ढाकामोहन बरालका तीन लघुकथा
१ वेतनभोगी जिन्दगी
“आज पनि सब्जी रहेनछ है ? कसरी खाने हो ?” खाना खाँदै गर्दा अजयले गुनासो गर्यो ।
“महिनाको अन्तिम साता कहिले पो हरियो देख्न पाईन्छ र ।” चना र आलुको रस थप्दै श्रीमती उमादेवीले भनिन् ।
खाना खाएर दुबै जना मिलेर भान्छाको धन्दा सके ।
“ए सुन त , ल यो राख है ।”भन्दै उमादेवीलाई पैसा दियो ।
“यो महिनाको तलब अलि ढिलो आयो है ।” उमादेवीले भनिन् ।
“हाकिमसाब नभएर हो ।” उसले कारण बतायो ।
“यतिले अब एक महिना कसरी पुर्याउनु । कमाउनेलाई भन्दा खर्च गर्नेलाई पो गाह्रो छ त ।” भन्दै उमादेवीले दराजको पलेँटो खोल्न थालिन् ।
आफ्नो आम्दानी र घरको खर्च तुलना गरेर घुमाउरो पाराले पकेट खर्च माग्दै भन्यो, “यस पटक पनि अफिस अगाडिको चिया खाजाको तिर्नु बाँकी नै रहला जस्तो छ । ”
“आफूलाई पहिला नै राख्नु पर्छ नि ।” भन्दै केही पैसा अजयलाई फिर्ता दिइन् ।
उता घरवेटीले अर्को महिनाबाट कोठा भाडा बढाइएको कुरा ढोका बाहिरबाटै सुनाएर गए ।
२ क्रमागत
“...ओ बूढी मेरो गलबन्दी कता पर्यो ? लौ आज त बित्यास पर्यो । जरसाब आज छिटै सवारी हुने भनेका थिए डिठ्ठाले । यहीँ गलबन्दी खोज्दा अबेर भयो । चाकडी पुगे नपुगेको खुब याद गरिबक्सन्छ जरसाब...लौन, छिटो खोज ।”तारानाथ सपनामा कराउँदै थिए ,झल्याँस्स बिउँझिए ।
“धत् कस्तो ऊ जमानाको सपना देखिएछ । चाकडीले गर्दा बिर्ता पाएको जग्गाले दिएको सम्पन्नता न हो यो । देखिन्छ त के भयो र ?” आफैंसँग कुरा गरे ।
“हजुरबुवा म लागेँ अब ।” भन्दै ध्रुव अगाडि आयो ।
“कता जान्छौ ?” तारानाथले सोधे ।
“कता हुनु एक पटक निवासमै जानु पर्यो । त्यसपछि एक पटक सिंहदरबार पसेर हेर्नुपर्ला । एक बजे पार्टी कार्यालयको कार्यक्रममा पनि आउने कुरा छ, त्यतै जानु पर्ला । के गर्नु हजुरबुवा राजनीति गरेपछि नेताको आँखामा पर्नै पर्दो रहेछ ।” ध्रुवले भन्यो ।
३ सहरका छिमेकी
“झुपडी हटाउनु पर्यो, यसले यो चोक नै नराम्रो देखायो ।” अध्यक्षज्यूले भन्नु भयो ।
“मेरो आफ्नै जग्गामा बनाएको हुँ ।” उसले भन्यो ।
“ठिक छ, तिम्रो जग्गा भए पनि नराम्रो झुपडी हटाउ भनेको ।” अध्यक्षज्यूले भन्नु भयो ।
“अब कता जाने त म बालबच्चा लिएर ?” उसले सोध्यो ।
“जता गए पनि भयो जग्गा बिक्री भइहाल्छ तिमी यो सहरमा बसेर के गर्छौ ?” अध्यक्षज्यूले भन्नु भयो ।
हिजो साँझ यो झुपडी पछाडिको जग्गाको साहुले वडाध्यक्षज्यूलाई जसरी हुन्छ झुपडी हटाउने ब्यवस्था गरिदिन अनुरोध गरेको थियो । र, उ इन्जिनियरसँग बसेर नयाँ भवनको डिजाइन गर्दै थियो, जसमा झुपडी भएको ठाउँमा पार्किङ स्थल बनाउन उपयुुक्त देखिएको थियो ।
पोखरा–७ मासबार, कास्की