श्रम मन्त्री अर्यालले विमानस्थलबाट हटाए वैदेशिक रोजगारीको छुट्टै डेस्क

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डीपी अर्यालले वैदेशिक रोजगारीमा जानेहरुलाई लक्षित गरेर राखिएको छुट्टै डेस्क हटाएका छन् ।
हिजो सोमबारदेखि लागू हुने गरेर वैदेशिक रोजगारीमा जानेहरुका लागि छुट्याइएको विभेदकारी डेस्क हटाएको मन्त्री अर्यालले जानकारी दिएका हुन् ।
मंगलबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री अर्यालले भने, ‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट वैदेशिक रोजगारीमा जानेहरुका लागि भनेर छुट्टै डेस्क राखिएको थियो । जबकि, विद्यार्थी भिसा, पर्यटन भिसा र व्यवसायीक भिसामा जानेहरुका लागि छुट्टै डेक्स थिएन ।’
वैदेशिक रोजगारीमा जानेहरुलाई लक्षित गरेर विमानस्थलमा राखिएको डेस्कले विदेशमा रोजगारीका लागि जाने नेपालीहरुको आत्मबलमा ठेस पुगेको गुनासो आएकाले हटाएको अर्यालले बताए ।
उनले भने, ‘वैदेशिक रोजगारीमा जाँदै गर्दा विमानस्थलमा राखिने लामो लाइनमा बस्दै गर्दा विदेश गएर रोजगारी गर्नेहरुको लाइन भनेर अन्य यात्रुले कानेखुसी गर्नेगर्थे । जसले वैदेशिक रोजगारीमा जानेहरुलाई हतोत्साहित गर्थ्यो । सोही कारण, हिजोदेखि लागू हुने गरेर उक्त डेस्क हटेको छ ।’
मन्त्री अर्यालले अबदेखि विद्यार्थी भिसा, पर्यटन भिसा, व्यवसायीक भिसा र वैदेशिक रोजगारीको भिसामा जानेहरूको लाइन एउटै हुने समेत जानकारी दिए ।