एकताको दार्शनिक आयाम
पछिल्लो समय एमाले–माओवादी केन्द्रबीचको एकता प्रसङ्गले राष्ट्रिय राजनीतिमा व्यापक तरङ्ग पैद गरेको छ । सबैको ध्यान यसैमा केन्द्रित भइरहेको छ । यद्यपि एकता जस्तो जटिल विषय रातारात हुने विषय थिएन । यद्यपि नेतृत्वबीच चरण–चरणमा सामूहिक र वान–टु–वान वार्ताहरू भए । फागुन ७ गते राति बालुवाटारमा बसेको एकता संयोजन समितिको वैठकले एकतासम्बन्धी ७ बुँदे आधारपत्रमा हस्ताक्षर गरेको छ । यसमा एकीकृत पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी र मार्गदशक सिद्धान्त माक्र्सवाद–लेनीनवाद हुने उल्लेख छ । माओवाद, २१औँ शताब्दीको जनवाद र बहुदलीय जनवादको सवाललाई महाधिवेशनमा लगेर टुङ्ग्याउने सहमती भएको छ । दुई वर्षभित्र महाधिवेशन सहमतीमा गर्ने भनिएको छ । पार्टी अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री केपी ओली आलोपालो गर्ने सहमती पत्रमा उल्लेख छ ।
नेपाली कम्युनिस्ट आन्दोलनमा टुट्फुट र बिग्रहको शृङ्खला नयाँ विषय होइन । यसको तीतो अनुभव र पीडा हामीले नराम्ररी खेपेका छौँ । झण्डै सात दशक लामो इतिहासमा धेरै घुम्ती र आरोह–अवरोह भोगेका छौँ । सामन्यतयः एकता भन्ने बित्तिकै सही र फुट भन्ने वित्तिकै गलत अर्थ लगाउने परम्परा छ । तर सबै एकता सही र सबै फुट गलत हुँदैन । मूलतः एकता र फुटको उद्देश्य र हितमा अन्तरनिहीत प्रगतिशील र न्यायिक राजनीतिक अन्तरवस्तुमा यसको दूरगामी प्रभाव अन्तरनिहित हुन्छ । एकता किन र कसका लागि भन्ने प्रश्नभित्र यसको औचित्य लुकेको हुन्छ । यो एकताको सार्वभौमिक द्वन्द्ववाद हो ।
वस्तुतः विद्यमान अन्तरविरोधहरू हल गर्दै समाज रूपान्तरण गर्ने महान ऐतिहासिक प्रक्रियामा आधारित एकता अपरिहार्य र सत्य हो । तर टालटुले र प्राविधिक एकता भ्रम हो । वास्तवमा कसैलाई रहर लाग्दैमा एकता र झोँक चल्दैमा फुट हुँदैन । व्यक्तिगत र गुटगत स्वार्थमा पनि एकता र फुट हुँदै आएको छ । तर साँचो एकता र फुट त सङ्घर्षपूर्ण इतिहासको निर्मम आवश्यक्तामा हुने गर्छ । परिणामविहीन चक्रव्यूहमा फसेको राष्ट्रिय राजनीतिक कोर्सलाई परिवर्तनको दिशातर्फ फड्को मार्ने वा गति पैदा गर्ने मूल्यमा एकता वा फुट जायज हुन्छ । माओवादी र एमालेबीचको एकता पनि यही द्वन्द्ववादी मान्यतामा हुनु जरुरी छ । यस आलेखमा एकताका मूलभूत सवालहरूको सन्दर्भमा चर्चा गरिएको छ ।
(क) मार्गदर्शक सिद्धान्तः मूलतः मालेमावाद नै कम्युनिस्ट पार्टीको मार्गदर्शक सिद्धान्त हो । यसले मानव समाजको विकास प्रक्रियालाई ऐतिहासिक द्वन्द्वात्मक भौतिकवादी दृष्टिकोणबाट व्याख्या र विश्लेषण गर्छ । माक्र्सवादी दार्शनिक प्रस्थापनाले समाज रूपान्तरणको लागि गरिएको सङ्घर्षलाई ऐतिहासिक भौतिकवादी प्रक्रियाकोरूपमा ग्रहण गर्छ । हरेक भौतिक सत्ताहरूको अस्तित्व विपरीतहरूको एकत्वमा निर्भर हुन्छ । यही सत्ताहरूको एकता, द्वन्द्व र पुनः रूपान्तरणसहितको एकताको निरन्तर प्रक्रियाबाट नै वस्तुको चरित्र बदलिने गर्छ । माक्र्सवादले मानव समाजलाई विपरीतहरूको एकत्वका रूपमा स्वीकार गर्छ । यसले अन्तरविरोधहरूकै कारण समाजमा द्वन्द्व हुने सार्वभौमिकताको वकालत गर्छ । माक्र्सले यसलाई दार्शनिक भाषामा वर्गसङ्घर्ष भनेर परिभाषित गर्नुभयो । यो समाज रूपान्तरण गर्ने सार्वभौम सङ्घर्षको विज्ञान पनि हो ।
त्यसैले कम्युनिस्ट पार्टी विचको एकता पथप्रदर्शक सिद्धान्तमा स्पष्ट भएर गर्नुपर्दछ । यो तात्कालिक र कसैको निहित स्वार्थ वरिपरि हतार, लहड र झोँकमा गर्ने विषय हुँदै होइन । वास्तवमा वैचारिक रसायन मिलेन भने एकताको जडान कमजोर हुन्छ । किनभने यसको जोड्ने कडी वा केमिकल नै माक्र्सवादी विचार हो । विचारधारात्मक रसायन मिलेन भने त्यो कस्मेटिक वा वनावटी एकता मात्र हुनपुग्दछ । यस्तो एकता टिकाउ, सार्थक वा परिणाममुखी हुँदैन साथसाथै रणनैतिक लक्ष्यमा पुग्न पनि सकिन्न । कम्युनिस्ट पार्टीमा हुनुपर्ने रसायन भनेकै माक्र्सवादी पथप्रदर्शक सिद्धान्त हो । त्यसैले सैद्धान्तिक–वैचारिक रसायन मिलाएर नै माओवादी–एमालेबीच एकता गर्नु वस्तुवादी हुन्छ ।
(ख) कार्यक्रम र कार्यदिशाः २१औँ शताब्दीको जनवाद माओवादी कार्यक्रम हो भने बहुदलीय जनवाद एमाले कार्यक्रम हो । कार्यक्रम र कार्यदिशा सही र गलत विन्याशले दुरगामी महत्व राख्दछ । रणनीतिक लक्ष्य प्राप्तीको मूल आधार वा कडी नै सही कार्यदिशा किटानमा निर्भर हुन्छ । यो ख्याल–ठट्टा, भावना, प्राविधिक र टिपनटापन विषय मात्र होइन । तर अर्को विचारणीय पक्ष हाम्रो कार्यदिशाले न्यूनतमरूपमाः माक्र्सवादी प्रस्थापनाको सेवा गर्नु अनिवार्य हुन्छ । माक्र्सवादी मार्गदर्शक सिद्धान्तको गुरुत्वकेन्द्रभन्दा बाहिर विन्न्यास गरिएको कार्यदिशा वा कार्यक्रमको रणनीतिक औचित्य हुँदैन । हाम्रो बाँकी कार्यभार पूरा गर्न सक्दैन । वस्तुतः आज हामी सही कार्यदिशा र कार्यक्रम विकास गर्नुपर्ने जटिल विश्व अर्थराजनीतिक परिवेशमा छौँ । विश्व कम्युनिस्ट आन्दोलन नितान्त रक्षात्मक रहेको छ । यसको भविष्य र जीवन नै अवको वस्तुवादी र वैज्ञानिक कार्यदिशा किटानमा निर्भर देखिन्छ । अर्थात युग सापेक्ष कार्यदिशा विकास नगरी कम्युनिस्ट आन्दोलन सफलतामा पुग्ने सम्भावना कम छ ।
सारतः रणनीतिको सेवा, वकालत र समर्थन गर्ने कार्यदिशा मात्र सही हुन्छ । हाम्रो रणनीतिक मिसन प्रगतिशील पुँजीवादी जनवाद, वैज्ञानिक समाजवाद हुँदै साम्यवादसम्म हो । यो रणनीतिलाई सम्बोधन गर्ने वैज्ञानिक र वस्तुवादी कार्यदिशा विकास गर्नु आजको अपरिहार्य आवश्यक्ता हो । यो तेरो मेरो भनेर दाबी गर्ने विषय हुँदैहोइन । भन्नुको मतलव आगामी ऐतिहासिक कार्यभार पूरा गर्न २१औँ शताब्दीको जनवाद र जबज आफैमा पूर्ण छैन । यसबारे खुल्ला र स्पष्ट बहस गर्न जरुरी छ । हामी कम्युनिस्टहरू समाज रूपान्तरणको ऐतिहासिक प्रक्रियामा छौँ । आजको लोकतान्त्रिक गणतन्त्र पनि हाम्रो कार्यनीतिक खुट्किलो वा प्रक्रिया मात्र हो । राजनीतिलाई यसरी व्याख्या गर्दा अबको कार्यदिशा २१औं शताब्दीको जनवाद र जबज मात्र अपर्याप्त हुनसक्छ । त्यसैले दुवै कार्यक्रमलाई समायोजन गरी साझा कार्यदिशा विकास गर्दै एकतामा जानु वस्तुपरक हुन्छ ।
(ग) नेतृत्वः माक्र्सवादी पथप्रदर्शक सिद्धान्तद्वारा निर्देशित कार्यक्रमलाई कार्यान्वयन गर्ने मुख्य पक्ष नेतृत्व पनि हो । तात्कालिक कार्यक्रम र रणनीतिक उद्देश्यमा नेतृत्व स्पष्ट र प्रतिबद्ध हुनुपर्छ । नेतृत्व भनेको व्यक्ति मात्र नभएर, विचार शृङ्खलाहरूको केन्द्रीकृत अभिव्यक्ति हो । अर्थात सार्वभौमतः विचार र नेतृत्व विचको रसायन मिल्नुपर्दछ । अन्यथा विचार एकातिर नेतृत्व अर्कोतिर हुनपुग्दछ । यसले कम्युनिस्ट आन्दोलनलाई झनै गोलचक्करमा फसाउँछ । त्यसैले आन्दोलनको उद्देश्य, लक्ष्य वा रणनीतिक मिसनमा स्पष्ट नेतृत्व जरुरी हुन्छ ।
संवैधानिक राजतन्त्र, लोकतन्त्र, गणतन्त्र, जनवाद र समाजवाद जेलाई पनि सही ठान्ने र त्यसैमा रुमलिने नेतृत्वले कम्युनिस्ट आन्दोलनको सही ढङ्गले बिट मार्न सक्दैन । नेतृत्वले समाज विकासको हरेक चरणहरूलाई कार्यनीतिक तथा अस्थायी चरण स्वीकार गर्दै वैज्ञानिक समाजवाद हुँदै साम्यवादसम्मको लामो ऐतिहासिक राजनीतिक प्रक्रियाका रूपमा बुझ्ने, व्याख्या गर्ने र बदल्ने हैसियत राख्नुपर्छ । अर्थात नेतृत्वको सवाल सिङ्गो आन्दोलनको विजय–पराजयसँग जोडिएको हुँदा स्पष्ट र खुल्ला छलफल बहसबाट यसको विन्न्यास गर्नु राम्रो हुन्छ ।
(घ) सङ्गठन : माक्र्सवादी पथप्रदर्शक सिद्धान्तद्वारा निर्देशित कार्यदिशालाई कार्यान्वयन गर्न सङ्गठन अपरिहार्य हुन्छ । सङ्गठनको निर्माण पनि रणनीतिक लक्ष्य र उद्देश्य अनुरूप हुने गर्छ । हाम्रो उद्देश्य वैज्ञानिक समाजवाद हुँदै साम्यवादसम्म हो भने सङ्गठन पनि सोही मूल्यमान्यतामा आधारित हुनुपर्छ । अर्थात उनीहरूको स्कुलिङ, ढाँचा र कार्यशैली र कार्यपद्धतिहरू एवम् रूपमा गठन गर्नुपर्छ । सङ्गठनात्मक सिद्धान्त, स्वरूप, पद्धति र प्रक्रिया पनि माक्र्सवादी पथप्रदर्शक सिद्धान्तलाई सहयोगी हुने ढङ्गले निर्माण गर्नुपर्दछ । यसका लागि कम्युनिस्ट पार्टीले जनवादी केन्द्रीयतामा आधारित लेनिनवादी सङ्गठनात्मक सिद्धान्त अपनाउनुपर्छ ।
त्यसैले आज एकता प्रक्रियामा साङ्गठानिक व्यवस्थापन निकै पेचिलो देखिन्छ । यसमा को र कुन गुटको नेता वा कार्यकर्ताहरू कता पर्छन् भन्ने कुरा मुख्य होइन । उनीहरूको व्यवस्थापन सहायक पक्ष हो । अब बन्ने सङ्गठनात्मक सिद्धान्तले कम्युनिस्ट आन्दोलनको बाँकी कार्यभार पूरा गर्ने हैसियत राख्छ कि राख्दैन भन्ने विषय प्रधान हो । यसमा आफू र आफ्नो गुटभन्दा माथि उठेको व्यापक बुझाइ, फराकिलो चिन्तन र सोच जरुरी हुन्छ । तर एकताको उद्देश्य भने वैज्ञानिक समाजवाद र साम्यवादसम्म पुग्ने रणनीतिमा आधारित हुनुपर्छ । औसत संसदीय राजनीतिमा भने प्राविधिक पक्षहरूको व्यवस्थापन मार्फत पनि एकता हुन्छ । त्यसैले अवको साङ्गठानिक स्वरूप रणनीतिक लक्ष्य र उद्देश्यबाट निर्देशित हुन जरुरी छ ।
तसर्थ, सिद्धान्त, विचार, कार्यक्रम, कार्यदिशा, नेतृत्व र सङ्गठन नै एकताको मुख्य आधारहरू हुन् । कसैले प्राविधिक, व्यावहारिक र टालटुले ढङ्गले सोच्छ भने त्यसले कम्युनिस्ट आन्दोलनलाई रणनीतिक विन्दुमा पु¥याउँदैन । बरु झनै भद्रगोल र अस्तव्यस्त बनाउँछ । यसले संसदमा ठूलो दल, सरकारको नेत्रृत्व र एकाध सय नेता–कार्यकताहरूको व्यवस्थापन त गर्ला । तर कम्युनिस्ट आन्दोलनको बाँकी ऐतिहासिक कार्यभार पूरा गर्ने हैसियत राख्दैन । अर्थात समाज रूपान्तरणको माक्र्सवादी ऐतिहासिक भौतिकवादी प्रक्रियामा निर्णायक भूमिका खेल्न सक्दैन । यस्तो एकताले कालेकाले मिलेर खाउँ भालेसम्मको भौतिक धरातल त बनाउँछ नै । तर उत्पीडितमैत्री उन्नत सामूहिक चेत र मनोविज्ञानसहितको वैज्ञानिक समाजवाद स्थापना सम्भव हुँदैन, जुन कम्युनिस्ट पार्टीको न्यूनतम उद्देश्य हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी मेडिकल कलेजमा स्नातकोत्तर भर्ना हुने आवासीय चिकित्सकलाई सरकारीसरह निर्वाह भत्ता दिन कार्यदलको सुझाव
-
पार्टी एकताबद्ध भएर जानुको विकल्प छैन : सिटौला
-
क्रियाशील सदस्यहरूले नै क्रियाशील सदस्यताको महत्त्व नै बुझाउन सकेनन् : उपप्रधानमन्त्री सिंह
-
एकताबद्ध भएर जानुको विकल्प छैन : सिटौला
-
पाँच महिनामा एक अर्बभन्दा बढीको सिमेन्ट भारततर्फ निर्यात
-
ख्रीष्टमसको अवसरमा राक्सिराङमा २ दिन सार्वजनिक बिदा