विद्युत् चुहावट ७.४९ प्रतिशतमा झर्यो
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्ष (आव) २०७९/८० को पहिलो पाँच महिनामा वितरणतर्फको विद्युत् चुहावटलाई घटाएर ७.४९ प्रतिशतमा झारेको छ । नियमित रूपमा विद्युत् आपूर्ति र प्राविधिक तथा गैह्रप्राविधिक चुहावट नियन्त्रणका लागि सञ्चालन गरिएका अभियानबाट प्राधिकरणले गत वर्षको मंसिरसम्मको वितरणतर्फको संचित चुहावटको तुलनामा यस वर्ष १.७४ प्रतिशत विन्दुले घटाइएको छ । गत वर्ष मंसिरसम्मको वितरणतर्फको विद्युत् चुहावट ९.२३ प्रतिशत थियो । गत आर्थिक वर्ष २०७८/७९मा वितरणतर्फको समग्र विद्युत् चुहावट १०.८६ प्रतिशत थियो ।
चालू आवको मंसिरसम्ममा वितरण प्रणालीमा ४ अर्ब १४ करोड ७५ लाख युनिट विद्युत् प्राप्त भएकोमा ३ अर्ब ८३ करोड ६७ लाख युनिट विद्युत् बिक्री भएको छ । ३१ करोड ७ लाख ७९ हजार युनिट विद्युत् चुहावट भएको छ । मंसिरसम्म प्रसारण लाइनतर्फको चुहावट ४.५६ प्रतिशत छ । प्रसारण र वितरणतर्फ गरी मंसिरसम्ममा समग्र प्रणालीको विद्युत् चुहावट १२.०५ प्रतिशत छ । गत असारसम्ममा समग्र प्रणालीको विद्युत् चुहावट १५.३८ प्रतिशत थियो । प्रणालीमा रहेको विद्युत् चुहावटमध्ये सबैभन्दा ठुलो हिस्सा वितरणतर्फको हुन्छ । प्राधिकरणले चालु आवमा समग्र प्रणालीको विद्युत् चुहावटलाई १४ प्रतिशतमा र वितरणतर्फको चुहावटलाई ८.५ प्रतिशतमा झार्ने लक्ष्य राखेको छ ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले करिब सात वर्षअघि वितरणतर्फको चुहावट झण्डै २२ प्रतिशत रहेकोमा अहिले घटाएर ७.४९ प्रतिशतमा झार्न सफल हुनु ठुलो उपलब्धि भएको जानकारी दिए । प्राविधिक र गैह्रप्राविधिक चुहावट नियन्त्रणका लागि चालिएका कदमलाई अझै सशक्त र प्रभावकारी बनाएर चुहावटलाई लक्ष्यभन्दा अझै कम बनाउने गरी सम्पूर्ण टिम परिचालन गरिएको कार्यकारी निर्देशक घिसिङले उल्लेख गरे ।
‘यस अवधिमा नयाँ सबस्टेसन निर्माण सम्पन्न भएको, सञ्चालनमा रहेका सबस्टेसनको स्तरोन्नति गरिएको, औद्योगिक क्षेत्रमा विद्युत् खपत बढेको, मिटर रिडिङलाई प्रभावकारी बनाउँदा ग्राहककोमा सञ्चित रहेको युनिट विलिङ हुँदा चुहावट घटेको हो’, घिसिङले भने । ‘हुकिङलगायतबाट हुने विद्युत् चोरी नियन्त्रणका लागि नियमित अनुगमन तथा कारबाही, ओभरलोड भएका सबस्टेसन, र फिडर लाइनहरुको सुदृढीकरण तथा नयाँ सबस्टेसनको निर्माण, कन्डक्टर, ट्रान्सफर्मर फेर्नेलगायतका काममा गरिएको ठुलो लगानीको नतिजा हो ।’
जाडोमा पहाडी र गर्मीमा तराई क्षेत्रमा प्राविधिक चुहावट केही बढ्न सक्ने उल्लेख गर्दै घिसिङले यसलाई ध्यान दिंदै चुहावटलाई वाञ्छित सीमाभन्दा तल झार्ने गरी काम भइरहेको बताउनुभयो ।
सबस्टेसनको क्षमता वृद्धि गर्ने, कन्डक्टर थप्ने,ओभरलोड ट्रान्सफर्मर फेर्ने, थ्रि फेज मिटरको प्रयोगलाई प्रोत्साहन गर्ने लगायतका कदमको परिणाम चुहावट नियन्त्रणमा देखिएको हो । गैह्रप्राविधिक चुहावट नियन्त्रणका लागि चोरी नियन्त्रण,महशुल बक्यौता असुलीमा कडाइ, मिटर बाइपास तथा हुकिङ गरी चोरी गर्नेलाई कडा कारबाही गर्ने, बन्द मिटर फेर्ने, मिटर लिन प्रोत्साहित गर्ने मिटर रिडिङ नभएको (स्टक युनिट) ग्राहकको पहिचान गरी रिडिङ गर्ने काम अभियानकै रूपमा चलाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ला लिगामा रियालको सहज जित
-
म्यान्चेस्टर युनाइटेडलाई बराबरीले लाग्यो घाटा
-
लिभरपुल विजयी, शीर्ष स्थानमा कब्जा कायमै
-
साढे एक लाख क्यूफिट सालको काठ त्यतिकै सड्दै, छैन सदुपयोग
-
१२ बजे, १२ समाचार : मधेस प्रदेशको सरकार फेर्न कांग्रेस-एमालेले कम्मर कसेकोदेखि सरकारकै कारण अधिकांश ठूला आयोजना निर्माणमा ढिलाइसम्म
-
पाठेघरको क्यान्सर पीडित आमाको उपचारका लागि सहयोगको याचना गर्दै अनिता