आइतबार, १४ पुस २०८१
ताजा लोकप्रिय
बैंक

बैंकहरूको मनोमानीमा राष्ट्र बैंकको मौन समर्थन

मौद्रिक नीतिविरुद्ध किन बढाइयो स्प्रेडदर ?
बिहीबार, १९ माघ २०७९, १० : ३१
बिहीबार, १९ माघ २०७९

काठमाडौँ । चालु आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिले बैंक तथा वित्तीय संस्थाहरूको स्प्रेडदर (कर्जा र निक्षेप बीचको अन्तर) घटाउँदै लैजाने र आधारदरलाई समेत निश्चित सीमा राख्ने नीति लिएको छ । तर, वाणिज्य बैंकहरूले मौद्रिक नीतिलाई बेवास्ता गर्दै आफूखुसी स्प्रेडदर र आधारदर बढाएका छन् । 

बैंकहरूले कर्जा लगानीमा अधिक नाफा राखेको भन्दै राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासको समीक्षामार्फत बैंक तथा वित्तीय संस्थाहरूको स्प्रेडदर समान ०.४ प्रतिशतले घटाउने नीति लिएको छ । आगामी असार मसान्तसम्म वाणिज्य बैंकहरूको स्प्रेडदर ४.४ प्रतिशतबाट ४ प्रतिशतमा झार्ने नीति लिएको मौद्रिक नीतिले यता विकास बैंक र फाइनान्स कम्पनीहरूको समाज ५ प्रतिशतबाट ४.६ प्रतिशतमा झार्ने नीति लिएको छ । 

तथापि, दुई चरणमा गरेर स्प्रेडदर घटाउने नीति लिएको केन्द्रीय बैंकले चैत मसान्तसम्म ०.२ प्रतिशतले स्प्रेडदर घटाउनुपर्ने व्यवस्था गरेको छ । तर, यता बैंकहरूले भने पुस मसान्तसम्ममा नै थप स्प्रेडदर वृद्धि गर्दै ४.४८ प्रतिशतसम्म पुर्‍याएका छन् ।

बैंकहरूले जारी गरेको स्प्रेडदर अनुसार कूल २२ वटा वाणिज्य बैंकहरूमा १७ वटा बैंकले स्प्रेडदर बढाएका छन् भने ४ वटाले घटाएका छन् ।

कुन बैंकको स्प्रेडदर कति ?

पुस मसान्तको तथ्याङ्क हेर्दा सबैभन्दा बढी नबिल बैंकले ४.४८ प्रतिशत स्प्रेडदर कायम गरेको छ । तथापि, यता ७.३९ प्रतिशत बेसरेट (आधारदर) कायम गरेको बैंकले अधिकतम कर्जाको ब्याजदर १४–१५ प्रतिशत मात्र कायम गरिरहेको जनाएको छ ।

यस्तै, १०.८ प्रतिशत बेसरेट रहेको कुमारी बैंकको स्प्रेडदर ४.४२ प्रतिशत रहेको छ ।

नेपाल एसबीआई, एनआईसी एसिया, सानिमा, एभरेस्टको स्प्रेडदर क्रमशः ४.४०, ४.३९, ४.३९, ४.३८ प्रतिशत रहेको छ । यी बैंकहरूको स्प्रेडदर अघिल्लो वर्षको पुस मसान्तको तुलनामा ५० प्रतिशतले वृद्धि भएको देखिन्छ भने चालु आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा दोस्रो त्रैमासमा २५ प्रतिशतसम्मले वृद्धि भएको छ । 

बैंकहरूले जारी गरेको स्प्रेडदर अनुसार कूल २२ वटा वाणिज्य बैंकहरूमा १७ वटा बैंकले स्प्रेडदर बढाएका छन् भने ४ वटाले घटाएका छन् । एनआईसी एसिया बैंकले भने दोस्रो त्रैमासमा पनि आफ्नो स्प्रेडदर स्थिर राख्दै ४.३९ प्रतिशत कायम गरेको छ ।

बैंकहरूको स्प्रेडरेट र बेसरेट (प्रतिशतमा)

Data1

आधारदरमा पनि बैंकहरूको मनमौजी

आफूखुसी स्प्रेडदर बढाएका वाणिज्य बैंकहरूले पुस मसान्तमा यता कर्जाको आधारदर समेत आफूखुसी वृद्धि गरेका छन् । पुस मसान्तमा वाणिज्य बैंकहरूले समान १० प्रतिशतले आधारदर वृद्धि गरेका हुन् । योसँगै बैंकहरूको बेसरेट अधिकतम १२ प्रतिशत हाराहारी पुगेको छ । 

सिभिल बैंकले आफ्नो निक्षेप गरेको लगानी, बैंक सञ्चालन खर्च लगायत विविध खर्चलाई जोडर आफ्नो बेसरेट ११.७३ प्रतिशत तोकेको छ । यसमा बैंकले २ देखि ६ प्रतिशत प्रिमियम थपेर कर्जाको ब्याजदर लगाउनेछ । यद्यपि, बैंकले कर्जा र निक्षेपबीचको अन्तर (स्प्रेडदर) भने ४ प्रतिशत मात्र तोकेको छ ।

यस्तै, सिद्धार्थ बैंकले पुस मसान्तमा आफ्नो बेसरेटलाई बढाएर ११.७१ प्रतिशत पुर्‍याएको छ भने लक्ष्मी बैंकले ११.३७ प्रतिशत पुर्‍याएको छ । 

नियामक निकाय राष्ट्र बैंकले भने ब्याजरको विषयमा बैंकहरूलाई कुनै हस्तक्षेप नगरेको बताउँदै बजार र अर्थव्यवस्था असन्तुलित हुने अवस्थामा राष्ट्र बैंकले विविध टुल्सहरूको प्रयोग गरी व्यवस्थित गर्ने गरेको जनाएको छ ।

यता माघ महिनाकै लागि बैंकहरूले निक्षेपमा समान १० प्रतिशत ब्याजदर घटाउँदैगर्दा उता कर्जाको ब्याजदर भने बढ्नेगरी आधारदर बढाएपछि उद्योगी व्यवसायीहरू सशंकित भएका छन् । व्यवसायीहरूले बैंकले थप नाफा खोजेको भन्दै यसको विरोध गरेका छन् । 

तर, यता वाणिज्य बैंकहरूको प्रमुख कार्यकारी अधिकृत (सिईओ) हरूको संस्था नेपाल बैंकर्स संघका अध्यक्ष तथा एनएमबी बैंकका सिईओ सुनिल केसीले १० प्रतिशतको आधार वृद्धि स्वाभाविक भएको बताउछन् । केही दिन अघि पत्रकारहरूसँग कुरा गर्दै केसीले भनेका छन्, ‘१० प्रतिशतको ब्याजदर वृद्धि स्वाभाविक नै हो । आधारदर बढ्दा पनि कर्जाको ब्याजदर बढिमा १३ प्रतिशत पुग्ने हो’ केसीले भने, ‘बैंकहरूको कष्ट अफ फन्ड (लगानी) नै धेरै भएकाले अधिकतम १३ प्रतिशतको ब्याजदरलाई स्वाभाविक मान्नुपर्छ ।’

उसो त पछिल्लो पटक अध्यक्ष केसीले कर्जा र निक्षेपको ब्याजदर तोक्ने सवालमा बैंकहरूलाई स्वतन्त्र छाड्नुपर्ने बताएका छन् । मंगलबार राजधानीमा आयोजित नेपाल चार्टर्ड एकाउन्टेन्टस् संघको २६औँ वार्षिक उत्सवको अवसरमा आयोजित ‘प्यानल डिस्कसन’ कार्यक्रममा बोल्दै वित्तीय बजारलाई सन्तुलित राख्न आवश्यकता र औचित्यका आधारमा ब्याजदरको निर्णय बैंकहरूलाई नै दिनुपर्ने बताए । 

तर, यता नियामक निकाय राष्ट्र बैंकले भने ब्याजरको विषयमा बैंकहरूलाई कुनै हस्तक्षेप नगरेको बताउँदै बजार र अर्थव्यवस्था असन्तुलित हुने अवस्थामा राष्ट्र बैंकले विविध टुल्सहरूको प्रयोग गरी व्यवस्थित गर्ने गरेको जनाएको छ ।

बैंकहरूले आफूखुसी स्प्रेडदर र बेसरेट बढाएको सन्दर्भमा राष्ट्र बैंकका प्रवक्ता नारायण प्रसाद पोखरेलले आर्थिक वर्षको असार मसान्तसम्ममा स्प्रेडदर ४ प्रतिशतमा झार्न भनिएकाले अहिले नै कार्यान्वयनमा नगएको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रयास श्रेष्ठ
प्रयास श्रेष्ठ

श्रेष्ठ रातोपाटीका लागि आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप