निर्मला पन्तको हत्यापछि १२० जनाको डीएनए परीक्षण
काठमाडौं । कञ्चनपुरको भीमदत्त नगरपालिकास्थित उल्टाखामकी निर्मला पन्तको १० साउन २०७५ मा बलात्कारपछि हत्या भयो । १३ वर्षीय निर्मलाको हत्यामा संलग्न व्यक्ति पत्ता लगाउन प्रहरीले अहिलेसम्म १२० जनाको डीएनए जाँच गरेको छ । तर, डीएनए म्याच नहुँदा अनुसन्धानको नतिजा शून्य छ ।
उपप्रधान एवं गृहमन्त्री नियुक्त भएपछि रवि लामिछानेले निर्मला पन्तको हत्याबारे न्यायिक छानबिन गर्ने पहिलो निर्णय गरे । गृहमन्त्रीको निर्णय अनुसार हत्या अनुसन्धानलाई प्रभावकारी बनाउन पुस १५ मा डीआईजी दुर्गा सिंहको नेतृत्वमा नयाँ समिति बन्यो । सिंह नेतृत्वको समिति कञ्चनपुरमा गएर स्थलगत अनुसन्धान गरेर फर्केको छ । समितिको निष्कर्ष छ–हत्या आरोपी पत्ता लाग्न डीएनए मिल्नुको विकल्प छैन ।
निर्मलाको हत्यापछि केन्द्रीय अनुसन्धान ब्यूरोका तत्कालीन डीएसपी अंगुर जिसी नेतृत्वको टिमले दिलिपसिंह विष्टलाई पक्राउ गरेको थियो । निर्मलाको ‘भजाइनल स्वाब’ सँग विष्टको डीएनए म्याच नभएपछि २०७५ भदौ २६ मा सरकारी वकिल कार्यालयले विष्टलाई साधारण तारेखमा छाड्ने निर्णय गरेको थियो ।
दिलिप सिंह छुटेपछि प्रहरीले अहिलेसम्म १२० जनाको रगतको स्याम्पल लिएर डीएनए परीक्षण गरेको छ । त्यसबारे प्रहरी प्रधान कार्यालयमा केन्द्रीय अनुसन्धान ब्यूरोका अनुसन्धान अधिकृतहरुले गृहमन्त्री रवि लामिछानेलाई ब्रिफिङ गरेका छन् ।
हत्यापछि केन्द्रीय अनुसन्धान ब्यूरोले लगातार टिम परिचालन गरिरहेको छ । दुर्गा सिंहको नेतृत्वमा समिति गठन हुनुअघि पनि ब्यूरोबाट इन्स्पेक्टर धनदेव साउद नेतृत्वको टिम कञ्चनपुरमै बसेर काम गरिरहेको थियो ।
डीआईजी सिंह नेतृत्वको पछिल्लो समितिले डीएनए जाँच गर्न ५ जनाको रगतको स्याम्पल संकलन गरेको छ । तीमध्ये दुईजना भारतीय छन् जसमा निर्मलाको घर नजिकै तरकारी खेती गर्नेका छोरा मोहम्मद इस्लाम हुन् । तर भारतस्थित उनको गाउँमा एउटै नाम गरेका दुई जना रहेको पाइएपछि दुवै जनाको रगतको नमुना परीक्षण गरिएको प्रहरी स्रोतको भनाइ छ ।
तर, ती दुवैको डीएनएको रिपोर्ट ‘नेगेटिभ’ आएको छ । कञ्चनपुर घर भएका ३ जनाको नमुना प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशालामा परीक्षण गरिएको छ । उनीहरुको रिपोर्ट आउन बाँकी छ ।
सिंह नेतृत्वको समितिले निर्मला हत्याबारे नयाँ शिराबाट अनुसन्धान भइरहेको जनाएको छ । समितिले पुरानो अनुसन्धान प्रतिवेदन र संकलित प्रमाणहरु पनि विश्लेषण गरिरहेको छ । समितिको सदस्य समेत रहेका केन्द्रीय अनुुसन्धान ब्यूरोका प्रवक्ता (एसपी) कमल थापा भन्छन्, ‘अहिलेसम्मको अनुसन्धानको पुनरावलोकन गरेका छौं, आगामी अनुसन्धानलाई कसरी अघि बढाउने भन्नेबारे छलफल गरिरहेका छौं ।’
आरोपित पहिचान नहुँदाम्म सीआईबीले अनुसन्धान जारी राख्ने एसपी थापाले बताए । उनी भन्छन्, ‘डीएनए मिल्नुको विकल्प छैन ।’
वंश पत्ता लाग्ने अनुसन्धान
निर्मला हत्या प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले ‘मास डीएनए’को कन्सेप्ट लिएको छैन । ब्यूरोले नजिकको घेराका मान्छेहरुका नमुना लिएर परीक्षण गर्ने विधि अपनाएको छ । डीएनए परीक्षण गर्ने अहिलेको विधि अनुसार प्रहरीले शंकाको आधारमा पात्र छानेर स्याम्पल संकलन गरेर परीक्षण गर्दै आएको छ ।
दुर्व्यसनको लत बसेका, घटनास्थलको खोला तरेर पारी जानसक्ने र यौन मनोविज्ञान विक्षिप्त रहेकाहरुबाट प्रहरीले नमुना संकलन गरिरहेको छ । २०७५ साउनमा घटनास्थल आसपासमा भएकाहरुको नमुना संकलन गरिएको छ ।
परिस्थितिजन्य प्रमाण अनुसार वैज्ञानिक परीक्षणका लागि लिएका स्याम्पल निर्मलाको ‘भजाइनल स्वाब’ सँग मिल्नुपर्छ । ‘भजाइनल स्वाब’बाट विधि विज्ञान प्रयोगशालाले १६ वटा क्यारेक्टर डेभलप गरेको छ । ‘वाइ एसटीआर’ विधिबाट गरिएको सो परीक्षणबाट पुरुष वंश पत्ता लाग्छ ।
निर्मला घटना छानबिन गर्न डीएनए विज्ञ जीवन रिजालको नेतृत्वमा यसअघि गठन भएको समितिले ‘अटोजोमल’ विधिबाट परीक्षण गर्नुपर्ने भन्दै अनुसन्धानमा ह्युमन इन्टेलिजेन्सलाई जोड दिन सुझाएको थियो । रिजालका अनुसार ‘अटोजोमल’ विधिबाट परीक्षण गर्दा ‘पिन प्वाइन्ट’ पत्ता लाग्छ । अर्थात, सम्बन्धित आरोपित नै पत्ता लाग्छन् ।
रिजाल नेतृत्वको समितिले ‘वाई एसटीआर’मा पुरुषको डीएनए भेटिएको कुरा स्वीकार्दै आफ्नो प्रतिवदेनमा लेखेको छ, ‘पुरुषको डीएनए भेटिनुको मतलव मेल कन्ट्रिब्युटर छ भन्ने हो ।’
रिजाल नेतृत्वको समितिले भजाइनल स्वाब संकलनमै समस्या देखिएको निष्कर्ष निकाल्दै डीएनए परीक्षण विधिबाट भन्दा ह्युमन इन्टेलिजेन्स प्रयोग गरेर अनुसन्धान गर्न सुझाएको छ । तर, निर्मला प्रकरणमा ८ जना प्रहरीले कारवाही भोगेका हुनाले अनुसन्धान अधिकृतहरु अर्को विधिमा जान हच्किएका छन् ।
अटोजोमल विधिबाट परीक्षण नगर्नुको कारणबारे केन्द्रीय विधि विज्ञान प्रयोगशाला प्रमुख डा. राकेश सिंहले ‘अनुपात कम भएको हुनाले अटोजोमल एसटीआर गर्न नसकेको’ बताउने गरेका छन् ।
‘वाइ एसटीआर’ विधिबाट डेभलप गरिएको १६ वटा क्यारेक्टरसँग नमुना मिलेपछि आरोपितको वंश पत्ता लाग्ने र त्यसपछि अनुसन्धान साँघुरिने प्रहरी अधिकारीहरु बताउँछन् ।
५ समिति
निर्मला पन्तको हत्याबारे यसअघि ५ वटा समितिले छानबिन र अनुसन्धान गरेका छन् । डीआईजी दुर्गा सिंहको नेतृत्वमा बनेको समिति छैटौं हो ।
२०७५ भदौ ६ मा सहसचिव हरिप्रसाद मैनालीको नेतृत्वमा समिति बनेको थियो । प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) धिरु बस्न्यातको नेतृत्वमा ०७५ भदौ १४ मा छानबिन समिति बन्यो ।
२०७५ कार्तिक २७ मा राष्ट्रिय मानव अधिकार आयोगले समिति गठन गरेको थियो । ०७६ भदौ २६ मा डीएनए विज्ञ जीवन प्रसाद रिजालको नेतृत्वमा गठन भएको समितिले पनि घटनाबारे छानबिन गरेर सुझाव दिएको थियो ।
२०७६ माघ ११ मा तत्कालीन डीआईजी सुरज केसीको नेतृत्वमा बनेको पुनरावलोकन समितिले पनि प्रतिवेदन दिएको थियो ।
निर्मलाको हत्याबारे हालसम्म ८ वटा प्रहरी कार्यालयबाट ७८ जनाले अनुसन्धान गरेका छन् । केन्द्रीय अनुसन्धान ब्युरोबाट मात्रै ४४ जनाले घटनाबारे अनुसन्धान गरिसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नयाँ बसपार्कबाट सार्वजनिक बस सञ्चालन गर्ने महानगरको निर्णय पूर्ण कार्यान्वयन भएन
-
दरबारमार्ग क्षेत्रमा एमालेका कार्यकर्ताले गरे फोहोर, महानगरको एक्सन
-
गोरखामा मध्यपहाडी राजमार्गको २३ किलोमिटर सडक कालोपत्र अझै बाँकी
-
बालेनले गराए एमालेलाई १ लाख जरिवाना
-
सीडीओ र जिल्ला प्रहरी प्रमुखहरूलाई गृहमन्त्रीको निर्देशन, ‘निर्वाचन सुरक्षालाई सामान्य रूपमा नलिनु’
-
बीआरआईबारे कांग्रेसकै कित्तामा प्रधानमन्त्री ओली