रमाइलो क्याम्पसको ‘नरमाइलो व्यथा’
विराटनगर । ठाउँको नाम रमाइलो । क्याम्पसको नाम रमाइलो बहुमुखी क्याम्पस । तर, व्यथा नरमाइलो । मोरङको कानेपोखरी–५ मा रहेको रमाइलो बहुमुखी क्याम्पसको इतिहास ३१ वर्ष लामो छ । तर, घरगाउँका खेती किसानी गर्ने किसानका छोराछोरी अध्ययन गर्ने क्याम्पसलाई संघ र प्रदेशले मात्रै होइन स्थानीय सरकारले पनि पर्याप्त चासो नदिँदा उसको अवस्था नरमाइलो छ ।
२०४७ सालको प्रजातन्त्र स्थापनापछि २०४८ माघ १५ गते रमाइलो क्याम्पसको स्थापना भएको थियो । कानेपोखरी गाउँपालिकाका स्थानीय समाजसेवी लक्ष्मी कोइराला, शिक्षाप्रेमी तुलराम गुरुङको मुख्य पहल तथा अन्य ६८ जनाले प्रतिव्यक्ति २ हजार चन्दा सहयोगबाट स्थापना भएको यो क्याम्पस अहिले विकासमा होइन निरन्तरतामा र दुःखले जेनतेन चलिरहेको छ । जुनसुकै आर्थिक वर्षको अन्त्यमा उक्त क्याम्पसमा अध्यापन गराइराख्ने शिक्षक तथा काम गर्ने कर्मचारीलाई तलब पुग्दैन ।
क्याम्पसको डेढ बिगाहा जग्गा छ । झण्डै १० कट्ठा जग्गामा भवनहरू निर्माण गरिएका छन् । एउटा भवन नयाँ छ तर धेरै विद्यार्थी अध्ययन गर्ने भवन जीर्ण बनेको छ । क्याम्पसमा शिक्षक तथा विद्यार्थीका लागि पर्याप्त शौचालय छैनन् । खानेपानीको उचित प्रबन्ध छैन । आगामी सेसनमा भवन नभए चौरीमा राखेर विद्यार्थी पढाउनु पर्ने अवस्था रहेको क्याम्पसका अध्यक्ष दुर्गाबहादुर कार्की बताउँछन् । विद्यार्थी तथा शिक्षकको वृत्ति विकासका लागि गरिने अन्य तालिम तथा कार्यक्रमहरूका लागि बजेट कहिल्यै पुग्दैन ।
‘विपन्न समुदायका छोराछोरी नै यो क्याम्पस पढ्न आउँछन् । धनीमानीका बाहिर जान्छन् । तल्लो लेबलका विद्यार्थी छन् । त्यसमा पनि खेती किसानी गर्ने बुबा आमालाई सघाउँदै क्याम्पस पढ्नेहरू धेरै छन्,’ क्याम्पस प्रमुख टिकाराम खरेल बताउँछन् ।
क्याम्पसमा विद्यार्थीको कमी पनि छैन । ११ र १२ कक्षामा मात्रै २ सय ६० जना विद्यार्थी छन् । बीए र बीबीएसमा १ सय ८९ जना विद्यार्थी छन् । उनीहरूलाई पढाउने २० जना शिक्षकहरू र क्याम्पस प्रशासनमा काम गर्ने ४ जना कर्मचारी छन् । त्यसमध्ये स्थायी दरबन्दी भनेको क्याम्पस प्रमुख खरेल र सहायक क्याम्पस प्रमुख गंगा कुमार यादव मात्रै हुन् । शिक्षक नियुक्ति गर्दा क्याम्पस व्यवस्थापन समितिले विषय अनुसार नियुक्ति गर्ने गरेको छ ।
अहिले क्याम्पस व्यवस्थापन समिति नयाँ चयन गर्ने तयारीमा छ । त्यसमा राजनीतिक पार्टीहरूले आ–आफ्नो हैसियत अनुसार क्याम्पसको समितिमा सदस्य तथा अध्यक्षहरू दाबी तथा भागबण्डा मागिरहेका छन् ।
‘विद्यार्थीको शुल्कबाट शिक्षकको तलबभत्ता चारपाँच महिना मात्रै धान्छ । विश्वविद्यालय अनुदान आयोगबाट साढे २ महिना बराबरको दिन्छ । गाउँपालिकाले २÷३ महिना पुग्ने गरी निःशर्त अनुदान दिन्छ । लगभग ९–१० महिनाको व्यवस्थापन हुन्छ । ३–४ महिनाको भने जहिल्यै अर्को वर्षमा दायित्व सर्ने गरेको छ,’ प्रमुख खरेल बताउँछन्, ‘हाम्रो समस्या विद्यार्थी धेरै कम होइन । शुल्क नै धेरै कम छ । ११ र १२ कक्षालाई मासिक ४ सय र ब्याचलरमा ८ सय रुपैयाँ शुल्क तोकिएको छ ।’
गाउँका खेती किसानी गर्नेहरूको छोराछोरीलाई कम शुल्कमा पढाएर पनि जेनेतेने क्याम्पस चलिरहेकोमै आफूहरू गर्व गरिरहेको खरेल बताउँछन् । ‘राजनीतिज्ञहरू ठूलाठूला कुरा गरेर निर्वाचन जितेर जान्छन् । तर, निर्वाचित व्यक्तिहरूबाट सञ्चालन अनुदान र निर्माण अनुदानमा कुनै पहल भएन । त्यसमा हामीलाई धेरै हेला गरिएको छ,’ खरेलको भनाइ छ ।
स्थानीय सरकारले पनि केही अनुदान दिएको छ । तर, स्थानीय सरकारले क्याम्पसका लागि माथिल्लो निकायमा पहल गरेर विकास गर्नेतिर चाहिँ पहल नगरेको कतिपय बताउँछन् । ‘पालिकाले निःशर्त अनुदान दिएर सहयोग गरिरहेकै छ । तर विकास र निर्माणका लागि ठुलो पहल भने नगरेको सत्य हो,’ गाउँपालिकाका प्रवक्ता सुशील बुढाथोकी बताउँछन् ।
अहिले क्याम्पस व्यवस्थापन समिति नयाँ चयन गर्ने तयारीमा छ । त्यसमा राजनीतिक पार्टीहरूले आ–आफ्नो हैसियत अनुसार क्याम्पसको समितिमा सदस्य तथा अध्यक्षहरू दाबी तथा भागबण्डा मागिरहेका छन् । ‘तर, क्याम्पसको विकासका लागि भने त्यसरी पहल भएको छैन,’ प्रमुख खरेलको भनाइ छ ।
‘अतिरिक्त कार्यक्रम गर्नुपर्दा धेरै सोचेर अत्यन्तै लिमिटेसनमा गर्नुपर्छ । विद्यार्थीको या शिक्षकको वृत्ति विकासमा ध्यान दिनै सकिँदैन । यहाँ त आज पढाउने, भोलि पढाउने निरन्तरता जस्तो मात्रै भएको छ । यसको विकास अहिलेकै तरिकाले हुन सक्दैन । सरकारी स्तरबाट ठुलो सहयोग आवश्यक छ,’ अध्यक्ष कार्की बताउँछन् ।
गत कार्तिकदेखि ‘कानेपोखरी गाउँपालिकाको शान, रमाइलो बहुमुखी क्याम्पस सुदृढ अभियान’ भन्ने मूल नाराका साथ शुभ दीपावली २०७९ को शुभ अवसरमा आयोजित देउसी भैलो कार्यक्रममा आयोजना भयो । उक्त अभियानबाट झण्डै १० लाख चन्दा सङ्कलन भयो । त्यस क्रममा १ सय ७० जनाले प्रतिव्यक्ति ५ हजारभन्दा माथि चन्दा दिएका छन् । चन्दा रकमले पनि ठुलो काम गर्न नसकेको र आम्दानीमा बाँधिएको अध्यक्ष कार्की बताउँछन् ।
आइतबार क्याम्पसको ३१ औँ वार्षिकोत्सव एवम् सातौँ परिषद् भेला आयोजना गरिएको थियो । भेलामा प्रदेश १ का सभामुख बाबुराम गौतमले अति विपन्नको उच्च शिक्षा प्राप्त गर्ने इच्छा पुरा गर्न ग्रामीण भेगका शैक्षिक संस्था पूर्ण रूपमा सबल र सक्षम हुनुपर्ने बताए । उनले रमाइलो बहुमुखी क्याम्पसको पूर्वाधार एवम् शैक्षिक गुणस्तर वृद्धिमा सक्दो सहयोग गर्ने पनि बताए । यस्तै सोही क्षेत्रकी सांसद गीता तिम्सिनाले पनि आफूले शैक्षिक संस्थाहरूको उन्नतिका लागि नीतिगत सुधार पहिलो प्राथमिकता दिने बताइन् ।
क्याम्पस अध्यक्ष कार्कीका अनुसार उक्त क्याम्पसमा अध्ययनरत २५ प्रतिशत विद्यार्थी मात्रै उत्तीर्ण हुने गरेका छन् । बीए र बीबीएस कक्षामा अध्ययनरत विद्यार्थीले आधा समयमै छोड्ने गरेको पनि उनले बताए । ‘स्थानीय सरकार, त्रि.वि.को नगन्य सहयोग र अन्य सरकारी क्षेत्रबाट हुने पर्याप्त सहयोगको कमीले व्यवस्थापनमा कठिनाइहरू भइरहेका छन्,’ कार्की भन्छन्, ‘ग्रामीण क्षेत्रमा रहेकोले आयस्रोत कम भई त्रि.वि.को स्केल अनुसार प्राध्यापक तथा कर्मचारीलाई तलब भत्ता दिन नसक्दा अपेक्षित जनशक्तिलाई क्याम्पसमा प्राप्त गर्न सकिएको छैन । फलस्वरूप शैक्षिक प्रगतिको स्तर पनि सोचेजस्तो हुन सकेको छैन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मिनी संसद्को दुःख : एकातिर विधेयकको थुप्रो, अर्कातिर कोरम नपुगेर बैठक बस्नै समस्या
-
विपद् व्यवस्थापन बारे बागमती सरकार र प्राधिकरण बिच छलफल
-
कालिमाटीमा महिलाको शव बोकेर हिँड्ने युवक पक्राउ
-
गलत तरिकाले दाँत माझिरहनु भएको त छैन ?
-
संभलमा जामा मस्जिद सर्वेक्षणको समयमा हिंसा, ३ जनाको मृत्यु
-
चार महिनामा करिब ४१ अर्बको विदेशी लगानी प्रस्ताव, २४२ उद्योग दर्ता