जीवित शिशुलाई मृत घोषणा प्रकरणमा चिकित्सकले पाए सफाइ
विराटनगर । कोशी अस्पतालका डाक्टरले जीवित शिशुलाई मृत घोषणा गरेको घटनाको विषयमा छानबिन गर्न गठित समितिले अस्पताल र चिकित्सकले लापरबाही नगरेको प्रतिवेदन पेश गरेको छ ।
समितिले उक्त प्रतिवेदन अस्पताल प्रशासनलाई बिहीबार बुझाएको छ । जीवित शिशुलाई मृत्यु भएको बताएपछि आफन्त, चिकित्सक र अस्पतालबीच एक साता अगाडि तनाव उत्पन्न भएको थियो ।
उक्त तनावपछि अस्पताल प्रशासनले सोही अस्पतालका बालरोग विशेषज्ञ डा. प्रवीण झाको संयोजकत्वमा, डा. सूर्यकान्त चौधरी र अस्पतालका सूचना अधिकारी रामप्रसाद नेपालसहितको छानबिन समिति गठन गरेको थियो । समितिले अस्पतालका मेसु डा. लक्ष्मीनारायण यादवलाई प्रतिवेदन बुझाएको हो ।
समितिले बुझाएको प्रतिवेदनमा चिकित्सक र स्वास्थ्यकर्मीहरु गम्भीर दोषी नरहेको निष्कर्ष रहेको छ । यससँगै उपचारमा संलग्न चिकित्सक आकाश यादव र पारामेकिकल अफिसर टीका अधिकारी र लक्ष्मण माझीको लापरबाही नदेखिएकाले कामकाजमा खटिने अस्पतालका सूचना अधिकारी नेपालले बताए ।
‘शिशुलाई इमरजेन्सी वार्डमा देखाउँदा अक्सिजनको लेभल एकदमै न्यून रहेका कारण बच्चीको मुटुको चाल अन्त्यता कमजोर भएको उपचार संलग्न चिकित्सकले भनेको रहेछन् । चिकित्सकले बच्चाको चाल नभएको बताएपछि आफन्तले तत्कालै दाहसंस्कारका लागि घर लगेका रहेछन् । चिकित्सकले बच्चाको मृत्यु भयो भनेर भनेका रहेनछन्, यो कुरा शिशुका बुबाले पनि स्वीकार गरिसकेका छन् । अत्तालिएका आफन्तले बच्चा मरेको ठानेर तत्काल लिएर गएछन्,’ छानबिन प्रतिवेदनमा उल्लेख छ ।
प्रतिवेदन बनाउँदा पीडित, चिकित्सक र स्वास्थ्यकर्मीलगायत सबै पक्षको भनाइ समटिएको छ । शिशुका बुबाले चिकित्सकको केही दोष नभएको पनि बताएको छानबिन समितिमा सदस्य तथा अस्पतालका सूचना अधिकारी रामप्रसाद नेपालले बताए ।
चिकित्सकले बच्चाको चाल नभएको भनेपछि उनीहरूले दाहसंस्कार गर्ने उद्देश्यका साथ घर पु¥याएका थिए । घर पुगेको पाँच मिनेटपछि शिशुको पेट चल्न थालेको र लगत्तै गोल्डेन अस्पताल लगिएको प्रतिवेदनमा उल्लेख छ ।
तर, एक सातापछि मंगलबार बिहान साढे १० बजे शिशुको मृत्यु भएको थियो । मृत्युपछि उपचार खर्च बुझाएर आफन्तले सद्गदसमेत गरिसकेका छन् ।
शिशुमा सेतो तथा रातो रगतको कमी, निमोनिया, मिर्गौलाले काम नगरेको तथा इन्फेक्सन बढेकोलगायतका समस्या देखिएको थियो । आगामी दिनमा भने चिकित्सकले सचेत भई गम्भीर रूपमा काम गर्नुपर्ने सुझाव पनि प्रतिवेदनमा समेटिएको छ ।
श्वास प्रश्वासमा समस्या भएपछि मोरङको जहदा गाउँपालिका–३ भातिगन्जकी खुसी मुखियालाई जीवितै रहेको अवस्थामा अस्पतालको आकस्मिक कक्षमा कार्यरत मेडिकल अफिसर डा. आकाश यादवसहित अस्पतालका पारामेडिकल अफिसर टीका अधिकारी र लक्ष्मण माझीले एक हप्ता अगाडि (गत बिहीबार बिहान) मृत घोषणा गरेको आरोप लागेको थियो । जीवित शिशुलाई मृत घोषणा गरेर गम्भीर लापरबाही गरेको भन्दै आफन्तले उपचारमा संलग्न चिकित्सकमाथि हातपातसमेत गरेका थिए । घटनालगत्तै डा. प्रवीण झाको संयोजकत्वमा तीन सदस्य समिति गठन भएको थियो ।
सो समितिले जीवित शिशुलाई मृत घोषणा गर्ने चिकित्सक र स्वास्थ्यकर्मीहरूलाई प्रतिवेदन नआउन्जेलसम्मका लागि काम–काजमा रोक लगाएको थियो । अस्पतालका पारामेडिकल अफिसर टीका अधिकारी र लक्ष्मण माझी तथा चिकित्सक आकाश यादवलाई २४ घण्टे स्पष्टीकरण माग गर्दै काममा रोक लगाइएको थियो ।
प्रतिवेदन बुझेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पठाएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. लक्ष्मीनारायण यादवले बताए । मन्त्रालयले प्रतिवेदन हेरेपछि दिने निर्देशनअनुसार अगाडि बढ्ने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ईयूद्वारा नाइजरका लागि खटाएका दूत फिर्ता : प्रवक्ता
-
‘विपद् जोखिम न्यूनीकरणका लागि पूर्वाधार एवं जनचेता अभिवृद्धि आवश्यक’
-
सडक पूर्वाधारमा कर्णाली : ६ वर्षमा १५६.७६ किलोमिटर सडक कालोपत्रे
-
अरुण नदीमा पूजा गर्ने क्रममा एक जना बेपत्ता
-
ललितपुर जिल्लाभित्र बसोबास गर्ने माओवादी नेताहरुसँग छलफल
-
मनलाई जिते जित : आचार्य महाप्रज्ञले मनलाई देखाएको बाटो