‘खस भाषालाई कर्णालीको कामकाजको भाषा बनाउनुपर्छ’
सुर्खेत । नेपाली भाषाको उद्गम थलोका रूपमा जुम्लाको सिञ्जा क्षेत्रलाई मानिन्छ । यहाँ बोलिने भाषालाई ‘खस भाषा’ भनिन्छ । यद्यपि पछिल्लो समय खस भाषा लोप हुने चिन्ता बढिरहेको छ । इतिहासविदहरुका अनुसार ११ औँ शताब्दीमा जुम्ला सिञ्जा र दैलेखको दुल्लु क्षेत्रमा फेला परेको नेपाली भाषामा लेखिएको अभिलेख नै नेपालभरि सबैभन्दा पुरानो अभिलेख हो । दुल्लुमा नेपाली भाषाको पहिलो शिलालेख अझै छ ।
नेपाली भाषा जुम्लाबाट नै अरूतिर फैलिएको देखिएपनि पछिल्लो समय खस मातृभाषालाई अन्यायमा पारेको बताउँछन्, खस भाषा सम्बन्धी अध्ययन, अनुसन्धान गरिरहेका जुम्लाका डिल्ली प्रसाद तिवारी । उनले जुम्लाको सिञ्जा क्षेत्रमा पर्ने भैरव माध्यमिक विद्यालय नराकोटमा विगत १४ वर्षदेखि अध्यापन गराउँदै आएका छन् । त्रिविबाट गणितमा स्नातकोत्तर गरेर भैरव माविमा कक्षा ११÷१२ का विद्यार्थीहरूलाई गणित विषय अध्यापनरत भए पनि खस भाषा र संस्कृतिको रुचिका कारण नै उनले मध्यपश्चिम विश्वविद्यालयबाट नेपाली विषयमा स्नातकोत्तर गरेका छन् । उनले ‘खस भाषा’ र खस भाषाको वर्ण पहिचानमा चासो दिँदै अनुसन्धानको काम अगाडि बढाउँदै आएका छन् ।
तिवारीले त्रिभुवन विश्वविद्यालयमा पढ्दै गर्दा खस भाषाको बारेमा जान्ने मौका पाएका रहेछन् । त्यहाँ एक जना प्राध्यापकले खस भाषाबारे एउटा रिसर्च पेपर तयार गरिरहेका थिए । त्यो विषयमा उनले अध्ययन गर्न पाए । त्यसपछि खस भाषाको बारेमा उनलाई अनुसन्धान गर्नतर्फ अग्रसर गरायो । ०२८ सालमा सत्यमोहन जोशीको नेतृत्वमा पाँच जनाको टोली सिञ्जा पुगेर खोज अनुसन्धान गरेको थियो । उक्त टोलीले पाँच वटा पुस्तकहरू निकालेको थियो । ती किताबलाई तिवारीले अध्ययन गरे । त्यसपछि आफू जन्मिएको ठाउँको भाषा र पहिचानको बारेमा केही गर्नुपर्छ भन्ने सोचका साथ ०६३ सालमा काठमाडौँ छाडेर जुम्ला फर्किए । ‘अध्ययन गर्दै गर्दा खस भाषाका केही शब्दहरू अहिलेको नेपाली भाषामा नभएका पाइयो,’ तिवारीले भने,‘ खस भाषामा प्रयोग र बोलीचालीमा आएका तर अभिलेखीकरण नभएका रहेछन् ।’
रत्नाकर देवकोटाले पनि यो विषयमा खोज अनुसन्धान गरेर पुस्तक निकालेका थिए । उनी पनि जुम्लाकै भएकाले उनको किताबमा ती कुराहरू नभएको समेटिएको छ । अन्य लेखकहरुपनि खस भाषाको विषयमा उठान गरे पनि शब्दका स्वरूपहरू फरक फरक देखिएका छन् । तिवारीका अनुसार पाँच वटा व्यञ्जन वर्णहरू सिंजाली भाषाको चलनचल्तीमा भए पनि अभिलेखीकरण नभएका संकेतहरु देखिए । लेखकहरूले लेख्दा सङ्केतहरू फरक–फरक लेखे । ‘त्यही कुरालाई सोधिखोजी हुनुपर्छ भनेर म अग्रसर भएको हो,’ उनी थप्छन् ।
पाठ्यक्रम बनाउन सङ्केतको समस्या
तिवारी लगायतका अगुवाहरूले स्थानीय सरकारलाई खस भाषाको बारेमा पाठ्यक्रम बनाउनुपर्ने सुझाव दिए । ०७४ मा सिञ्जा गाउँपालिकामा निर्वाचित देवलसिंह रावललाई तिवारीले नै यहाँको भाषा, संस्कृति सम्बन्धी केही गर्नुप-यो भनेर प्रस्ताव राखेको थिए । रावलले स्थानीय पाठ्यक्रम बनाउनुप-यो भने पनि त्यसको तयारी थालियो । स्थानीय भाषामा पाठ्यक्रम बनाउँदै जाँदा बोलीचालीका शब्द प्रयोग हुने तर अभिलेखीकरण नभएका कारण समस्या आयो । कुन सङ्केत प्रयोग गर्ने ? रत्नाकर देवकोटाले लेखेको प्रयोग गर्ने की सत्यमोहन जोशीको टोलीले लेखेको सङ्केत प्रयोग गर्ने वा योगी नरहरिनाथले अभिलेखीकरण गरेका केही किताबहरूका सङ्केत प्रयोग गर्ने भन्नेबारेमा गाह्रो परेको बताउँदै तिवारी भन्छन्,‘त्यसपछि हामी भाषा आयोगमा गयौँ,आयोग सकरात्मक देखियो ।’
त्यो पछि कोरोनाका कारण रोकियो । ०७९ जेठमा आयोगको टोली सिञ्जामा आयो र कुन सङ्केत प्रयोगको विषयमा प्रशिक्षण समेत दिएको थियो । जेठमा गरिएको कार्यक्रममा भाषाविद् डा. माधव पोखरेल आएका थिए । उनले वर्णहरूको सही पहिचान कसरी गर्ने ? भन्ने बारेमा सुझाव दिएका थिए । उनको प्रशिक्षणको आधारमा वर्णहरुको पहिचान गर्ने काम तिवारीहरुको टोली लागेको छ ।
यद्यपि अहिलेसम्म अभिलेखीकरण हुन सकिरहेको छैन । तिवारी प्रक्रियामै रहेको बताउँछन् । खस भाषामा वर्ण र सम्वर्ण धेरै रेहेको देखिन्छ । तर सम्वर्ण ठानिएका कतिपय वर्णमा लघुतम युग्म भेटिएकाले वर्ण थप्नुपर्ने देखिन्छ । ‘म’ को नजिकको ‘म्ह’, ‘न’ को नजिकको ‘न्ह’, ‘स’ को नजिकको ‘स्ह’ र ‘ल’ को नजिकको ‘ल्ह’ का लघुतम युग्म भेटिएकाले यिनीहरूलाई पहिलो चरणमा वर्ण सङ्केत तयार गरी आधिकारिक लेखन अगाडि बढाउनु पर्ने देखिएको तिवारीको भनाइ छ । यसका लागि भाषा आयोगले यसको आधिकारिकताका लागि नेतृत्व लिनुपर्ने देखिन्छ ।
साथै व्यञ्जन र स्वर वर्णमा खास यति नै वर्ण भनेर किटान गर्न नसकिए पनि सम्वर्ण र वर्ण पहिचान भएका ५२ वटासम्म पुग्ने सम्भावना रहेको तिवारी बताउँछन् ।
व्यञ्जन वर्ण
व्यञ्जन वर्णमा पाँच वटा वर्णहरू थप हुने भएका छन् । थप्नुपर्ने संकेतमा ‘स’ ‘ल’, ‘न’, ‘म’, ‘र्ण’ रहेका छन् । उदाहरणका लागि लेख्दा खेरी ‘मह’ भन्ने शब्द गाउँघरमा उच्चारण गर्दा ‘म्ह’ भन्छन् । कतिपय बोलीचालीका शब्दहरू लेख्न सकिँदैन । जस्तै ‘घोडा’ लाई उच्चारण गर्दा ‘घोणा’ भनेर बोलिन्छ । यस्ता शब्दलाई पनि संकेतमा ल्याउनुप-यो भन्ने हो’, तिवारी भन्छन् ।’
उनले थपे, ‘‘स’ मा पनि फरक छ । लेख्दा ‘स’ लेखिए पनि खस भाषामा उच्चारण गर्दा ‘ह’ हुँदो रहेछ । ‘स’ र ‘ह’ वर्णको अघोष दुई वटै ध्वनि हुन्छ । जस्तै ‘सात’ लाई खस भाषामा उच्चारण गर्दा ‘हात’ हुन्छ । ३६ वटा नेपाली अक्षरहरू छन्, त्यसमा पाँच वटा व्यञ्जन वर्ण थपेर ४१ वटा बन्छ ।’
स्वर वर्ण
खस भाषामा स्वर वर्णमा ‘अ’ र ‘आ’ ह्रस्व र दीर्घ देखिएका छन् । यस्तै ‘ए’ र ‘ए’ अनि ‘ऐ’ र ‘ऐ’ मा पनि भेद रहेको छ । ‘ओ’ र ‘औ’ मा पनि उच्चारणमा फरक देखिएकाले स्वर वर्णका विषयमा थप अनुसन्धान गर्न जरुरी रहेको तिवारी बताउँछन् । यसरी हेर्दा खस भाषामा स्वर वर्ण पनि थपिने भएका छन् । जस्तै गाउँघरमा ‘एकाघर’ भन्ने हुन्छ तर लेख्दा खेरी ‘एक जनाका घर’ भन्ने हुन्छ । ‘अहिले छुट्टै पहिचान भइसकेको अवस्था छैन, यद्यपि काम गरिरहेका छौँ,’ तिवारीले भने,‘खस भाषासम्बन्धी स्वर वर्णहरू २४ सम्म पुग्छन् कि भन्ने अनुमान गरिएको छ ।’
तस्बिरमा उल्लेखित नयाँ शब्दलाई अभिलेखीकरण गर्ने तयारी रहेको तिवारी बताउँछन् । भाषा आयोग पनि सो कुरामा सकारात्मक देखिएको छ । अनुसन्धानको जिम्मा जुम्ला बहुमुखी क्याम्पसका डा. ओमप्रकाश आचार्यलाई दिइएको छ ।
‘सिञ्जा सभ्यता संरक्षण विधेयक’पास नहुनु, दुःखद
कर्णाली प्रदेश सरकारका पूर्व कानुन मन्त्री नरेश भण्डारीले ‘सिञ्जा सभ्यता संरक्षण’ सम्बन्धी गैरसरकारी विधेयक प्रदेश सभामा दर्ता गराएका थिए । यद्यपि पूर्व मुख्यमन्त्री जीवनबहादुर शाही नेतृत्वको सरकारले खर्च बढी देखाएर उक्त विधेयक निष्क्रिय बनाएको थियो । अहिले भण्डारीले उक्त विधेयक प्रतिनिधि सभामा लैजाने गरी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग समन्वय गरिसकेका छन् । खस भाषा अनुसन्धान गरिरहेका तिवारी कर्णाली सरकारले खर्चलाई देखाएर उक्त विधेयक फेल गराउनु गैरजिम्मेवारीपन भएको बताउँछन् ।
उनले भने, ‘प्रदेश सरकारले खर्चका लागि आफ्नो परिचय नै भुल्न हुन्थेन, प्रदेश सरकारले वार्षिक बजेट ६० प्रतिशत भन्दा माथि कार्यान्वयन गर्न सकिरहेको छैन । हरेक बर्ष बजेट फ्रिज हुने तर पहिचान सभ्यताको उत्खनन गरौँ भन्दा खर्च देखाएर विधेयक तुहाउनु राम्रो होइन ।’ तिवारी कर्णालीलाई राज्यले क्षतिपूर्ति दिनुपर्ने तर्क राख्दछन् । ‘हामीले धेरै खर्च गरे पनि सहनुपर्ने हो, हामी यति पछाडि छौँ भने खर्च हुन्छ भनेर ‘कन्जुस्याइँ’ ग¥यौँ भने प्रगतिपथमा लम्किन सक्दैनौँ ,’ उनी भन्छन्,‘ १८४६ पछाडि बहादुर शाहले जुम्ला आक्रमण गरेर नेपाल एमीकरण गरेपछि यो क्षेत्र बलियो भएकाले नै उपेक्षामा पारिएको हो ।’
खस भाषाको संरक्षण किन आवश्यक छ ? भन्नेबारे तिवारीको भनाइ
खस भाषा भनेकै सिञ्जाली भाषा हो, पहिला यही भाषा प्रयोग हुन्थ्यो । यसको अभिलेखीकरण करिब १ हजार वर्ष अगाडि दैलेखको पादुकामा कार्की र कर्केनीको एउटा अभिलेख रहेछ । त्योबाट यो भाषा अभिलेखीकरणको पहिलो सङ्केतको रूपमा आएको बुझिन्छ । योगी नरहरिनाथले प्रकाशन गरेको इतिहासमा पुराना भाषामा सम्पूर्ण ताम्रापत्र, शिलालेखहरू उल्लेख गरिएका छन् । त्यो भाषा र अहिलेको नेपाली भाषा विस्तारै परिवर्तन भएको छ ।
अहिले हामीले बोलिने भाषा त्योसँग ठ्याक्कै मिल्दैन, यद्यपि हाम्रो भेरी, कर्णाली क्षेत्रमा आफ्नै मौलिक भाषा छ । त्यसलाई हामीले खस भाषा भन्छौँ । अहिले पनि लवज र बोली उही पुरानै छ । त्यसलाई पनि हामीले भाषा, भाषिकाका रूपमा ब्याचलरमा पढ्छौँ । सुदूरपश्चिमतिर उनीहरूको आफ्नो डोटेली, बैतडेली आफ्नै भाषा छ, कर्णालीमा आफ्नै छ । सुदूरको उता कुमाउ, गढवालतिर मिल्छ भने कर्णालीको धौलागिरीतिर मिल्छ ।
‘खस भाषा’ नेपाली भाषाको ‘माउ भाषा’ हो । यहीबाट नै नेपाली भाषा जन्मिएको हो । त्यो भएका कारण यो खस भाषाको संरक्षण गरिनुपर्छ । अध्ययन, अनुसन्धान गरी कर्णालीमा सरकारी कामकाजमा यही भाषाको प्रयोग गरिनुपर्छ । यदि यसो भयो भने भाषा बच्दछ । खाली अभिलेखीकरण गरी किताबमा लेखेर पुस्तकालयमा राख्ने हो भने खस भाषा लोप हुने देखिन्छ । भाषा हाम्रो पहिचान हो, जोसँग हाम्रो संस्कृति, सभ्यता, धर्म, रीतिरिवाज र चालचलन पनि जोडिएको छ ।
यदि यो भाषालाई जर्गेना गर्न सक्यो भने मात्रै हाम्रो पहिचान खुल्छ । कतिपयले हामी पश्चगामी हुनुहुँदैन नयाँ परिवर्तनको कुरालाई स्वीकार गर्नुपर्छ भन्छन्, यो पनि एक ठाउँमा ठिक हो । यद्यपि हामी को हौँ ? हाम्रो पहिचान के हो ? त्यो पनि त आवश्यक छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वास्थ्य परीक्षणमा देखिएको सिन्डिकेट अन्त्य गर्न मेडिकल व्यवसायी संघको माग
-
राखेपमा ८ जना सदस्य नियुक्त
-
सुनिल पौडलको भ्रष्टाचार मुद्दामा विशेषले मगायो सिंगापुरको बैंकको विवरण
-
बीमा प्राधिकरणका अध्यक्ष नियुक्तिका लागि सिफारिस समिति गठन
-
संघका ३ र प्रदेशको एक सचिवको पदस्थापन गर्ने बागमती सरकारको निर्णय
-
मनमोहन प्राविधिक विश्वविद्यालयको उपकुलपतिमा सुवासश्री पुनः नियुक्त