मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय
समाचार

रातोपाटी ब्रिफिङ : हेर्नुहोस् आज दिनभरका ‘टप टेन’ समाचार

बिहीबार, ०५ माघ २०७९, २१ : ३७
बिहीबार, ०५ माघ २०७९

आज मिति २०७९ साल माघ महिनाको ५ गते बिहीबार । आज दिनभर भएका मुख्यमुख्य घटनालाई रातोपाटीको नियमित रात्रिकालीन प्रस्तुती रातोपाटी ब्रिफिङमा प्रस्तुत गरिएको छ–

१. सभामुखमा घिमिरे चयन

प्रतिनिधिसभाको सभामुखमा एमाले सांसद देवराज घिमिरे निर्वाचित भएका छन् । बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा मत विभाजनमार्फत भएको मतदान प्रक्रियामा घिमिरेलाई निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा बहुमत पुगेकाले सभामुख पदमा निर्वाचित भएको संसदका जेयष्ठ सदस्य पशुपतिशमशेर राणाले घोषणा गरे ।

सत्ता गठबन्धनका तर्फबाट सभामुख पदमा उम्मेदवार बनेका घिमिरेलाई निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा १६७ मत परेको छ । त्यसैगरी हुन्न भन्ने पक्षमा सय मत परेको छ भने मत दिन्न पक्षमा १ मत परेको छ । २६८ जना सांसद मतदानमा सहभागी भएका थिए । घिमिरेलाई एमाले, माओवादी केन्द्र रास्वपा, राप्रपा, जसपा,नागरिक उन्मुक्ति र केही स्वतन्त्र सांसदले मतदान गरेका थिए ।

नवनिर्वाचित सभामुख घिमिरेले निष्पक्षताका साथ सभा सञ्चालन गर्ने प्रतिबद्धता जनाएका छन् ।

बिहीबार सभामुख पदमा निर्वाचित भएपछि संसद् भवनबाहिर सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै सभामुख घिमिरेले यस्तो प्रतिबद्धता जनाएका हुन् ।

२. गौतमलाई उपसभामुख बनाउने तयारी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सोविता गौतमलाई उपसभामुख बनाउने तयारी गरिएको छ । सत्ता साझेदार दलबाट सभामुखमा एमालेका देवराज घिमिरे भएपछि उपसभामुखमा रास्वपाकी गौतमलाई बनाउने तयारी गरिएको हो ।

३. राष्ट्रपतिबारे बहस

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रपतिमा राष्ट्रिय सहमति भए राम्रो हुने बताएका छन् ।   बिहीबार संसद भवन बाहिर सञ्चारकर्मीले सोधेको प्रश्नमा माओवादी अध्यक्ष समेत रहेका प्रचण्डले सत्ता साझेदार दल र आफ्नोतर्फबाट पनि सहमतिको प्रयास भइरहेको बताए ।

यसैगरी नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीका तर्फबाट अगाडि सारिने राष्ट्रपतिको उम्मेदवारमा नै राष्ट्रिय सहमति कायम हुने विश्वास व्यक्त गरेका छन् ।

प्रतिनिधिसभाको बिहीबारको बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीसँग उनले एमालेले राष्ट्रपतिको उम्मेदवार तय गर्ने सहमति सत्ता साझेदार दलभित्र भएको दाबी गरे ।

नेकपा एमालेका सांसद सुवासचन्द्र नेम्वाङले गैर राजनीतिक व्यक्तिलाई राष्ट्रपति बनाउनु भनेको राजनीतिक दलहरुले आफैँमाथि विश्वास नगर्नु रहेको बताएका छन् ।

बिहीबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले राष्ट्रपतिका लागि राजनीतिक दलहरुले सक्षम व्यक्ति अघि सार्न सक्नुपर्ने बताए । नेकपा एमालेबाट राष्ट्रपति बन्ने भएसँगै नेम्वाङको नाम चर्चामा रहेको छ ।

नेपाली कांग्रेसले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी संविधानको व्यवस्था र निर्वाचन ऐनबीच भिन्नता रहेकाले एकरुपताका लागि ऐन संशोधन गर्नुपर्ने बताएको छ ।

संसदीय दलका मुख्य सचेतक रमेश लेखकले संविधान र ऐनलाई एकरुपता दिन कांग्रेसले ऐन संशोधन गरेर एकरुपताका लागि प्रस्ताव लैजाने बताएका छन् ।

४. अब निर्वाध आयात

सरकारले आयातमा नगद मार्जिनको व्यवस्था खारेज गरेको छ । बिहीबार राष्ट्र बैंकले विदेशी विनिमय कारोबार गर्न इजाजतपत्र प्राप्त निकायलाई जारी गरिएको एकीकृत परिपत्र–२०७८ को इप्रा परिपत्र ०१–२०७८ को दफा १।१७ लाई खारेज गर्दै आयातमा जारी एलसीमा खुल्ला नीति लिएको हो ।

५. फुटबल चलिरहेको मैदानमा हेलिकप्टर अवतरण

फुटबल खेल चलिरहेको मैदानमा हेलिकप्टर ल्याण्ड गरिएपछि स्याङ्जामा पाइलटमाथि हातपात भएको छ । बिहीबार दिउँसो पोखराबाट साइटसिनका लागि भन्दै स्याङ्जा पुगेको प्रभु एयरको हेलिकप्टर वालिङ नगरपालिकास्थित फुटबल चलिरहेको मैदानमा अवतरण भएपछि चालकमाथि हातपात भएको हो ।

६. सेयर बजार

बिहीबार सेयर बजार सूचक नेप्सेमा ५ अंकको सुधार आएको छ । अघिल्लो दिन ९ अंकले घट्दै २१७३.१० अंकमा ओर्लिएको नेप्सेमा आज ५.७१ अंकको वृद्धि हुँदै २१७८.८१ अंकमा उक्लिएको हो ।

७. ओलीसँग बिच्किएका उपेन्द्र

कांग्रेस नेतृत्वको तत्कालीन गठबन्धन छाडेर एमालेको साथमा गएका जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव अहिले एमाले अध्यक्ष केपी शर्मा ओलीबाट बिच्किएका छन् । जसपा अध्यक्ष यादव पुनः ओली इतरको गठबन्धन बनाउने गृहकार्यमा लागेका छन् । उनी अहिले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई साथमा लिएर कांग्रेस सभापति शेरबहादुर देउवासँगको भेटघाटलाई तीब्रता दिइरहेका छन् ।

८. लुम्बिनीका मुख्यमन्त्रीलाई विश्वासको मत

लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन् ।

बिहीबार प्रदेशसभामा मुख्यमन्त्री गिरीले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ५७ सांसदले मत दिएका हुन् । प्रस्तावको विपक्षमा २८ मत परेको हो ।

९. संसदमा सांसदहरु

नमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सिके) राउतले थोत्रा प्लेन ल्याउन अनुमति दिने, सञ्चालन गर्ने सञ्चालक र उडान अनुमति दिने इन्सपेक्टरलाई कारबाही गर्न कसले रोकेको छ भन्दै प्रश्न गरेका छन् । संसदमा बोल्दै राउतले गृहमन्त्रीले प्लेन दुर्घटनाको तत्काल छानविन गरी कारबाही अघि बढाउन आग्रह गरे ।

१०. यो पनि..

जापान पठाउने नाममा ४१ जना युवाको ३ करोडभन्दा बढी रकम ठगी भएको पाइएको छ । ठगिनेमा मोरङका ४० र झापा एक जना छन् । ठगीमा पर्ने मोरङका ४० जना नै राजवंशी समुदायका छन् ।

३१ थान राहदानीसहित ३ जना पक्राउ परेका छन् ।  गोंगबुस्थित वीरेन्द्र ऐश्वर्य मार्गमा रहेको होटल सिनामा र मित्रनगरस्थित गुल्मी पल्लीकोट गेष्ट हाउसबाट उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो । वैदेशिक रोजगार सम्बन्धी अवैध गतिविधि भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त महाराजगञ्ज र प्रहरी प्रभाग बसपार्कबाट टोली परिचालन भएको थियो ।

पुष्पकमल दाहाल प्रचण्डले वरिष्ठ नेत्र चिकित्सक डा सन्दुक रुइतले प्रतिष्ठित इसा अवार्ड प्राप्त गरेकोमा बधाई दिएका छन् । बिहीबार बिहान ट्वीटरकमार्फत प्रधानमन्त्री प्रचण्डले मानव कल्याणको क्षेत्रमा डा। रुइतको योगदान देशकै लागि प्रतिष्ठित र प्रशंसनीय रहेको उल्लेख गरेका छन् ।

हरेक माघ ५ गते मनाइने बलिदानी दिवसको अवसरमा मधेस प्रदेशमा आज सार्वजनिक बिदा दिइएको छ । तराई मधेसमा भएको अधिकार प्राप्तिको आन्दोलनको क्रममा ज्यान गुमाएका शहीदहरूको स्मरणमा विगत चार वर्षदेखि मधेस प्रदेश सरकारले हरेक माघ ५ गते बलिदानी दिवस मनाउँदै आएको छ ।

कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले पदभार सम्हाल्दै गर्दा ‘वार्षिक १० हजारलाई रोजगारीमा जोड्ने’ निर्णय गरेका थिए । उक्त निर्णयलाई कार्यान्वयन गर्नका लागि सरकारले ‘समृद्ध कर्णालीका लागि रोजगारी मार्फत स्वरोजगारीको मार्गचित्र तथा कार्ययोजना निर्माण कार्यदल’ गठन गर्ने निर्णय गरेको छ  ।

कोशी अस्पतालमा उपचारका लागि लगिएका एक बालकलाई चिकित्सकले जिवित रहँदा नै मृत्यु घोषणा गरेको प्रकरणमा स्वास्थ्य मन्त्रालयले चासो व्यक्त गरेको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले चासो व्यक्त गरेका हुन् ।

थप समाचार

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप