पाँचौं सम्झना कप अन्तर्राष्ट्रिय टेबलटेनिस : कपुरलाई स्वर्ण
काठमाडौं । एनसीसीएसका कपुर शर्मा पौडेलले पाँचौं सम्झना कप अन्तर्राष्ट्रिय टेबलटेनिस प्रतियोगिताको भेट्रान ५५ वर्षमाथि पुरुष सिंगल्समा स्वर्ण जितेका छन् ।
लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा बिहीबार भएको फाइनलमा कपुरले टिम सम्झनाका कपिल कुमारलाई १६–१४, ८–११, १६–१४, २–११ र ११–७ को सेटमा पराजित गर्दै स्वर्ण पदक जितेका हुन् । टिम सम्झनाका प्रकाश धाक्वा र गण्डकी प्रदेशका राजन सुब्बा तेस्रो भए ।
ललितपुर जिल्ला टेबल टेनिससंघको आयोजनामा भएको प्रतियोगिता अन्तर्गत विभिन्न ७ स्पर्धा समावेश प्रतियोगितामा ४ स्वर्णको छिनोफानो भइसकेको छ । यसअघि टिम इभेन्टको पुरुषमा भारतको ग्लोबल टेबलटेनिस एकेडेमी र महिलामा नेपाल प्रहरी क्लब तथा भेट्रान ४० वर्षमाथि महिला सिंगल्समा ज्ञानभैरव डिल्लीबजार टेबलटेनिस क्लवकी इन्दिरा पौडेल पराजुलीले स्वर्ण जितेका थिए । पुरुष÷महिला सिंगल्स र भेट्रान ४० वर्षमाथि पुरुष सिंगल्सको फाइनल हुन बाँकी छ ।
माघ १७ देखि २१ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा नेपालसहित भारत, बेलायत, फ्रान्स र पोर्चुगलबाट गरी २ सय ५६ महिला तथा पुरुष खेलाडीको सहभागिता रहेको छ । प्रतियोगितमा पुरुष÷महिला एकल र टिम, भेट्रानको पुरुष ४० वर्षमाथि र ५५ वर्षमाथि तथा महिलामा ४० वर्षमाथि गरी सात स्पर्धामा प्रतिष्पर्धा भइरहेको छ ।
प्रतियोगिताको एकल र टिममा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ५० हजार, २५ हजार र १०÷१० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । यस्तै भेट्रानतर्फ विजेतालाई २० हजार, उपविजेतालाई दश हजार तथा तेस्रोलाई पाँच हजार रुपैयाँबाट पुरस्कृत गरिनेछ ।