मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय
समाचार

रातोपाटी ब्रिफिङ : प्रचण्डलाई पर्खिँदै सीके राउत, डेडलाइन आइतबार

शुक्रबार, ०६ माघ २०७९, २२ : ५७
शुक्रबार, ०६ माघ २०७९

आज मिति २०७० साल माघ महिनाको ६ गते शुक्रबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमलाई रातोपाटीको रात्रिकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’मा प्रस्तुत गरिएको छ–

१. उपसभामुखमा २ जनाको उम्मेदवारी

प्रतिनिधि सभाको उपसभामुख पदका लागि दुई जनाको उम्मेदवारी दर्ता भएको छ । शुक्रबार अपरान्ह् चार बजेसम्म उम्मेदवारी दर्ताका लागि तोकिएको समयसीमामा दुई जनाको उम्मेदवारी परेको संघीय संसद् सचिवालयले जनाएको छ ।

संसद् सचिवालयका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीकी इन्दिरा राना र नेपाली कांग्रेसकी मुक्ताकुमारी यादवले उम्मेदवारी दर्ता गरेका हुन् ।

नेपाली कांग्रेसले उपसभामुख पदमा शनिबार हुने निर्वाचनमा पार्टीकी उम्मेदवार मुक्ता कुमारी यादवलाई मत हाल्न ह्वीप लगाएको छ ।

२. प्रचण्ड पर्खिँदै सीके

सरकारसँग असन्तुष्ट रहेको सीके राउत नेतृत्वको जनमत पार्टीसँग प्रधानमन्त्री प्रचण्डले आइतबारसम्मको समय मागेका छन् ।  उद्योग मन्त्रालयमा सहमति भएर पछि खानेपानी मन्त्रालयको जिम्मेवारी दिइएको भन्दै जनमत पार्टी सरकारसँग असन्तुष्ट छ ।

सुरुमा विना विभागीय मन्त्री रहेका सो पार्टीका अब्दुल खानलाई माघ ३ गते भएको मन्त्रिपरिषद् विस्तार गर्दा खानेपानी मन्त्रालयको जिम्मेवारी दिइएको थियो । तर, असन्तुष्टि जनाउँदै खानले अहिलेसम्म पदभार ग्रहण गरेका छैनन् । प्रचण्डले आइतबारसम्मको समय मागेपछि सीके राउत सोही दिनसम्मको परखाइमा छन् ।

३. सांसदलाई पक्राउ गर्न निर्देशन

नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीलाई पक्राउ गर्न गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको छ । शुक्रबार एक विज्ञप्ति जारी गर्दै गृह मन्त्रालयले कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी सांसद  कोइरीलाई पक्राउ गर्न प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको हो ।

४. कर्मचारीको सरुवा

सरकारले ७० जना प्रमुख जिल्ला अधिकारीसहितका कर्मचारीको सरुवा गरेको छ । शुक्रबार गृह मन्त्रालयले विभिन्न जिल्लाका सिडिओ, सहायक सिडिओसहित ७० जनाको काज सरुवा गरेको हो ।

५. सुस्मिता प्रकरण

हेटौँडा उपमहानगरपालिका–४ स्थित घरमा सुस्मिता केसीको आफ्नै परिवारको सदस्यबाट हत्या गरेको ठहर गर्दै जिल्ला अदालत मकवानपुरले ससुरासहित ४ जनालाई जन्मकैदको सजाय सुनाएको छ ।

जिल्ला अदालत मकवानपुरको शुक्रबार बसेको इजलाशले–४ कि २४ वर्षीया सुस्मिता केसीको हत्यामा संलग्न भएको ठहर गर्दै ससुरा, २ नन्द र ज्वाइँलाई जन्मकैदको फैसला सुनाएको हो ।

थप समाचार

६. सन्दीप र क्रिकेट

नेपाली राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेले क्रिकेट छोड्ने संकेत गरेका छन् । उनले आफ्नो सामाजिक सञ्जाल ट्वीटरको बायोमा ‘इन्ड अफ स्टोरी हिअर’ राखेका छन् ।

राष्ट्रिय क्रिकेट खेलाडी राखेको स्थानमा उनले बायो परिवर्तन गरेका हुन् । लामो समय नेपाली क्रिकेटमा योगदान गरेका सन्दीपले अहिले क्रिकेट नै छोड्ने मनसाय बनाएको देखिन्छ ।

सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताको खेल तालिका (टाइसिट ड्र) सार्वजनिक भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार एन्फा कम्प्लेक्समा ‘ए’ डिभिजन लिग अन्तर्गत पाँचौं चरणसम्मको खेल तालिका सार्वजनिक गरेको हो ।

७. विद्युतीय गाडीको आयोत बढ्दो

न्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यले नयाँ उचाई कायम गर्दा विद्युतीय सवारीको आयात र प्रयोगमा फाइदा पुुगेको छ । रुस–युक्रेन युद्धका कारण अन्तर्राट्रिय बजारमा कच्चा र प्रशोधित तेलको मूल्यमा एकाएक वृद्धि आउँदा नेपालमा विद्युतीय सवारीको आयात ह्वात्तै बढेको हो ।

थप

८. तलबमा असन्तुष्टि

गत माघ ५ गते राजपत्रमा सूचना प्रकाशन गरी वृद्धि गरिएको न्यायाधीशहरूको तलबमा न्यायाधीश समाज नेपालले आपत्ति जनाएको छ । वृद्धि भएको तलबमान र मर्यादाक्रम समेत नमिलेको भन्दै वृद्धि भएको भनिएको नयाँ तलब नबुझ्ने चेतावनी दिएका छन् ।

९. प्रदेश खबर

प्रदेश १ सरकारले १३ वटाबाट झार्दै ९ वटा मन्त्रालय कायम गरेको छ । मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय विराटनगरमा शुक्रबार बसेको मन्त्रीपरिषद् बैठकले मन्त्रिपरिषद् कार्य विभाजन नियमावली संशोधन गर्दै ९ वटा मन्त्रालय कायम गरेको हो ।

कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मा ‘आर्ट’ ले विश्वासको मत प्राप्त गरेका छन् । मुख्यमन्त्री नियुक्त भएको १० औँ दिनमा शुक्रबार प्रदेशसभामा शर्माले विश्वासको मत प्राप्त गरेका हुन् ।

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले नेतृत्वकर्ता र जिम्मेवार व्यक्तिहरूले प्रदेशमा सुशासन कायम गर्न नसकेको बताएका छन् ।  

१०. यो पनि

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रहितलाई ध्यानमा राखेर बाह्य र अन्तर्राष्ट्रिय सम्बन्ध राखिने बताएका छन् ।  शुक्रबार पार्टीको परराष्ट्र विभागले आयोजना गरेको ‘नेपालको विदेश नीति तथा  अन्तराष्ट्रिय सम्बन्ध’ विषयक दुई दिने अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले कुनै पनि देशले आफ्नो स्थिति र विकास र सुरक्षालाई ध्यानमा राखेर विदेश नीति अपनाउने बताए ।

नवनिर्वाचित प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले पदबहाली गरेका छन् । शुक्रबार अपरान्ह सभामुख घिमिरेले पदभार ग्रहण गरेका हुन् । पदभार ग्रहण गरेसँगै उनले आफ्नो पहिलो निर्णय पनि गरेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो मृत्युपश्चात् आफ्नो शरीरका सम्पूर्ण अंग दान गर्ने घोषणा गरेका छन् ।

यसैगरी ‘प्रचण्ड’ ले सचिवालयमा कर्मचारी नियुक्त गरेका छन् । गत बिहीबार प्रधानमन्त्री प्रचण्डले सचिवालयमा रहने कर्मचारीलाई नियुक्ति पत्र दिएका हुन् ।

चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा थप दुई वटा गैँडाको  मृत्यु भएको छ । यससँगै निकुञ्जमा  चालु आर्थिक वर्ष २०७९–०८० मा मृत्यु हुने गैँडाको संख्या १० वटा रेकर्ड गरिएको छ ।

सैनिक दिवसको अवसरमा नेपाली सेनाले फोटो तथा युनिट विशेष प्रदर्शनी आयोजना गरेको छ । भद्रकालीस्थित जंगी अड्डामा आयोजित फोटो तथा युनिट विशेष प्रदर्शनी शुक्रबार प्रधान सेनापति प्रभुराम शर्माले उद्घाटन गरे ।

रुपन्देहीको तिलोत्तमामा रहेको पाँचतारे टाइगर प्यालेस रिसोर्टले सार्वजनिक जग्गा मिचेको अदालले ठहर गरेको छ ।  जिल्ला अदालत रुपन्देहीले रिसोर्टले मिचेको जग्गा खाली गराउन आदेश दिएको छ ।

धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमतले नवलपरासीको गैँडाकोटमा रहेको भृकुटी कागज कारखाना सञ्चालनको जिम्मा दिन सरकारसँग प्रस्ताव गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आज मागपत्र बुझाउँदै नेकपा बहुमतका संयोजक बास्तोलाले उक्त कागज कारखाना सञ्चालनका लागि आवश्यक जनशक्ति आफ्नो पार्टीबाट उपलब्ध गराउने प्रस्ताव गरेका छन् ।

नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अस्पतालबाट डिस्चार्ज भएका छन् । स्वास्थ्यमा सुधार आएसँगै उनी शुक्रबार अस्पतालबाट डिस्चार्ज भएका हुन् ।

थप समाचार

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप