पारिजातको प्रेरणाले समाजसेवी बनेकी इन्दिरा अब उपसभामुख
विराटनगर । कोही पनि मानिसको सामाजिक छवि उँचो बनाउन उसको इच्छाशक्ति सँगसँगै प्रेरणा दिने व्यक्तित्वको पनि उत्तिकै हात हुन्छ । नेपालमा मात्रै नभएर साहित्य र समाजसेवाको क्षेत्रमा विश्वमै चिनिएकी साहित्यकार पारिजातकै प्रेरणाबाट समाजसेवी बनेकी इन्दिरा राना मगर प्रतिनिधिसभाको उपसभामुख बनेकी छिन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीकी समानुपातिक सांसद राना काँग्रेसकी मुक्ताकुमारी यादवलाई पराजित गर्दै उपसभामुख चुनिएकी हुन् । ५२ वर्षीया रानामगरलाई रास्वपाले आदिवासी महिला तर्फबाट प्रतिनिधि सभामा समानुपातिक सांसद बनाएको थियो । रानामगर मङ्सिर ४ गतेको चुनावपछि मात्र राजनीतिमा होमिएकी हुन् ।
कारागार पुगेका निर्दोष बालबालिकालाई आश्रय तथा शिक्षा दिन उनी ३३ वर्षदेखि सक्रिय छिन् । उनी हाल त्यस्तै दुई हजारभन्दा बढी बालबालिकाकी आमासमेत हुन् । बन्दी सहायता नेपालकी संस्थापक अध्यक्ष रानाको संस्थाले काठमाडौँ, भक्तपुर, झापालगायतका जिल्लामा १२ वटा बालगृह र दुई वटा विद्यालय सञ्चालन गरिरहेको छ ।
२०२७ असार १८ गते झापाको शनिश्चरेमा जन्मिएकी राना मगर गरिबीका कारण ढिलो गरी मात्रै स्कुल जान थालेकी थिइन् । १० वर्षको उमेरमा एकै पटक कक्षा ५ बाट सुरु भएको उनको शैक्षिक यात्रा २०५३ मा स्नातक तहसम्म उक्लियो । शिक्षासँगै उनले काठमाडौँमा रोजगारीका क्रममा उनले टाँक बनाउने कम्पनीमा काम गरिन् । त्यसबाट खर्च नपुगेपछि उनले पत्रिकामा छापिएको विज्ञापन हेरेर एक स्कुलमा शिक्षक बन्न पुगिन् । उनलाई शिक्षक र नर्स बन्न मन पर्थ्यो । त्यो स्कुल नजिकै साहित्यकार पारिजातको बसोबास थियो । त्यसबेला पारिजात मानवअधिकार वादी संस्था ह्युरनकी उपाध्यक्ष थिइन् । पारिजात जेल पुगेर बन्दीहरूको अवस्था बुझ्ने र उनीहरूको अधिकारको पक्षमा वकालत गर्थिन् । ‘त्यही बेला मेरो सङ्गत दिदीसँग भयो,’ राना भन्छिन्, ‘दिदीले ह्युरनपछि पाम नामक संस्था खोल्नुभयो । मानवअधिकार र जेलका बन्दीबारे काम गर्ने यस संस्थाको म पनि सदस्य भएँ । त्यसपछि नियमित बन्दी गृह जान थालेँ ।’
उनले केन्द्रीय कारागारका बन्दीहरूलाई पढाउन थालिन् । बन्दीका छोराछोरी देखेर उनलाई दया लाग्या । त्यसपछि उनले ट्युसन पढाएको पैसाले केही सहयोग गरिन् । निरन्तर लाग्दै गर्दा उनलाई यही क्षेत्रमा काम गरिरहन मन लाग्यो र उनी निरन्तर उनीहरूकै पक्षमा काम गरिरहिन् ।
३३ वर्षदेखि उनी आमासँगै जेलमा थुनिएका बालबालिकाको शिक्षादीक्षा र बसोबासको व्यवस्था मिलाउने काम गर्छिन् । अहिलेसम्म उनले दुई हजारभन्दा बढी बालबालिकालाई शिक्षा र आश्रय दिएको बताइन्छ । अशोका फेलो २००५ रहेकी उनले आफ्नो कामको प्रतिफल स्वरूप धेरै पुरस्कार र अवार्डहरू पाएकी छिन् । तीमध्ये एसिया २१ योङ्ग लिडर पब्लिक सर्भिस अवार्ड २००९, वर्ल्ड चिल्ड्रेन प्राइज अनररी अवार्ड २०१४, बी बी सी उत्कृष्ट १०० महिला २०१७ प्रमुख हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कालिमाटीमा महिलाको शव बोकेर हिँड्ने युवक पक्राउ
-
गलत तरिकाले दाँत माझिरहनु भएको त छैन ?
-
संभलमा जामा मस्जिद सर्वेक्षणको समयमा हिंसा, ३ जनाको मृत्यु
-
चार महिनामा करिब ४१ अर्बको विदेशी लगानी प्रस्ताव, २४२ उद्योग दर्ता
-
सुन र चाँदी सस्तिने भो
-
सानेपामा भारतीय नम्बरको ट्रकले ४ वटा गाडीलाई ठक्कर दियो, २ जना घाइते