नीतिकथा : उपदेश
अरूलाई अर्ती र उपदेश दिन सजिलै हुन्छ । यसो गर्नुपर्छ, त्यसो गर्नुपर्छ, यस्तो गर्नु हुन्न त्यस्तो गर्नु हुन्न भन्यो भइहाल्यो तर जति बेला आफूलाई पर्छ त्यति बेला थाहा हुन्छ कि त्यसलाई प्रयोगमा ल्याउन कति गाह्रो पर्दो रहेछ भन्ने कुरा । यसको अर्थ अर्ती र उपदेश नराम्रो हो, दिनै हुन्न भन्ने होइन । दिनुपर्छ नदिने भन्ने होइन तर त्यस्तै दिनुपर्छ जस्तो आफूलाई पर्दा लिन सकिन्छ । अन्यथा फोस्रो आडम्बर बाकेह केही हुँदैन । भाइबहिनीहरूको जानकारीका लागि यहाँ एउटा यस्तै कथा प्रस्तुत गरिएको छ ।
धेरै पहिलेको कुरा हो । एउटा गाउँमा कुनै एक जना गरीव सज्जन बस्थे । रहँदा बस्दा कुनै दिन सडक दुर्घटनमा परी छोरो म¥यो । एउटै छोरो त्यो पनि बुढेसकालमा जन्मेको । छोरा जन्मनासाथ सुत्केरी व्यथाकै कारण श्रीमतीको मृत्यु भएकाले सोही छोराको मुख हेरी चित्त बुझाएका थिए । त्यही छोराको पनि अकालमै ज्यान गएपछि दुःख लाग्ने नै भयो । असैह्य वेदनाका कारण उनी जोरजोरले रुन, कराउन लागे । हरेक बाबु आमालाई सन्तानको बिछोड यसै पनि असैह्य हुन्छ । त्यसमाथि उनका लागि त जिउने आधार भनेकै त्यही छोरो थियो ।
यद्यपि रोएको भरमा कराएको भरमा मरेको मानिस फिर्ता आउँदैन भन्ने कुरा सबैलाई थाहा भएकै हुन्छ । तैपनि मन न हो कहाँ मान्छ र । जसलाई पर्छ सबै रुने, कराउने गरिरहेका हुन्छन् । उनलाई पनि त्यस्तै भएको थियो । उनको अलाप विलाप बढ्दै गएपछि छिमेकी सज्जनको पनि चित्त काटियो र आएर सम्झाउन लागे–
‘के गर्ने मित्र ! यस्तै हो । जस्तै परे पनि चित्त बुझाउनुपर्छ । दैवको लाठो कति बेला कसलाई पर्छ पत्तै हुँदैन । आपत्ति प¥यो भनेर आत्तिने होइन, सामना गर्ने हो । आपत्ति कै कुरा गर्ने हो भने कसलाई पर्र्दैन र, जसलाई पनि पर्छ । राम र कृष्ण जस्ता भगवान्लाई त परेको थियो भने हामी त मानिस । त्यसैले दुनियाँको रीत हेरेर चित्त बुझाउनुहोस् । यसै पनि रुने कराउने गर्दैमा मरेको मानिस बाँच्ने त होइन । यदि त्यस्तो हुन्थ्यो भने अहिलेसम्म दुनियाँमा शोकको सागर प्रशान्त महासागरभन्दा पनि ठूलो हुने थियो भने मानिसको सङ्ख्या सायद खर्बौँखर्ब पुगिसक्ने थियो ।’
सज्जनले छिमेकीको कुरा सुनेर चित्त बुझाए कि आफ्नो मन आफैँले बुझाउ उनै जान्न । केही समयपछि आँसु पुछेर मृतक छोराको अन्तिम संस्कार गर्नेतर्फ लागे । समय बित्दै गयो सज्जनको घाउ पनि कम हुँदै गयो । प्रकृतिको नियम के छ भने घाउ लगाउन पनि समय नै आउँछ र निको पार्न पनि उही नै अघि सर्छ । यस्तोमा उनी मात्र किन अपवादमा पर्ने कुरै भएन । दैवको लीला यस्तै रहेछ भन्ने ठानेर आफ्नै काल पर्खिन लागे ।
केही समय पछि तिनै छिमेकी सज्जनको भैँसी ब्याउन नसकेर म¥यो । उनको सम्पत्तिको नाममा त्यही एउटा भैँसी थियो । भैँसी ब्याएपछि अहिलेसम्म घर खर्चमा लागेको ऋण चुक्ता गरौँला भनेर औँलो भाँचेर बसेका थिए तर आशाको त्यान्द्रो त्यही भैँसी पनि मरेपछि उनलाई पनि असैह्य पीडा भयो र जोरजोरले रुन, कराउन लागे । अब सम्झाउने पालो उनै पुत्र वियोगी छिमेकी सज्जनको आयो । उनी अगाडि आएर सम्झाउन लागे–
‘मित्र बेकारमा किन रुनुहुन्छ ? त्यति ठूलो ज्ञानी हुनुहुन्छ, नीतिको कुरा गर्नु हुन्छ । जस्तोसुकै विपत्ति परे पनि सहनुपर्छ । विपत्ति प¥यो भन्दैमा आत्तिने नभई धैर्य धारण गर्नेतर्फ ध्यान दिनुपर्छ । अन्यथा थप विपत्ति निस्कन सक्छ । यसै पनि रोइ कराइ गर्दैमा मरेको प्राणी बाँच्ने होइन भन्ने जस्ता नीतिपरक अर्ती उपदेश दिने तपाईँ नै हो । त्यत्रा ठूला ज्ञानीलाई यसरी शोक गर्न सुहाउँदैन । तपाईँ जस्ता ज्ञानीले पनि शोक गर्न थाले अरूको अवस्था कस्तो होला । अरूलाई पर्दा अर्ती उपदेश दिनेले पनि आफूलाई पर्दा शोक गर्न थालियो भने दृुनियाँले के भन्लान् ? संसारमा अजम्मरी को छ र ? सबै मर्नकै लागि आएका न हुन् । संसारको रीत सम्झेर पनि चित्त बुझाउनुहुन आग्रह गर्छु ।’
छिमेकीको कुरा सुनेर उनले खुइय गर्दै भने
‘कुरा त ठीकै हो तर पनि के गरौँ मित्र ! त्यति बेला छोरो तपाईँको मरेको थियो र अर्ती उपदेश दिएको थिएँ तर अहिले त भैँसी आफ्नै मरिरहेको भने कसरी चित्त बुझाउँ ।’
यो कथा एकादेशका ती दुई सज्जनको मात्र होइन हामी सबैको हो । जहाँ पनि र जहिले पनि सबैको अवस्था यस्तै हुन्छ । अरूलाई पर्दा सबै विशेषज्ञ बनेर उपदेश दिन थाल्छन् । जब आफूलाई पर्छ सबै बिर्सन्छन् र शोक गर्न थाल्छन् । त्यसैले कसैलाई विपत्ति पर्दा उपदेश दिनतिर नभई सहयोगको हात बढाउनेतिर ध्यान दिनु राम्रो हुन्छ, जसले अर्ती उपदेशको सट्टा सहयोग आदान प्रदान गर्नेतर्फ लाग्न उत्प्रेरित गर्छ ।