सोमबार, १० मङ्सिर २०८१
ताजा लोकप्रिय
सिस्डोलको फोहोर व्यवस्थापन नहुँदा मेयर शाहप्रति स्थानीयको गुनासो
फोटोफिचर

सिस्डोलको फोहोर व्यवस्थापन नहुँदा मेयर शाहप्रति स्थानीयको गुनासो

बिहीबार, १२ माघ २०७९

काठमाडौँ । काठमाडौँ उपत्यकाको फोहर नुवाकोटको बञ्चरेडाँडामा व्यवस्थापन हुन थाले पनि सिस्डोलको फोहोरको पहाड व्यवस्थापन नगरेको भन्दै स्थानीयले गुनासो गरेका छन् । फोहोरको पहाड जुनसुकै बेला विस्फोट हुनसक्ने तथा गर्मी र बर्खायाममा दुर्गन्ध आउने, फोहोरको लिचेड पानी बग्ने समस्या हुने भन्दै व्यवस्थापन गर्न उनीहरुले काठमाडौँ महानगरपालिकालाई आग्रह गरेका छन् । 

स्थानीयका लागि काम गर्छौ भनेर विगतदेखि नै गरेका प्रतिबद्धता समेत महानगरले पूरा नगरेको भन्दै सिस्डोलमा थुप्रिएको फोहोर व्यवस्थापन गर्न काठमाडौँ महानगरप्रमुख बालेन्द्र शाहप्रति उनीहरुले गुनासो समेत गरेका छन् । सिस्डोलका स्थानीयले भोगेका समस्या र गुनासो उनीहरूकै शब्दमा : 

राजन न्यौपाने, स्थानीय 

हामीले फोहोर व्यवस्थापनका लागि धेरै पटक आन्दोलन पनि गर्‍यौँ तर काम भएन । विभिन्न प्रकारको रोग प्रकोप पनि फैलिएको छ । धेरै जना मान्छेहरूलाई क्यान्सर छ । फोहोरमैलाबाट भएको प्रदूषणले धेरै मानिसहरूलाई रोग लागेको छ । बालबालिका, जवान, वृद्ध सबैलाई स्वास्थ्यमा नकारात्मक असर परेको छ । 

यहाँ बाटो पूर्वाधार राम्रो होस, शिक्षा स्वास्थ्यको राम्रो प्रबन्ध होस भनेर फोहोर फाल्न दिएको तर भनेको अनुसार केही पनि काम भएन ।

आजभन्दा १७ वर्षअगाडि यहाँ २० शय्याको हस्पिटल बनाउने कुरा पनि आएको थियो, आसै आसमा केही पनि भएन । हामीले यहाँ फोहोर नै फाल्न दिँदैनौँ भनेका त छैनौँ । आफ्नो फोहोर राम्रोसँग व्यवस्थापन गरिदेऊ भनेको हो । पहिलाको मेयरले गर्नुभएन अहिलेको मेयर बालेन्द्र शाहलाई पनि तीन चार पटक भेट्यौँ । उहाँ यहाँ पनि आउनुभयो, चुनाव जित्ने बित्तिकै उहाँले के भन्नुभयो भने यहाँ त पाप नै गरेर बसेको रहेछ, तपाईंहरुले आवाज उठाउनु पर्दैन भनेर उल्टो उहाँले उकास्नुभयो । उहाँप्रति हामीलाई ठूलो आसा थियो, फोहोरलाई व्यवस्थित गर्नका लागि भन्यौ तर काम भएन । 

sisdole (20)

यो बर्खामा हुँदैन हिउँद लागेपछि काम गर्छौँ भन्नुभयो, माघ पनि आधाआधी गइसक्यो अहिलेसम्म केही कामको सुरुवात भएको छैन, कुनै योजना छैन । सिस्डोलको फोहोरको पहाड पहिला जे जस्तो अवस्थामा थियो भोलि पनि त्यही अवस्थामा रहन्छ । फोहोरको पहाड भोलि मिथेन ग्याँस जम्मा भएर भोलि विस्फोट हुनसक्छ भनेर प्राविधिकहरूले भनिरहेका छन् । बर्खामा त्यहाँ फोहोरको लिचेड पानी भुल–भुल उम्लिरहेको हुन्छ । हामीले त्यहाँको चेपे खोचमा फोहर हाल आवश्यक पर्ने जग्गा अधिग्रहण गर पनि भन्यौँ तर सुनेनन् । यहाँ फोहोर फाल्न छोड्ने हो भने त मज्जाको एउटा फुटबल ग्राउण्ड बन्न सक्छ । त्यसका लागि हामी सहयोग गर्छौँ भनेर पनि भनेको हो । 

हामीले स्वास्थ्य बीमाको कुरा पनि उठायौँ तर उहाँहरूले केही पनि गर्नुभएन । यहाँका मान्छेहरूले रोग लाग्यो भने न उपचार पाएका छन्, काठमाडौँ नै  जानुपर्छ । कति मान्छे क्यान्सर, मिर्गौला रोग, छालाका हरेक किसिमको रोग लागेर बितिसकेका छन् । मेरै बुबा पनि बिरामी हुनुहुन्छ, अरु पनि बिरामी छन् । अहिलेपनि केही सुनुवाइ भएको छैन । बञ्चरे डाँडामा लगेर फोहोर फाल्न थाले यो सिस्डोललाई त्यत्तिकै छाडिदिएका छन् । हाम्रो माग भनेको उहाँहरूले बनाएको फोहोरको पहाड व्यवस्थापन गर्नुपर्‍यो भन्ने हो । 

गन्ध हटाउने काम पनि भएको छैन । गर्मी महिनामा र पानी परेको बेला यो ठाउँमा बसिनसक्नुको अवस्था हुन्छ । चैत वैशाखबाट यहाँ बसीनसक्नुको अवस्था हुन्छ । जाडो महिनामा त झिँगा नहुनुपर्ने हो नि तर यहाँ अहिलेपनि झिँगा भन्किरहेको छ । 

महानगरसँग त्यति धेरै बजेट छ, यो सिस्डोल व्यवस्थापनका लागि योजना सार्वजनिक गर्नुस् भनेका छौँ । यो त गर्न सकिन्छ नि । फोहोरबाट मोहोर बनाउन सकिन्छ भन्ने अनि खै त त्यो योजना ल्याएको ? बर्खाको बेलामा प्राविधिक लिएर यताउता दौडनुभयो, अब यहाँ फोहोर आउन हामी उतै व्यवस्थापन गर्छौ पनि भन्नुभयो । काठमाडौँको फोहोर यता आउँदै आउँदैन उतै बिक्छ भन्नुभएको हैन ? खै त अहिलेसम्म काम भएको ? हामीलाई भुलभुलैयामा मात्र पार्न खोजिएको रहेछ । समय पर्याप्त भइसक्यो । उहाँको पहिलो प्राथमिकता फोहोर व्यवस्थापन भन्नुभएको थियो खै त ? काठमाडौँको फोहोर ट्रकमा उठाएर ल्याएर यहाँ फाल्दैमा समस्या समाधान हुने भए यहाँको समस्या चाहिँ समाधान गर्नुपर्दैन ? बञ्चरेडाँडामा त ठाउँ छ दीर्घकालीन रूपमा फोहोर राख्न मिल्ला तर यहाँ सिस्डोलमा फोहोरको डाँडा नै भएपछि त्यसको प्रभाव हुने भयो नि । हिजो सिस्डोलले ३ बर्ष धान्छ भनेको बेला त कसैले पनि त्यसको मतलब नै गरेको थिएन । त्यतिबेला प्रदूर्षण पनि भएको थिएन । फोहोर फालिएको थियो त्यसलाई माटोले पुरिएको थियो । बर्खायाममा पनि गन्ध आउँदैनथ्यो तर अहिले त सिस्डोलको डाँडा त माटो हालेर छेकिँदैन । बर्खा लागेपछि त फेरी यहाँ लिचडहरु बग्ने, गन्ध फैलिने त भइहाल्छ । प्राविधिकहरूले कुनै पनि बखत यो ९५ प्रतिशत बिस्फोट हुने सम्भावना छ भनिरहेका छन्, तपाईहरुको बस्ती जोखिममा छ भने प्राविधिकहरूले भनिरहेका छन् । चील गिद्ध कागले मरेका सिनोहरू बोकेर ल्याएर घरको छानामा फाल्ने गरेका छन् । उनीहरुले फालेको फोहोर त्यसलाई पर्खाल लगाएर व्यवस्थित गर्नु भन्दा मान्दैनन् हामीले के गर्ने ? 

रत्नबहादुर तामाङ, स्थानीय 

sisdole (18)

फोहोर ल्याउन विरोध गरेको बेला आँगनमा उभिन पाएको थिएन तानेर गाडीमा हालेर लान खोज्यो । बुढो मान्छेको कपडामा समातेर लछार र पछार गर्‍यो । अर्कोको गाउँमा फोहोर ल्याउनुछ अनि त्यसरी लछार र पछार गर्न पाइन्छ ? सल्लाहमा गर्नुपर्छ । मेरो जेठी बुहारी भर्खर मात्र आएर आँगनमा उभिएकी थिइन, उनलाई पनि तानेर लान खोजे । यहाँ केही सुविधा छैन, झिँगाले यहाँ बस्न दिएको छैन । न यहाँका मान्छेले रोजगारी पाएका छन्, हामीले बोल्न पनि नपाउने अवस्था छ । पुरुष पुलिस घरभित्र छिरेर बुहारीलाई तान्न गयो । जाडो महिनामा औषधी छरे पनि झिँगा आइरहेको छ । पहिलो बाटोमा पनि धेरै औषधी छर्थ्यो तर आजभोलि त्यो पनि छोडेको छ । बिरामी भए उपचार आफैले गर्नुपर्छ, उनीहरूको फोहोर सुँघेर बस्नुपर्ने बाध्यता छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया