शनिबार, १० कात्तिक २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

जितपुरसिमरा उपमहानगरमा प्रकिया मिचेर कर्मचारी भर्ना

बिहीबार, ०५ माघ २०७९, १३ : ०२
बिहीबार, ०५ माघ २०७९

बारा । जितपुरसीमरा उपमहानगरपालिकाले कानुनी प्रकिया मिचेर कर्मचारी भर्ना गरेको भन्दै स्थानीय भजुनारायाण थारुले अख्तियारमा उजुरी दिएका छन् । उपमहानगर वडा नं १४ का थारुले कर्मचारी भर्नासम्बन्धी कार्यविधि मिचेर मुखको भरमा प्राविधिक कर्मचारी छनोट गरिएको भन्दै आयोगमा उजुरी दिएका हुन् । 

‘राजनीतिक पहुँच  र आर्थिक चलखेलमा कर्मचारी भर्ना भएको छ, लिखित परीक्षा भएको भए हाम्रो कुनै गुनासो थिएन, यहाँ मुखको भरमा मान्छे लिएको छ,स्थानीयलाई प्राथमिकता दिनुपर्नेमा अन्य जिल्लाको मान्छे छनोट भएको छ,’ थारुले भने । उनका छोरा अमन चौधरी भैरहवास्थित एक निजी औषधी उद्योगमा सहायक व्यवस्थापकको रुपमा काम गर्दछन् । फार्मेसीमा स्तात्तक उत्तीर्ण गरेका भजुनारायण थारुका छोरा अमन चौधरीले उपमहानगर फार्मेसी सहायकमा आवेदन दिएका थिए । ‘सकेसम्म यो तुरुन्तै रोकेर सबैले लिखित र प्रयोगात्मक परीक्षा दिनुपर्यो भन्ने हाम्रो माग हो, मौखिक हिसाबले छनोट गरेकोमा मलाई चिक्त नबुझेर अख्तियारमा उजुरी हालेको छु, अव हेरौँ स्थानीय तहले के गर्छ,’ उनले भने ।


 उपमहानगरले कात्तिक तेस्रो साता सार्वजनिक सूचना निकालेर अधिकृत नवौँ तहको १ जना चिकित्सक, आठौ ँतहको ३ जना मेडिकल अधिकृत, सहायक पाचौँ तहको स्टाफनर्स ३ जना, एनेस्थेसिया सहायक, फार्मेसी सहायक, पशु चिकित्सक र कृषि अधिकृत १–१ जना प्राविधिक जनशक्तीको लागि आवेदन माग गरेको थियो ।

प्राविधिक कर्मचारी छनोटका लागि ‘करारमा प्राविधिक कर्मचारी व्यवस्थापन गर्ने सम्वन्धि कार्यविधि २०७५’ को दफा नं ४ मा प्राविधिक तर्फ ईन्जिनियर, स्वास्थ्य तथा पशु चिकित्सक लगायत अन्य क्षेत्रका लागि आवश्यक पर्ने व्यवसायिक प्रमाणपत्र (लाइसेन्स) प्राप्त गरेका व्यक्तिले मात्रै आवेदन दिन सक्नेछन् र छनोटका लागि  लिखित, प्रयोगात्मक र अन्य परिक्षाको समेत व्यवस्था गरिएको छ । तर,उपमहानगरले आफैले बनाएको कानुनी मापदण्ड विपरीत लिखित र प्रयोगात्मक परीक्षा बिना नै कर्मचारी छनोट गरेको भन्दै विवाद भएको हो । 

कर्मचारी छनोटका लागि प्रकाशित सूचनाको पहिलो बुदाँमा परिक्षाको किसिम अन्तर्वार्ता भनि उल्लेख छ भने तल्लो बुदाँमा परीक्षा कार्यक्रम र अन्तरवार्ता हुने मितिपछि प्रकाशन गरिनेछ भनि उल्लेख गरिएको छ । उपमहानगरका प्रवक्ता तथा वडाध्यक्ष भोजराज खत्रीले उपमहानगरले आफैले बनाएको कानुन विपरित  कर्मचारी भर्ना गरेकोले यस्लाई स्थगित गरेर नयाँ प्रकियाबाट कर्मचारी छनोट गनुपर्ने बताएका छन् । ‘हामी आफैले बनाएको कानुनलाई टेकेर कर्मचारी छनोट भएको छैन, यस्सलाई नगरपालिकाले स्थगित गरेर कार्यविधि अनुसार नियमसंगत ढंगले जानुपर्छ,’ वडाध्यक्ष खत्रीले भने ।

करारमा प्राविधिक कर्मचारी व्यवस्थापन गर्न उपमहानगरले निमार्ण गरेको निर्देशिकाको दफा ५ ले प्रमुख प्रशासकिय अधिकृतको संयोजकत्वमा विषय विज्ञ सहित ३ जना छनोट समितिमा रहने ब्यवस्था छ ।  उपमहानगरका प्रवक्ता खत्रीले भने मिलेमतोमा प्रमुख प्रशासकिय अधिकृत अनुपस्थित भएर ईलाका प्रशासन कार्यालय सिमराका प्रमुख जनकरराज पन्तले अन्तरवार्ता लिएर कर्मचारी छनोट गरेको बताएका छन् ।

यता, ईलाका प्रशासन कार्यालय सिमराका प्रमुख जनकराज पन्तले भने  अन्तरवार्ता समितिमा आफू नरहेको र पर्यवेक्षक रुपमा मात्रै उपस्थित रहेको बताएका छन् । ‘कसरी परीक्षा सञ्चालन गरिरहेका छन् भन्ने कुरा हामीले सतही रुपमा मात्रै हेर्ने हो, अन्तरवार्ताको नम्बर दिने ठाँउमा हाम्रो प्रत्यक्ष संग्लनता छैन’ ईप्रका प्रमुख पन्तले भने । प्रकिया मिचेर कर्मचारी छनोट गरेको विषयमा विवाद सिर्जना भएपनि उपमहानगरले पुस २८ गते नतिजा समेत प्रकाशन गरिसकेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप