निरंकुश राणा शासकले चार सहिदलाई यसरी दिएको थियो फाँसी
१९९३ साल जे २० गते काठमाडौं जोर गणेश ओमवहाल टोलमा धर्मभक्तको फुपू युम कुमारीको घर डेरामा नेपाल प्रजापरिषद्को स्थापना भयो । प्रजापरिषदलाई राजा त्रिभुवनको हात र साथ थियो । १९९७ प्रजापरिषदले साल असारदेखि राणाशासन विरुद्ध काठमाडौंमा पर्चाबाजी गर्न थाल्यो । यही वर्षको माघमा निरंकुश राणाशासकले चार सहिदलाई फाँसी दिए ।
शुक्रराजका पिताले भनेका थिए– स्याबास बेटा, तुम धन्य हो...
वि.सं. १९८०–९७ को बीचको अवधिमा जागृत देशभक्त नवयुवकहरूले नेपाली जनताका शोषक, प्रगतिमा तगारो, प्रजातन्त्र विरोधी राणा सरकारको विरुद्ध जुन क्रान्तिकारी गतिविधिहरूचलाएका थिए, तिनमा शुक्रराजले देश–विदेशमा खेलेको भूमिका अग्रगण्य देखिएको थियो । त्यसैले १९९७ सालको काण्डको सिलसिलामा श्री ३ महाराज जुद्ध शमशेरले शुक्रराजलाई ‘यी सबैको नाइके तैँ होस्’ भनेका थिए ।
यी ‘नाइके’ शुक्रराज माधवराज जोशी र रत्नकुमारीका माहिला छोरा थिए । यिनको जन्म वि.सं. १९५० साल जनै पूर्णिमाको दिन बनारसमा भउको थियो । १९६२ सालतिर शुक्रराज दरबार स्कुलको पाँचौँ श्रेणीमा पढिरहँदा माधवराज शास्त्रार्थ मुद्दा अर्थात् पशुपतिनाथलाई ढुंगा भन्यो भन्ने अभियोगमा श्री ३ महाराज चन्द्र शमशेरको इजलासमा पिटिए र पछि कैद गरिए । झ्यालखानामा पर्नेका जहान छोराछोरीको पनि पानी चल्दैन भनेर शुक्रराज र उनका दाइ अमरराजलाई दरबार स्कुलबाट निष्कासन गरियो । त्यसपछि शुक्रराजले शास्त्रीसम्मको अध्ययन भारतमै गरे ।
पढाइ सकेर फर्केको बेला शुक्रराजलाई श्री ३ महाराज चन्द्र शमशेरले यहीँ राख्न खोजेका पनि थिए । तर उनी इलाहावादमा गएर आर्य समाजी विद्यालयका प्रधानाध्यापक भए । पछि त्यो पद छाडी उनी दार्जिलिङ, खर्साङ, पटना, कलकत्ता, देहरादुन आदि नेपाली बस्ती धेरै भएकाले भारतका इलाकाहरूमा संगठन गर्न लागे । यस क्रममा उनी सिक्किम, भुटान पनि पुगेका थिए । यही बेला उनले नेपाली भाषा, हिन्दीमा अनेकौँ किताब पनि लेखका थिए । जसमध्ये ‘स्वर्गको दरबार’ खुब प्रसिद्ध छ । सन् १९२८ सालमा ‘श्रद्धानन्द’ पत्रमा नेपालबारे नराम्रो लेखिएको एउटा लेखको उनले ‘स्वतन्त्र’ पत्रमा प्रकाशित गरेको खण्डनबाट खुद श्री ३ महाराज चन्द्र शमशेर पनि प्रभावित भएका थिए ।
१९९४ सालमा नेपालीहरूको एउटा प्रतिनिधि मण्डलले महात्मा गान्धीसँग भेटघाट गरी नेपाल बारेको जानकारी उनलाई दिएको थियो । यसको नेतृत्व शुक्रराजले नै गरेका थिए । यही अभियोगमा काठमाडौं फर्केपछि शुक्रराज नजरबन्द गरिए । यसरी नजरबन्दमा रहनुपरेकै बेला शुक्रराजकै अध्यक्षतामा १९९४ सालमा नेपाल नागरिक अधिकार समिति बनाइसकेको थियो । यसको कार्यालय असनमा राजालाल कलवारको घरमा रहेको थियो । आम भाषणद्वारा पनि जनतामा चेतना जगाउने यसका कार्यक्रम अनुरूप नै शुक्रराजले १९९५ मंसिरमा इन्द्रचोकमा आमसभामा भाषण गरे । त्यही अभियोगमा सरकारले उनलाई गिरफ्तार गर्यो र ६ वर्ष कैदको सजाय दियो ।
यसको चार दिनपछि सुत्केरी भएको उनकी श्रीमती मेनकादेवी ज्वरोले सिकिस्त भइन् । मर्नुभन्दा अगाडि लोग्नेको मुख एकचोटि हेर्न उनको अन्तिम इच्छानुसार शुक्रराजलाई जेलबाट वागमती घाटसम्म लैजाने इजाजतका लागि सरकारमा धेरै बिन्तिभाव गरियो । तर व्यर्थ भयो । निराशामै मेनकादेवीले प्राण छोडिन् ।
स्वास्नी र छोरकिो मृत्युको खबर शुक्रराजले जेलैमा सुने । आफैँ पनि रोगले सताइएका थिए । वीर अस्पतालमा उपचार गर्ने अनुमति पनि मिलेन । यसमा थप अरु अनेकौँ कष्ट पनि जेलमा उनले खप्नुपरेको थियो । तर देशको निम्ति मरिमेट्नेले आफ्नो वा आफ्नो जहानहरूको लागि थोरै नै परवाह राख्दछ ।
यसरी उनी सेन्ट्रल जेलमा कैद भोगिरहँदारहँदै १९९७ सालको काण्ड मच्चियो । धेरै पक्रिए, थुनिए, पिटिए । उक्त काण्डमा शुक्रराजलाई पनि धेरैपटक जेलबाट सिंहदरबार लगियो र बयान लिइयो । माघ ६ गते फैसला सुनाउँदा शुक्रराजलाई ज्यान सजाय तोकियो ।
माघ १० गतेको दिन शुक्रराज व्रत बसेका थिए । रोटी पकाई घरबाट ल्याएको दूधसँग खान उनी साँझतिर तयार भएको बेला सिपाहीहरूले उनलाई खानै नदिई बाहिर ल्याए । आखिर बाहिर चौकीमा रातको १२ बजेसम्म उनलाई राखियो । त्यसपछि मात्र शुक्रराज मचलीमा लगिए र अँध्यारो रातमा फाँसीमा झुन्ड्याइए ।
माघ ११ गते बिहान उज्यालो भएपछि बाटोको छेउ रुखको हाँगामा झुन्ड्याइएका शुक्रराजलाई बटुवाहरूले देखे । चारतिर होहल्ला फैलियो । दिनभरि हजारौँ हजार मानिसको लस्करले मचली वरपरको ठाउँ खचाखच भरियो ।
८२ वर्षका उनका बाबु बूढा माधवराज जोशी लट्ठी टेक्दै त्यही रुखमा आइपुगे । सन्न्यासी बनिसकेका हुनाले उनले त्यस बेला गेरु वस्त्र लगाएका थिए । शहीद भएका आफ्ना छोरालाई नमस्कार गर्दै उनले श्रद्धाञ्जली चढाए । निष्प्राण छोरालाई सम्बोधन गर्दै उनले भने, ‘स्याबास बेटा, तुम धन्य हो । तुमने माँ–बापका नहीँ देशका ही गौरव बढाया है । बेटा होना तो ऐसा ही होना ।’
वरपर उभिएर हेरिरहने दर्शकहरूभने धुरुधुरु रोइरहेका थिए ।
धर्मभक्त : मरणान्त पारिसकेपछि फाँसीमा झुन्ड्याइयो
राजा त्रिभुवनका सुयोग्य व्यायाम शिक्षक एवं आफ्नो समयका ‘बंगाल च्याम्पियन’ धर्मभक्त शरीरका मात्र डिलडौल र बलवान् थिएनन् हृदयका पनि उत्तिकै आँटिला, शूरा र मजबुत थिए । राणाहरूको पारिवारिक शासनको अन्त्य गरेर जनतालाई प्रजातन्त्र दिलाउने उद्देश्यले १९९३ जेठमा नेपाल प्रजा परिषद् नाउँको संगठन आफू बसेकै ठाउँमा खोलेर ज्यानको खतरा मोल्ने लौह पुरुष त्यस बेला कुनै थिए त धर्मभक्त नै थिए ।
यस्ता धर्मभक्तको जन्म १९६६ असोज ९ गते काठमाडौंको नबहिल टोलमा भएको थियो । उनी सुब्बा आदिभक्त र चन्द्रकुमारी देवीका छोरा थिए । उनको बचपन र विद्यार्थी जीवन कलकत्ता, दार्जिलिङतिर नै बित्यो ।
सन् १९२९–३० तिर धर्मभक्तले आइए पास गरिरहेको बेला भारतमा स्वतन्त्रता संघर्षले नयाँ निर्णायक मोड लिइरहेको थियो । त्यसबेला कांग्रेसले पूर्ण स्वाधीनताको माग गरिसकेको थियो । स्वयं महात्मा गान्धीले सुविख्यात दांडी पदयात्रा गरेर नमक कानुन तोड्नु, कर नतिर्नु, विदेशी माल बहिष्कार गर्नु आदि भद्र अवज्ञा आन्दोलन मच्चिरहेको थियो । यस्ता सत्याग्रही कार्यकलापमा नवयुवक विद्यार्थी धर्मभक्त पनि सरिक भएका थिए ।
भारतमा क्रान्तिकारी गतिविधिमा लाग्दालाग्दै धर्मभक्तको ध्यान आफ्नो देशका शासन व्यवस्थातिर पनि दौडन थाल्यो । नेपाली जनताको दुर्दशा र शासक राणाहरूको ऐशआरामको बीचमा रहेको भँड्खालोको बारे उनले गम्भीर रूपले सोच्न लागे । उनी नेपाल फर्के ।
यहीबीच १९९० सालमा उत्तरादेवीसँग उनको विवाह भयो । त्यही साल घोडेजात्रामा देखाएको शारीरिक व्यायामको चमत्कारबाट त्रिभुवन प्रभावित भए, फलस्वरूप उनी त्रिभुवनका व्यायाम शिक्षक नियुक्त भए । जनरल नरशमशेर र अरु कैयौँ राणाशासकहरूलाई पनि उनले कुस्ती, व्यायाम सिकाउन थाले ।
उता दशरथ चन र टंकप्रसाद राणा सरकारको विरोध गर्न र जनतामा जागृति जगाउन कुनै संस्था खोल्ने तरखरमा थिए । उनीहरूको आपसी सल्लाह अनुसार टंकप्रसाद आचार्यले धर्मभक्तसँग कुराकानी गर्ने मौका खोज्दै थिए । त्यसताका टंकप्रसाद आचार्य भीमफेदी चिसापानी गडीको बाटोमा बुटवाहरूलाई घोडा आपूर्ति गर्ने काम गर्दथे ।
संयोगवश धर्मभक्त सपरिवार काठमाडौं फर्किरहेका थिए । टंकप्रसादजी आफू पनि घोडामा चढी धर्मभक्तसँग गडीसम्मै आइपुगे र उपरोक्त संगठन खोल्ने बारेमा आ–आफ्नो विचारको मनग्गे आदानप्रदान गरे । यस्तो संस्था बनाउन धर्मभक्त एकाएक तयार भएको देखेर टंकप्रसादजी त्यस बेला आश्चर्यचकित भए, साथै बेहद खुसी पनि । यो कुरा सुनेर दशरथ चनको पनि खुसीको सीमा रहेन ।
यसरी यिनीहरूबाट १९९३ सालमा नेपाल प्रजा परिषद् नाउँको गुप्त संगठन बन्यो र यसको कार्यालय धर्मभक्त बस्ने गरेको उनकै फुपूको घर, ओमबहालमा रह्यो । धर्मभक्तकै माध्यमद्वारा नेपाल प्रजा परिषद र राजा त्रिभुवनमा सम्पर्क स्थापित भयो, परिषद्लाई त्रिभुवनबाट सहानुभूति मात्र होइन आर्थिक सहायता पनि मिल्यो । १९९७ सालको काण्डको सिलसिलामा तलासी लिँदा धर्मभक्तको कोठाबाट नै महत्त्वपूर्ण कागजात बरामद भएको थियो । यसरी १९९७ साल कार्तिकमा गिरफ्तार नभएसम्म धर्मभक्तहरूले के के गरे, त्यो ‘१९९७ सालको काण्ड’ नाउँले इतिहासमा विख्यात छ ।
यही १९९७ सालको काण्डको सिलसिलामा धर्मभक्तहरूलाई ज्यान सजाय तोकियो । माघ १३ गते राति पशुपति जाने उकालोस्थित बाटो छेउको एउटा रुखमा उनलाई फाँसी दिइयो ।
फाँसीमा झुन्ड्याइएका धर्मभक्तको नाकमुखमा रगतको दाग र लुगा पनि कहीँकहीँ भिजेको देखिएबाट देख्ने सुन्नेहरूले के भन्छन् भने यिनले पहिलोपल्ट हालेको पासो फुकाई त्यही डोरी समाई रुखको हाँगामाथि बस्न पुगेका थिए । केही बेरको भनाभनपछि यिनलाई फाँसी दिने काममा खटिएका जनरल नर शमशेरले रुखको हाँगामा बसेका यिनलाई कुनै जुक्तिले अँठ्याउन सफल भए । यी जनरलले धर्मभक्तसँग पहलमानी दाउपेच पनि सिकेका थिए । धर्मभक्त पहलमान त छँदै थिए । हुन सक्छ, यिनलाई काबुमा लिन जनरल र सिपाहीहरूले बल प्रयोग गरेर यिनलाई मरणान्त पारिसकेपछि मात्र फेरि फाँसीमा झुन्ड्याई टोपलेको देखिन्छ ।
दशरथ चन्द : ‘मलाई मारेपछि तिमी रोइदेऊ है राममाया’
राणा परिवारको जहाँनिया सामन्ती शासन अन्तर्गत शोषण र अत्याचारल पीडित नेपाली जनतालाई मनुष्य सुहाउँदो हक दिलाउने, प्रजातन्त्रको परिपाटी बसाल्ने, त्यो जनविमुखी, प्रगतिविरोधी राणा सरकारको तख्त पल्टाउने एवं जनप्रतिनिधिहरूको सरकार बनाउने उच्च लक्ष्य लिएर नेपाल प्रजा परिषद्को गठन र सञ्चालनमा दशरथले खेलेको भूमिका अद्वितीय छ । उनी यस संगठनका संस्थापक मात्रै थिएनन्, आत्मा पनि थिए । दशरथ चनको जन्म १९६० असार १७ गते बैतडीको बस्कोटमा भएको थियो । जंगबहादुरको शासनकालमा बैतडीका हरिचन्द र चयचन्दले जंगको विरुद्ध विद्रोह पनि गरेका थिए । जयचन्दका छोरा शेरबहादुरका छोरा हुन् दशरथ । शेरबहादुर चन्द नेपालगन्जको बडाहाकिम हुँदा वर्तमान सुर्खेतलाई आवाद गर्नमा निकै योगदान गरेका थिए ।
आफ्नो बाल्यकाल बस्कोट र नेपालगन्जमा बिताएपछि सन् १९२०–२१ तिर दशरथ अध्ययनका लागि पहिले अलमोडा र पछि बनारस गए । जालियाँवाला बाघ काण्ड घटेको ताजै थियो । त्यसको प्रतिरोधमा अनेकौँ सत्याग्रह र असहयोग आन्दोलनहरूभइरहेका थिए । सन् १९३० मा भएको नमक आन्दोलनको सिलसिलामा त दशरथ आफैँ पनि बनारसमा थुनिएका थिए । बनारसमै उनले एन्ट्रेसस पास गरेर आइए पढ्न लागे ।
यसरी क्रान्तिकारी विचारधारा लिएर एवं आन्दोलनमाा दीक्षित भएर दशरथ काठमाडौं आए । यस बेला यिनी तत्कालीन चिफ साहेब रुद्र शमशेरको सम्पर्कमा आए । उनकै परिवारमा एकजना मैयाँ साहेब जुलियानाले दशरथलाई खुबै मन पराएकी थिइन् भनिन्छ । जेहोस्, १९९० सालमा रुद्र शमशेर पाल्पा धपिएपछि दशरथ पनि भारततिर लागे ।
भारतमा घुम्दाघुम्दै दशरथले चम्पारन इलाकाका केही जग्गाको म्यानेजरी राम राजाबाट पाए । यहीँ म्यानेजरी काम गर्दा हुँदा उनको ९० सालको अन्ततिर बारा जिल्लाको मौवादहमा टंकप्रसाद आचार्यसँग जम्काभेट भयो । बृचिस र ह्याट लगाई हात्ती चढिरहेका ठकुरी बाबुसाहेब दशरथ चन र बाबु ढाक्रे भएकाले काम खोज्दै भड्किरहेका तनहा टंकप्रसादको यो संयोगको भेटघाट १९९७ सालको त्यो गौरवमय काण्डको श्रीगणेश हुन जानु एउटा रोमाञ्चकारी घटना नै थियो । राणा सरकारको विरोध गर्न र जनतामा राजनैतिक चेतना ल्याउन कुनै संस्था खोल्न यी दुईजनाले त्यस बेला गरेको अठोट फलस्वरूप नै १९९३ सालमा नेपाल प्रजा परिषद्को गठन भयो र ९७ सालको काण्ड मच्चियो ।
उक्त परिषद्को प्रचार कार्य अन्तर्गत भारतमा राणा सरकारको भण्डाफोड गर्नामा पनि दशरथको देन अविस्मरणीय छ । पटनाबाट निस्कने हिन्दी पत्रिका ‘जनता’मा नेपाल र नेपाली जनताबारे जोसिला लेखहरूलेख्ने ‘सेवा सिंह’ यिनै चन सिंह बाहेक अरु को सिंह हुन सक्थ्यो ? परिषदको संगठन गर्ने उपत्यकामा पर्चाबाजी गर्ने आदि काममा पनि नेतृत्व उनैको थियो ।
१९९७ सालको काण्डको सिलसिलामा पक्रिएर बन्दी रूपमा सिंहदरबारमा राखिएका यी सेवा सिंह साँच्चिकै सिंह जस्ता थिए । त्यस बेला यी अभयमूर्ति बन्दीले राणा जर्साहेबको खाना कसरी खोसेर खाए, माफी मागे छाडिदिने आशा राणा सरकारले देखाएको बेला उनले आफ्ना साथीहरूसबैलाई सम्बोधन गर्दै माफी नमाग्न कसरी जोसिलो आह्वान गरे, ज्यान सजाय सुनाउँदा कसरी जोसिलो आह्वान गरे, ज्यान सजाय सुनाउँदा कसरी हर्रर हाँसे, साथीहरूलाई जीवनभर कैदको सजाय सुनाउँदा उनी कसरी ‘कसको जीवनभर ? जुद्धशमशेरको जीवनभर ?’ भनी कुर्ले, उनले राणा शासकहरूलाई ‘तिमीहरू ठकुरी हौ भने हामी (दशरथ र गंगालाल) वीरहरूको गोलीद्वारा मर्ने माग पूरा गर’ भनेर कसरी हुँकारे– इत्यादि उनका अद्भुत वीरताका बयानहरूत आज हाम्रा घरघरमा दन्त्य कथा बनिररहेकै छन् ।
यस्तै उनका वीरताका चमत्कार माघ १५ गते राति विष्णुमतिमा बाँधिएर ठड्याइँदासम्म पनि झन् उग्र रूपले प्रदर्शित हुँदै थियो । सायद त्यस हालतमा पुर्याई उनलाई निहुर्याउँला भन्ने सुरले जनरल नर शमशेरले उनलाई ‘बिराएँ भन, भनी दोहोर्याई तेहेर्याई आग्रह गरिरहे । तर उल्टो दशरथ, गंगालालहरूले गर्जंदै नर शमशेरलाई भने, ‘हामीले के बिराएका छौँ र माफी माग्ने ? बरु, तिमीहरूले माग माफी जनतासँग... ।’
मारिनु दुई–चार दिन अगाडिसम्म आफू थुनिएको कोठा सफा गर्न आएकी राममायालाई सम्बोधन गर्दै उनले भनेका थिए, ‘मेरा साथीहरूलाई मारेपछि रुने उनीहरूको आफन्त धेरै छन् । तर यस दुनियाँमा मेरा लागि रुने कोही छैनन् । त्यसैले मलाई मारेपछि तिमी रोइदेऊ है राममाया !’
आफ्नै मृत्युपछि हुने दयनीय अवस्थामा पनि मार्मिक व्यंग्य गर्न सक्ने उनको धैर्य अवश्य पनि प्रमाण योग्य छ ।
तर दशरथ चनजीको त्यस बेलाको सोचाइको विपरीत उनी सहिद भएको बेला राममायाले मात्र होइन, असंख्य नेपाली नरनारीले आँखाबाट आँसु बगाए । जुलियाना मैयाँले खान नै छाडेर प्राण त्यागिन् रे । दशरथलाई सम्झी रुनेहरू उहिले मात्र थिएनन्, आज पनि मनग्गे छन्, भविष्यमा पनि भइरहनेछन् ।
गंगालाल : ‘हुँ एक वीर पुत्र म पनि वीर माँ नेपालको’
युवक गंगालालको भावना र विचारधारा, उत्साह र उमंग १९९५ साल मंसिरमा इन्द्रचोकमा भएको आमसभामै प्रदर्शित भएको थियो । यही नै पहिलो आमसभा थियो, जसमा खुलेआमा सरकारको भण्डाफोड गरियो, जसमा आफ्नो हक पाउनका लागि सरकारसँग संघर्ष गर्न आह्वान गरियो । १९९७ सालमा सहिद भएका वीरहरूमध्ये गंगालाल उमेरमा सबभन्दा कान्छो थिए । तर राजनीतिक चेतना, देशप्रेम, कुर्बानीको आदर्श आदि गुणमा उनी अरुभन्दा कम थिएनन् ।
यी युवक सहिद गंगालालको जन्म तत्कालीन पूर्व २ नम्बर रामेछापमा १९७५ साल फागुन पूर्णिमाको दिन भएको थियो । यिनी भक्तलाल श्रेष्ठ र तुलसी देवीका जेठा छोरा थिए । त्यस बेला भक्तलाल रामेछापको माल अड्डाका हाकिम खरदार थिए ।
पाँच वर्षको उमेरमा गंगालालले रामेछापकै भाषा पाठशालामा कखहरा सुरु गरेका थिए । तर १९८१ सालमै भक्तलाल ओखलढुंगा खटिएकाले गंगालाल पनि उतै लगिए । केही वर्षपछि अंग्रेजी पढाउन उनी काठमाडौं ल्याइए । यही बेला कलकत्तामा डाक्टरी पढ्न जाने उनका काका शंकरलालले उनलाई सँगै लिएर गए । त्यहाँ दुई–तीन वर्ष पढेपछि उनी काठमाडौं फर्के । त्यसपछि उनको पढाइ दरबार स्कुलमा जारी रह्यो । चौथो श्रेणीमा भर्ना भएर उनले त्यहीँबाट १९९५ सालमा पहिलो श्रेणीमा एसएलसी पास गरे । त्यसपछि उनको पढाइ त्रिचन्द्र कलेजमा चालु रह्यो ।
अध्ययनार्थ कलकत्तामा बसेको बेला उनले त्यहाँको जनजीवन हेर्ने राम्रो मौका पाए जुन नेपालको भन्दा बिल्कुलै भिन्नै थियो । सन् १९३०–३२ तिरको त्यो बेला भारतमा पूर्ण स्वतन्त्रताको निम्ति आवाज बुलन्द भइरहेको थियो । सन् १९३० जनवरी २६ लाई आजादी दिवसको रूपमा मनाइँदै थियो । महात्मा गान्धीले दांडीसम्म पदयात्रा गरेर नमक कानुन तोड्नु, विदेशी मालहरूबेच्न नदिनु, हडताल गर्नु, आदि भद्र अवज्ञा आन्दोलनको जोडदार संघर्ष मच्चिरहेको थियो । यस्ता घटनाहरूको एउटा प्रमुख केन्द्र कलकत्ता पनि थियो । यसरी कलकत्तामा प्रत्यक्ष देखेका घटनाहरूबाट गंगालालको कलिलो मन र मस्तिष्कमा अवश्य गहिरो छाप पर्यो होला ।
यसरी विकसित भएको राजनीतिक चेतना अब उनको कविता, प्रवचन, कुराकानी आदिमा अभिव्यक्त हुन थाल्यो । यस सन्दर्भमा उनले नागरिक अधिकार समितिको तत्वावधानमा इन्द्रचोकमा दिएको भाषण त ऐतिहासिक भयो, त्यसको केही दिन अगाडि असनमा पुराण अवसान गरेको अवसरमा दिएको लिखित भाषण पनि कम उल्लेखनीय छैन ।
१९९३ सालदेखि नै राजधानीका केही जागृत युवकहरूसँग बगाइसकेका थिए । यसै साल जेठमा दशरथ, धर्मभक्तहरूले नेपाल प्रजा परिषद् नाउँको गुप्त संस्था खोलिसकेका थिए । १९९३ सालमै चिनियालाल सिंहले खिंलटोलस्थित आफ्नो घरमा महावीर इन्स्टिच्युट नाउँको पब्लिक स्कुल खोलिसकेका थिए । पाठ्यक्रमबाहेक राजनीतिक चेतना जगाउनु पनि यस स्कुलको उद्देश्य थियो । गंगालालले त्यस स्कुलमा पढाउन लागे । नजरबन्दमा रहेका शुक्रराजको अध्यक्षतामा १९९४ सालमा खोलिएको नेपाल नागरिक अधिकार समितिका सदस्य गंगालाल पनि थिए । पठनपाठन आम भाषणद्वारा जनतामा जागृति ल्याउने उद्देश्यले आमसभा गर्ने यस संस्थाले चलाएको साप्ताहिक कार्यक्रम अन्तर्गत नै गंगाललालले इन्द्रचोकमा भाषण गरेको कुराको चर्चा माथि भइसकेको छ ।
१९९७ सालको काण्डकै सिलसिलामा बाँसमा झुन्ड्याइएर पिटिँदा पनि उनको साहस अदम्य थियो । उनको दिल अडिग थियो । माफी मागे ज्यान बचाइदिने सरकारी आश्वासनको हँसी उडाउनेमा दशरथका साथै गंगालाल पनि थिए ।
आखिर माघ १५ गते राति गंगालाललाई दशरथको साथै सेन्ट्रल जेलबाट प्याफलको बाटोबाट विष्णुमती लगियो । त्यस बखत उनको परिवार प्याफलमा बाटो छेउकै घरमा बस्दथ्यो । यसको एक दिन अगाडि मात्र उनकी श्रीमती हसिना देवीले छोरा पाएकी थिइन् । त्यसैले परिवारका सदस्यहरूलाई गंगालालसँग भेट गराउँदा उनी जान सकेकी थिइनन् । हसिना देवीसँग गंगालालको विवाह १९८९ सालमा भएको थियो तथा उनीहरूको पहिलो छोराको मृत्यु १९९५ सालमा भयो । आफूलाई चढाएर लगेको मोटर प्याफलमा पुगेका बेला गंगालालले अन्तिमपटक ‘हसिना’ भनेर ठूलो स्वरले बोलाएका थिए ।
विष्णुमतीको बगरमा बाँसमा हातखुट्टा बाँधिएर सँगसँगै ठडाइए । यस्तो हालतमा पनि उनीहरू झन् निर्भीक र उत्साही बनेका थिए । निकैबेरको भनाभनपछि जनरल नर शमशेरले गंगालाललाई कुठाउँमा गोली चलाई अन्तिमबार माफी माग्न आग्रह गरे । तर रक्ताम्य भएका गंगालालले त्यस सुझाउको झन् कडा शब्दमा तिरस्कार गरे । अनि मात्र उनीमाथि ठाउँमा गोली दागियो ।
यहाँ गंगालालले लेखेका कविताहरूमा अति प्रख्यात निम्न लिखित पंक्ति उद्धरण गर्नु अनुपयुक्त नहोला–
नेता–नेतादि सबले मर्नु साझा सबैको ।
सब सब गई बस्तछन् एक दिन काखमा चिताको ।।
किन डरुँ मृत्युदेखि मर्न कम्मर कसेको ।
हुँ एक वीर पुत्र म पनि वीर माँ नेपालको ।।
(यो सामग्री हामीले भुवनलाल प्रधान लिखित, काठमाडौं नगर पञ्चायतबाट २०३४ सालमा प्रकाशित पुस्तक ‘शहीद परिचय’ लिएका हौँ ।)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई जिल्ला कार्यक्षेत्र भएको कार्यालयमा एकमात्र कर्मचारी
-
संसारभर महिलाहरूको अधिकार कसरी खोसिँदै छ ?
-
एउटै परिवारद्वारा ३४ लाखको अलैँची उत्पादन
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
पश्चिम नेपालमा बदली, काठमाडौँसम्म असर, चिसो बढ्ने
-
बढ्दै मध्यपूर्व तनाव : अमेरिकी सेना उत्रियो हुथीविरुद्ध आक्रमणमा