बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय
राजनीति

तेस्रो पुस्ताको साथ पाएपछि प्रचण्डलाई कति सहज ?

बुधबार, ०४ माघ २०७९, २२ : ५७
बुधबार, ०४ माघ २०७९

काठमाडौँ । नेकपा माओवादी केन्द्रमा अध्यक्षसहित २१ पदाधिकारी छन् । अध्यक्ष प्रचण्ड प्रधानमन्त्री र वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ उपप्रधानसहित भौतिक मन्त्री भएपछि अरू कुनै पदाधिकारीले मन्त्री हुने अवसर पाएनन् । 

अहिले प्रचण्ड नेतृत्वको सरकारमा माओवादीबाट युवा सांसदहरूको मात्रै प्रतिनिधित्व भएको छ । प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारमा माओवादीबाट स्थायी समिति सदस्य रेखा शर्मा सञ्चार, पोलिटब्युरो सदस्य सुदन किराती पर्यटन र अमनलाल मोदी सामान्य प्रशासन मन्त्री भई सकेका छन् । 

सुशीला श्रीपाली पर्यटन राज्य मन्त्री मात्रै भएकी छिन् । प्रचण्ड नेतृत्वको सरकारमा युवाको प्रतिनिधित्व भएकाले नतिजा कस्तो हुन्छ भन्ने विषयमा पार्टीमा बहस र छलफल हुन थालेको छ । पार्टीमा विवाद नभएका र स्वार्थ नबाझिएका सांसद मन्त्री भएकाले धेरैले आशा र अपेक्षा गरेका छन् । 

पार्टीका अधिकांश दोस्रो तहका नेताहरू सत्ता बाहिर भएकाले उनीहरू पार्टी निर्माणमा लाग्नुपर्ने केन्द्रीय सदस्य डिपी ढकालले बताए । ‘अहिलेको सरकारमा दोस्रो तहका नेताहरू जानु भएको छैन । तेस्रो पुस्ताका नेताहरूको प्रतिनिधित्व भएको छ’ रातोपाटीसँग कुरा गर्दै ढकालले भने, ‘अब तेस्रो पुस्ताका नेताहरूले काम गरेर देखाउन अवसर मिलेको छ । अब काम नगर्ने छुट छैन । जनतामा आशा जगाउन सक्नु पर्छ ।’

तेस्रो पुस्ताका नेताहरूले काम गरेर जनतालाई विश्वास दिलाउन सक्नु पर्ने ढकालले बताए । ‘पार्टीमा जहिले पहिलो र  दोस्रो पुस्ताले अवसर पाए भन्ने गुनासो सुन्ने गरिन्थ्यो । अहिले तेस्रो पुस्ताका नेताहरूले सरकारमा गएर काम गर्ने अवसर पाएका छन्’ ढकालले भने, ‘अब तेस्रो पुस्ताका नेताहरूलाई काम नगर्ने छुट छैन । जसरी भए पनि अरू भन्दा राम्रो काम गर्ने चुनौती र अवसर दुवै छ ।’ एउटै व्यक्ति सांसद र मन्त्री बनाउँदा जनतामा उत्साह नहुने भएकाले पार्टीले युवा नेताहरूलाई अवसर दिएर राम्रो गरेको नेताहरूले बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप