शनिबार, ०८ मङ्सिर २०८१
ताजा लोकप्रिय
सवारी लाइसेन्स वितरणमा चरम लापरबाही

स्मार्ट लाइसेन्स हात नपरी नवीकरण गर्न बाध्य

प्रदेश मातहतको यातायात कार्यालयलाई छैन लाइसेन्स छपाउने मेसिन राख्ने अधिकार
आइतबार, ०८ माघ २०७९, ०६ : ४५
आइतबार, ०८ माघ २०७९

विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले घोषणा गरेको छिटो छरितो र सुशासन यातायात कार्यालय इटहरीमा कहिले होला ? निजी क्षेत्रबाट सञ्चालित बैंकहरुले बाँड्ने एटिएम कार्ड अधिकतम १० दिनमा आउँदा स्मार्ट लाइसेन्स प्रिन्ट भएर आउनै ८ महिना लाग्छ । कतिपयले त स्मार्ट लाइसेन्स नदेखी नवीकरण गर्नुपरेको छ ।

यो विषयमा व्यङ्ग्य गर्दै यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति–पत्र, सुनसरी इटहरीका कर्मचारी नै भन्छन्, ‘एक वर्षमा स्मार्ट कार्ड पाउनु भएकै छ त, यो छिटो भएन र ?’

अर्को उदेक लाग्दो कुरा के भने मोरङ रतुवामाईका रामबहादुर महतले नवीकरण मार्फत स्मार्ट लाइसेन्सका लागि फारम भरेको गत कार्तिकमा पाँच वर्ष पुग्यो । तर, उनको हातमा अहिलेसम्म स्मार्ट लाइसेन्स हात परेको छैन । उनको लाइसेन्स ३२ को लटमा आउनु पर्ने । १०३ लट आइसक्दा अहिलेसम्म उनको कार्ड नै आएको छैन । कार्ड नआए पनि उनले लाइसेन्स पुनः नवीकरण गरेका छन् र उनलाई बैंकमा राजस्व दाखिला गरेको भौचर थमाइएको छ । 

उक्त कार्यालयका सूचना अधिकारी रमेश प्रसाद दाहाल भन्छन्, ‘अहिले पनि दैनिक १० देखि १५ जनासम्म रसिद लिएर आउँछन् । नवीकरण गरेर जान्छन् । स्मार्ट लाइसेन्स हात नपरी उनीहरूले राजश्व तिरिरहेका छन् ।’

प्रदेश १ मा इलाम, बिर्तामोड, विराटनगर, इटहरी, धनकुटा र उदयपुरको गाईघाटमा लाइसेन्स वितरण हुन्छ । ओखलढुंगामा भने यातायात कार्यालय भए पनि लाइसेन्स वितरण हुन थालेको छैन । प्रदेश सरकार आएपछि इटहरी र बिर्तामोडमा मात्रै रहेको यातायात कार्यालय भने ८ स्थानमा स्थापना गरिएको छ । जसका कारण इटहरी कार्यालयमा हुने धेरै भिडभाड कम भएको छ । तर, लाइसेन्स वितरणमा देखिएको लाइन हटाउने सरकारी योजना गफमै सीमित हुने देखिन्छ । ‘यहाँ लाइन नलागेर के गर्नु ? विकल्पै छैन । आइतबार, सोमबार र मंगलबार नयाँ दर्ता गर्न आउनेहरूको भीड थामिनसक्नु हुन्छ,’ कार्यालयका कर्मचारी नै बताउँछन् । 

Yatayat Bebastha Karyalaya (1)

इटहरी यातायात कार्यालय अगाडि नै लाइसेन्स लिन आउनेहरूको सहजीकरणका लागि ७०–८० वटा फर्महरू रहेका छन् । त्यहाँ दलालहरूले मनपरी असुली पनि गरिरहेका छन् । यातायात कार्यालयमा भिडभाड हुनुमा तीन कारण रहेको कर्मचारीको भनाइ छ । त्यो सुधार नगरेसम्म लाइन अन्त्य नहुने उनीहरूको दाबी छ । 

लाइन लाग्नुको मुख्य कारण बैंकमा नगद जम्मा गर्ने व्यवस्था हो । बैंकले भुक्तानी गर्ने सिस्टम अनलाइन गरे त्यहाँको चाप घट्न सक्थ्यो । ‘सरकारी बैंकले यातायात कार्यालयमा शाखा राख्न पनि चाहँदैन । यो माथिबाटै हुने कुरा हो । हामीले भनेर हुँदैन,’ यातायात कार्यालय स्रोत बताउँछ, ‘निजी बैंकले राखेको शाखामा कर्मचारी थप गर्न मान्दैनन् ।’

१ लटमा १० हजार कार्ड आउनु पर्ने तर, विभागले पठाउँदा १ हजार, २ हजार कम गरेर पठाउँछ । ‘९५ को लट आयो । तर त्यो लटमा आधी लाइसेन्स नै आएन । १ सय लटको आइसक्दा पनि छुटेको आधा अझै आइसकेको छैन,’ दाहाल भन्छन् । 

संविधानले मुद्रण गर्ने अधिकार संघ अन्तर्गत राखेको छ । प्रदेशलाई मेसिन राखेर छाप्न दिने हो भने लाइसेन्स ढिलो आउने समस्या हल हुन्थ्यो । यस विषयमा प्रदेश सरकारले पहल गर्नुपर्ने कर्मचारी नै बताउँछन् । अर्को भनेको सेवाग्राहीले आफ्नो प्रवेश पत्र आफैँ प्रिन्ट गर्न सक्ने र अनलाइनबाटै बैंकमा भुक्तानी गर्न सक्ने व्यवस्था गर्नुपर्छ । कार्यालयका कर्मचारी सेवाप्रवाहको विषयमा व्यङ्ग्य गर्दै भन्छन्, ‘एक वर्षमा, ६ महिनामा कार्ड वितरण भइरहेको छ त यो छिटो भएन र ? ।’

कर्मचारीहरू परीक्षा भएको एक महिना वा २५ दिनभित्रमा स्मार्ट कार्ड दिनका लागि प्रदेशलाई मेसिन राख्ने जिम्मा दिनुपर्ने बताउँछन् । ‘प्रिन्ट गर्ने मेसिन पनि सिंहदरबार मै राख्नुपर्ने ?,’ उनीहरू प्रश्न गर्छन्, ‘कुनै लाइसेन्स एक पटक प्रिन्ट भएर आयो । तर, कुनै गल्ती भएर सच्याउनु पर्‍यो भने पुनः ८ महिना कुर्नुपर्ने बाध्यता छ । नवीकरण गर्ने समयसम्ममा नयाँ कार्ड नै पाउँदैनन् ।’

‘आएका लाइसेन्स (स्मार्ट कार्ड) मा कुनै गल्ती छ भने हामी सच्याउन निवेदन दिनु नै भन्दैनौँ, त्यसो भयो भने अर्को एक वर्ष कार्ड नआउन सक्छ,’ कर्मचारी नै भन्छन्, ‘प्रतिलिपिको निवेदन नदिनु भन्ने हाम्रो सुझाव हुन्छ ।’

Yatayat Bebastha Karyalaya (3)

उक्त कार्यालयमा दैनिक ३ सय नयाँ दर्ता, २ सय जति नवीकरण, कार्ड लिनेहरू ३ सय जति आउँछन्, ट्रायल पास गर्नेहरू डेढ २ सय आउँछन् । अरू प्रशासनिक सेवा लिन आउनेहरू गर्दा दैनिक १ हजार जति आउँछन् । 

‘लाइन अन्त्य गर्न हाम्रो सफ्टवेयरले नै बाध्य बनाउँछ । अनलाइनबाट सेवाग्राहीका लागि भिजिट डेट लिने मात्रै सुविधा छ । कार्यालय आएपछि अनलाइन इन्ट्रि गर्नुपर्छ, फोटो खिच्नु पर्‍यो, बायो मेट्रिक दर्ता गर्नुपर्‍यो, मेडिकल गर्नु पर्‍यो, राजश्व बुझाउनु पर्‍यो । राजश्व पनि सफ्टवेयरले अनलाइन दिएको छैन । त्यसपछि प्रवेश पत्र लिनु पर्छ । त्यसका लागि कार्यालय नै आउनु पर्छ । त्यो काम गर्नकै लागि १ जना सेवा ग्राहीले २ घण्टासम्म समय दिनुपर्छ,’ सूचना अधिकारी दाहालले भने, ‘स्मार्ट कार्डको नवीकरण भने अलिक कम समय लाग्छ । नयाँ सेवाग्राहीका लागि परीक्षा दिन आउनेका लागि टोकन लिन बिहान ९ बजे नै आउनु पर्‍यो, त्यसपछि बायो मेट्रिक सुरु हुन्छ, फोटो खिच्नु पर्‍यो, बायो मेट्रिक दर्ता गर्नुपर्‍यो, मेडिकल गर्नु पर्‍यो, राजश्व बुझाउनु पर्‍यो त्यसो गर्दा पनि २ घण्टा समय लाग्छ । अवस्था हेरेर हुन्छ । कहिले काहीँ अचानक बिदा पर्दा बायो मेट्रिक अर्को दिनलाई सर्दा सेवाग्राहीको भीड झनै बढ्छ । नियमित हुँदा २ अढाई घण्टामा काम सम्पन्न हुन्छ । तर, लाइसेन्स प्रिन्ट भएर पाउन भने अहिले ६ महिनासम्म लाग्छ । पहिले १ वर्षभन्दा धेरै लाग्थ्यो, अहिले ६ महिनासम्ममा दिन्छौँ ।’ 

लाइन नबसी गर्छौँ भन्ने कुरा चाहिँ व्यवहारमा लागू गर्न सफ्टवेयरदेखि नै सुधार गर्नुपर्छ । लोकसेवामा जस्तो फर्म भर्ने, राजश्व तिर्ने र प्रवेश पत्र दिनेसम्मको अनलाइन सुविधा दिने गरी सफ्टवेयर बनाउनु पर्छ । ‘त्यो नगर्दासम्म लाइन अन्त्य हुने देखिँदैन । यो विभागबाटै गर्नुपर्छ,’ दाहाल भन्छन् । 

१ लटमा १० हजार कार्ड आउनु पर्ने तर, विभागले पठाउँदा १ हजार, २ हजार कम गरेर पठाउँछ । ‘९५ को लट आयो । तर त्यो लटमा आधी लाइसेन्स नै आएन । १ सय लटको आइसक्दा पनि छुटेको आधा अझै आइसकेको छैन,’ दाहाल भन्छन् । 

यातायात कार्यालय प्रदेशको जिम्मामा छ । तर, कार्ड छाप्ने जिम्मा प्रदेशलाई छैन । यदि त्यसरी जिम्मा दिने हो भने एक महिनामा हामी लाइसेन्स वितरण गर्न सक्ने कर्मचारीहरू बताउँछन् । ‘विभागले नै मेसिन हस्तान्तरण गर्न चाहेको होइन कि त्यसको कारण के हो हामीले बुझ्न सकेका छैनौँ,’ एक कर्मचारी भन्छन्, ‘एउटा मेसिन मात्रै प्रदेश १ मा राख्ने हो भने ७ दिनमै कार्ड प्रिन्ट गर्न सकिन्थ्यो होला नि ? ।’

अहिले पुराना कार्ड (कागज)को नवीकरण गर्न आउनेहरू घटेका छन् । अहिले दैनिक ५०–६० जना मात्रै आउने गरेका छन् । दैनिक घटिरहेका छन् । ०७४ सालदेखि स्मार्ट कार्ड वितरण सुरु भएको हो । त्यसयता यातायात कार्यालय इटहरीले ८ लाख भन्दा धेरै स्मार्ट कार्ड बाँडेको अनुमान गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप