अरुण तेस्रोमा कार्यरत एक मजदुरको मृत्यु

सङ्खुवासभा । सङ्खुवासभामा निमार्णाधीन नौ सय मेगावटको अरुण तेस्रो जलविद्युत् आयोजनाको विद्युत्गृहस्थल केराबारीमा कार्यरत एक जना मजदुरको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सिन्धुपाल्चोक पाँचपोखरी थाङ्पाल गाउँपालिका–५ का २२ वर्षीय सूर्य गोले तामाङ रहेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी नायब उपरीक्षक वीरेन्द्र गोदारले जानकारी दिए ।
विद्युत्गृहस्थल चिचिला गाउँपालिका–३ स्थित केराबारीमा मङ्गलबार राति ३ बजे सुरुङभित्र ब्लास्टिङ लोड गर्ने क्रममा माथिबाट खसेको ढुङ्गाले लागेर घाइते भएका तामाङको उपचारका क्रममा आज बिहान ८ बजे जिल्ला अस्पताल सङ्खुवासभामा मृत्यु भएको हो ।
सुरुङभित्र ब्लास्टिङ लोड गर्ने क्रममा अन्य दुई मजदुरसमेत घाइते भएका छन् । घाइते हुनेमा सिन्धुपाल्चोक पाँचपोखरी थाङ्पाल गाउँपालिका–५ का ३८ वर्षीय मङ्गोल तामाङ र भोजपुर नगरपालिका–४ सिद्धेश्वरका ५४ वर्षीय भीमबहादुर तामाङ रहेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ ।
घाइते सिन्धुपाल्चोकका मङ्गोलको दाहिने खुट्टा र हातमा चोट लागेको छ भने भोजपुरका भीमको हातखुट्टा र कुममा चोट लागेको छ । घाइतेको जिल्ला अस्पताल सङ्खुवासभामा उपचार भइरहेको छ । अरुण आयोजनास्थलमा अहिलेसम्म एक दर्जन बढी मजदुरले ज्यान गुमाइसकेका छन् । परियोजनामा नेपाली र भारतीयसहित तीन हजारभन्दा बढी मजदुर कार्यरत छन् ।
नेपाललाई २१ दशमलव नौ प्रतिशतअर्थात् एक सय ९७ दशमलव एक मेगावाट बिजुली निःशुल्क प्राप्त हुने सो आयोजनाबाट विभिन्न शीर्षकमा रु तीन खर्ब ४८ अर्ब आर्थिक लाभ हुने अनुमान छ । आयोजनाबाट २५ वर्षमा नेपालले रोयल्टी, निःशुल्क विद्युत् र आयकर गरी रु तीन खर्ब ४८ अर्ब प्राप्त गर्नेछ । निर्माण सम्पन्न भएको २५ वर्षपछि परियोजना नेपाल सरकारको स्वामित्वमा आउनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ विदेशी मुद्राको बजार भाउ, कसको मूल्य कति ?
-
प्रिमियर लिग : लिभरपुल सजिलै जित्दा आर्सनलाई नटिङघमले रोक्यो
-
प्रिमियर लिगमा म्यान्चेस्टर सिटी र युनाइटेड दुबै विजयी
-
रुद्रतालको संरक्षणमा जुट्यो ढोरपाटन
-
पशुपतिनाथमा किन गरिन्छ चार प्रहरको विशेष पूजा ?
-
ट्रम्पको जालमा जेलेन्स्की, शुक्रबार अमेरिकामा ‘विशाल सम्झौता’