बुधबार, २१ कात्तिक २०८१
ताजा लोकप्रिय

रविको रमणीय रवैया

बिहीबार, १९ माघ २०७९, १४ : ०३
बिहीबार, १९ माघ २०७९

छोटो समयमा नेपाली राजनीतिमा उदाएर सत्ताको शिखर चढेर एक महिनामै सत्ताबाट ओर्लने कीर्तिमान सायद रविको नाममा मात्र लेखिएको छ । नागरिकता विवादमा गृहमन्त्री, उपप्रधानमन्त्री, रास्वपा अध्यक्ष र संसद् सदस्यबाट विमुख भएका रवि नागरिकताको पुनः प्राप्तिपछि पार्टी सभापतिमा फेरि चयन भएका छन् भने गृह मन्त्रीमा जाने उत्कट अभिलाषासहित बालुवाटार र बालकोटको म्याराथन गरिरहेका छन् । गृह मन्त्रालय नपाए सत्ताबाट बाहिरिने चेतावनी र अल्टिमेटम दिएर प्रचण्ड गलाउने रणनीति र ओलीलाई फकाउने अभियानमा रवि अझ सक्रिय छन् । 

आफूलाई गैरसांसद मन्त्री बन्ने पहिलो प्राथमिकता राखेर विकल्पमा आफ्नो पार्टीलाई जसरी पनि गृहमन्त्रालय रविको अभीष्ट देखिन्छ । जबकि गैरसांसद मन्त्री बन्दा रविले ८ डिसेम्बर २०२१ मा शेरबहादुर देउवाले कानुन मन्त्रीमा गैरसांसद गोविन्द बन्दीलाई नियुक्त गर्दा भनेको कुरा स्मरणीय छ– ‘जे ठान.. गैरसांसद मन्त्री भइछाडे । विधि, पद्धति, आदेश, परमादेश, फ्लोर क्रस र यो लिमिट क्रस ...उफ् !!!’ प्रश्न गर्ने ठाउँमा हुँदा र उत्तर दिने ठाउँमा हुँदाका भिन्नता । 

विधि मिच्नेविरुद्ध,  सत्ता लिप्साका विरुद्ध,  नाङ्गो बेथितिविरुद्ध रविले बेस्सरी चिच्याएर जनतालाई सम्झाएका हुन् । यसमा दुई मत हुन सक्दैन तर जब पार्टी खोलेको छ महिनामै गृह जस्तो शक्तिशाली मन्त्रालयसहित रवि सत्तामा गए तब सत्ताको स्वादमा वशीभूत हुन पुगे र जसरी पनि सत्ता भन्ने स्थितिमा उभिएको देखिन्छ । 

उनले गृह मन्त्रालय नै ताक्नु र गैरसांसद बनेर मन्त्री हुन खोज्नुको अभिप्राय स्पष्ट छ; उनी आफ्नो राहदानी विषयको मुद्दालाई प्रभावित पार्न चाहन्छन् । 

यता प्रचण्ड हिजो गरेको गल्ती दोहोर्याएर आफू पुनः विवादमा तानिने मुडमा छैनन् । नागरिकता पुनः प्राप्तिपछि पनि राहदानी विवादमा रविको मुद्दा विचाराधीन छ । कन्फ्लिक्ट अफ इन्ट्रेस्ट बाँकी नै रहेको कारण र आफूले सरकारको प्रवक्ता बन्न गरेको अनुरोध लत्याएकाले प्रचण्ड रविसँग हृदयदेखि सन्तुष्ट छैनन् । 

आफ्नो मुद्दा परेको मन्त्रालय लिन मरिहत्ते गरेर विगतमा आफूले बोलेको र विरोध गरेको आफैँ खण्डन गर्न पुगे । जसलाई सामान्य राजनीतिक नैतिकतासमेत मानिँदैन । 

रविलाई गृह मन्त्रालय पनि ओलीको दबदबाले पुस १० मा चेपुवामा परेर दिनुपरेको कुरा दीनानाथ शर्माले सार्वजनिक गरेका छन् । सत्ता सम्झौता गर्दा गृह मन्त्रालय रविका लागि भनिएको थिएन तर ओलीको ढिपी र प्रधानमन्त्री बन्ने कष्टका कारण प्रचण्डले अमिलो मुख पारेर रविलाई गृह मन्त्रालय दिनुपरेको कुरा शर्माको अभिव्यक्तिमा आएको छ । 

यसर्थ प्रचण्ड रिजिड भएर बसेका छन् भने ओली तनाव र दबाब सिर्जना गर्दै रविको पक्षमा उभिएका छन् । गृह कुनै हालतमा पनि अरूलाई दिन हुन्न भन्ने पक्षमा माओवादीभित्र मतैक्यता देखिन्छ । प्रधानमन्त्री आज मुख्य ठानिएको मन्त्रालय अर्थ,  गृह,  परराष्ट्र र कानुन गुमाएर पनि प्रधानमन्त्री हुनुहुन्छ । त्यसैले मौकामा प्राप्त गृह मन्त्रालय गुमाउने पक्षमा सायद माओवादी छैन । 

रवि सामान्य पढेलेखेका मान्छे हुन् । देश विदेश घुमेका छन् । सतही र छिपछिपे ज्ञान छ तर जीवन, जगत्, इमान नैतिकताको गाम्भीर्य बुझ्ने ल्याकत हुने गरी किताब पढेका छैनन् । दर्शनमा घोत्लिएका होइनन् । यावत् समस्या र अल्झनका बारे ज्ञान राख्छन् । त्यसबारे धुवाँधार विरोध गर्ने सामथ्र्य पनि छ तर समस्याको जरोमा पुग्ने र निराकरण कसरी गर्ने भन्ने बारेमा सत्ता बुझ्न अझै बाँकी छ । 

सिक्नुपर्ने कुरा धेरै छन् तर समयले गहन जिम्मेवारी दियो । त्यसलाई आँकलन गर्न सकेनन् । आफ्नो मुद्दा परेको मन्त्रालय लिन मरिहत्ते गरेर विगतमा आफूले बोलेको र विरोध गरेको आफैँ खण्डन गर्न पुगे । जसलाई सामान्य राजनीतिक नैतिकतासमेत मानिँदैन । 

म मान्छे हुँ । मेरा पनि कमजोरी छन् । म त्यसलाई सच्याउँछु भन्ने सामान्य ज्ञानको अभावमा रविले आफूलाई मत्याए ।

राजनीतिमा रवि अनुभवहीन छन् । छोटो समयको सफलताले राजनीति उनलाई सजिलो लागेको देखिन्छ । यद्यपि राजनीति असाध्यै दुरुह खेल हो । झेल र झेमेलाको अर्काे नाम राजनीति बनेको छ । त्यसैले राजनीति बदनाम छ । यही बदनामीको फाइदा उठाएर रविले सफलता प्राप्त गरे । 

राजनीतिको विसङ्गति र विकृतिलाई रविले तातो घनले पत्रकारितामार्फत बेस्सरी हाने । सहयोग उद्धार र सामाजिक काम पनि गरे । जनताको मन जित्ने गरी टेलिभिजन कार्यक्रम गरे । उनको बोली सुनेर उनीमाथि भरोषा गर्ने जमात बढ्यो  त्यसैले पार्टी खोल्न हौसिए । एक हदको चुनावी सफलता पनि मिल्यो । सफलताले राजनीतिको दलदलमा पसे । जसका विरुद्ध खुँडा उदाएर जिते उनैको काख पोल्टामा पसे र समाज बदल्ने राजनीतिको चरित्र बदल्ने कुरा गरे । यसलाई अस्वाभाविक मानियो । 

यद्यपि काम गर्छन् कि भनेर आशा पनि गरियो तर उनका बेढङ्गी तालले उनको वेट आफैँ घट्यो । संसद् लक्ष्मी कोइरीलाई पक्राऊ गर्न नसकेपछिको वक्तव्यबाजीले उनको हैसियत प्रस्ट भयो । 

क्रसर व्यवसायीमाथिको वक्र दृष्टि । कुनै तर्क, विश्लेष्ण र वस्तुनिष्ठ अध्ययनबिनाको क्रसर फुकवा गर्नु उनले गरेका कमजोरी छर्लङ्ग पार्ने उदाहरण हुन् । जिल्लामा सीडीओ परिवर्तन हुँदा र केन्द्रमा गृहमन्त्री परिवर्तन हुँदा क्रसर बन्द गरिन्छ । केही समय हिसाब किताब मिलान फरफराकपछि ढुङ्गा गिटी उत्पादन रोक्दा विकास निर्माण अवरुद्ध हुन्छ भनिन्छ । अनि फेरि खोलिन्छ भन्ने यो व्यवसायमा लाग्नेहरूको अनुभव छ । त्यही नियत र चरित्र रवि गृहमन्त्री बन्दा पनि दोहोरियो । यो कसैले कल्पना गरेको थिएन । बेथिति बदल्न आएको मान्छे नै बेथितिलाई निरन्तरता दिन पुगे । 

म मान्छे हुँ । मेरा पनि कमजोरी छन् । म त्यसलाई सच्याउँछु भन्ने सामान्य ज्ञानको अभावमा रविले आफूलाई मत्याए । आफ्नो लोकप्रियताको बलमा सबै कुरा क्षमायोग्य हुन्छ भन्ने दम्भ पाले । कानुनको अनविज्ञता सर्वसाधारण र अनपढ मान्छेको हकमा समेत क्षमायोग्य नहुने बुझ्दा बुझ्दै एउटा लोकप्रिय पत्रकार गिनेचुनेको व्यक्ति प्राविधिक त्रुटि हो । मेरो देशभक्ति मेरो नेपालित्व कसैले खोस्न सक्दैन भन्दै भावनात्मक चुरीफुरीमा निमग्न बने । 

२०७४ चैत २३ गते प्रेस काउन्सिल नेपालले पठाएको पत्रको जवाफमा रविले पेसा त्यागेर दोबाटोमा जुत्ता पालिस गरेर बस्न पाए गर्वको अनुभूति गर्ने भन्दै ढोँगीहरूको अग्रता रहेको प्रेस काउन्सिल भन्दै नलल्कारी आफ्नो तर्फबाट गर्नुपर्ने सामान्य औपचरिकता पूरा गरेको भए म अनागरिक बने भन्दै अहिले हिँड्नुपर्ने स्थिति बन्दैनथ्यो । 

रवि फसे,  रविलाई फसाइयो, न्याय, निसाफ र समान अवसरको आम मान्छेको सपना फेरि तुहियो । सुसंस्कृत राजनीतिको बन्ध्याकरण गरियो । मुढो उचाल्नुअघि तिघ्रा नछामी रवि सरकारमा गए ।

रवि नेपाली हुन्, सच्चा देश भक्त पनि होलान् तर त्रुटि गरेपछि त्यसलाई नसच्याउँदा पाइने हैरानी र दुःखले आज पक्कै झस्काएको र सिकाएको हुनुपर्छ । यो घटनाले आम मान्छेलाई सिकाएको छ । 

पत्रकारिताको नियामक निकायको परिपत्रलाई सामान्य सम्झेर आफ्नो दायित्व निर्वाह गर्न कन्जुस्याइँ गरेको फल रविले भोगीरहेका छन् । अस्ति नागरिकता लिन जाँदाको झैँ सामान्य प्रक्रिया सम्पन्न गरेका भए उनको प्रतिष्ठा र लोकप्रियता सगरमाथामा हुन्थ्यो । रविले आफूलाई एउटा मान्छेका रूपमा नबुझेर एउटा सेलिब्रेटी पत्रकार, देशको चौथो दलको सभापति र विशेष मान्छेको रूपमा मात्रै बुझे कि ?

अधिवक्ता स्वागत नेपाल भन्छन्, ‘रविजी ओली र प्रचण्डको यति भक्त हुनुभयो कि त्यति भक्त उनीहरूका स्वयं कार्यकर्ता भए भएनन् ?’ हिजो जसलाई नो नट एगेन भन्नुभयो, जता पनि यी नेतालाई रोक्नुपर्छ भन्नुभयो नेताको असक्षमता उजागर गर्नुभयो । गठबन्धनका नेता एकले गरेको गल्ती अर्काेले चुइँक्क बोल्न सक्दैनन् भन्नुभयो अन्ततः आफैँ पनि त्यस्तै दलदलमा भासिनुभयो ।’ 

मान्छेहरूलाई लागेको थियो रविको पार्टी सरकारमा जाँदैन ।  सरकारमा जानु हतार हुन्छ । गए पनि देउवा, ओली र प्रचण्डको नेतृत्वमा जाँदैनन् । सत्तामा जानैपर्ने स्थिति बन्यो । रवि नगए सत्ता चल्दैन भन्ने बाध्यात्मक स्थितिमा अन्तिम विकल्प नै रवि भए भने उनी आफू प्रधानमन्त्री बनेर अरू दललाई समर्थन गर्न लगाएर जान्छन् भन्ने विश्वास आम मानिसलाई थियो । अरू पार्टीले सरकार बनाउने अरू विकल्प बाँकी हुँदाहुँदै रवि सरकारमा जान हतारिए । ओली, प्रचन्ड र देउवाको काखमा बसेर सरकारमा जाँदा उनले हिजो उठाएको मुद्दा र नेतात्रय नै मुछिएका अनेक काण्डबारे छानबिन गर्ने कुरामा मान्छे पहिले नै प्रश्न गर्न थालेका थिए । 

रवि फसे,  रविलाई फसाइयो, न्याय, निसाफ र समान अवसरको आम मान्छेको सपना फेरि तुहियो । सुसंस्कृत राजनीतिको बन्ध्याकरण गरियो । मुढो उचाल्नुअघि तिघ्रा नछामी रवि सरकारमा गए । सुशासन,  मितव्ययी राजनीतिको खिल्ली त्यहीँबाट उड्यो जब चार जना उपप्रधानमन्त्रीको हारमा रवि पनि उभिए । 

प्रख्यात मार्क्सवादी चिन्तक आन्टिनियो ग्राम्सीको प्रभुत्वशाली मान्यताको अवधारणालाई अगाडि राखेर रविको रास्वपाको आजको राजनीति र उनको विश्लेषण गर्नु सान्दर्भिक हुन्छ । ग्राम्सी हरेक समाजमा राजनीतिको एउटा मूल धार संस्थापन पक्ष हुन्छ र केन्द्र शक्ति हुन्छ भन्छन् । त्यो शक्तिले राजनीतिक, सामाजिक, आर्थिक र सांस्कृतिक प्रभुत्वको स्थायित्व दिन चाहन्छ र आफू बलियो बनिरहने प्रयत्न गर्छ । त्यो आधिपत्य निर्माण गरेको शक्तिलाई विस्थापन गर्न अर्काे शक्ति र पुस्ता लागिपरेको हुन्छ, जसलाई वैकल्पिक शक्तिको रूपमा ग्राम्सी चर्चा गर्छन् । वैकल्पिक भनेको पनि त्यही र उस्तै अर्काे समूह हो । यी दुईबीच उस्तो फरक हुन्न । 

नेपाली राजनीतिमा कांग्रेस, एमाले र माओवादीलाई प्रभुत्वशाली र वैकल्पिक राजनीतिका शक्तिका रूपमा लिन सकिन्छ । जुन शक्तिशाली राजनीतिक समुदाय संस्कृति हो, यो प्रभुत्वशाली छ । यी शक्तिहरू किन पनि प्रभुत्वशाली र वैकल्पिक हुन् भने यिनीहरू सत्ता र विपक्षमा आलोपालो गरिरहन्छन् । 

नेपालका प्रायः पार्टीहरू प्रभुत्वशाली र वैकल्पिक दुई पक्षमा छन् । तर यो भन्दा भिन्न अर्काे संस्कृति र तेस्रो धारका रूपमा नवसंस्कृति प्रवद्र्ध गर्दै उदीयमान पुस्ता उदाएको थियो । त्यो थियो विवेकशील नेपाली दल, जसले नव संस्कृति प्रवद्र्ध गर्दै प्रभुत्वशाली संस्कृति, मूल धारको राजनीतिक शक्तिलाई र त्यस्तै अर्काे वैकल्पिक शक्तिलाई विस्थापन गर्दै नयाँ सोच शैली र राजनीतिमार्फत हस्तक्षेप गर्ने उद्देश्य राखेको थियो । 

यसले विरोधको नयाँ भाष्य निर्माण गरेको थियो । रचनात्मक विरोधको शैली स्थापित गर्दै थियो । नयाँ पिँढीको संस्कृतिले पुरानो संस्कृति र गलत मान्यता भत्काएर आफ्नो विचारधारा निर्माण गर्छ । दुर्भाग्य त्यो उदीयमान शक्ति विवेकशील नेपाली दल साझा पार्टीसँग मर्ज हुने,  अनि फेरि छुट्टिने,  फेरि मिल्ने अमानक संस्कृतिको अभ्यासमा लाग्यो । आफ्नो अर्गानिक ल्याकत गुमाएर पुरानै संस्कृति र राजनीतिको सिकार बनेर आज छिन्भिन्न छ ।

यसैबीच टेलिभिजन कार्यक्रम सञ्चालन गरेर चर्चा कमाएका रवि लामिछानेले २०७९ असार ७ गते नयाँ पार्टी खोलेर राजनीतिमा आए । पुराना पुस्ता र राजनीतिज्ञलाई बेस्सरी गाली गरेर उदाएका रवि गत चुनावमा उदीयमान पुस्ताको नेतृत्व गर्दै २० सिटसहित सङ्घीय संसद्मा चौथो ठूलो दल र राष्ट्रिय पार्टीको रूपमा उदाए । 

पुरानो परिस्थिति बदलेर नयाँ संस्कृति, नयाँ राजनीतिको जन्म गराउने र पुरानो संस्कृति भत्काएर नयाँ परिस्थितिको उदय र समस्या समाधान खोज्ने शक्तिको रूपमा उदियमान राजनीतिलाई लिइन्छ । पुरानो संरचना भत्किने भएकाले नयाँले समाजको परिवर्तनको प्रक्रिया पनि नयाँ निर्माण गर्दछ । यो एउटा सांस्कृतिक मान्यता हो । तर रविले आज जे गरिरहेका छन् त्यो पुरानोको विस्थापन नभएर पुरानोको अनुकरण बनेको छ । त्यसैले रवि पनि ग्राम्सीको प्रभुत्वशाली वर्गकै भद्दा नक्कलमा खरो उत्रेको देख्न सकिन्छ । 

नो नट एगेनलाई वान्स मोर एगेन रविकै कारण भएको होइन र ? अर्काे खतरनाक पक्ष रविले गल्ती गरेका छैनन् र रविलाई फसाइयो भन्नेको जमातले रविको भलो गर्दैन ।

राजनीतिमा रहेको पुरानो र वर्चस्वशाली अवधारणाकै वरिपरि रविको राजनीतिक दल पनि घुमेका कारण रवि उदीयमान शक्ति बन्न सकिरहेका छैनन् । रविको दल सत्तामा गयो तर रवैया पुरानै दलको देखियो । विशेषगरी रविको आफ्नो रवैया नै दलको रवैया भयो । कारण रवि रास्वपाको प्राधिकार हुन् । उनलाई उनको दलमा च्यालेन्ज गर्ने कोही छैनन् । 

सोे दलको विचार, दर्शन, शैली र प्राधिकार सबै सबै रवि हुन् । उनको पार्टीमा रहे भएका अरू नेता उनको निगाहामा छन् । रविको पार्टी आजसम्म पार्टी बनेको छैन । पार्टी बन्ने प्रक्रियामा छ तर रविलाई कुनै पनि विषयमा काउन्टर दिने पक्ष छैन । त्यसैले रवि आज जे गरिरहेका छन् त्यो उनको पार्टीमा उनी निर्विकल्प विकल्प बनेर गरिरहेका छन् । पार्टीमा उनको हुकुम प्रमाङ्गी चल्छ । 

नो नट एगेनलाई वान्स मोर एगेन रविकै कारण भएको होइन र ? अर्काे खतरनाक पक्ष रविले गल्ती गरेका छैनन् र रविलाई फसाइयो भन्नेको जमातले रविको भलो गर्दैन । कमजोरी ढाकछोप गर्ने र गराउने प्रचलन कार्यकर्तामार्फत बसाएर अरू पार्टीका नेता बिग्रेको कुरा बिर्सनु हुन्न । रविप्रति आग्रह राख्ने, फसाउन चाहने र कहिल्यै उठन नदिने शक्ति छन् । मुसालाई मार्न पनि उसको सबैभन्दा प्रिय खानेकुरा खोजेर विष राखिदिने हाम्रो व्यावहारिक ज्ञान भएको तथ्य भुल्नु हुँदैन । कतै सत्ता त्यस्तै विषका रूपमा प्रयोग भएको पो छ कि ? 

यद्यपि राजनीतिमा कमजोरी सकार्ने र सुध्रने ठाउँ थुप्रै बाँकी छन् । रविलाई सिद्धिने र सुधार्ने दुवै छुट प्रयाप्त छ । रविलाई अझै चुनाव जित्ने, देशभर सङ्गठन गर्ने र भोलि सत्तामा पुग्ने हैसियत निर्माण गर्ने समय र आजै सत्तामा जाने र सकिने दुवै विकल्प बाँकी छन् । 

आज पनि उनलाई उपचुनाव जित्न कुनै गाह्रो छैन । उनलाई गाह्रो केवल नयाँ संस्कृति निर्माण गरेर राजनीतिलाई नयाँ बनाउन र देशको धुलोमैलो पखाल्न गाह्रो छ । गाह्रो कामलाई सजिलो बनाउन आजैदेखि निर्मम समीक्षा गर्दै राजनीतिको नुतन कोर्स सुरु गर्नुपर्छ । जनता रवि बिग्रिएको हेर्न किमार्थ तयार छैनन् । रविले राजनीतिमा सिर्जना गर्ने भयङ्कर आँधी तुफान हेर्न हतारिएर बसेका छन् । रविले उनका असली शुभचिन्तक चिन्न जरुरी छ । 

लेखक त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरमा अनुसन्धाता एमफिल–पिएचडी गर्दैछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सञ्जीव कार्की
सञ्जीव कार्की
लेखकबाट थप