आइतबार, ०७ पुस २०८१
ताजा लोकप्रिय
समाचार

छोरीलाई हरवाचरवाभन्दा माथि उठाउन ७ लाख ऋण लिएर २१ लाखको कागज

सोमबार, ०९ माघ २०७९, ०७ : ०३
सोमबार, ०९ माघ २०७९

‘मैले छोरीलाई १२ कक्षासम्म पढाएँ । जग्गाजमिन भएको हुनेखाने परिवारमा विवाह गरिदिएँ । ज्वाइँले पनि १२ पास गर्नुभएको छ । उहाँका चार भाइ हुनुहुन्छ, लालपुर्जा भएको डेढ बिघा जग्गा छ । हरवाचरवा भएरै हाम्रो जिन्दगी बित्यो, छोराछोरीलाई पनि हरवाचरवा बनाएर त भएन,’ हरवाचरवा मञ्चकी कोषाध्यक्ष राजवती मण्डल आत्मविश्वासका साथ बोलिन् । उनको मुहारमा अलिकति सन्तुष्टिसहितको हाँसो पनि देखिन्थ्यो । मानौँ, छोरी पढाएर र हुनेखाने घरमा बिहे गरिदिएर उनले ठूलै युद्ध जितेकी छन् । 

राजवतीले जेठी छोरीको विवाह २६ वर्षको उमेर (गत जेठ)मा गरिदिएकी हुन्, हुनेखाने घरको ज्वाइँ पाएर । मधेसमा बालविवाह र दाइजो प्रथा व्याप्त छ । केटा पक्षले दाइजो तोकेरै माग्ने गर्छन्– गाडीदेखि सुनचाँदी, नगद, घडेरी आदि । 

राजवतीले ज्वाइँका लागि एउटा मोटरसाइकल मात्र दिइन्, तीन लाख रुपैयाँ त्यसमै गयो । लत्ता–कपडा, भाँडावर्तन, भोज आदि गर्दा सात लाख रुपैयाँ खर्च भयो । 

यत्रो ऋण उनले कसरी तिर्लिन् ? उनले आफ्नो भरोसाको केन्द्र छोरालाई सम्झिइन्, ‘छोरालाई विदेश पठाउन भनेको हो, कर्जा पाइएको छैन ।’ 

यसका लागि उनले एउटा साहुसँग पाँच लाख र अर्कोसँग दुई लाख ऋण लिएकी छन्, आफूले लिएको साँवाभन्दा तेब्बर बढीको कागज गरेर । सयकडा चार (सय रुपैयाँको मासिक चार रुपैयाँ) का दरले ब्याज तिर्ने गरी साहुहरूले २१ लाखको कागज गरेर उनलाई सात लाख ऋण दिएका छन् । 

यो कागजको म्याद १० वर्षसम्म हुन्छ । सात लाख रुपैयाँ साँवा र त्यसमा लागेको ब्याज राजवतीले तिर्नुपर्छ । कथंकदाचित तिर्न सकिनन् भने भोलि अदालत जान सहज होस् भनेर साहुले पहिले नै तेब्बरको कागज गरेका हुन् । राजवती भन्छिन्, ‘मधेसमा यसरी कागज बनाउनु सामान्य हो, सबैले यसो गर्छन् ।’ 

यो अवधिभित्र राजवतीले लिएको वास्तविक साँवा (पाँच लाख र दुई लाख) र त्यसको ब्याज तिर्न नसके साहुहरू कागजलाई प्रमाण बनाएर अदालत जान्छन् ।

यत्रो ऋण उनले कसरी तिर्लिन् ? उनले आफ्नो भरोसाको केन्द्र छोरालाई सम्झिइन्, ‘छोरालाई विदेश पठाउन भनेको हो, कर्जा पाइएको छैन ।’ 

राजवतीले चार सन्तान जन्माएकी थिइन् । राम्रो उपचार नपाएर कक्षा ७ पढ्दै गरेकी एउटी छोरीको निधन भयो । कुन रोगले छोरीको ज्यान लियो भन्ने राजमतीलाई थाहा छैन । दुई लाखजति ऋण गरेर धरान र विराटनगर लैजाँदा पनि छोरीको रोग निको भएन । 

अहिले उनकी कान्छी छोरी कक्षा ९ मा पढ्दै छन् । माहिली छोरी एसएलसी गरेर घरमै बसेकी छन् । उनका छोराले ११ पढेर छाडिदिए । कलेजको सर्टिफिकेटमा भन्दा बढी आफ्नो भविष्य उनले पासपोर्ट र खाडी मुलुकबाट आउने भिसामा देखेका छन् । उनको टाउकोमा ठूलो जिम्मेवारी छ– दिदीको बिहेमा लागेको ऋण तिर्ने, दुइटी बहिनीको विवाह गरिदिने, आफ्नो घरजम बसाउने र बाआमालाई सुख दिने ।

राजवती मण्डलको बाल्यकाल मालिकको बाख्रा चराएर बित्यो । मालिकका बाख्रा चराएबापत उनले पेटभरि खान पाउँथिन् । कहिलेकाहीँ हटिया (हाटबजार) जाँदा मालिक–मालिक्नीले उनलाई ५–१० रुपैयाँ दिन्थे । साहुका बाख्रा, हटिया र साहुले दिने खानाभन्दा पर थिएनन् उनका सपना ।

यतिखेर राजतीको ध्यान छोरालाई खाडी मुलुक पठाउनका लागि आवश्यक अढाइ लाख रुपैयाँमा छ । यो ऋण पनि सयकडा चार वा पाँच रुपैयाँका दरले लिने हो । खाडी मुलुक गएर कमाउने मासिक तीसदेखि ४० हजार रुपैयाँ न हो । अहो, छोराछोरीलाई हरवाचरवादेखि उठाउने राजमतीको आँट र सपना ! रेमिट्यान्सबाट धानिएको राज्य र सरकारलाई सामाजिक न्यायसहित देश बनाउने आँट राजवतीमा जति हुन्थ्यो भने ?  

‘अढाइ लाख चाहिन्छ भनेका छन् कतार जान । कर्जा कसैले दिएका छैनन् । सरकारले हरवाचरवा मुक्तिको घोषणा गरेपछि पैसा दिन सबै डराएका छन्, मिनाहा हुने हो कि भनेर,’ राजवती कताकता निराश छन् । 

अनुहारमा निशारा झल्काइहाल्न पनि भएको छैन उनलाई, किनभने उनी हरवाचरवा मञ्चकी केन्द्रीय कोषाध्यक्ष हुन् । उनलाई त आफ्नो परिवारसहित थुप्रै हरवाचरवालाई वास्तविक मुक्ति दिलाउनुछ । 

***

राजवती मण्डलको बाल्यकाल मालिकको बाख्रा चराएर बित्यो । मालिकका बाख्रा चराएबापत उनले पेटभरि खान पाउँथिन् । कहिलेकाहीँ हटिया (हाटबजार) जाँदा मालिक–मालिक्नीले उनलाई ५–१० रुपैयाँ दिन्थे । साहुका बाख्रा, हटिया र साहुले दिने खानाभन्दा पर थिएनन् उनका सपना । बिहान साहुका बाख्रासँगै उनका सपना पनि चर्न निस्कन्थे र साँझ बाख्राहरूसँगै खोरमा थुनिन्थे ।

सिरहाको धनगढीमाई नगरपालिका–१२ को एक हरवाचरवा परिवारमा राजवती हुर्केकी हुन् । त्यहाँ हरवाचरवाको बाक्लै बस्ती थियो र छ । उनका बाआमा बिहान र साँझको छाकका लागि मालिकको खेतबारीमा खटिन्थे । वर्षभरि मालिकको हलो जोतेबापत उनका बालाई ५० किलो धान दिइन्थ्यो । मालिकका घरमा काम गरेबापत उनकी आमाले अलिकति धान–चामल र खाना–खाजा पाउँथिन् । 

बाआमाका तीन सन्तानमध्ये राजवती जेठी हुन् । त्यतिबेला समाजमा छोरी पढाउनुपर्छ भन्ने चेत आजजस्तो व्यापक भइसकेको थिएन, त्यसमाथि हरवाचरवा परिवार— पेटभरि खानै खाँचो, पढ्ने कसरी ?  

उनका दुई भाइलाई स्कुल पठाइयो । एक भाइले ७ सम्म पढेर घर बनाउने काम गर्न थाले, कान्छो भाइ १० पढेर प्रहरीमा भर्ती भए । ‘मालिकले नै पढ्नुपर्छ भन्थे । कुनै कुनै मालिकले हरवाचरवाको पनि राम्रो चाहन्थे,’ ४७ वर्षीया राजवती भन्छिन्, ‘हाम्रो मालिकका सातवटा छोरा काठमाडौंमा थिए । उनीहरूले नै मेरो भाइलाई पुलिसमा भर्ती बनाइदिए ।’ 

राजमवतीको विवाह २० वर्षको उमेरमा भयो, सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका– १, पिपराको हरवाचरवा परिवारमा । उनको बिहे हुँदा उनका बाआमालाई २० हजार रुपैयाँ ऋण लागेको थियो । ब्याज बढ्दै जाँदा त्यो ऋण एक लाख रुपैयाँ पुग्यो । पुलिसमा भर्ती भएपछि उनका भाइले त्यो ऋण तिरे । अहिले पनि उनका बा–काकाहरूले साहुको खेत अधियाँ गर्छन् । 

चेतना

देशमा प्रजातन्त्र आयो, पञ्चायत लादियो, बहुदलीय व्यवस्था हुँदै गणतन्त्र आयो । योबीचमा ‘तमसुक फट्टा’, जमिनदारको भकारी फोड्नेजस्ता क्रान्तिकारी कृषक आन्दोलन मधेसमै भए । तर, मधेसका दलितमाथि हुने थिचोमिचोमा कुनै फेरबदल आएन । 

मधेसका हरवाचरवा तथा भूमिहीनहरु संगठित र आन्दोलित भइरहे । ५० किलो धानमा वर्ष दिन नजोत्ने र डेढ किलो धानमा दिनभरि काम नगर्ने नै उनीहरुको सुरुवाती माग थियो ।

मधेसमा २०५५/५६ सालतिर बलदेव राम सिनो बहिष्कार आन्दोलनमा सक्रिय भएका थिए । यही बेला विभिन्न गैरसरकारी संघ–संस्थाको सहयोगमा हरवाचरवा लगायत भूमिहीनहरू ‘भूमि अधिकार मञ्च’, ‘हरवाचरवा मञ्च’ आदि संगठनमार्फत संगठित हुन थाले । 

जब सरकारले भुइँमान्छेका लागि केही गर्दैन, केही गर्न सक्दिनँ भनेर लाचार बन्छ, हात उठाउँछ र घुँडा टेक्छ, तब गैरसरकारी संस्थाहरू सहयोग गर्न पुग्छन् । राजमती भूमिअधिकारका लागि संगठित हुन थालेको २५ वर्ष भयो । संगठित हुँदाहुँदै उनीमा चेतना जागेको छ– हामी त सदियौँदेखि भूमिअधिकारदेखि वञ्चित रहेछौँ, सदियौँदेखि हाम्रो श्रमको शोषण भएको रहेछ । गरिबका लागि चेतना पनि ठूलो दुःख हो, चेतनाले ठूलो संसार देखाउँछ तर देश, काल र सामाजिक परिस्थितिले सानो घेरामा बाँधेर राख्छ, उठ्नै दिँदैन, जसरी आज राजवती २१ लाख ऋणमा बाँधिएकी छन् । 

मधेसका हरवाचरवा तथा भूमिहीनहरु संगठित र आन्दोलित भइरहे । ५० किलो धानमा वर्ष दिन नजोत्ने र डेढ किलो धानमा दिनभरि काम नगर्ने नै उनीहरुको सुरुवाती माग थियो । आन्दोलन गरेरै अहिले उनीहरुले दिनभरि काम गरेबापत १० किलो धान पाउने भएका छन् । यो पनि कति नै हो र ? १० किलो धानको पाँच किलो चामल आउँदैन ! 

‘हामीले मालिकलाई भन्यौँ– अब हामीले ५० किलो धानमा जोत्दैनौँ, बरु अरुकै गिरहतको घरमा ज्याला लिएर काम गर्छौं । त्यसपछि मालिकले हामीलाई खेती गरेर खानका लागि मात्रै तीन कट्ठा जमिन दिएका थिए । यसबापत हामीले उनीहरूको घरमा वर्ष दिनभरि हलो जोत्नुपथ्र्यो,’ राजमती आफूहरूको संघर्षको चरण बताउँछिन्, ‘सरकारले हरवाहरवा मुक्त घोषणा गरेदेखि त अधियाँ गर्न थालेका छौँ ।’

साहुको खेत अधियाँ गरेर केही बढी अन्न भित्र्याउन राजमतीका श्रीमान अझै जोतिएकै छन् ।

हरवाचरवा मुक्त घोषणा

सरकारले गएको साउन २ गते हरवाचरवालाई मुक्तिको घोषणा गरेको छ । सरकारलाई त के छ र ? लोकप्रियताका लागि हली, हरवाचरवा, कमैया–कम्लरी आदिलाई मुक्त गरिदिए पुग्यो । देशमा गणतन्त्र आएको १४ वर्षपछि सरकारले हरवाचरवा घोषणा गरेको हो, तर उसले मुक्त हरवाचरवाको पुनस्र्थापनाका लागि अझै ठोस कार्यक्रम अगाडि बढाएको छैन । 

शुक्रबार हरवाचरवा मञ्चका केन्द्रीय अध्यक्ष दशन मण्डल र कोषाध्यक्ष राजवती मण्डल काठमाडौंमा थिए । रुरल रिकन्स्ट्रक्सन नेपाल (आरआरएन) संस्थाले हरवाचरवाको विषयमा एकदिने छलफल राखेको थियो, सोही कार्यक्रममा राजमती र दशन काठमाडौँ आएका रहेछन् । 

साहुको खेत अधियाँ गरेर केही बढी अन्न भित्र्याउन राजवतीका श्रीमान अझै जोतिएकै छन् । ‘अधियाँ गर्न पनि सजिलो छैन,’ राजवती मधेसको आम समस्या भन्छिन्, ‘मल किन्नुपर्छ, त्यो पनि बेलामा पाइँदैन । रोप्ने मानिसलाई पैसा दिनुपर्छ । पानी परेन भने घन्टाको साढे तीन सयदेखि चार सय तिरेर दमकल ल्याउनुपर्छ ।’ 

केही फुर्सद निकालेर राजवती काठमाडौँ आएकी हुन् । छोराछोरी पढाउनुपर्छ भन्ने ज्ञान उनलाई संगठनमा हिँड्दाहिँड्दै भएको हो । प्रौढ शिक्षा पढेकी राजवतीले सही गर्न सक्छिन् । यसपालिको छलफलबाट उनले के बुझिन् त ? ‘यस्ता छलफलले हामीलाई थप चेतना बढाएको छ,’ उनी भन्छिन्, ‘सरकारले के गरिरहेको छ, संविधान, नियम–कानुनमा के लेखिएको छ भन्ने हामीलाई के थाहा हुन्छ र ?’ 

आफूहरूको अधिकारसम्बन्धी उनको चेतना मसिनो देखिन्छ । उनी अगाडि भन्छिन्, ‘सरकारले त भूमिहीन दलितलाई एकपटक आवासका लागि जग्गा दिन भनेको छ । उसले दुई–चार धुर जमिन हुने दलितलाई जमिनदार देखेको छ । यस्तो त हुँदैन । चार धुर जग्गा छ, पाँच–सातजना सन्तान छन्, त्यो जग्गा के गर्ने ? हाम्रो माग छ– प्रतिपरिवारलाई आवासका लागि दुई कट्ठा घडेरी र आठ कट्ठा कृषिखेतीका लागि जमिन दिनुपर्छ । गाँस, बास कपाससहित हाम्रो पुनर्स्थापना हुनुपर्‍यो । निःशुल्क उपचार हुनुपर्छ । बिहे, मृत्यु संस्कार, उपचारमा लागेको ऋण मिनाहा हुनुपर्छ ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ध्रुवसत्य परियार
ध्रुवसत्य परियार

परियार रातोपाटीका फिचर/ओपेड एडिटर हुन् ।

लेखकबाट थप