मेरो देश र (कु)व्यवस्था
यहाँ बिरामी हुँदा छैन सवारी, बाँच्ने आशमा जान्छ सास
जब जान्छ सास, आउँछ त्यो एम्बुलेन्स लान्छ उठाई लास
घिड्घिडो सास धुकुधुकु चल्दै थियो, बाँच्ने आश कति थियो
कति अनुनय, बिनय गर्दा भेटेन सवारी, बाटैमा प्राण लियो ।
जिउँदो छदा बाँच्न कोसिस गर्यो अनेकन उद्यम सोच्यो
उद्यम गर्दा बाधा खपेको थियो, थियो ऋण मुटुमा घोच्यो
जिउँदोमा गर्यमे हारगुहार कतिलाई सबैका बन्द थिए कान
जिउँदोमा सुन्ने, देख्ने कोही नहुँदा हेर फालिदियो उसले ज्यान ।
बढ्यो, पढ्यो, लड्यो बनाउन भनी देश तर देखेन भबिष्य यता
लाग्यो परदेश, खाडी मुलुक बाँच्न भनी कसलाई थाहा छ ब्यथा
उसको भरोसा उनीहरु, बाँचेका उनीहरु उसको नै भरोसामा
कहिल्यै नउठ्ने गरी त्यही राती सकियो ऊ, भन्न नपाई हे आमा
स्वदेशमा जिउँदोमा खेपिकन लाइन, बनायो राहदानी किन ?
परदेशमा गयो ज्यान, लास बस्यो पालो कुर्न देश जाने लाइन
मरे पछि मागको गर्छौ सुनुवाई, मान त अलिकति लाज
बिन्ती छ, लौ न, सुनिदेउ सरकार जिउँदा जनताको आवाज ।
बैतेश्वोर–४, दोलखा