शुक्रबार, ०७ मङ्सिर २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
अन्तरवार्ता

केपी ओलीलाई अझै माधव नेपालको डर छ : शेरबहादुर कुँवर

‘घनश्याम भुसाल आउनुभयो, अब भीम रावल ल्याउने वातावरण बनाउनुपर्छ’
बिहीबार, १२ माघ २०७९

काठमाडौँ । समानुपातिक निर्वाचन प्रणालीमा ३ प्रतिशतको थ्रेस होल्ड कटाउन नसकेपछि नेकपा (एकीकृत समाजवादी) राष्ट्रिय पार्टी बन्नबाट रोकियो । यस्तो अवस्थामा पार्टीभित्र नै अनेक खालका असन्तुष्टिहरू व्यक्त भइरहेका छन् । 

यसैबीच अन्य पार्टीसँग एकताको कुरा पनि चलिरहेको अवस्था छ । निर्वाचनको मत परिणामपछि यो पार्टी कहिलेसम्म रहन्छ भन्ने प्रश्न पनि खडा भएको छ । यसै सन्दर्भमा पार्टीका केन्द्रीय सदस्य तथा पूर्व श्रममन्त्री शेरबहादुर कुँवरसँग रोहित दाहालले गरेको कुराकानीको सम्पादित अंश :

निर्वाचनको मत परिणामपछि एउटा बहसको विषय बनेको छ, यो पार्टी कति लामो समय टिक्छ ? निर्वाचनको मत परिणामबाट त्यस्तो खालको आँकलन हुनु स्वाभाविक हो ? 

एउटा पार्टी स्थापना भइसकेपछि कति समयसम्म चल्छ/चल्दैन भन्ने कुरा हुँदै होइन । किनभने एउटा पार्टी क्षणिक समयको स्थापना भएको हुँदैन । हामीले नेकपा एमालेबाट विद्रोह गर्‍यौँ । त्यो विद्रोहका पक्षमा नेकपा एमालेका झण्डै ५० प्रतिशतभन्दा बढी थियो । अन्तिममा कतिले विद्रोहलाई साथ दिए भन्ने आफ्नो ठाउँमा छ । तर, चित्त नबुझेर पनि त्यहीँ बसेकाहरूको सङ्ख्या पनि ठूलो छ । 

हामीले निश्चित उद्देश्यको लागि विद्रोह गरेका थियौँ । पार्टीभित्र मौलाउँदै गएको अहङ्कार र व्यक्तिवाद यो कम्युनिस्ट आन्दोलनको लागि हितकार थिएन । विश्व कम्युनिस्ट आन्दोलन यस्तै खालका व्यक्तिवादी र अहङ्कारी सोचले गर्दा धेरै ठाउँमा कम्युनिस्ट आन्दोलनले धक्का खाएको छ । 

राष्ट्रिय पार्टी नभएको कारणले मोरल्ली हामीलाई दबाब परेको हो । त्यो चाही यथार्थ हो ।

तत्काल पपुलारिटी देखिए पनि विधि–विधानको व्यवस्थामा लागु नहुने, व्यक्तिका अहङ्कारले प्राथमिकता पाउने, व्यक्तिवादी संस्कारको विकास हुने, मान्छे स्वार्थहरूको समूह निर्माण हुने, यसले नै पार्टी कब्जा गर्ने र लामो समयदेखि काम गरेका जसले विधि विधान, विचार सिद्धान्तको कुरा गर्छ, उनीहरू किनारा लाग्ने । यस्तो प्रवृत्तिको विकास अन्य मुलुकहरूमा पनि भएका छन् । 

त्यसैले हामीले त्यसको विरुद्धमा विद्रोह गरेका हौँ । अब त्यो प्रवृत्ति सच्चियो कि सच्चिएन, ती ठिक ठाउँमा आए कि आएनन्, ती प्रवृत्तिले आफूलाई एक खालको रियलाइजेशन गर्न तयार भए कि भएनन् भन्ने कुरा महत्त्वपूर्ण हुन् ।

पार्टीभित्र स्पष्ट तीन वटा धार देखिन्छन् – एउटा नेकपा एमालेमै फर्किने, दोस्रो नेकपा माओवादी केन्द्रसँग पार्टी एकता गर्ने र तेस्रो अहिलेकै पार्टीलाई लिएर अघि जाने । यही तानातानकै आधारमा पार्टी रहन्न कि भन्ने आशङ्का देखिन्छ ? 

हैन, तानातानै त म देख्दिनँ । राष्ट्रिय पार्टी नभएको कारणले मोरल्ली हामीलाई दबाब परेको हो । त्यो चाही यथार्थ हो । किनकि लामो समयसम्म कम्युनिस्ट आन्दोलन हाँकेका व्यक्तिहरू हौँ । तत्कालीन एमालेको पृष्ठभूमि बनाउने व्यक्तिहरू हौँ । एमालेलाई व्यवस्थित र विकसित गर्ने व्यक्तिहरू नै ठूलो हिस्सा हामीसँग भएको हुनाले हामीले समानुपातिक निर्वाचन प्रणालीमा जति उपलब्धि हासिल गर्नुपर्थ्यो, त्यो हासिल गर्न सकेनौँ । त्यसका विविध कारणहरू छन् । त्यसबारे समीक्षा भइरहेको छ । 

यसमा तपाईंको व्यक्तिगत विचार के हो ? 

कम्युनिस्ट आन्दोलनमा एकता र संघर्ष चलिरहन्छ । एकता हुनुहुँदैन भन्ने लाइनको मान्छे होइन म । तर, हामीले जीवनको ठूलो हिस्सा व्यतीत गरेको पार्टीबाट किन विद्रोह किन गर्‍यौँ भन्नेमा केही कारण त थिए । ती कारणहरूका उत्तर आए कि आएनन्, मुख्य कुरा त्यो हो । जीवन्त कम्युनिस्ट आन्दोलनमा मेलमिलापको सम्भावना पनि हुन्छ, तिक्तताको सम्भावना पनि त्यत्तिकै हुन्छ । कहिलेकाहीँ वैचारिक र नीतिगत कुराहरू, सैद्धान्तिक कुराहरूमा मतभेद हुन्छ, त्यतिबेला एक ठाउँमा नबस्न पनि सकिन्छ । तर, वैचारिक सामीप्य भयो भने त्यतिबेला एक ठाउँमा आउन नसकिने कुरा पनि होइन । 

निर्वाचित सांसद १० जनामा मलाई लाग्छ हामी सबै जना जेनुन नै छौँ । एकाध मान्छेका व्यक्तिगत सोच होलान् ।

अब हाम्रो विद्रोहको मूल आधार भनेको त सिद्धान्तभन्दा पनि कार्यशैली नै मुख्य कुरा थियो । त्यो कार्यशैली अझै पनि सच्चिएको मलाई लागेको छैन । मेरो त स्पष्ट अडान के छ भने हामीसँग १० सिट छन्, १/२ सिट भएका पार्टीहरू फुर्तीफार्तीका साथ आफ्नो अडानमा उभिएका छन् । यत्रो शक्ति भएको देशव्यापी रूपमा सबैबाट ६ हजार ७४३ वडामै संगठन भएको, ७५३ पालिकामा संगठन भएको, ७७ वटै जिल्लामा संगठन भएको, सातै प्रदेशमा संगठन भएको पार्टीले एकदमै तिलमिलाउनुपर्ने केही पनि छैन । 

जहाँसम्म तीन धारको कुरा गर्नुभयो, केही मान्छेहरू रोमाञ्चका लागि पार्टीमा लागेका हुन्छन् । उहाँहरूले सत्ताको राजनीति गर्छन्, शक्तिको राजनीति गर्छन् । ती मान्छेहरू तिरमिराउँछन् । 

तपाईंहरूको पार्टीमा त्यसको सङ्ख्या बढी छ ? 

होलान्, बढी भए त गइहाल्थ्ये होलान् । निर्वाचित सांसद १० जनामा मलाई लाग्छ हामी सबै जना जेनुन नै छौँ । एकाध मान्छेका व्यक्तिगत सोच होलान् । अधिकांश हामी लामो समयदेखि राजनीति गरेर आएका छौँ । लामो राजनीतिक पृष्ठभूमिका मान्छे भएकाले घबराउने, धरमराउने खालका होइनौँ । एक्लै भयौँ भने पनि एकदम अडानका साथ बसिरहने मान्छे हौँ । 

केपी ओलीसँगको कार्यशैली मिलेन होला । तर, शेरबहादुर कुँवर भीम रावलसँग कसरी छुट्टिनुभयो भन्ने प्रश्न पनि छ ?

ती प्रश्नहरू धेरै पहिला पनि उठे ।  भीम रावलले शेरबहादुर कुँवर बनाएको कि शेरबहादुरले भीम रावल बनाएको भन्ने भन्दा पनि हामीले एक अर्कालाई बनाएका हौँ । एक अर्कालाई सहयोग गरेका हौँ । उहाँ एउटा नेतृत्व लेभलमा हुनुहुन्थ्यो म कार्यकर्ता लेभलमा थिएँ । यद्यपि मेरो पृष्ठभूमि पनि लामै हो । ४० वर्षभन्दा बढी समय मैले त्यो पार्टीमा बिताए । 

उहाँसँगको सहकार्य किन टुट्यो त तपाईंको ? 

त्यतिबेला सहकार्य मैले टुटाएको होइन, उहाँहरूले टुटाएको हो । पहिला हामी विद्रोहमा लाग्यौँ । उहाँहरू १० भाइ पनि सक्रिय हुनुभयो । १० भाइले नै नेतृत्व लिइराख्नुभएको थियो । तर अन्तमा उहाँहरू युटर्न हुनुभयो । अब हामीहरूले युटर्न हुनुहुँदैन भन्यो । एकअर्काको विरुद्धमा जथाभावी बोलिएको छ । धेरै कुराहरू ओकलिए । त्यतिबेला या त बोल्नुहुँदैन थियो, या त गर्नुहुँदैन थियो । भन्छन् नि कहिलेकाहीँ झगडा गर्दा खेरी पनि पानी खाने ठाउँ राख्नुपर्छ । 

मेरो विद्रोही स्वभाव होइन । आफूलाई दिएको जिम्मेवारी मजासँग गर्ने, धेरै इच्छा आकांक्षा पनि नराख्ने, महत्त्वाकाङ्क्षा पनि नराख्ने, निरन्तर पार्टीको चिन्ता गर्ने, जनताको चिन्ता गर्ने र जनताकै बीचमा रमाउने मेरो स्वभाव हो । काठमाडौँको यो बजारिया जीवनभन्दा पनि गाउँले जीवनमा रमाउने । हाईफाई भन्दा पनि सादगी जीवन बिताउने मान्छे हुँ म । तर हामीलाई यता तयार गर्नुभयो र डिलमा पुर्‍याउनुभयो, तर उहाँहरू युटर्न हुनुभयो । 

अब उहाँको लागि पनि नेकपा एमाले अनुकूल बनिरहेको छैन । नेकपा एमाले दिनप्रतिदिन उहाँको लागि प्रतिकूल बनिरहेको छ ।

तर, उहाँको सदाशयता यस पटकको निर्वाचनमा रह्यो भन्ने छ ? 

त्यो त रह्यो होला । शेरबहादुरकै विरुद्धमा भनेर त उहाँ जानुभएन । विरुद्धमा नजानु भनेको पनि एक खालको समर्थन हो, सहयोग हो । फेरि मैले आश गर्ने कुरा पनि हो । किनभने लामोसम्म उहाँहरूकै कार्यकर्ता भएर लाग्यौँ, उहाँलाई नै धुरी मानेको हो नि हामीले । 

अब भीम रावल तपाईंको पार्टीमा आउने कि तपाई उहाँको पार्टीमा आउने ? 

कसलाई कहाँ पुर्‍याउँछ भन्ने कुरा परिस्थितिजन्य कुरा हो । अब उहाँको लागि पनि नेकपा एमाले अनुकूल बनिरहेको छैन । नेकपा एमाले दिनप्रतिदिन उहाँको लागि प्रतिकूल बनिरहेको छ । त्यसरी उहाँ जतिको व्यक्तिको चलायमान नभई बस्नु भनेको कम्युनिस्ट आन्दोलनको लागि घाटा हो । राष्ट्रिय मुद्दामा दृढताका साथ बोल्ने, राष्ट्रिय मुद्दालाई एकदमै उठाउने, राष्ट्रियताको बारेमा प्रखरता देखाउने मध्येको सायद उहाँ पहिलो नम्बरमा नै आउनुहुन्छ । 

उहाँलाई तपाईंको पार्टीमा आउन भन्नुहुन्छ कि ? 

उहाँको र मेरो सम्बन्ध व्यक्तिगत रूपमा कहिल्यै बिग्रिएन । हामी एकै ठाउँमा मान्छे हौँ । लामो समयदेखि सहकार्य गरेका हौँ । उहाँलाई नै धुरी मानेर सुदूरपश्चिमकाले राजनीति गरेका हौँ । सफल पनि भएका हौँ । तर यता उहाँलाई आउनको लागि वातावरण बनिहालेको छैन । 

भन्नाले नेकपा एकीकृत समाजवादीमा भीम रावलको लागि ठाउँ छैन भन्नुभएको ? 

ठाउँ त किन नहुनु ? त्यतिको व्यक्तित्वलाई यो पार्टीमा ठाउँ नहुने त कुरै भएन । अब वातावरण बनाउनुपर्छ । उहाँ जत्तिको व्यक्तित्वले यहाँ आउँदा खेरी साधारण सदस्य भएर त आउँदैनन् । घनश्याम भुसाल आउनुभयो, सचिवालयमा आउनुभयो । भीम रावल जतिको व्यक्तित्व आउनुभयो भने यो पार्टीलाई हाँक्ने गरी आउनुपर्छ । 

तत्काल पार्टी अध्यक्ष बनाउन सकिन्छ उहाँलाई ? 

हैन, पार्टी अध्यक्ष त अहिले माधव नेपाल हुनुहुन्छ । पछि के गर्ने के नगर्ने भन्ने पार्टीले सोच्ने कुरा हो । अहिले माधव नेपाल नै पार्टी हाँकिराख्नुभएको छ । यस्तो अवस्थामा उहाँलाई छोडेर भीम रावललाई त भन्ने कुरा हुँदैन । 

भीम रावललाई एकीकृत समाजवादीमा आउनको लागि आह्वान गर्नुहुन्छ कि नाइँ ?

उहाँका अधिकांश कार्यकर्ताहरू एकीकृत समाजवादीमा छन् । केही मान्छेहरू नेकपा एमालेमा होलान् । तर उनीहरू रनभुल्लमा नै छन् । कता जाने के गर्ने भन्ने किसिमले । तल तल पनि अपमानित भएका छन् । वडा सदस्यदेखि लिएर संघीय सांसद्मा टिकट पाउनेसम्म अपमानित भएका छन् । जसले पाए, असफलता हासिल गरे । त्यसकारणले उहाँहरूले सोच्नुपर्ने अवस्था छ । नेकपा एकीकृत समाजवादीमा आउने कि, कम्युनिस्ट केन्द्र खोल्ने कि, के गर्ने भन्ने कुरा त उहाँहरूकै हातमा छ । 

घनश्याम भुसाललाई के तपाईंहरूले महासचिव बनाउँदै हुनुहुन्छ ? 

अहिले नेतृत्वले के सोचेको छ, त्यही होला । तर, घनश्याम भुसाल जी आउनुभएको छ, उहाँ पार्टीमा राम्रै स्पेस लिनुहुन्छ । किनकि देशभरि उहाँको नेटवर्क छ । वहाँ एउटा सैद्धान्तिक व्यक्तित्व हो । सैद्धान्तिक व्यक्तित्वका अहिले कम्युनिस्ट आन्दोलनमा खडेरी छ । टपर्टुय्याँ, उखानटुक्का, अनेकनखालका तिकडम गर्नेहरूको सङ्ख्या धेरै छ । सिद्धान्तको जगमा उभिने मान्छेहरूको खाँचो छ । सैद्धान्तिक जगमा उभिएर आफूलाई मोबिलाइज गर्न सक्ने मान्छे घनश्याम भुसाल हो । 

माधव नेपाललाई मन पराउने सङ्ख्या पनि एमालेभित्र ठूलो छ । उहाँलाई डर होला ।

केपी ओलीको स्पष्ट धारणा छ कि नेकपा एकीकृत समाजवादीसँग पार्टी एकीकरण हुँदैन । किनभने उसको नीति, विचार, कार्यक्रम एउटै छ एमालेको जस्तै । त्यसैले उहाँले त तपाईंको पार्टीलाई पार्टी नै मान्नुभएको छैन । त्यसपछि माधव नेपाल बाहेक सबलाई आउनुहोस् भन्नुभएको छ ?

उहाँको काम गराई र बोलाइमा धेरै फरक छ । एकदिन अगाडि प्रचण्डलाई पनि ठाउँ हुन्छ र ? प्रचण्डको समय सकियो भन्ने मान्छे, यूटर्न भएर आधा घण्टामा प्रचण्डलाई प्रधानमन्त्री बनाउन जानुहुन्छ । उहाँले के गर्नुहुन्छ, के गर्नुहुन्न कुनै ठेगानै हुँदैन । त्यसैले उहाँको बोलीमा त हामीले विश्वास गर्दैनौँ । 

उहाँको भनाई के हो भने माधव नेपालबिनाको एकता । अब कमाण्डरलाई एकतामा सामेल नगर्ने रे, अनि पछाडिका आऊ भन्दा कोही जान्छ ? व्यक्तिगत ढंगबाट कोही पनि जानेवाला छैनन् । उहाँले सोचेअनुसार हामीले तिरमिराउनुपर्ने केही कारण छ ? कम्युनिस्ट पार्टीका कार्यकर्ताहरू कठिन कालमा पनि आफ्नो अडानमा दृढताका साथ उभिएका हुन्छन् । 

माधव नेपाललाई मन पराउने सङ्ख्या पनि एमालेभित्र ठूलो छ । उहाँलाई डर होला । अहिले जसरी एकल ढंगबाट अगाडि बढिराख्नुभएको छ, माधव नेपालको मात्र उपस्थिति रह्यो भने त्यो त रहँदैन नि त्यहाँ ।  

तपाईं निवर्तमान श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री हुनुहुन्छ । नयाँ श्रममन्त्री नियुक्त हुने बित्तिकै विवादमा पर्नुभयो । स्वार्थ बाझियो भन्ने कुरा छ । तपाईंले मन्त्रालयको नेतृत्व सम्हालेपछि समस्या के पाउनुभयो, नयाँ मन्त्रीलाई सुझाव के दिनुहुन्छ ? 

मन्त्रालयमा मेरो प्रवेश हुने बित्तिकै मैले मन्त्रालयका पदाधिकारीहरूलाई भनेको थिएँ, म छोटो समयको लागि मन्त्रीको रूपमा आएको छु, आफ्नो निष्ठामा बाँचेको मान्छु पनि हुँ । त्यसैले कुनै पनि विवाद हुने खालका फाइलहरू, विवाद हुने खालको निर्णयहरूमा नजाऔँ । हामी मजदुरको पक्षमा नै काम गरौँ । उनीहरूको पीडामा मलमपट्टी कसरी लगाउन सकिन्छ, केही हामी नीतिगत सुधार गरौँ । 

यो श्रम मन्त्रालयमा मात्र होइन, यो रोजगार मन्त्रालय पनि हो । रोजगारको अर्थ भनेको रोजगारलाई प्रवर्द्धन गर्ने हो । नेपालमा कसरी रोजगारी सिर्जना गर्न सकिन्छ ? रोजगारका क्षेत्रहरू कहाँ कहाँ हुन्, ती क्षेत्रमा हाम्रो उपस्थिति के छ ? ती क्षेत्रलाई व्यवस्थित गरेर अझै रोजगारी सिर्जना गर्न सकिन्छ वा नयाँ नयाँ कार्यक्रम दिएर अझै रोजगारीलाई व्यवस्थित गर्न सकिन्छ भन्ने कुरामा नै म केन्द्रित रहेको थिए । जसले गर्दा भनेर वैदेशिक रोजगारीमा फर्केकाहरूलाई पुनः एकीकरणको कार्यक्रम ल्याऔँ । त्यो नीति पनि लागू गर्‍यौँ । र त्यो नीति लागू गर्दा खेरी स्थानीय तहलाई पनि जोडेका छौँ । त्यहाँबाट आएको पुँजीलाई परिचालन गरिदिऔँ, थप पुँजी राज्यले लगानी गरोस्, दाताहरूले पनि गरोस्, जसले गर्दा खेरी हाम्रो रोजगारी सिर्जना हुन सकोस् । उहाँहरूको जीवनको उत्तरार्ध दुखमय नहोस् भन्ने हाम्रो नीति हो । 

त्यसपछि हामीसँग सामाजिक सुरक्षा कोष छ । त्यसमा झण्डै ३० अर्ब पैसा छ । वर्षका ६/७ प्रतिशत ब्याज खाएर त्यो कोष अगाडि बढ्दैन । त्यो कोषबाट मजदुरहरूको सुरक्षाको कुरा र त्यो कोषबाट अझै रोजगारी सिर्जना गर्ने कुरामा पनि ध्यान दिनुपर्छ भनेर अगाडि बढ्यौँ । हुण्डी कारोबार धेरै पैसा गैर कानुनी रूपमा आइरहेको छ भनेर त्यसलाई नियन्त्रण गर्नको लागि योजना तयार गर्‍यौँ । 

इमान्दार भयो भने श्रम मन्त्रालयमा देखिएका समस्या नियन्त्रण त नभनौँ धेरै हदसम्म न्यूनीकरण गर्न सकिन्छ होला है ?

हो । मैले ३ महिना जति काम गरेँ । २ महिना चुनावमै गयो । तीन महिनामा जे मैले बुझ्ने अवसर पाएँ, त्यो मेरो लागि एउटा पाठ हो । श्रम मन्त्रालयमा जाँदा मलाई पनि डर थियो । अनेक खालका झन्झट आइलाग्छन् कि भन्ने थियो । तर, मन्त्रालयको सबै टिम लागेर गलत निर्णय गर्ने कुरामा हामी लागेनौँ । जसको कारणले केही हामीले सुधार गर्ने बाटो चाहिँ खोलिदिएका छौँ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया