नेपथ्यसँग झुम्यो एडिलेड

एडिलेड । अस्ट्रेलिया टुरअन्तरगत नेपथ्यको दोश्रो कन्सर्ट शनिबार एडिलेडको ‘हिण्डले म्यूजिक हल’ मा आयोजना गरिएको छ । ब्यान्डले ‘तालको पानी माछीले खाने’ गीत गाउन थाल्दा खचाखच भरिएको हलमा भएभरका दर्शकहरू नाचेको गजबको दृश्य देखिएको थियो ।
कार्यक्रमको प्रारम्भमै ब्यान्डको भर्खरै रिलिज भएको गीत ‘भटभटे’ प्रस्तुत गरिएको थियो । त्यसपछि क्रमशः ‘छेक्यो छेक्यो’, ‘भेडाको ऊन’ हुँदै ‘लाम्पाते सुरती’ गाएर सुनाइएको थियो । कार्यक्रम अघि बढ्दै जाँदा गायक अमृतले ‘चरी मर्यो’, ‘जोमसोमे बजार’, ‘शिरफूल’ र लाहुरेहरूले ल्याएको गीत ‘नैनाताल’ सुनाउँदै गए ।
यहाँको कार्यक्रममा पनि ‘यो जिन्दगानी’ प्रस्तुत गरिरहँदा मानवसेवा आश्रममा उद्धार गरिएका आश्रितहरूको तस्बिर देखाइएको थियो । ब्यान्डले यो वर्षभरि नै आफूलाई ‘मानवताको लागि संगीत’ नाराका साथ प्रस्तुत गर्ने संकल्प लिएको छ । मञ्चबाट जस्तोसुकै मुडको गीत गाइरहँदा पनि तल दर्शकहरू साथमा साथ मिलाएर गाइरहेका देखिन्थे ।
अमृतले लोकगीतहरूको शृङ्खलाबद्ध प्रस्तुति दिइरहँदा नेपालका कुना कन्दरा घुम्दै लोकगीत संकलनका आफ्ना अनुभवहरू पनि दर्शकसँग साटेका थिए । ‘नेपथ्य जहाँ गए पनि त्यसले नेपालीहरूलाई एकतामा जोड्ने काम गर्छ,’ स्थानीय आयोजक गगन गिरी भनिरहेका थिए, ‘त्यो क्षणको अनुभूति गर्न पाउनु नै पनि नेपथ्य कार्यक्रममा सरिक हुनुको आनन्द हो ।’
कार्यक्रम सधैँजस्तै अन्तिम लहरमा ‘रेशम’ बाट ‘तालको पानी’ हुँदै ‘रातो र चन्द्रसूर्जे’मा पुगेर अन्त्य भएको थियो । रातको ठिक नौ बजे सुरु भएको कन्सर्ट दुई घण्टासम्म चलेको थियो ।
अमृतलाई सधैँझैँ ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेस गितारमा सुविन शाक्य, गितारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीले सघाएका थिए ।
एडिलेडको कार्यक्रम सम्पन्न भएसँगै ब्यान्ड अब क्वीन्सल्याण्ड राज्यतर्फ प्रस्थान गर्नेछ । ब्रिसबेनस्थित ‘फोर्टिच्यूड म्यूजिक हल’मा जनवरी ३१ तारिखका दिन नेपथ्यले फेरि पनि उसका नयाँ पुराना लोक रक धुनहरू घन्काउनेछ । ब्रिसबेनपछि फेब्रुअरी ३ तारिखका दिन केन्द्रीय राजधानी क्यानबेरा, ५ तारिख पर्थ, १० तारिख सिड्नी, १३ तारिख मेलबर्न र अन्त्यमा फेब्रुअरी १७ तारिखका दिन होबार्टमा आफूलाई प्रस्तुत गरेपछि ब्यान्ड स्वदेश फिर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षकहरुलाई विद्यालय फर्कन सरकारको आह्वान
-
वैशाख १२ गते संघीय संसदको बजेट अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस
-
मोटरसाइकलको ठक्करबाट ६० वर्षीय पुष्प दासको मृत्यु, ३० वर्षीय दुरेन पक्राउ
-
सामाजिक सद्भाव बिथोल्ने सामग्री सम्प्रेषण नगर्न अनुरोध
-
१० बजे १० समाचार : मधेसमा कमिसनको चक्कर, भाटभटेनी लुटपाट गर्नेहरू छुट्दै
-
गरिब, विपन्न नागरिकलाई निःशुल्क खानेपानीको सुनिश्चित गर्ने दिशामा सरकारले काम गर्यो : मन्त्री यादव