श्रीमान् हर्कबहादुरसँगै उनी भारतको दिल्ली गइन् । हर्क दैलेख भैरवीकै भए पनि २०२७ देखि नै सपरिवार सुर्खेतको साबिक तरङ्गा भन्ने ठाउँमा आएर बसेका थिए । तर त्यहाँ उनको सम्पत्ति र जमिन केही थिएन । बिहे गरेपछि उतैै कमाउने उतै रमाउने उद्देश्यसहित उनीहरू दिल्ली गए ।
त्यहाँ हर्क एक कार्यालयमा सेक्रेटरीको काम गर्थे भने मीना खाना पकाउने काम गर्थिन् । त्यसबापत हर्कले मासिक १० र मीनाले ९ हजार रुपैयाँसम्म कमाइ गर्थे ।
भारतमै छँदा उनको जेठो छोरा जन्मियो, जिम्मेवारी झन् थपियो । २०६९ सालतिर पुनः नेपाल फर्केर तरङ्गा आएर बस्न थाले । कमाइबाट बचेको रकमबाट थोरै जग्गा किनेर अस्थायी रूपमा बस्न थालेका उनीहरूले त्यहाँ बाख्रा पालन पनि गरे । तर दुई छोराको भविष्य पनि नबन्ने र छाक टार्न पनि मुस्किल पर्ने भएपछि उनीहरू वीरेन्द्रनगरमा आएर कोठा भाडामा लिई बस्न थाले ।
...अनि आफ्नै खुट्टामा उभिन अटोरिक्सा
वीरेन्द्रनगर आएपछि सुरुसुरुमा मीनाले साइकलमा तरकारी, फलफूल बेच्ने काम गरिन् । सधैँ अरूकै भरोसामा काम गर्नुपर्ने अनि सोचेजस्तो नहुने भएपछि अटोरिक्सा चलाउने योजना बनाइन् । त्यसपछि उनी अटो सिक्न थालिन् अनि १७ किस्तामा तिर्नेगरी आफन्तहरूसँग सरसापट गरेर ५ लाख ५५ हजार रूपैयाँमा अटोरिक्सा किनिन् ।
श्रीमान् शारीरिक रूपमा कमजोर हुँदै गइरहेको अवस्थामा आफैँले केही गर्नुपर्छ भन्ने आँट बोकेकी उनले २०७४ देखि अटो चलाउन थालेकी हुन् । दुई वर्षसम्म उक्त अटो चलाएपछि २ लाखमा बेचिन् । किनकि त्यो बेला वीरेन्द्रनगर नगरपालिकाले महिला स्वरोजगारका लागि अटोरिक्सा तालिमसहित अनुदानमा अटो दिएको थियो ।
दुई लाख रुपियाँ अनुदानसहित २०७६ मा अटो दिएपछि १५ जना महिला त्यो कार्यक्रममा सहभागी भए, जसमा मीना पनि थिइन् । मीनाले त्योबेला महिलालाई अटो चलाउने तालिमसमेत दिएकी थिइन् । दुई लाख अनुदानमध्ये एक लाख रुपियाँ बिनाब्याजमा नगरपालिकालाई फिर्ता गर्नेगरी ऋण दिइएको थियो । बाँकी रकम कम्पनीमा महिला आफैँले तिर्ने व्यवस्था मिलाइएको थियो ।
‘महिलाले पनि अटो चलाउने ?’ भन्दै सुरुसुरुमा वीरेन्द्रनगरमा मान्छेहरू खिसीट्युरी गर्थे भन्छिन् मीना । तर आफू आत्मनिर्भर बन्छु भनेर सङ्घर्षमा होमिँदा कसैले रोक्न नसक्ने उनको तर्क छ । अहिले पनि महिला र पुरुषलाई हेर्ने नजरमा खासै परिवर्तन नआएको उनको बुझाइ छ ।
मासिक ३०–३५ हजार आम्दानी
मीनाका अनुसार समयसँगै अटो व्यवसाय पनि फस्टाउँदै गएको छ । अटो चलाएर पनि राम्रो आम्दानी हुने भएपछि धेरै यो पेसामा लाग्नेको सङ्ख्या पनि बढिरहेको छ । कुनै समय मासिक एक लाख २६ हजार र दैनिक १६ हजार कमाइ भएको स्मरण पनि मीनासँग छ ।
‘वीरेन्द्रनगरमा एक समय अटो राम्रो चल्थ्यो, कुनै रिजर्ब पाएको खण्डमा आम्दानी राम्रो हुन्छ,’ उनले भनिन्, ‘अहिले अटो नै मेरा लागि सबथोक भइसकेको छ ।’ उनका अनुसार अहिले पनि दैनिक एक हजारदेखि एक हजार पाँच सय रुपैयाँसम्म र मासिक ३०–३५ हजार रुपैयाँसम्म आम्दानी हुने गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीको विकासका लागि सहकार्य हुनुपर्छ : मुख्यमन्त्री कँडेल
-
पूर्णबहादुरको सारङ्गी : ‘बा’को कथा कि गन्धर्व लोकजीवनको उजागर ?
-
दुई सय ८५ जना कैदीबन्दीलाई ‘प्यारोल’मा राख्न सिफारिस
-
भाटभटेनी र रिन्यु होल्डिङ्सबिच सौर्य विद्युत् उत्पादनको सम्झौता
-
सात लाख बढीको भन्सार छलीको समान बरामद
-
सञ्चालन नहुँदै जीर्ण भयो कुश्मा बसपार्क