आर्थिक मन्दी र अस्थिर ब्याजदरका कारण राज्यले धमाधम गुमाउँदैछ व्यवसायी
यही साताको मंगलबार इलाम घर भएर देशभर विभिन्न व्यवसाय सञ्चालन गरिरहेका प्रेमप्रसाद आचार्यले संसद् भवन अगाडि आफैँलाई आगो लगाएर आत्मदाह गरे । लगत्तै, विराटनगरमा विगत एक दशकदेखि व्यवसाय सञ्चालन गरिरहेका मोहन न्यौपाने झुण्डिएर आत्महत्या गरे । यस्तै, यही वर्षको मङ्सिरमा सिराहा गोलबजारका पप्पु महासेठले र २०७८ साल भदौमा न्यूरोडका व्यापारी सुदर्शन घिमिरेले समेत आत्महत्या गरेका थिए ।
यी घटनालाई सरसर्ती हेर्दा विगत २ वर्षयता आत्महत्या गर्ने व्यवसायीको सङ्ख्या थपिँदै गइरहेको छ । त्यसअघि, कोरोनाको चरम प्रभाव परिरहेको समय २०७७ साल भदौमा भक्तपुरका सुदीप अधिकारीले आत्महत्या गरेका थिए । उक्त समयदेखि नेपालमा आत्महत्या गर्ने व्यवसायीको लहर लागेको छ । र, यसरी आत्महत्या गर्ने व्यवसायी तथा व्यापारीहरू साना तथा मझौलावर्गका व्यवसायीका रुपमा देखिएका छन् ।
नेपाल राष्ट्रिय व्यवसायी महासंघका संस्थापक अध्यक्ष नरेश कुटवाल मध्यमस्तरका व्यवसायीले आत्महत्या गर्ने क्रम बढेको बताउँछन् ।
र, यी व्यवसायीहरूले आफ्नै ज्यान हत्या गर्नुको पछाडि बैंकको ऋण, मन्द व्यापार र उधारो कारोबार देखिन्छ । आत्महत्या गरेका सबै व्यवसायीले लेखेका नोट र आत्महत्या अघि सामाजिक सञ्जालमा उल्लेख गरेका विषय हेर्दा बजारमा देखिएको आर्थिक मन्दी, उधारो कारोबार र बैंकको चर्को ब्याज नै समस्या बनेको देखिन्छ । यसको अर्थ, यतिबेला नेपालका धेरै व्यवसायी बैंकको चर्को ब्याजदरका कारण घरको न घाटको भएका छन् । यस्तै, कोरोना महामारीका कारण बजारमा छाएको मन्दी तथा भइरहेको कारोबार पनि उधारो हुँदा मध्यमस्तरका व्यवसायी मारमा परेको छ । जसले माथि उल्लिखित आत्महत्या गर्ने व्यवसायीहरूको नाम उदाहरण मात्रै हुन् ।
खासगरी, कोरोना महामारीबाट उद्योग व्यवसायमा सृजित अवस्थालाई व्यवसायी स्वयंले व्यवस्थापन गर्न नसक्दा राज्यले ठुलो व्यावसायिक क्षति बेहोर्नुपर्ने देखिएको छ । २०७६ सालदेखि महामारीकारुपमा विश्वभर फैलिएको कोरोनाका कारण बढेको ब्याजदर र बजार मन्दी तथा भएको कारोबार पनि उधारो हुँदा राज्यले नै ठुलो व्यावसायिक क्षति बेहोर्नुपर्ने देखिएको हो । पछिल्लो १÷२ वर्षको अवधिमा व्यवसायीले आत्महत्या गर्ने शृङ्खला निरन्तर बढिरहेको छ । जुन, भावी दिनमा झनै विकराल बन्दै जाने देखिएको छ ।
नेपाल राष्ट्रिय व्यवसायी महासंघका संस्थापक अध्यक्ष नरेश कुटवाल मध्यमस्तरका व्यवसायीले आत्महत्या गर्ने क्रम बढेको बताउँछन् । महामारीको समयमा बैंकको ब्याजदर ह्वात्तै बढ्नु र यही समयमा बजारमा कारोबार नहुँदा व्यवसायीले बैंकबाट लिएको ऋणको किस्ता र ब्याज बुझाउन सकिरहेका छैनन् । फलस्वरुपः बैंकको चर्को दबाब झेल्न नसक्दा र ऋण तिर्न नसकेको भनेर निकालिने सूचनाबाट गुम्ने सामाजिक प्रतिष्ठानको क्षति व्यहोर्न नसक्दा व्यवसायीहरू आत्महत्या गर्न बाध्य भइरहेका छन् ।
कटुवालका अनुसार कोरोना महामारीका कारण सृजन समस्या व्यवस्थापन गर्न नसक्दा आत्महत्या गर्ने व्यवसायीको सङ्ख्या कम्तीमा १८ जना छ । उनका अनुसार यो सङ्ख्या महासंघलाई आएको आधिकारिक जानकारी मात्रै हो । अर्थात् महासंघमा आबद्ध भएका तथा नजिक रहेका व्यवसायीको मात्रै तथ्याङ्क हो । यसबाहेक देशभर रहेका कति व्यवसायीहरूले बैंकको ब्याजदर र किस्ता तिर्न नसकेर तथा उधारो कारोबार उठाउन नसकेर आत्महत्या गरे भनेर महासंघ तथा अन्य कुनै व्यावसायिक छाता संगठनसँग आधिकारिक तथ्याङ्क छैन ।
एकातिर बैंकको चर्को ब्याज र अर्कोतिर बजारमा आर्थिक मन्दीको प्रभाव देखा पर्यो । यस्तै, व्यापार/व्यवसाय नभए पनि लिजमा लिएको स्थानको भाडा बुझाइरहनुपर्यो ।
खासगरी, कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि सरकारले विश्वका अन्य मुलुकको सिको गर्दै लामो समय बन्दाबन्दी गर्यो । यसबाट, व्यवसायीहरू घरमै थुनिएर बस्नुपर्यो भने व्यवसाय सञ्चालन गरिरहेको स्थानको भाडा भने चलिरह्यो । यस्तै, लगत्तै तरलताको अभावको स्थिति व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंककै चाहनाअनुरुपम वाणिज्य बैंकहरुले निरन्तर ब्याज बढाउन लागे । यस्तै, कोभिडका कारण आम्दानी घटेसँगै उपभोक्ताले समेत आफ्नो खर्चलाई कटौती गरे । जसले व्यवसायी सञ्चालन गरिरहेको व्यवसायी तेहेरो चेपुवामा परे ।
एकातिर बैंकको चर्को ब्याज र अर्कोतिर बजारमा आर्थिक मन्दीको प्रभाव देखा पर्यो । यस्तै, व्यापार/व्यवसाय नभए पनि लिजमा लिएको स्थानको भाडा बुझाइरहनुपर्यो । यसका साथै, यही वर्षको वैशाख १३ गतेदेखि लागू हुने गरेर सरकारले धेरै वस्तुहरूको आयात प्रतिबन्ध लगायो भने नेपाल राष्ट्र बैंकले समेत अधिकांश वस्तुको आयातमा शतप्रतिशत नगद मार्जिनको व्यवस्था गर्यो । जसले बजारमा माग र आपूर्तिको शृङ्खला खलबलियो ।
नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्ल बैंकको चर्को ब्याजदरका कारण बजारका अधिकांश व्यवसायी तनावमा रहेको बताउँछन् । कोरोना महामारीका उत्पन्न भएको समस्या समाधान गर्न सस्तो दरमा ब्याज पाउनुपर्नेमा महामारीकै समयमा ब्याजदर बढ्दा व्यवसायीहरू समस्यामा परिरहेको मल्लको भनाइ छ । यस्तै, यतिबेला बजारमा देखिएको उधारो कारोबारले समेत व्यवसायीलाई मार पारिरहेको मल्लको भनाइ छ । ‘बजारमा उधारो कारोबारले भित्रभित्रै विकराल रूप लिइरहेको छ । यसलाई तत्काल नियन्त्रण गर्न नसकेमा आगामी दिनमा ठुलो समस्या सृजना हुन्छ,’ मल्ल भन्छन्, ‘यसलाई नियन्त्रण गर्न सरकारले तत्काल उधारो कारोबार सम्बन्धी ऐन नै ल्याउनुपर्छ ।’
यस्तै, बैंकको ब्याजदरका कारणले अनावश्यक तनाव बेहोर्नुपरेपछि व्यावसायिक छाता संगठन संस्थागत निर्णय नै गरेर ऋण नलिन आफ्ना सदस्यहरूलाई उर्दी जारी गर्ने तयारीमा छन् । बैंकको ब्याजदरका कारण धमाधम व्यवसायीले आत्महत्या गर्न लागेपछि ऋणमा लगानी नगर्ने र ऋणको सीमालाई कस्ने योजनामा व्यवसायी पुगेको र यसलाई संस्थागत निर्णयकै रूपमा लागू गर्ने तयारी रहेको व्यवसायीहरू बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : रवि लामिछाने अझै दुई साता हिरासतमै रहनेदेखि बालेनको पत्र बुझ्न एमालेको अस्वीकारसम्म
-
सार्क राष्ट्रबिच सम्बन्ध बलियो बनाउन पत्रकारिताको भूमिका महत्वपूर्ण छ : सञ्चारमन्त्री गुरुङ
-
रूखले च्यापिएर एकको मृत्यु, दुई जना गम्भीर घाइते
-
जनकपुरधाममा विवाहपञ्चमीको तयारी सुरु
-
सवारी दुर्घटनामा दम्पतीको मृत्यु
-
दुर्गा प्रसाईँ वीर अस्पतालमा भर्ना