एमाले महोत्तरीको विवाद चरमोत्कर्षमा

महोत्तरी । नेकपा एमाले महोत्तरीको विवाद चरमोत्कर्षमा पुगेको छ । निर्वाचनमा आफ्नो उम्मेदवारलाई सहयोग र असहयोग गरेको विषयलाई लिएर एमाले महोत्तरीमा विवाद चुलिएको हो ।
रामगोपालपुरमा जिल्ला कमिटीको बैठक बसेसँगै दुई पक्षबीच आरोप प्रत्यारोप चलेको छ । प्रदेशसभामा निर्वाचित संसद् शारदादेवी थापाले जिल्ला कमिटीको बैठकमा जिल्ला र प्रदेशका नेताहरूलाई कारबाहीका लागि सिफारिस गरेकी थिइन् ।
निर्वाचनमा विपक्षी दलसँग मिलेर असहयोग गरेको आरोप लगाउँदै क्षेत्रीय इन्चार्ज केदारबहादुर बस्नेतसहितलाई कारबाहीको सिफारिस गरेपछि महोत्तरी एमालेको विवाद चरमोत्कर्षमा पुगेको हो ।
थापाले लगाएको आरोपलाई शंकर महतोले पनि साथ दिएका छन् । महतो एमाले प्रवेश गर्नुपुर्व माओवादी केन्द्रका उपमाहासचिव तथा पूर्व मन्त्री गिरिराजमणी पोखरेलको सचिवालयमा बसेर काम गरेका नेता हुन् ।
महोत्तरी–१ बाट सङ्घमा र बाँकी २ ठाउँमा प्रदेश संसद् जितेको नेकपा एमालेको विवाद क्षेत्र–१ बाट नै सुरु भएको छ । एमाले उम्मेदवारहरूले जिते पनि साङ्गठनिक मत भने पार्टी इतरका उम्मेदवारलाई गएको निर्वाचित जनप्रतिनिधिहरूको बुझाइ छ ।
यही विषयलाई लिएर शारदादेवी थापा पक्ष क्षेत्रीय इन्चार्ज केदारबहादुर बस्नेत पक्षमा खनिएको छ । जिल्ला कमिटीको बैठकमा थापालाई हराउन पार्टीभित्रबाट फाल्गुन सुस्लिङ मगरलाई बागी उम्मेदवार बन्न उक्साएको, गुट सिर्जना गरेर छुट्टै भेला गरेको, केन्द्रीय सदस्य बुधिनिदेवी र बस्नेतले छुट्टै बैठक बसी पार्टी उम्मेदवारलाई हराउन भूमिका खेलेको जस्ता आरोपसहित इन्चार्ज बस्नेतको विषयमा प्रदेशमा ध्यानाकर्षण गराइएको छ ।
प्रदेश कमिटी सदस्य चन्द्रबहादुर क्यापछाकी निर्वाचन अवधिभर निष्क्रिय रहेको विषय पनि बैठकमा उठाइएको छ । नेता क्यापछाकीको भूमिकासमेत शङ्कास्पद रहेको भन्दै प्रदेशलाई ध्यानाकर्षण गराइएको छ ।
जिल्ला कमिटी सदस्य कुमार भण्डारीको जिम्मेवारीलाई लिएर पनि समीक्षा बैठकमा आलोचना भएको छ । पार्टीका उम्मेदवारविरुद्ध नै सार्वजनिक ठाउँमा गलत अभिव्यक्ति दिएर पार्टी हराउने अभियानमा लागेको, पार्टी प्रचारप्रसार समितिलाई विपक्षीहरूसँग मिलेर आक्रमणको प्रयास गरेकोजस्ता उनीमाथि आरोप लागेका छन् ।
केन्द्रीय अध्यक्ष केपी ओलीनिकट मानिने गुरु भट्टराईमाथि पनि आफ्नो पार्टीका उम्मेदवार हराउन भूमिका खेलेको आरोप लागेको छ । विवाद बढ्दा जाँदा आगामी १५ चैतमा हुने भनिएको जिल्ला अधिवेशन अन्योलग्रस्त बनेको नेताहरू बताउँछन् ।
न्युज कारखाना
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संसद्मा नेकपा माओवादी केन्द्रले माग्यो प्रधानमन्त्रीको राजीनामा
-
रौतहटमा युवकको शव फेला
-
अस्ट्रेलियाको भनेर भारतको राष्ट्रगान बजाएपछि पाकिस्तान क्रिकेट बोर्ड आईसीसीसँग रुष्ट
-
‘पहाड’ को छायाङ्कन पुनः सुरु
-
पूर्वराजालाई स्पेस दिनुपर्छ, म गणतन्त्रको विरोध गरिरहन्छु : लिङ्देन
-
प्रधानमन्त्री संसद विघटन गर्न उद्दत छन् : सापकोटा