पूर्व-पश्चिम राजमार्गमा वयस्क हरिण मृत फेला
आइतबार, १५ माघ २०७९, १९ : ३०

बारा । पूर्व-पश्चिम महेन्द्र राजमार्गको ५ किलोमा वयस्क भाले हरिण मृत फेला परेको छ । डिभिजन वन कार्यालय बाराको टोलीले हरिणलाई मृत फेला परेको हो ।
डिभिजन वन कार्यालय बाराका सहायक वन अधिकृत ललन राउत कुर्मीले राजमार्गमा तीव्र गतिमा गुडेको गाडीले हरिणलाई ठक्कर दिएर भागेको बताए ।
‘शनिबार राती राजमार्गमा तीव्र गतिमा गुडेको गाडीले हानेको हो । तर कुन गाडीले हानेको हो पहिचान खुल्न सकेको छैन । हामीले भेट्दा हरिण मरिसकेको थियो,’ सहायक वन अधिकृत राउतले भने । मृत भाले हरिण करिब ८ वर्षको भएको वन कार्यालयले जनाएको छ ।
पूर्व-पश्चिम राजमार्गको अम्लेखगञ्ज–तामागढी सडकखण्डको करिब २५ किलोमिटर क्षेत्रमा पर्सा राष्ट्रिय निकुञ्ज र राष्ट्रिय वन क्षेत्र पर्दछ ।