कर्णाली प्रदेशसभाको नेतृत्वमा दुई महिला
सुर्खेत । संघीयतापछिको संसदीय इतिहासमा यो पटक कर्णाली प्रदेशसभाको नेतृत्व महिलाले पाएका छन् । सभामुख र उपसभामुख दुवै पदमा महिला पुगेका हुन् । आइतबार भएको प्रदेशसभा सभामुखको निर्वाचनमा नेकपा एमालेबाट नन्दा गुरुङ सभामुख बनेकी हुन् भने बुधबार उपसभामुख पदका लागि भएको निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट यशोदा न्यौपाने ‘पुर्णिमा’ निर्वाचित भइन् ।
सत्ता गठबन्धनमा भएको भागवण्डा अनुुसार सभामुख एमाले र उपसभामुख माओवादी केन्द्रले पाएको थियो । अब पाँच वर्ष कर्णाली प्रदेशसभालाई यी दुई महिलाले हाँक्ने छन् । ४० सदस्यीय प्रदेशसभामा नेकपा माओवादी केन्द्रका १३, एमालेका सभामुखसहित १०, नेपाली कांग्रेसका १४, राप्रपा र नेकपा एकीकृत समाजवादीका १÷१ तथा एक जना स्वतन्त्र सांसद छन् । सभामुख र उपसभामुख दुवै जनाले २४÷२४ मत प्राप्त गरे ।
कर्णाली प्रदेशसभाको पहिलो कार्यकाललाई संसदीय इतिहासमै नभएका विकृत अभ्यासका रुपमा सम्झिनेहरु पनि प्रशस्त छन् । सभामुख गुरुङलाई विकृत अभ्यासका शृङ्खलालाई मेटाएर अघि बढ्नुपर्ने चुनौती छ । अर्कोतर्फ सबै खालका राजनीतिक दललाई मिलाएर लैजानुपर्ने बाध्यता पनि छ ।
कर्णालीका पूर्व सभामुख राजबहादुर शाहीको विचारमा सभामुखमा महिला आउनु सकरात्मक र नयाँ सन्देश हो । ‘यो एउटा संघीयताको सकरात्मक पक्ष पनि हो,’ उनले भने,‘ राजनीतिमा पुरुषको वर्चश्व कायम भइरहेको बेलामा महिला आउनु राम्रो हो, यदि संघीयतामा प्रदेशसभा हुन्थेन भने संघीय संसदसम्म पुग्न हाम्रा नेतृहरुले लामो समय कुर्नुपर्थ्यो र निकै संघर्ष गर्नुपर्थ्यो ।’
एमाले र माओवादीबाट अन्य सांसदहरुको नाम पनि सभामुख–उपसभामुखका लागि चर्चामा थियो । तर धेरैजसो पुरुष सांसदले सभामुखमा लागि ईच्छा व्यक्त नगरेको दलका नेताहरुको भनाइ थियो । ‘सभामुख पदको जिम्मेवारी कम छ, गरिमा कम छ, यसमा फाइदा छैन भन्ने कुरा सोच्नु पुरुष सांसदको व्यक्तिगत कुरा होला,’ शाही भन्छन्, ‘महिला आउनु आफैमा सकारात्मक र राम्रो कुरा हो ।’
यस्तो छ सभामुख गुरुङको राजनीतिक संघर्ष
२ फागुन, ०२३ मा नारायण नगरपालिका–७, नयाँगाउँमा जन्मिएकी (हाल सुर्खेत वीरेन्द्रनगर–२) सभामुख गुरुङ राजनीतिमा लागेको ३१ वर्षपछि लाभको पदमा पुगेकी हुन् । बर्दियामा बाल्यकाल बिताएकी उनी ०४८ सालदेखि एमालेको राजनीतिमा अग्रसर भएकी थिइन् ।
हाल एमालेको प्रदेश कमिटी सचिवालय सदस्य रहेकी उनले वडा, नगर, इलाका हुँदै जिल्ला कमिटीको सदस्य समेत भएर भूमिका निर्वाह गरिसकेकी छन् । ०५४ सालमा साविक उत्तरगंगा गाविस–४ को वडा सदस्य बनेकी उनी हाल एमालेको प्रदेश कमिटीको सचिवालय सदस्य र अखिल नेपाल महिला संघको सुर्खेत अध्यक्ष छन् । गुरुङले ०५४ सालमै श्रीमान् गुमाइन् । उनमा सम्पूर्ण पारिवारिक जिम्मेवारी आइपुग्यो । तर पनि उनी राजनीतिमा क्रियाशील भइरहिन् ।
एमालेले उनलाई आम निर्वाचनमा प्रदेशसभातर्फ आदिवासी जनजाति कोटाबाट समानुपातिक सांसद बनाएको हो । स्नातकोत्तर अध्ययन गरिरहेकी गरेकी उनी सहमति, सहकार्य र संवादको माध्यमबाट साझा व्यक्तिका रुपमा भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाउँछिन् ।
साथै उनले प्रदेशसभाको गरिमालाई बचाउने आफ्नो जिम्मेवारी रहेको बताइन् । सभामा आइपर्ने जटिलताहरुलाई आपसी संवादका माध्यमबाट समाधान गर्ने उनको अठोट छ । उनी महिला हक र अधिकारका लागि निरन्तर अग्रसर छिन् ।
क्रान्तिको राजनीतिबाट खारिएकी यशोदा
उपसभामुख यशोदा न्यौपानले क्रान्तिको राजनीतिबाट खारिएकी महिला नेतृ हुन् । जनयुद्धकै क्रममा उनको नाम ‘पुर्णिमा’ रहन गयो । ३ असोज ०४० मा जुम्लाको तातोपानी गाउँपालिका अन्तर्गत पर्ने हाँकु गाउँमा जन्मिएकी उनी ९ कक्षा पढ्दा–पढ्दै माओवादीले थालेको जनयुद्धमा होमिएकी थिइन् । त्यो बेला उनी १७ वर्षकी थिइन् । उनी ३ वैशाख ०५७ मा पुर्णरुपमा स्कुल छाडेर युद्धमा होमिइन् । त्यो भन्दा पहिला उनले पार्टीमै सामान्य काम गरिन् । मध्यम वर्गीय परिवारमा हुर्केकी उनी गाउँकै हिम शिखर माध्यमिक विद्यालय तातोपानीमा अध्ययन गरिन् । युद्धमा होमिदा पढाई छाडेकी उनले शान्ति प्रक्रियापछि सोही विद्यालयबाट एसएलसी उत्तीर्ण गरेकी छन् ।
जनयुद्धकै क्रममा कालिकोटका लक्ष्मी प्रसाद चौलागाईसँग उनले जनवादी बिहे गरिन् । उनका श्रीमान अहिले माओवादीको कालिकोट संयोजक छन् । लडाइँका विभिन्न मोर्चामा कमाण्डरको भूमिका निभाएकी न्यौपाने युद्धका क्रममा आफूले नाफाको जिन्दगी पाएको स्मरण गर्छिन् । युद्धका क्रममा सैन्य क्षेत्रतर्फ रहेकी उनी प्लाटुन कमाण्डर, कम्पनी किसी, कम्पनी कमिसार र बटालियन कमिसारसम्मको भूमिका पुगिन् । उनले जुम्ला, कालिकोट, म्याग्दी, कास्की, गोर्खा, तनहुँ लगायतका जिल्लामा जनमुक्ति सेनाको कमाण्डर भएर नेतृत्वदायी भूमिका निर्वाह गरेकी छन् ।
उनी कर्णालीभन्दा बढी गण्डक क्षेत्रमा सक्रिय भएर काम गरिन् । चोरमारा एम्बुस, म्याग्दी लगायतका दजनौँ मोर्चामा लडाइँ लडेको भए पनि त्रिवेणीको लडाइँ आफ्नो दिमागमा अझै ताजा रहेको उनले सुनाइन् ।
०५८ सालमा माओवादीले अछामको मंगलसेन कब्जा गरेर फर्किएको थियो । न्यौपाने कालिकोट जिल्लाको सेराबाडास्थित आफ्नो बिहे भएको घरमा आउँदै थिइन् । त्यही बेला उनलाई नेपाली सेनाले घेरा हाल्यो । उनले घर नजिकैको ओडारमा आफ्नो झोला राखिन् र माथि पछ्यौराले ओडाइदिइन् । आफू त्यहाँबाट विस्तारै उनी फरार भइन् । सेनाले त्यही झोलालाई उनी सम्झेर २५ राउण्ड गोली हान्यो । तर त्यहाँबाट उनी भागेर सुरक्षित ठाउँमा पुगिसकेकी थिइन् भने उनको झोलामात्र सेनाले फेला पा¥यो । त्यसपछि उनलाई सेनाले कडा निगरानीमा राख्यो । उनी साथीको घरमा बस्न गइन् । उनी त्यहाँ रहेको जानकारी पाएपछि त्यहीँ गएर सेनाले २२ राउण्ड गोली हान्यो, तर उनी त्यहाँबाट पनि भाग्न सफल भइन् ।
क्रान्तिको संघर्षबाट खारिएकी यशोदा पहिलो पटक सभानुपातिक कोटाबाट प्रदेशसभा सदस्य भएर प्रदेशको उपसभामुख बनिन् । उनका लागि यो एउटा अवसर हो । उनी भन्छिन्, ‘हामीले लडेर आज जुन खालको उपलब्धि भयो, संघीय संरचना बन्यो र महिलाहरु यस्ता भूमिकामा अग्रसर भयौँ, यही नै ठुलो उपलब्धि हो ।’
उनीसँग पार्टीभित्र महिला संगठनको एरिया अध्यक्ष, महिला संगठनको जिल्ला सचिव, किसान संगठनको क्षेत्रीय ब्युरो सदस्य, वाईसिएलको केन्द्रीय सदस्य हुँदै केन्द्रीय उपाध्यक्ष समेत भएर काम गरेको अनुभव छ । यस्तै एरिया सेक्रेटरी, जिल्ला कमिटी सदस्य हुँदै हाल उनी पार्टीको केन्द्रीय सदस्यसमेत छिन् भने कालिकोटको सह–इञ्चार्ज समेत हुन् ।