सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

रातोपाटी ब्रिफिङ : आजका शीर्ष १० समाचार

बुधबार, ०४ माघ २०७९

आज माघ ४ गते बुधबार । आज दिनभर रातोपाटीमा प्रकाशित शीर्ष १० समाचार यहाँ प्रस्तुत गरेका छौँः

सभामुखमा दुई जनाको प्रतिस्पर्धा

प्रतिनिधि सभाको सभामुख पदमा २ जनाको प्रतिस्पर्धा हुने भएको छ । संघीय संसद् सचिवालयले सभामुख पदको निर्वाचनका लागि सार्वजनिक गरेको कार्यतालिका अनुसार बुधवार सत्ता गठबन्धनबाट देवराज घिमिरे र विपक्षीकातर्फबाट कांग्रेसकी ईश्वरी न्यौपानेले उम्मेदवारी दर्ता गरेसँगै सो पदमा घिमिरे र न्यौपानेबिच प्रतिस्पर्धा हुने भएको हो । सभामुख चयनका लागि बिहीबार निर्वाचन  हुँदैछ ।

मन्त्रिपरिषद् बैठक

सरकारले विदेशी प्रतिनिधि भेट्नका लागि अनिवार्य रुपमा परराष्ट्र मन्त्रालयका कर्मचारी राख्नुपर्ने निर्णय गरेको छ । बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको  मन्त्रिपरिषद् बैठकले मन्त्रीहरूले विदेशी राष्ट्रका प्रतिनिधि भेट्दा अनिवार्य रुपमा परराष्ट्र मन्त्रालयका प्रतिनिधि अनिवार्य राख्नुपर्ने निर्णय गरेको उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए ।

 झलनाथको संयोजकत्वमा समिति 

नेकपा एकीकृत समाजवादीले सम्मानित नेता झलनाथ खनालको संयोजकत्वमा पार्टीको मूल नीति र कार्यक्रम निर्माण मस्यौदा समिति गठन गरेको छ ।  बुधबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको पार्टीका विभिन्न विभागका प्रमुख,उपप्रमुख, सचिव जनसंगठनका इन्चार्जसहितको बैठकले खनालको संयोजकत्वमा समिति गठन गरेको हो ।

नेता पुनमा कलेजो प्रत्यारोपण गरिने

नेकपा माओवादी केन्द्रका उपमहासचिव एवम् पूर्व मन्त्री वर्षमान पुनमा कलेजो प्रत्यारोपण गरिने भएको छ । ललितपुको सुमेरु अस्पतालमा उपचारत पुनलाई चिकित्सकहरुले कलेजो प्रत्यारोपण गर्न सुझाएका हुन् ।

जसपा तत्काल सरकारमा नजाने

जनता समाजवादी पार्टी (जसपा) नेपालले तत्काल सरकारमा नजाने निर्णय गरेको छ । बुधबार बसेको जसपा संसदीय दलको बैठकले तत्काल सरकारमा नजाने निर्णय गरेको हो । यस्तै सभामुखको निर्वाचनबारे पार्टीले भोलिसम्ममा निर्णय गर्ने प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए । 

त्रिभुवन विश्वविद्यालयमा कर्मचारी नियुक्ति हुन सकेन

त्रिभुवन विश्वविद्यालयमा १६ हजार भन्दा बढी शिक्षक तथा कर्मचारीको दरबन्दी छ । तर, १० हजार जना मात्रै कार्यरत छन् । त्रिभुवन विश्वविद्यालयको तथ्याङ्क अनुसार शिक्षक र कर्मचारीको १६ हजार ६२ दरबन्दी छ । जसमा ७ हजार ९३८ शिक्षक र ८ हजार १२४ कर्मचारीको दरबन्दी छ । तर, हाल ५ हजार १३४ शिक्षक र ५ हजार ३६२ कर्मचारी गरी १० हजार ४९६ जना शिक्षक कर्मचारी मात्रै कार्यरत छन् ।

हवाई दुर्घटनाले पर्यटन उद्योगलाई कस्तो प्रभाव पार्ला ?

गत आइतबार यती एयरलाइन्सको ९एन–एएनसी एटीआर ७२ ५०० विमान दुर्घटनाले धेरैलाई झस्काइदिएको छ । गत जेठ १६ गते पोखरा–जोमसोम उडेको तारा एयरको जहाज दुर्घटना हुँदा २२ जनाको मृत्यु भएको घटना सेलाउन नपाउँदै ७२ जना सवार यती एयरलाइन्सको विमान दुर्घटना भयो ।

८६ वटा सवारी लाइसेन्स निलम्बन

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले पाँच (५) पटकभन्दा बढी ट्राफिक नियम उल्लंघन गर्ने ८६ जना सवारी चालकहरूको सवारी चालक अनुमति पत्र (लाइसेन्स) निलम्बनको लागि बुधबार यातायात व्यवस्था विभागमा पठाएको छ ।

राहदानी लिनेको संख्या बढ्यो

राहदानी विभागमा सेवाग्राहीको भीड थपिँदै गएको छ । गत पुस १७ गतेदेखि विभागको सर्भरमा देखिएको समस्या झन्डै एक हप्ता अर्थात् पुस २४ मा समाधान भएसँगै काम सुरु हुन थालेपछि राहदानी लिनेको भीड लाग्ने गरेको हो । 

कांग्रेसले प्रस्ताव गरेको व्यक्ति राष्ट्रपति देख्न पाउनुहुनेछ

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसले प्रस्ताव गरेको व्यक्ति राष्ट्रपति हुने बताएका छन् । बुधबार सभामुख पदका लागि ईश्वरी न्यौपानेको मनोनयनपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै महामन्त्री शर्माले सो कुरा बताएका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया