नेकपा बहुमतको प्रस्ताव : भृकुटी कागज कारखाना सञ्चालनको जिम्मा देऊ
काठमाडौँ । धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा (बहुमत) ले नवलपरासीको गैँडाकोटमा रहेको भृकुटी कागज कारखाना सञ्चालनको जिम्मा दिन सरकारसँग प्रस्ताव गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आज मागपत्र बुझाउँदै नेकपा (बहुमत) का संयोजक बास्तोलाले उक्त कागज कारखाना सञ्चालनका लागि आवश्यक जनशक्ति आफ्नो पार्टीबाट उपलब्ध गराउने प्रस्ताव गरेका छन् ।
“कारखानाको सम्पत्ति अहिले अलपत्र परेको छ । नेपालका युवालाई परिचालित गरेर त्यो कारखाना हामी चलाउन चाहन्छौँ । त्यतिबेला भएका मेसिन सरकारले उपलब्ध गराउनुपर्छ”, उनले भने । सो कारखाना नाफा नहुञ्जेल आफूहरुले चलाउने र सक्षम भएपछि पूर्णरुपमा सरकारलाई हस्तान्तरण गर्न तयार रहेको उनको भनाइ छ । कुनै समय अत्यन्त सफल मानिएको सो उद्योगको जग्गा र सम्पत्ति अहिले अलपत्र अवस्था छ । सरकारले सो कारखाना निजी क्षेत्रलाई सञ्चालन गर्ने जिम्मा दिएको भए पनि अझै सञ्चालनमा आउन सकेको छैन । संयोजक बास्तोलाले सरकार र जनताको सहभागितामा बन्द भएका उद्योगधन्दा सञ्चालन गर्न सकिने विश्वास व्यक्त गरे ।
भृकुटी कागज कारखानासँगै ललितपुरको हरिसिद्धी इँटा टायल कारखाना, बाँसबारी छाला जुत्तालगायत कारखाना निजी क्षेत्रबाट सञ्चालन गर्ने गरी बिक्री भए पनि ती अझै सञ्चालनमा आउन सकेका छैनन् । उहाँले लामो समयदेखि बन्द रहेका कारखाना सञ्चालन गर्न पनि माग गरे । “जनशक्ति हामीले परिचालन गर्छौं, कारखानाबाट हराएका मेसिन राज्यले उपलब्ध गराओस्, हामी कारखाना सञ्चालन गर्छौं”, संयोजक बास्तोलाले भने । रोजगारी सिर्जना गर्ने ठूला राष्ट्रिय कारखाना सञ्चालनको अभियान सुरु गर्ने उनको भनाइ छ ।
नेकपा बहुमतले जनजीविका, राष्ट्रियता, किसान, भूमिहीनलगायतका समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराएको छ । ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री दाहालले राष्ट्रिय पुँजीको संरक्षण गर्दै आत्मनिर्भर अर्थतन्त्रको विकासका लागि सरकार प्रतिबद्ध रहेको बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गृहमन्त्रीले भने, ‘सशस्त्रका जवानलाई १६ वर्षमा अवकाश दिने गरी कानुन बन्दैछ’
-
सिमेन्टमा भएको मूल्यवृद्धि तत्काल नियन्त्रण गर्न समितिको निर्देशन
-
आयरल्यान्डसँग स्तब्ध हुँदै उपाधि होडबाट बाहिरियो पाकिस्तान
-
धावनमार्ग नजिकका पक्की पर्खाल भत्काउँदै दक्षिण कोरिया
-
अवैध भरुवा बन्दुकसहित एक जना पक्राउ
-
कवाडी व्यवसायीको विषयमा जसपा नेपालले गरायो सरकारलाई ध्यानाकर्षण