बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय

महिला वडा सदस्यको सशक्तीकरणका लागि प्रशिक्षण

आइतबार, १५ माघ २०७९, २० : २७
आइतबार, १५ माघ २०७९

ललितपु । महिला वडा सदस्यहरूको सशक्त आवाज र अर्थपूर्ण सहभागिता अभिवृद्धि गर्ने उद्देश्यले दुईदिने प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको छ ।

ललितपुर महानगरपालिका र साथी संस्थाको संयुक्त आयोजनामा आइतबारदेखि सुरु भएको कार्यक्रममा निर्वाचित वडा सदस्यहरूले स्थानीय सरकारका विधि, प्रक्रिया, तथा गतिविधिमा सहभागीका अनुभव, गरेका काम, अर्थपूर्ण सहभागिताको सुनिश्चितताका लागि व्यहोर्नुपरेका चुनौतीलगायत विषयमा छलफल भएको थियो ।

उद्घाटनसत्रमा नेपाली कांग्रेसको केन्द्रीय सदस्य एवं संविधानसभा सदस्य डा आरजु राणा देउवाले लामो राजनीतिक सङ्घर्षपछि जारी भएको नेपालको संविधानले महिला हक–अधिकारका सम्बन्धमा विभिन्न व्यवस्था गरेको बताइन् । साथै उनले अझै पनि समाजमा महिलाविरुद्ध हुने भेदभाव कायमै रहेको उल्लेख गर्दै भेदभाव हटाउनका लागि महिला सशक्तीकरणको आवश्यकता औँल्याइन् ।

कार्यक्रममा महानगरका प्रमुख चिरिबाबु महर्जनले संविधान र कानुनले राज्यका हरेक निकायमा महिला प्रतिनिधित्वको प्रावधान सुनिश्चित गरेको भए पनि अझै नेतृत्व तहमा र अर्थपूर्ण सहभागिताका लागि धेरै काम गर्न बाँकी रहेको बताए । साथै उनले छलफल उठेका विषयवस्तु र वडा सदस्यका अनुभव स्थानीय सरकारका लागि काम गर्ने सन्दर्भमा आगामी कार्यदिशा हुनसक्ने बताए ।

कार्यक्रममा महिलामाथि हुने सबै प्रकारका विभेदविरुद्धको महासन्धि (सिड)का विज्ञ सदस्य वन्दना राणाले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै लैङ्गिक समानता प्रवर्द्धन, महिलाहरूको राजनीतिक सशक्तीकरण विषयमा धारणा व्यक्त गरिन् ।

साथी संस्थाका अध्यक्ष सजनी आमात्यले पितृसत्तात्मक संरचना रुढीवादी सोच तथा आर्थिक स्रोतमा महिलाको पहुँच कम रहेको अवस्थामा महिलाको राजनीतिक सहभागिता पनि अर्थर्पूण हुन नसकेको बताउँदै महिलाको राजनीतिक सशक्तीकरणका लागि यस्ता कार्यक्रमले योगदान दिने अपेक्षा व्यक्त गरिन् ।

दुई दिनसम्म हुने कार्यक्रममा विभिन्न विज्ञहरूले महिला सशक्तीकरणका लागि फरक–फरक विषयमा प्रशिक्षण दिने आयोजकले जनाएको छ ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप