एमाले सांसद कोइरीलाई पक्राउ गर्न ७७ जिल्लामा सर्कुलर, भारत भागेको आशंका
काठमाडौँ । प्रतिनिधिसभा सदस्य लक्ष्मी महतो कोइरीलाई पक्राउ गर्न देशभर सर्कुलर गरिएको छ । नेकपा (एमाले)का सांसद कोइरी महोत्तरी क्षेत्र नम्बर–१ बाट निर्वाचित भएका हुन् । गृह मन्त्रालयले कोइरीलाई पक्राउ गर्न प्रहरी प्रधान कार्यालयलाई लिखित रूपमा पत्राचार गरेको छ । गृह मन्त्रालयबाट मौखिक र लिखित निर्देशन आएको प्रहरी प्रवक्ता (डीआईजी) टेक प्रसाद राईले रातोपाटीलाई बताए । उनले भने–‘देशभर सर्कुलर गरेका छौँ ।’
सांसद कोइरीलाई नियन्त्रणमा लिन प्रहरी लागिराखेको जानकारी दिँदै प्रवक्ता राईले भने–‘छिट्टै समात्छौँ ।’ उनलाई पक्राउ गर्नेबारे प्रहरी प्रधान कार्यालय र गृह मन्त्रालयको बीचमा विवाद देखिएको छ । माघ ६ मा गृह मन्त्रालयले कोइरीलाई पक्राउ नगरेकोमा विज्ञप्ति नै निकालेर असन्तुष्टि जनाएको थियो ।
सांसद कोइरी महोत्तरीको गौशाला नगरपालिका–२ का स्थानीय हुन् । कोइरीलाई पक्राउ गर्नेबारे गृह मन्त्रालयले विज्ञप्ति जारी गरेर भनेको थियो–‘उपप्रधानमन्त्रीज्यूबाट पटक पटक प्रहरीलाई मौखिक निर्देशन भएकोमा हालसम्म पक्राउ नपरेको प्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ ।’
राष्ट्रसेवक कर्मचारी हत्या अभियोगमा उच्च अदालत जनकपुरले कोइरीलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको छ । २०७७ मंसिर १९ मा जनकपुर उच्च अदालतले जारी गरेको ‘वारेन्ट’का कारण उनी प्रहरीको ‘खोजी सूची’मा छन् ।
अदालतबाट जारी पक्राउ पुर्जी प्रहरीसँग छ । प्रधान कार्यालयले सो पुर्जी अहिले देशभरका प्रहरी युनिटहरूमा पठाएको छ । सांसद कोइरीमाथि २०७२ को मधेस आन्दोलनमा सशस्त्र प्रहरीका असई थमन विकलाई लखेटेर हत्या गरेको आरोप छ । चुनावअघि जसपा छाडेर एमाले प्रवेश गरेर उनी चुनावमा होमिएका हुन् ।
उनीविरुद्ध प्रेम बहादुर विकले जिल्ला प्रहरी कार्यालय महोत्तरीमा कर्तव्य ज्यान मुद्दाको जाहेरी दिएका थिए । सो मुद्दामा तारेख गुजारेर उनी फरार भएका हुन् ।
भारत भागेको आशंका
लक्ष्मी महतोको अस्थायी बसोबास भक्तपुरको दुवाकोटमा छ । उपत्यका प्रहरी कार्यालयले उनी बस्ने घरमा निगरानी बढाउन प्रहरी परिचालन गरेको छ । घरमा निगरानी बढाएपछि सांसद कोइरी भातरतिर लागेको आशंका गरिएको छ । उनीबारे अनुसन्धान गरिरहेका अधिकृतहरू कोइरी भारततिर भागेको बताउँछन् । उपप्रधान एवं गृहमन्त्रीको मौखिक आदेश नै पर्याप्त भएको उल्लेख गर्दै प्रहरी प्रवक्ता (डीआईजी) टेक प्रसाद राईले भने–‘खोजी तीव्र बनाएका छौ, चाँडै पक्रन्छौँ ।’
नयाँ संविधान बन्नुअघि २०७२ मा मधेस आन्दोलन सुरु भयो । आन्दोलनमा सुरक्षामा खटिएका असई विकको हत्या कोइरीको योजनामा भएको अभियोग छ । २०७२ भदौ २५ मा आन्दोलनकारीको कुटाइबाट गम्भीर घाइते भएका विकलाई उपचारका लागि जनकपुर लैजाने क्रममा एम्बुलेन्सबाट थुतेर हत्या गरिएको थियो । थमनका दाजु प्रेमबहादुरले कोइरीसहित २८ जनाविरुद्ध किटानी जाहेरी दिएपछि प्रहरीले मुद्दा चलाएको थियो ।
जिल्ला अदालत महोत्तरीले २०७६ असोज २ मा कोइरीलाई १ लाख धरौटीमा छाड्ने आदेश दिएको थियो । आदेशविरुद्ध पुनरावेदन परेपछि जनकपुर उच्च अदालतले जिल्लाको आदेशलाई उल्ट्याइदियो ।
मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा महतोले नेकपा (माओवादी केन्द्र)का उप–महासचिव गिरिराजमणि पोखरेललाई हराए । प्रहरीको फरार सूचीका कोइरीले वारेसमार्फत उम्मेदवारी दिए, विजयी भएपछि प्रमाणपत्र लिन पनि वारेस नै पठाए । उनको तर्फबाट मिथिलेश यादवले प्रमाणपत्र बुझेका थिए ।
पक्राउ गर्न संसद्को अनुमति चाहिन्छ ?
सांसदलाई पक्राउ गर्नुअघि सङ्घीय संसदका सभामुखको अनुमति लिनु पर्छ ? संसद् सचिवालयका प्रवक्ता (सहसचिव) एकराम गिरीका अनुसार फौजदारी अभियोगमा सांसदलाई पक्राउ गरेको जानकारी छिटोभन्दा छिटो सभामुखलाई दिनुपर्छ । उनी भन्छन्–‘सो सूचना सभामुखले संसद्लाई जानकारी गराउने व्यवस्था छ तर, पूर्व सूचना दिनुपर्ने व्यवस्था छैन ।’
संविधानको धारा १०३ को उपधारा–६ मा अनुसार सङ्घीय संसद्को कुनै पनि सदस्यलाई अधिवेशन बोलाइएको सूचना जारी भएपछि अधिवेशन अन्त्य नभसम्मको अवधिभर पक्राउ गर्न पाइँदैन । तर, फौजदारी अभियोगमा भने पक्राउ गर्न पाउने व्यवस्था छ ।
सो उपधारमा भनिएको छ–‘तर, कुनै फौजदारी अभियोगमा कुनै सदस्यलाई सङ्घीय कानुन बमोजिम पक्राउ गर्न यस उपधाराले बाधा पुर्याएको मानिने छैन । त्यसरी कुनै सदस्य पक्राउ गरिएमा पक्राउ गर्ने अधिकारीले त्यसको सूचना सम्बन्धित सदनको अध्यक्षता गर्ने व्यक्तिलाई तुरुन्त दिनु पर्नेछ ।’