नवलपुरमा छ महिनामा थपिए २५७ उद्योग

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा चालु आर्थिक वर्षको छ महिनामा दुई सय ५७ वटा नयाँ उद्योग थपिएका छन् । पर्यटन तथा उद्योग कार्यालय नवलपरासीपूर्व नवलपुरको तथ्याङ्कअनुसार नयाँ थपिएका उद्योगमा कृषि तथा वन वातावरण, पर्यटन र सेवामूलक साना उद्योग धेरै छन् ।
नवलपुर कृषि र पर्यटनको सम्भावना भएको जिल्ला भएकाले यसतर्फ नयाँ उद्योग दर्ता हुने क्रम बढेको छ । राज्यले कृषिमा दिने अनुदान सहयोगका कारणसमेत यस्ता खालका उद्योग दर्ताको क्रम बढेको हुनसक्ने पर्यटन तथा उद्योग कार्यालय नवलपुरका प्रमुख सागर खनालले बताए । “यहाँ कृषि, पर्यटन र सेवामूलक उद्योग दर्ताको क्रम धेरै छ, सायद जिल्ला यसका लागि अनुकूल भएर हुनसक्छ, साथै कृषितर्फ राज्यले दिने अनुदान सहयोगका कारणसमेत आकर्षण भएको हुनसक्छ”, उनले भने।
वाणिज्यतर्फ भने नवलपुरमा तीन सय ६८ वटा नयाँ व्यवसाय थप भएका छन् । छ महिनाको अवधिमा यो सङ्ख्यामा नयाँ वाणिज्य दर्ता भएको कार्यालय प्रमुख खनालले बताए । नवलपुरमा उद्योग तथा वाणिज्यको कुल सङ्ख्या १५ हजार दुई सय ५० पुगेको छ । चालु आर्थिक वर्षमा थपिएका नयाँ उद्योग तथा वाणिज्यको सङ्ख्या जोड्दा यो मात्रामा आर्थिक क्रियाकलापमा संलग्न उद्योग तथा वाणिज्य नवलपुरमा रहेका पर्यटन तथा उद्योग कार्यालय नवलपुरका प्रमुख खनालले बताए ।
जिल्लामा आर्थिक क्रियाकलापमा संलग्न उद्योग तथा वाणिज्य राजमार्गमा जोडिएका पालिकामा नयाँ थपिने क्रम धेरै रहेको छ । त्यसको तुलनामा पहाडी क्षेत्रमा भने निकै कम मात्रामा उद्योग तथा वाणिज्य थपिने क्रम रहेको छ । जिल्लाको सदरमुकाम कावासोतीसहित देवचुली, गैँडाकोट र मध्यविन्दुमा नयाँ उद्योग तथा वाणिज्य दर्ता हुने क्रम धेरै रहेको छ ।
यसैबीच उद्योग तथा पर्यटन कार्यालयले चालु आर्थिक वर्षमा थपिएका नयाँ उद्योग तथा वाणिज्य दर्ताबाट रु ४० लाख छ हजार राजस्व सङ्कलन गरेको छ । जसमध्ये उद्योग दर्ताबाट रु १८ लाख ८८ हजार छ सय २५ र वाणिज्य दर्ताबाट रु २१ लाख १७ हजार चार सय ५० राजस्व सङ्कलन भएको कार्यालय प्रमुख खनालले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तर कोरियाले अहिलेसम्मकै ठुलो युद्धपोत बनाउँदै
-
कांग्रेसमा आफू भाइरल हुन जे पनि बोल्ने प्रवृत्ति बढ्यो : परराष्ट्रमन्त्री देउवा
-
‘पूर्वराजाले चैत १५ को घटनाको जिम्मेवारी लिनुपर्छ’
-
युवालाई लोकतन्त्रको महत्त्व बुझाउन एमालेले ‘युथ सेलिब्रेसन’ आयोजना गर्ने
-
प्रचण्डलाई एमालेको जवाफ : सरकार परिवर्तन कतैबाट सम्भव छैन
-
एमालेले भन्यो– ज्ञानेन्द्रले अझै गल्ती गर्न खोज्दैछन्