प्रेमप्रसाद आचार्यको नियति र युवा उद्यमीहरूले भोग्नुपरेको समस्या
एउटा भनाइ छ, ऋण लागोस् तर दिन नलागोस् । पञ्चकन्या–६ इलामका युवा उद्यमी प्रेमप्रसाद आचार्यलाई ऋण लाग्यो । अनि दिन पनि लाग्यो । ऋणको भासमा डुबेपछि मंगलबार उनले निकै अप्रिय निर्णय लिए, संघीय संसद् भवन अगाडि आफ्नै शरीरमा पेट्रोल खनाएर आत्मदाह गरे ।
आफूलाई प्रतिनिधि पात्रको रूपमा प्रस्तुत गर्दै नेता र नेतृत्वले युवा उद्यमीहरूको समस्या समाधान गर्न दबाब दिए आचार्यले । त्यसैले त आत्मदाहको स्थान संघीय संसद् भवन अगाडि रोजे । विडम्वना उपचारको क्रममा बुधबार बिहान उनको दुःखद मृत्यु भएको छ ।
प्रेम आचार्यको पछिल्लो घटनाले पनि नेपालमा उद्यमीको अवस्था कत्तिको दयनीय छ भन्ने कुरा उजागर गरेको छ ।
संयुक्त राष्ट्र संघका पूर्व महासचिव कोफी अन्नानले भनेका थिए, ‘म पहिले भन्दा बढी विश्वस्त छु कि कुनै पनि समाज जसले आफ्नो युवाहरूको ऊर्जा र रचनात्मकतालाई प्रयोग गर्न सफल हुँदैन, त्यो पछाडि छोडिनेछ ।’
पछिल्लो समय युवाहरू प्राविधिक, सामाजिक, राजनीतिक र आर्थिक विकासका विभिन्न गतिविधिमा संलग्न भइरहेका बेला अन्नानको यो भनाइ थप सार्थक सिद्ध हुन्छ ।
युवाहरू कुनै पनि देशका मेरुदण्ड हुन् । विशेष गरी उनीहरूले देशलाई नयाँ दिशामा लैजान भूमिका खेल्छन् । कुनै पनि देशको अर्थतन्त्रमा युवाको सहभागिताले देशलाई उन्नतितर्फ लैजानको लागि विशेष ऊर्जा दिन्छ । युवा उद्यमीहरूहरूले नयाँ उत्पादन आविष्कार गरिरहेका छन्, जसले देशको अर्थतन्त्रलाई थप चलायमान बनाउँदैछ र नयाँ रोजगारीका अवसरहरू सिर्जना गर्दैछ ।
सरकारी नीतिः देखावा मात्रै
नेपालमा राष्ट्रिय युवा परिषद् ऐन, २०७२ अनुसार १६ देखि ४० वर्ष उमेर समूहलाई युवा मानिएको छ । यो उमेर समूहले कुल जनसंख्याको करिब ४१ प्रतिशत हिस्सा ओगटेको छ ।
युवाहरूको यति ठूलो जनसंख्या भए पनि, नेपालले युवा प्रतिभाको सदुपयोग गर्न सकेको छैन । बरु धेरै युवाहरू राम्रो अवसरको खोजीमा देश छोड्न बाध्य छन् ।
वैदेशिक रोजगार विभागका अनुसार दैनिक २ हजारभन्दा बढी मानिस वैदेशिक रोजगारीमा जाने गरेका छन् । त्यसैले, युवाहरूलाई स्वदेशभित्रै बसेर देशको अर्थतन्त्रमा योगदान पुर्याउनका लागि प्रेरित गर्न सरकारले उद्यमशीलता प्रवर्द्धनका आकर्षक नीति तथा योजनाहरू ल्याउनुपर्छ ।
यद्यपि, प्रायः सबै सरकारले बजेट तथा अन्य कार्यक्रमहरूमार्फत् युवा उद्यमीहरूका लागि आकर्षक नीति तथा योजना घोषणा गर्ने गरे पनि ती योजना र नीतिबाट उनीहरूले ठोस लाभ पाउन सकेका छैनन् ।
विगतको सरकारले बजेटमार्फत् शैक्षिक प्रमाणपत्र पेश गरेर ऋण उपलब्ध गराउने वाचा गरे पनि उचित प्रक्रियाविना प्रभावकारी कार्यान्वयन हुन सकेको छैन ।
त्यस्तै, चालू आर्थिक वर्षको बजेटमा स्टार्टअपका लागि बीउ पुँजी (सिड क्यापिटल)उपलब्ध गराउन २६ करोड बजेट विनियोजन र नयाँ स्टार्टअप व्यवसायलाई टेवा पुर्याउने उद्देश्यले सातवटै प्रदेशमा इन्क्युबेशन सेन्टर स्थापना गर्ने योजना ल्याइएको छ । तर पनि ठोस योजना र कार्यविधिको अभावको कारण लक्षित समूहले लाभ पाउनेमा शंका छ ।
त्यस्तै, उद्यमीहरूलाई नयाँ सेवा वा उत्पादनमा अनुदान सुविधा उपलब्ध गराउने उद्देश्यले २०७६ सालमा अर्थ मन्त्रालयले नवप्रवर्तन कार्यविधि २०७६, लागू गरेको थियो । यसमार्फत् नयाँ सोच र आर्थिक आवश्यकता भएका उद्यमीहरूले अनुदानका लागि आवेदन दिन सक्ने व्यवस्था गरेपनि धेरै उद्यमीहरूले यो प्रक्रिया अस्पष्ट र लामो भएको गुनासो गरेका छन् ।
उद्यमीहरूको हितका लागि सरकारले यस्ता साना पहलहरू गर्दै आएको भएपनि उनीहरूको लागि सरकारले नीतिगत तहमा साँच्चै फाइदाजनक ठोस पहल अझै गर्न सकेको छैन । सरकारले युवा उद्यमीका लागि आकर्षक योजनाहरू घोषणा त गरेको छ । तर, राजनीतिक अस्थिरता र बारम्बार सरकार परिवर्तनले विगतका सरकारका योजनाहरूको कार्यान्वयनमा ढिलाइ हुने वा रोकिने गरेका छन् ।
नेपालमा समस्या
नेपाल जस्तो प्राविधिक रूपमा पछाडि परेको र व्यावसायिक वातावरण कमजोर भएको मुलुकमा उद्यमीहरूका लागि धेरै चुनौती छन् । नेपालका उद्यमीहरूले पूर्वाधारको अभाव, बजेटमा कम पहुँच, नीतिगत अनिश्चितता ,लगानीकर्तासँगको कमजोर सञ्जाल, प्रक्रियागत अनिश्चितता, युवा तथा उद्यमीसँग सम्बन्धित नीतिको अभाव जस्ता समस्याको सामना गरिरहेका छन् ।
उद्यमीहरूले स्टार्टअपको वातावरण प्रवर्द्धन गर्न नसकेको भन्दै सरकार र लगानीकर्तासँग गुनासो गर्दै आएका छन् भने युवा उद्यमशीलतालाई सहयोग पुर्याउन सरकारले पर्याप्त भूमिका खेल्न नसकेको भन्दै चिन्ता पनि व्यक्त गर्ने गरेका छन् ।
हाल स्टार्टअप डाक्टर होम केयर सञ्चालन गर्दै आएका प्रशान्त भट्टराईका अनुसार ‘लगानीकर्ता र नयाँ स्टार्टअप बीचको इकोसिस्टम राम्रो अवस्थामा छैन । लगानीकर्ताहरूले स्टेजमा लगानी गर्ने वाचा गर्छन् तर पछि कुरा गर्दा राम्रोसँग जवाफ नदिने समस्या छ’ ।
उनी थप्छन् ‘नेपालमा लगानीकर्ता राम्रो नाफा उत्पादन गर्ने स्थापित कम्पनीहरूमा मात्र आकर्षित हुन्छन्, यसले राम्रो योजना भएका तर लगानीको अभावमा नयाँ स्टार्टअपहरूलाई मद्दत गर्दैन ।’ उनका अनुसार नेपालमा उद्यमीहरूले बजेटको पहुँच, शिक्षा र तालिमको अभाव, पूर्वाधारको समस्या र सञ्जाल निर्माणको समस्या जस्ता समस्या झेलिरहेका छन् ।
त्यस्तै, आयात निर्यात व्यवसायका लागि सेवा प्रदान गर्ने तुफान एक्सप्रेस नामक व्यवसाय सञ्चालक ग्रिश लम्सालले भने, ‘स्टार्टअप व्यवसायलाई सहयोग गर्न सरकारले आवश्यक भूमिका खेलेकै छैन ।’ उनका अनुसार युवालाई नयाँ व्यवसाय स्थापना गर्न आर्थिक वा नीतिगत तहमा सहयोग गर्ने कुरामा सरकारको भूमिका नगण्य छ ।
नयाँ सोच र योजना भएका नयाँ स्टार्टअपलाई सहयोग गर्न सरकारले पर्याप्त भूमिका निर्वाह गरोस् भन्ने उनको चाहना छ । उनका अनुसार सरकारले युवा उद्यमशीलतालाई सहयोग पुर्याउन पर्याप्त भूमिका खेल्ने हो भने यसले नेपालको अर्थतन्त्रमा लामो समयदेखि नकारात्मक असर पार्दै आएको व्यापार घाटा कम गर्न पनि सहयोग पुग्छ ।
त्यसै गरी केही नयाँ उद्यमीहरूका अनुसार उनीहरूलाई स्थानीय स्थापित व्यवसायसँग प्रतिस्पर्धा गर्न ठूलो समस्या रहेको छ, उनीहरूका अनुसार अधिकांशले सिन्डिकेट चलाएका छन् । किसान वा उत्पादकले बेच्ने उत्पादन पनि सिन्डिकेटको डरको कारण नयाँ उद्यमीलाई बेच्न हिचकिचाउँछन् । उनीहरू भन्छन्, सिन्डिकेटका कारण उनीहरूलाई व्यवसाय सुरु गर्न समस्या भएको थियो र नयाँ व्यवसाय थालनी गर्दा सिन्डिकेटको समस्या झेल्नुपरेको भन्दै योजना नै स्थगित गर्नुपरेको थियो । आत्मदाह गर्न बाध्य भएका प्रेम आचार्यले पनि यस्तै नियति झेल्नु परेको देखिन्छ ।
निजी तहमा केही संस्थाहरू स्थापना भएका छन्, जसले युवा उद्यमीहरूको हित प्रवर्द्धन गर्ने वकालत गर्छन् तर सरकारी स्तरमा युवा उद्यमीहरूको हित प्रवर्द्धन गर्ने उद्देश्यले कुनै पनि विशेष संस्था छैनन् ।
यद्यपि अमेरिका जस्ता विकसित देशहरूमा उद्यमशील विकासको कार्यालय (ओईडी) विभागको रूपमा स्थापना गरिएको छ, जसले साना व्यवसायहरूको कार्यक्रम र सेवाहरूको पर्यवेक्षण गर्दछ । र, उनीहरूलाई आवश्यक तालिम र परामर्श प्रदान गर्दछ ।
त्यस्तै, भारतमा सीप विकास र उद्यमशीलता मन्त्रालयको रूपमा छुट्टै मन्त्रालय छ, जुन विशेष गरी उद्यमीहरूको हित प्रवर्द्धन गर्न स्थापना गरिएको हो ।
अन्य देशहरूले उद्यमशीलतालाई बढावा दिन र उद्यमशीलतामा लचिलोपन निर्माण गर्न सक्रिय रूपमा काम गरिरहेका छन् । नेपालले भने युवाहरूलाई उद्यमशील गतिविधिहरूमा प्रोत्साहित गर्ने काम पनि गर्न सकेको छैन । देशभित्रै स्टार्टअपलाई सफल बनाउन, रोजगारी सिर्जना गर्न र देशको अर्थतन्त्रमा उल्लेखनीय प्रभाव पार्न सरकारका साथै निजी तथा वित्तीय क्षेत्रको गम्भीर प्रतिबद्धताको पनि आवश्यक रहेको छ ।
देशले आफ्ना युवाहरूलाई आफ्नो व्यवसाय सुरु गर्ने राम्रो अवसर प्रदान गर्नुपर्छ । ताकि, उनीहरूले देशको आर्थिक र प्राविधिक विकासको प्रक्रियामा महत्त्वपूर्ण योगदान पुर्याउन सकुन् । अन्यथा, अधिकांश सामाजिक तथा आर्थिक परिसूचकहरूमा पछि परेको र प्राविधिक रूपमा कमजोर रहेको नेपालजस्तो मुलुक प्राविधिक विकास र आर्थिक समृद्धि हासिल गर्न अन्य देशहरू भन्दा अझै पछि पर्नेछ । साथै, प्रेम आचार्य जस्ता युवा उद्यमीहरूले आत्मदाह गर्ने नियति भोगिरहनु पर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वायु प्रदूषणका कारण दिल्लीमा सङ्कटकालको जस्तो अवस्था
-
चितवन राइनोजको जर्सी र मस्कट सार्वजनिक
-
शान्ति सुरक्षासँगै अनुशासन कायम गराउन आवश्यक छ–गृहमन्त्री लेखक
-
लरेन्स बिश्नोईका भाइ अनमोल पक्राउ परेको खबरमा अमेरिकाले के भन्यो ?
-
अवैध चुनढुङ्गा उत्खनन गरेको भन्दै अर्घाखाँची सिमेन्टविरुद्ध मुद्दा, अध्यक्ष मुरारका ४ लाख धरौटीमा रिहा
-
इरानको परमाणु केन्द्रमा इजरायलले गर्यो आक्रमण