५ करोड नदिए बम बिस्फोटमा उडाइदिने त्यो धम्की ...
काठमाडौँ । माओवादी शान्ति प्रक्रियामा आएपछि व्यापार व्यवसायले बिस्तारै गति लिन थालेको थियो । त्यही मौकामा व्यवसायी शम्भु श्रेष्ठले इन्द्रेणी ग्रुपको ब्याङ्क्वेट सहितको व्यावसायिक मल तयार पारेका थिए नयाँ बानेश्वरमा । तत्कालीन समयमा चल्तीमा रहेको इन्द्रेणी कम्प्लेक्सको व्यापार र व्यवसाय राम्रै चलिरहेको थियो । राजनीतिक पार्टीको कार्यक्रमदेखि सेमिनार र भोजका कार्यक्रम पनि बानेश्वरको इन्द्रेणी कम्प्लेक्समा रहेको इन्द्रेणी रेस्टुरेन्टमा सुरु भएको थियो ।
२०६८ साल वैशाख १३ गते बिहान एउटा एनसेलको नम्बरबाट तिनै व्यवसायी श्रेष्ठलाई फोन आयो । श्रेष्ठले चलाइरहेका मोबाइल नम्बरमा फोन गर्ने व्यक्तिले आफूहरूलाई पाँच करोड सहयोग गर्न र ५ करोड नदिए श्रेष्ठको इन्द्रेणी कम्प्लेक्स र श्रेष्ठ बस्ने घरसमेत बमले उडाइदिने धम्की दिए ।
सुरुमा श्रेष्ठले सामान्य धम्की होला भन्ने सोचेर खासै वास्ता गरेनन् । आपराधिक समूहले भने श्रेष्ठलाई बारम्बार धम्की दिँदै ५ करोड नदिए धन सम्पत्ति मात्रै नभएर ज्यान समेत जान सक्ने धम्की दिइरहे ।
सुरुवाती समयमा कुनै राजनीतिक दलले चन्दा लिन दिएको सामान्य धम्की हुनुपर्छ भनेर श्रेष्ठले खासै वास्ता गरेनन् । पाँच करोडबाट सुरु भएको सहयोग पछि तीन करोडमा आइपुग्यो । तर पनि उनले सहयोग गर्न नसक्ने बताइरहे । आपराधिक समूहको निसानामा परेका श्रेष्ठलाई धम्की दिए पनि बम नै राख्ने र ज्यानै उडाइदिने काम पक्कै नगर्लान् भन्ने लागेको थियो । ५ करोड माग गरे पनि थोरै रकमले काम बन्ला कि भन्ने उनलाई लागेको थियो ।
केही समय श्रेष्ठलाई समय दिएका आपराधिक समूहका व्यक्तिहरूले बिहान करिब ११ बजे इन्द्रेणी कम्प्लेक्सको अन्डरग्राउन्ड पार्किङमा बम राखेको भन्दै रकम नदिए पड्काइदिने धम्की दिए । सुरुमा सामान्य ठानेका श्रेष्ठले कुनै कर्मचारीलाई पठाएर बम राखेको छ कि छैन वा आपराधिक समूहले भनेको स्थानमा केही छ कि छैन भनेर हेर्न लगाए ।
कम्प्लेक्सका कर्मचारीले आपराधिक समूहले भनेकै स्थानमा केही सामान रहेको सञ्चालक श्रेष्ठलाई जानकारी गराए । त्यसपछि आत्तिएका श्रेष्ठले तत्काल प्रहरीलाई खबर गरे । तत्कालीन समयमा महानगरीय प्रहरी वृत्त बानेश्वर, प्रहरी परिसर काठमाडौँ लगायतका टोली पुगेर प्रारम्भिक अनुसन्धान गर्दा बम नै रहेको पुष्टि भएपछि प्रहरीले बम डिस्पोजका लागि भन्दै नेपाली सेनालाई जानकारी गराएर सहयोगका लागि आग्रह गर्यो । तत्काल नेपाली सेनाको टोली आएर वरिपरिका ठुलो क्षेत्र खाली गराई लामो समय लगाएर बम डिस्पोज गर्यो । आपराधिक समूहले श्रेष्ठको घरमा पनि बम राख्ने धम्की दिए पनि इन्द्रेणी कम्प्लेक्समा बम राखेपछि अन्यत्र भने बम राखेन ।
बम डिस्पोज गरिसकेपछि अनुसन्धानमा जुटेको प्रहरीले श्रेष्ठलाई फोन गर्ने एनसेल नम्बरको खोजी सुरु गर्यो । उक्त सिम कार्ड कसको नाममा छ र कसले प्रयोग गरिरहेको छ भन्ने खोज बिन गर्यो । तर प्रारम्भिक अनुसन्धानमा उक्त सिम कार्ड एक सामान्य मजदुरको रहेको र उनको बम बनाउने, बम राख्ने वा रकम माग गर्ने हैसियत नरहेको पाइएपछि ती व्यक्ति आपराधिक समूहका व्यक्ति होइनन् भन्दै छाडिएको थियो ।
२०६८ सालमा भर्खरै सिसिटिभीको सुरुवात भएको भए पनि सडक खण्डमा सबैतिर सिसिटिभी राखी सकिएको थिएन । त्यस कारण सिसिटिभीको माध्यमबाट आपराधिक समूह पत्ता लगाउने सम्भावना ज्यादै न्यून थियो । एक मात्रै प्रमाण भनेको त्यही एउटा मोबाइल नम्बर थियो ।
प्रहरीले तत्कालीन समयमा मोबाइल नम्बर र मोबाइलसँग कनेक्सन जोडिएका केही व्यक्तिहरूको हुलिया पाएको थियो । नाम समेत पाएको प्रहरीले ती व्यक्तिहरूलाई शङ्कितको सूचीमा राखेको थियो । तर आपराधिक समूह तिनै हुन् भन्ने यकिन गर्न सकेको थिएन भने बम नपड्केको र मानवीय तथा आर्थिक क्षतिसमेत नभएको कारण तत्कालीन समयमा प्रहरीले यो घटनालाई त्यति महत्त्व दिएको थिएन ।
पछिल्लो समय प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह, उपत्यका प्रहरी कार्यालय रानीपोखरी र काठमाडौँ प्रहरी प्रमुखले पुरानो मुद्दा तथा अनसल्भ्ड केसहरूको मिसिल खोजी अनुसन्धान गर्नु भन्ने निर्देशन दिएपछि वृत्तका डिएसपी निशान्त श्रीवास्तवले वृत्तमा रहेका पुराना मिसिलहरू खोतले । त्यही मिसिल खोतल्ने क्रममा दुई वटा मिसिल निकालियो । पहिलो थियो के एन्ड के कलेजमा भएको हत्या प्रकरणको फाइल ।
२०६४ सालमा भएको ग्याङ वार मा सुनसरीका नगेन्द्र लिम्बुको हत्या भएको थियो । नेपाल कमर्स क्याम्पस मीनभवनमा बिबिएस पढ्दै गरेका लिम्बु र पुष्पराजको समूहबीच आँखा हेराहेर अर्थात् आँखा जुधाएको निहुँमा लिम्बुको तरबार, छुरा लगायतका हतियार प्रयोग गरी हत्या भएको थियो ।
उक्त हत्याको फाइल पल्टाउँदै अनुसन्धान गर्दा हत्यामा संलग्न दुई जना व्यक्ति विदेशमा रहेको र एक व्यक्ति नेपालमै रहेको पत्ता लागेपछि ‘मुभ’ भएको प्रहरीले हत्यामा संलग्न पुष्पराज लिम्बुलाई पक्राउ गर्यो ।
उक्त घटनामा सफलता हात लाग्ने बित्तिकै बानेश्वर प्रहरीले अर्को फाइल पनि खोल्यो । त्यो फाइल थियो, इन्द्रेणी कम्प्लेक्समा बम राखी रकम माग गर्ने आपराधिक समूहको । सामान्य सुराक र शङ्काको भरमा मात्रै अनुसन्धान गर्नुपर्ने बाध्यता प्रहरीलाई थियो । तर पनि प्रहरीले फाइल खोल्यो र अनुसन्धान सुरु गर्यो ।
प्रहरीले शङ्कित मध्येका व्यक्तिहरूको खोजी गर्दा महेश खत्री भन्ने नाम गरेको व्यक्तिको घर चापागाउँमा रहेको र उनी त्यहीँ रहेको भन्ने सूचना पायो । त्यसपछि प्रहरीले महेशको बारेमा गोप्यरुपले खोजीनिती गर्यो । बम काण्डमा महेशको संलग्नताको सुराक पाएको प्रहरीले महेशलाई पक्राउ गर्ने तयारी गर्यो । तर कमजोर मिसिलका आधारमा पक्राउ मात्रै गर्दा निर्दोष पो पर्ने हो कि भन्ने चिन्ता बढ्यो । त्यसपछि प्रहरीले सुराकी खटाएर घटनामा संलग्नता हो कि होइन भन्ने कुरा पत्ता लगाउन आफ्नै ढङ्गबाट अनुसन्धान अगाडि बढायो । घटनामा महेशले आफ्नो संलग्नता रहेको कुरा चुहाएपछि प्रहरी बल्ल महेशलाई पक्राउ गर्न अगाडि बढ्यो ।
बानेश्वर प्रहरीले प्रहरी निरीक्षकको कमान्डमा अन्य केही प्रहरीसमेत परिचालन गर्यो ।कसुरमा संलग्नताको अनौपचारिक स्वीकारोक्ति गरेका महेशलाई पक्राउ गर्न प्रहरी टोली महेश बस्ने गरेको गोदावरी क्षेत्रमा पुग्यो ।
चार रात गोदावरी क्षेत्रमा महेशविरुद्ध सर्च अपरेसन
ललितपुरको गोदावरीमा रहेको गोदावरी रिसोर्टमा महेशको लोकेसन देखियो । प्रहरीले लगातार उक्त रिसोर्टमा महेशको खोजी गर्यो, तर भेट्टाउन सकेन । एक दिन प्रहरी टोली रिसोर्टभित्रै गएर खोजी गर्ने र ‘उठाउने’ तयारी गर्यो । त्यति बेलासम्म प्रहरीलाई लागिसकेको थियो कि महेश उक्त रिसोर्टमा काम गर्ने कर्मचारी हुन् । तर सोधपुछ गर्न थाल्दा हल्ला हुने र अन्य आरोपीले समेत थाहा पाउने र उनीहरू भाग्न सक्ने डर प्रहरीलाई थियो । त्यस कारण प्रहरीले सूक्ष्म निगरानी गरिरहेको थियो । महेश रिसोर्टबाट बाहिर निस्केलान् र समाउला भनेर बसेको प्रहरीले महेशलाई पक्राउ गर्न पाएन ।
करिब ४ दिनसम्म कुर्दा पनि महेश रिसोर्टबाट बाहिर नआएपछि प्रहरी चौथो दिनको राती सोही रिसोर्टमा ग्राहकका रूपमा पुग्यो । महेशको लोकेसन अझै पनि त्यहीँ देखिएको थियो र सोधपुछ गर्ने तयारी गर्यो । तर रातको १२ बजेको समयमा सोधपुछ गर्दा समस्या पर्ने भएपछि भोलिपल्ट बिहानै महेशको खोजी गरी पक्राउ गर्ने भन्दै ग्राहक बनेर गएका सादा पोसाकका प्रहरीहरू त्यही रिसोर्टमा बसे । प्रहरीसँग महेशको फोटो थिएन । तर सामान्य हुलिया मात्रै रहेको कारण यही व्यक्ति हो भन्ने कुरा थाहा भएन ।
पुसको २६ गते बिहानै सादा पोसाकका प्रहरी रिसोर्टको महँगो चिया खानुभन्दा नजिकैको सस्तो चिया खाने भन्दै बाहिर निस्किए । गोदावरी रिसोर्ट बाहिर एउटा चिया पसल थियो । ईट्टाभट्टा नजिकैको चिया पसलमा बिहानै मानिसहरूको भीड हुने गर्थ्यो । प्रहरी पनि त्यहीँ चिया खानका लागि पुग्यो ।
भिरालो स्थानमा रहेको गोदावरी रिसोर्टमा लगातार चार दिन र चार रात खोजी गरेका पात्र अर्थात् महेश खत्री त्यही चिया पसलमा भेटिए । फोटो नपाएको भए पनि महेशको हुलियाबारे जानकार प्रहरीलाई चिया पसले नै महेश हो भन्ने पत्ता लगाउन कठिन भएन । ती व्यक्ति को हुन् भनेर सोधपुछ गर्दा महेश खत्री तिनै व्यक्ति हुन् भन्ने पत्ता लाग्यो । रिसोर्टको कामदार होला भन्ने ठानिएको व्यक्ति र रिसोर्टमा खोजी गरिरहेका व्यक्ति रिसोर्टको बाहिर ईट्टाभट्टाको बाहिर चिया पकाउँदै गरेको अवस्थामा भेटिए । त्यसपछि महेशलाई त्यहीँबाट पक्राउ गरेर प्रहरी वृत्त बानेश्वरमा ल्याइयो ।
पक्राउ गर्दा कसले किन पक्राउ गरेको हो केही कुराको जानकारी नदिई महेशलाई पक्राउ गरिएको थियो । तर जब प्रहरी वृत्त बानेश्वरमा ल्याएर इन्द्रेणी कम्प्लेक्समा बम राखेको बारे सोधपुछ सुरु गरियो, महेशले घटनामा क–कसको कस्तो संलग्नता थियो भनेर सबै बताइदिए ।
यसरी तयार भएको थियो अपराधको योजना
इन्द्रेणी कम्प्लेक्सका सञ्चालकलाई धम्काएमा वा पैसा मागेमा उनले दिने सूचना वा जानकारी एक योजनाकारलाई थियो । तर कति रकम दिन्छन् वा देलान् भन्ने विषयमा जानकार नरहेका ती योजनाकारले केही युवाहरूलाई साथमा लिएर इन्द्रेणी कम्प्लेक्सका सञ्चालकलाई धम्काउने र पैसा असुल्ने योजना बनाए ।
योजना अनुसार ती योजनाकारले अन्य चारजना युवाहरूसँग छलफल गरे । बम पड्काउने योजना बनाएर रकम माग गर्ने र दिने सुरसार नगरेमा बम राख्नेसम्मको योजना बन्यो । उनको योजनामा साथ दिए चापागाउँका महेश खत्री, सन्तोष केसी, सिन्धुलीका सूर्य तामाङ र अर्का एक व्यक्तिले । सबैसँग छलफल भएपछि मुख्य योजनाकारले सञ्चालक श्रेष्ठले कम्तीमा ३ करोड रुपैयाँ दिने र उक्त रकममध्ये योजनामा साथ दिनेहरूलाई २० लाखदेखि ३० लाखसम्म दिने बताए । सुरुवाती समयमा केही रकम ती योजनाकारले योजनामा समावेश भएका युवाहरूलाई समेत दिए ।
बम बनाउने जिम्मेवारी महेश खत्री र ती योजनाकारले लिए । योजना अनुसार एउटा सामान्य व्यक्तिको नाममा रहेको सिम कार्ड उनीहरुले प्राप्त गरे, बम बनाउने विधिबारे विभिन्न व्यक्ति, सामाजिक सञ्जाल र इन्टरनेटबाट जानकारी लिए अनि सामानहरू किनेर बम समेत तयार पारे ।
योजना अनुसार २०६८ साल वैशाख १३ गते बिहानै श्रेष्ठको कम्प्लेक्सको पार्किङ नजिकै केही युवा पुगे । सुरुमा ५ करोड रुपैयाँ माग गर्दै पाँच करोड नदिए कम्प्लेक्स र घरसमेत बमले उडाइदिने धम्की दिए । सामान्य कुराकानीपछि त्यति रकम आफूसँग नभएको, सामान्य सहयोग गर्न सक्ने तर करोड–करोड रकम दिने हैसियत आफूसँग नभएको श्रेष्ठले जवाफ दिए । त्यसपछि आपराधिक समूहका सदस्यहरू ५ करोडबाट घटेर तीन करोडमा झरे । श्रेष्ठले आफूले रकम दिन नसक्ने प्रतिक्रिया दिए । श्रेष्ठले रकम दिन नसक्ने बताएपछि बिहान करिब ११ बजेको समयमा दुई जना युवा मोटरसाइकलमा श्रेष्ठको इन्द्रेणी कम्प्लेक्स, नयाँ बानेश्वरमा पुगे । त्यहाँ झोलामा रहेको बम राखे र बाहिर निस्किए । अनि उनै श्रेष्ठलाई तिम्रो कम्प्लेक्समा बम राखिसके, अब पनि पैसा नदिए विस्फोट गराइदिन्छौँ भन्दै धम्की दिए ।
त्यसपछि आत्तिएका श्रेष्ठले प्रहरीलाई घटनाबारे जानकारी गराए । आपराधिक समूहले अब घरमा पनि बम राख्ने र पड्काइदिने सम्मको धम्की दिइरह्यो । प्रहरीले श्रेष्ठको घर वरपर पनि सुरक्षा दिन थाल्यो । आपराधिक समूहले अपराह्न २ बजेसम्म लगातार फोन गरिरह्यो । तर श्रेष्ठले पैसा दिने हैसियत नभएको बताएपछि आपराधिक समूह त्यसपछि बेपत्ता भयो ।
रातभर हिँडेर मकवानपुर र सिन्धुली
बम राखी फिरौती रकम माग गरेको सम्बन्धमा प्रहरीले खोज बिन सुरु गर्ने बित्तिकै मुख्य योजनाकारले महेश लगायतको युवाहरूलाई केही रकम दिएर काठमाडौँबाट बाहिर पठायो । प्रहरीले खोजी सुरु गरेको थाहा पाए लगत्तै मुख्य योजनाकारको सल्लाहमा महेश लगायतका युवाहरूको टोली रातभर हिँडेर मकवानपुर र सिन्धुली जिल्ला पुग्यो । नाकामा चेकजाँच हुने र सवारीसाधन प्रयोग गर्न नहुने भन्दै उनीहरू रातको समयमा हिँडेरै उपत्यका बाहिर गए ।
घटनापछि अनुसन्धान सुरु गरेको बानेश्वर प्रहरीले घटनामा महेशको संलग्नताको केही क्लु पाएको थियो । घटनामा महेशको संलग्नता हुन सक्ने सम्भावना देखिए पनि महेश काठमाडौँमा नभएपछि त्यति धेरै खोजी गरेन । बम विस्फोट हुन नपाएको कारण प्रहरीले त्यति चासो पनि दिएन । त्यो फाइल त्यत्तिकै राखियो ।
करिब एक महिनासम्म सिन्धुली, मकवानपुर लगायतका जिल्लामा रहेका महेश त्यसपति काठमाडौँ आए । तर उनी घरमा भने गएनन् । उक्त घटना बिस्तारै सेलाउँदै गएपछि महेश आफ्नै घरमा समेत गएर बसे । त्यसको केही समयमै महेश वैदेशिक रोजगारीका लागि मलेसियामा समेत गए । त्यहाँ केही कमाएर फर्किएपछि महेशले विवाह गरेर सानो व्यापार गरेर बस्न थालेका थिए ।
तर घटनाको ११ वर्षपछि बानेश्वर प्रहरीले उक्त फाइल पुनः खोल्यो । फाइल खुलेपछि अनुसन्धान सुरु गरेको प्रहरीले टेक्निकल एनालाइसिस र ह्युमन इन्टेलिजेन्स प्रयोग गरेर महेशमाथि निगरानी बढायो । अन्ततः महेशलाई पक्राउ गरेपछि महेशले घटनाबारे सबै बेलिबिस्तार लगाइदिए । महेशकै सूचनाका आधारमा सन्तोष केसी र सूर्य तामाङ पनि पक्राउ परे ।
मुख्य योजनाकार विदेशमा
इन्द्रेणी कम्प्लेक्समा बम राख्ने र रकम उठाउने योजना बनाउने मुख्य योजनाकार भने यति बेला देशबाहिर छन् । घटनामा संलग्न अर्का युवकको सम्बन्धमा प्रहरीले केही बताएको छैन । ती व्यक्तिको पनि खोजी कार्य जारी रहेको र चाँडै पक्राउ गर्ने प्रहरीले जनाएको छ । विदेशमा रहेका मुख्य योजनाकारलाई इन्टरपोलमार्फत डिभ्युजन नोटिस जारी गरी नेपाल झिकाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।
घटनाको ११ वर्षपछि अनुसन्धान गरिरहेका एक प्रहरीका अनुसार उक्त बम उनीहरू आफैँले बनाएको प्रारम्भिक बयान दिएका छन् । मुख्य योजनाकारको आफन्त नेपाली सेनामा रहेको र बमबारे जानकार व्यक्ति भएको पाइएको छ । बम बनाउनका लागि अन्य व्यक्तिहरूबाट पनि सामान्य जानकारी लिइएको पाइएको छ । प्रहरी भन्छ, ‘प्रारम्भिक अनुसन्धानमा उनीहरू आफैँले बम बनाएको भन्ने बुझिएको छ । बम बनाउन विभिन्न व्यक्तिबाट जानकारी लिइएको भन्ने पाइएको छ । यस विषयमा थप अनुसन्धान हुँदै छ ।’
तत्कालीन समयमा आपराधिक समूहको पहिचान नखुलेको कारण अगाडि नबढेको केस यति बेला बानेश्वर प्रहरीले अनुसन्धान गरी अगाडि बढाएको छ । घटनाको ११ वर्षपछि इन्द्रेणी कम्प्लेक्सका सञ्चालक शम्भु श्रेष्ठले बानेश्वर प्रहरीमा जाहेरी दिएका छन् र अनुसन्धान सकेर अदालतमा मुद्दा लैजाने तयारी गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कृषिमा आमूल परिवर्तन ल्याउन समय र रणनीति आवश्यक छ : मन्त्री अधिकारी
-
‘रवि दाइलाई रिहा गर’ भन्दै काठमाडौँमा प्रदर्शन, तस्बिरहरू
-
‘मान्छेहरूले यसलाई अश्लील बनाइदिए’
-
ओलीको चीन भ्रमण राम रमिता र गरिष्ठ भोजनमा सीमित हुने देखिन्छ : हरि रोका
-
लाल सागरमा पर्यटक चढेको डुङ्गा डुब्दा १६ जना बेपत्ता
-
लथालिङ्ग भएको कीर्तिपुरलाई नमुना नगर बनाउँछु : माओवादी उम्मेदवार महर्जन (भिडियोसहित)